शुक्रबार, चैत १६, २०८०

जर्मनीले क्रिसमस पछि कोरोना भाईरस नियन्त्रण गर्न कडा प्रतिबन्ध लगाउने

नेपालप्लस संवाददाता / जर्मनी२०७८ पुष ७ गते ०:१३

जर्मनीले खोप लगाएको वा नलगाएको कुनै वास्ता नगरि निजी जमघट र ठूला सार्वजनिक कार्यक्रमहरूमा दर्शकहरूलाई रोक लगाउने लगायतका कडा नियमहरु लगाउने भएको छ । जर्मन चान्सलर ओलाफ स्कोल्जले ओमिक्रोन भेरियन्टका कारण महामारी आफूहरुले आशा गरेजति चाँडो समाप्त नहुने उल्लेख गर्दै कोरोना भाईरस नियन्त्रणका थप उपायहरु लागु गर्ने बताएका हुन् ।

जर्मनीका संघीय र राज्य नेताहरूले मंगलबार सम्पर्क न्युन गर्ने प्रतिबन्धहरू लगाउन सहमत भएका छन् । खोप लगाएका र निको भएका व्यक्तिहरूलाई समेत अर्को हप्तादेखि लागु गरिंदै छ ।

नियमहरू डिसेम्बर २८ बाट लागु गरिने छ । नयाँ वर्षको पूर्वसन्ध्यामा ठूला ठूला समारोह, सांगितिक भेला, नाचगान र भोज आयोजना गरेर भिड लाग्नबाट रोक्नको लागि २८ डिसेम्वरबाट लगाउन खोजिएको हो ।

“अब ठूला समूहहरूमा भेला हुने र पार्टीहरूको लागि यो समय होइन” चान्सलर ओलाफ स्कोल्जले भनेका छन् ।

के छ नयाँ नियम ?

नयाँ नियम अनुसार, कोभिड-१९ को खोप लगाइएका वा निको भइसकेकालाई बढीमा १० जना निजी भेलामा सहभागी हुन दिइने छ ।

खोप नलगाएको व्यक्ति उपस्थित भएको अवस्थामा अर्को एउटा परिवार मात्र उपस्थित हुन पाइने छ । यि सीमाहरू घर वा भवन भित्र (इनडोर) र बाहिरी दुवै उत्सवहरूमा लागू हुन्छ ।

रेस्टुरेन्टहरूमा जानकोलागि खोपको पूर्ण मात्रा लगाएको वा कोरोना लागेर निको भैसकेको प्रमाण अनिवार्य हुने छ ।

डिसेम्बर २८ देखि, दर्शकहरूलाई खेलकुद, सांस्कृतिक कार्यक्रम, कन्सर्ट र अन्य ठूला सार्वजनिक कार्यक्रमहरूमा प्रतिबन्ध लगाइने छ ।

नयाँ वर्षको पूर्वसन्ध्यामा आतिशबाजीलाई पनि प्रतिबन्ध लगाइने छ । क्लबहरू पनि देशभर बन्द गर्नुपर्ने छ ।

यसैबीच, महामारी संवन्धि नियमहरुको पालना गराउनुपर्ने कारणबाट प्रभावित कम्पनी र संस्थाहरूलाई अझै पनि आर्थिक सहयोग विस्तार गरिने छ ।

जर्मन सरकारले बूस्टर चाहिनेहरूका लागि मात्र होइन कि कोरोना भाईरस बिरुद्दको पहिलो खोप प्राप्त नगरेका मानिसहरूलाई खोप लगाउन थप आग्रह गरेको छ ।

क्रिसमस र नयाँ वर्षको बिदामापनि खोप केन्द्रहरू डिसेम्बर महिनाभरि र जनवरीको सुरुमासमेत खुला रहने छन् ।

नयाँ चान्सलर ओलाफ स्कोल्जको सरकारले ८० प्रतिशतमा खोप लगाउने लक्ष्य पनि राखेको छ । जनवरीको अन्त्य सम्ममा तिन करोड बुस्टर शटहरू व्यवस्थापन गर्ने आशा राखेको छ ।

स्कोल्जले उनी सहित देशका १६ राज्यका नेताहरूले क्रिसमसको बिदा पछि कडा प्रतिबन्धहरू लागू गर्ने निर्णय गरेको बताएका छन् ।

“विगत दुई वर्षको अनुभवले देखाएको कि क्रिसमस र इस्टर संक्रमणको ठूलो चालक थिएनन्” स्कोल्जले पत्रकार सम्मेलनमा भने ।

उनले छुट्टीहरुमा भेला हुने, रमाईलो र जमघट गर्ने मामिलामा परिवारहरू अहिलेसम्म सतर्क र जिम्मेवार भएकाले यो पर्वमा धेरै सर्छ भन्ने सिद्द नभएको बताएका छन् ।

त्यसैले निजी जमघटमा प्रतिबन्धले विशेष गरी नयाँ वर्षको पूर्वसन्ध्याको उत्सवलाई लक्षित गरेको भनाई उनको थियो ।

“ओमिक्रोन भेरियन्ट विश्वभरका देशहरूमा बढी प्रबल हुँदै गएपछि, कोरोना भाइरस महामारी हामीले आशा गरेजति चाँडो समाप्त हुने छैन । हामीले केहि अप्ठेरो भोगेरपनि यसलाई नियन्त्रण गर्नुपर्छ” स्कोल्जले भने ।

‘जर्मनीले लकडाउनकालागि तयार गर्नुपर्छ’

नयाँ नियमहरुले नियन्त्रणकोलागि प्रभावकारि भूमिका खेल्न नसकेमा जर्मन सरकारले अर्को वर्ष थप कठोर उपायहरू लगाउन आवश्यक हुनसक्ने र त्यसकालागि पनि तयारी गरिरहेको जर्मन सांसद जोहानेस वाग्नरले डिड्ब्ल्यु न्युजलाई बताए ।

“हामीले आवश्यक पर्ने सबै काम गर्नेछौं । हामीले एक सामान्य तालाबन्दीकालागि तयार गर्नुपर्नेछ । त्यसैले यदि हामीलाई अर्को वर्ष चाहिन्छ भने लकडाउनलाई धेरै छिटो कार्यान्वयन गर्न सकिन्छ” बाल रोग विशेषज्ञ तथा सत्ता साझेदार दल ग्रीन पार्टीका सदस्य वाग्नरले भने।

जर्मन संसद ‘बुन्डेस्ट्याग’ मा जर्मन सांसदहरूले आम जनताका लागि कोविड खोपहरू अनिवार्य बनाउने कि नबनाउने र उनीहरूले यसलाई कसरी लागू गर्ने भनेर पनि बहस गर्ने भएका छन् ।

“मेरो विचारमा अनिवार्य गराउनुपर्छ । हामीले अर्को वर्ष अनिवार्य खोप चाहिने बनाउनुपर्छ” वाग्नरले भने “यसले अहिलेसम्म खोप नलिएका मानिसहरूको खाडल पुर्न मद्दत गर्ने छ ।”

रोग नियन्त्रणका लागि जर्मनीको रोबर्ट कोच इन्स्टिच्युट (आरकेई) ले सोमबार ओमिक्रोन भेरियन्टको फैलावटसँगै निको भइसकेका वा खोपको पहिलो मात्रा लिएका मानिसहरूले हाल संक्रमणको उच्च जोखिमको सामना गरिरहेको उल्लेख गरेको छ ।

आरकेईले बूस्टर प्राप्त गर्नेहरूका लागि जोखिम मध्यम र खोप नगरिएकाहरूका लागि धेरै उच्च रहेको बताएको छ ।

आरकेईले सम्पर्कमा प्रतिबन्ध लगाउन अधिकतम प्रयासको बिकल्प सिफारिस गरेको छ । सामाजिक दूरी अपनाउने र त्यसलाई शुरु गराउन सुझाव दिएको छ । अत्यावश्यक बाहेक अन्य यात्रा घटाउने सिफारिसपनि गरेको छ ।

आरकेईले मंगलबार २४,४२८ नयाँ संक्रमणका घटनाहरू रिपोर्ट गरेको छ ।

मंगलबार भाइरसका कारण ४६२ जनाको मृत्यु भएको छ । हालसम्म जर्मनीमा कुल एक लाख ८ हजार आठ सय १४ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भैसकेको छ ।

सप्ताहन्तमा स्वास्थ्य मन्त्री कार्ल लाउटरबाखले क्रिसमस भन्दा पहिले जर्मनीमा तालाबन्दी नगरिने स्पष्ठ पारेका छन् । तर उनले चेतावनी दिएका छन् ‘भाइरसको ओमिक्रोन संस्करणका कारण देशले ठूलो लहरको सामना गर्ने छ ।”

अधिकारीहरूले कोरोना भाइरस प्रतिबन्धहरू विरुद्ध अनाधिकृत रुपमा आयोजित जुलुसलाई छिन्नभिन्न पार्न खोज्दा दक्षिणी जर्मनीमा सोमबार राति १३ प्रहरी अधिकारीहरू घाइते भएका थिए ।

तपाइँको प्रतिक्रिया

फेसबुक