मंगलबार, असार १४, २०७९

बिपी पुत्रको राजनितिक यात्रा : गोली लागेको बाघलाई रत्याउने गम्भिर चुनौती

थानेश्वर सापकोटा२०७८ पुष ८ गते १३:१५

Photo-RSS

नेपाली कांग्रेसको महाधिवेशन लगभग सकिएको छ । बितेका ३ वर्ष यता जसरी पार्टी रुपान्तरणको वहस चुलिएको थियो त्यो हिसाबको संकेत यो महाधिवेशनले दिएन । हुन त गगन थापा जस्ता केही युवाहरुले नेपाली कांग्रेस केन्द्रिय कार्यालय सानेपाको पदाधिकारी बस्ने कोठा भित्र कुर्सी पाए । केही कलीला अनुहारहरुले केन्द्रिय सदस्य हुने मौका पनि पाए । तर चर्चा चुलिए अनुसार रुपान्तरणका धेरै वहसकर्ताहरु सानेपा कार्यालयको दैलोसम्म पनि पुग्न पाएनन । तैपनि शेखर कोइरालाले नेपाली कांग्रेसमा लगभग ६० वर्ष आफ्नो उमेर बिताएका शेरबहादुर देउवालाई थर्कमान पारे ।

त्यसो त देउवाको सकृय उमेर अब सकिएको छ । यदि नसकिएको भएपनि उनले कहिल्यै पार्टीको चुनाव लड्ने आँट गर्ने छैनन । शेखर कोइरालाको भोट् थोरै आयो । तर उनले चुनाव जिते । देउवाको कुरा नगरौं । शशांक कोइरालाले खुल्ला पुरुष तर्फको लगभग चारहजार मत पाएर पनि चुनाव हारे । उनले केहि पनि पाएनन् । ति जती भोट शशांकले पाए ति सबै बीपीका भोट थिए । तिनै भोटलाई ‘कन्भर्ट’ गरेर शशांकका भोट भनिएको थियो ।

शेखर कोइराला सतहका मान्छे भएर पनि दमदार देखिए । यदि यिनले बीपी कोइराला र गिरिजा प्रसादको भोट पाएका हुन्थे भने कांग्रेस रुपान्तरणको वहस निर्णयक मोडमा पुग्ने थियो । कांग्रेस रोकियो, जहाँका त्यहीँ । गगन थापा एक्लै के गर्न सक्लान ! यस्तो हुँदा सबै भन्दा नोक्सान शशांक कोइरालालाई भएको छ । देउवासँग जस्तोसुकै लेनदेन भएको भए पनि शशांक सुन्यमै छन । कांग्रेसमा यिनको हैशियत धेरै भयो भने केन्द्रिय सदस्य भन्दा माथि जाँदैन । किनभने यिनीसँग बीपीको छोरो हुनु बाहेक अर्को कुनै खुवी बितेका १५ बर्षमा कहिल्यै देखिएन । १३ वर्ष सांसद बनेर पार्टी र कुनै एउटा क्षेत्रको प्रतिनिधित्व गरिरहँदा कहाँनेर देखिए खै शशांक ? जहाँँ जहाँँ देखिए बीपी कोइरालाको छोरो देखिए । कार्यकर्ताले बीपी कोइरालाका छोरालाई सांसद बनाए । पार्टीको महामन्त्री जस्तो माथिल्लो तहमा पुर्‍याए । अहिले शेखर कोइरालाले शशांक कोइराला लाई खोजिरहनु बेकार थियो ।

बीपी कोइराला नेपाली कांग्रेसका नेता कार्यकर्ताको मात्र होइन इतर पार्टीका नेता कार्यकर्तासम्मले स्मरण गरिरहने गहन नाम हो । तर अहिलेको शशांकले बीपीलाई अलिकती तल खसाले । फेरी उठाउन हम्मे हम्मे पर्ने छ ।

यो अली अघिको कुरा हो । पचासको दशकको सुरुवाती वर्ष भन्नु पर्ला । पत्रकारिता चेतनारहित मेरो दिमागमा गडेको थियो । बहुदलले जन्माएको खतरनाक पत्रकार बन्ने धुनमा थिएँ म । त्यहिबेला टिचिङ अस्पातलमा भेटेको थिएँ शशांक कोइरालालाई । म गाउँका एक जना विरामीको उपचारका लागि पुगेको थिएँ । शशांकसँगै कुरा गर्नुपर्ने थियो । आधा घण्टा पछी सेतो गाउन लगाएका कोइराला आइपुगे । हामी कुरेर बसेका थियौं ।

“भनेको समय भन्दा अली ढिला भयो । एकजना आकस्मिक सेवाको विरामी हेर्नैपर्ने भो”- उनले भने । सेतो गाउनमा उनको अनुहार निकै चम्किलो देखिएको थियो । मैले पछी उनलाई भनेंपनि- “तपाईंलाई डा। शशांक कोइराला भन्नु भन्दापनि सुकिलो डाक्टर बढी सुहाउँछ जस्तो लाग्यो ।” उनी खिस्स हाँसेका मात्र थिए । साँच्चिकै उनी औधी सुकिला थिए । १५ मिनट ति विरामिलाई उनले लाभदायक अर्ती दिए ।

निस्किने बेलामा मैले सोधें- “डा। साहेबको एउटा अन्तर्वाता गर्न मन लाग्यो ।” उनी फेरी खिस्स हाँसे- “तपाईंका अन्तर्वाताहरु मैले पढेको छु । मन पर्छ । तर म त के बोल्नु र खै !” अली कर गरेपछी उनले हुन्छ भने । भोलीपल्ट १० बजेका लागि समय पक्का भयो । त्यो बेला जनमन्चको पछील्लो पानामा अन्तर्वाताको एउटा स्तम्भ चलाउँथें मैले । नाम चलेका मान्छेका गुमनाम कुराहरु अन्तर्वातामा आउँथे । भोलीपल्ट हामी टिचिङमा पुग्दा उनी अफिसमा हामीलाई कुरेर बसेका थिए ।

अन्तर्वार्ताका धेरै कुरा मैले बिर्सें । तर एउटा प्रश्न भने मलाई सम्झना छ । त्यति बेला गिरिजा प्रसाद कोइरालाको जगजगी थियो । गिरिजा प्रसादलाई हेर्न जाने हरेकले महाराजगन्ज निवासमा शशांकलाई देखेका थिए । शशांक धेरै नेता कार्यकर्तासँग गफिएका पनि देखिन्थे । त्यसैले धेरैलाई के लाग्दथ्यो भने यि पछील्ला कोइराला ढिलो चाँडो राजनीतिमा आउँछन । मैले त्यहि कुरा सोधें- “तपाईं राजनीतिमा कहिले आउने हो ?”

“राजनीति मेरो बाटो नै होइन । म कहिल्यै पनि राजनीतिमा आउँदिन । म राजनीति गर्न जान्दछु जस्तो लाग्दैन”- उनले जवाफ दिएका थिए । यो त भनिने कुरो न भयो । उनले धेरैलाई भनेका थिए होला यसरी नै । तर भनाइ र गराइमा आकाश जमिनको अन्तर हुन्छ । मैले करिब डेढ दशक पछी उनी राजनीतिमा प्रवेश गर्न लागेको कुरा थाहा पाएँ । शशांक राजनीतिमा आउन् भन्ने धेरै कार्यकर्ताको चाहना थियो । बीपी कोइरालाको छायाँ देखेका थिए उनका कति शुभचिन्तकले ।

उनी नवलपरासी १ नम्बर क्षेत्रबाट चुनाव लड्ने अर्को खबर आयो । एक से एक नेता थिए त्यहाँ नेपाली कांग्रेसका लागि जीवन फालेका । तिलक सापकोटा र सुर्यभक्त अधिकारीले बनाएको चौतारोमा शशांक पुगेर बिसाए । मैले त्यसै बेला सुशिल कोइरालालाई भनें- “शशांकलाई नवलपरासी-१ बाट चुनाव लडाउने तपाईंहरुको निर्णय सरासर गलत छ । त्यहाँका अरु नेताहरुको योगदानलाई तपाईंहरुले कसरी रातारात मार्न सक्नुहुन्छ ?

त्यतिबेला सुशिल कोइरालाले भनेका थिए- “नवलपरासीको कायापलट गर्ने मान्छे पठाएको छ पार्टीले । भविष्यको प्रधानमन्त्री । शशांकले नवलपरासी-१ बाट ३ पटक चुनाव जिते । कहिल्यै जिल्लाको कायापलट हुने योजना आएन । न त उनले कुनै दिन आफ्नो क्षेत्रको समस्याका बारेमा राजाधानिमा कहीँ कतै कुरा उठाए । तर सुशिल कोइरालाले भने जस्तै शशांक प्रधानमन्त्री बन्ने भविष्य चाहिं आइपुगेको थियो । तिनको राजनीतिक किस्मतले त्यो बाटो समातेन ।

म अहिले उनको त्यही पुरानो कुरा सम्झीरहेको छु- ‘म राजनिती गर्न जान्दछु जस्तो लाग्दैन ।’ ठिकै भनेका थिए आफैंले । यिनी राजनीति गर्न जान्दैनन् । हिजो मात्र शेखर कोइरालासँग कुरा हुँदा उनले भने- “भो अनाडीका कुरा नगरौं । कमजोरी मेरै थियो । यो मायाँ भन्ने चिज पनि अजिवको हुन्छ । राजनीतिक इगो यहाँँसम्म पुग्ला भन्ने त मलाई हेक्का नै थिएन ।”

यदि शशांकले बाटो नफेरेको भए नेपाली कांग्रेसले शेरबहादुर देउवालाई विदाइ गर्ने पक्का थियो । जसले शशांकलाई नेपाली राजनीतिको माथिल्लो स्थानमा स्थानान्तरण गराउने प्रवल सम्भावना थियो । अब हुँदैन त्यस्तो । गोली लागेको बाघलाई रत्याउने गम्भिर चुनौती थपियो ।

तपाइँको प्रतिक्रिया

फेसबुक