मंगलबार, वैशाख ११, २०८१

युरोपेली राष्ट्रहरुद्वारा ओमिक्रोन वृद्धिको प्रतिरोध गर्न नयाँ कदम चाल्दै

नेपालप्लस संवाददाता२०७८ पुष ८ गते १३:२४

Image Credit-deutschland.de

युरोपेली देशहरूले कोभिड-१९ संक्रमणहरूमा भएको बृद्धिलाई सम्बोधन गर्न नयाँ उपायहरू घोषणा गरेका छन् । कोरोनाको ओमिक्रोन संस्करण भाइरसको प्रमुख संक्रमण बन्नेतर्फ अघि बढिरहेको बेला युरोपेली देशहरुले त्यसलाई नियन्त्रण गर्न नयाँ उपायहरु अवलम्वन गरेका हुन् ।

फ्रान्सले पहिले नै नयाँ वर्षको उत्सवहरू रद्द गरिसकेको छ । वालवालिकाहरुमा ओमिक्रोनको संक्रमण अत्यधिक देखिएपछि बुधवारबाट पाँच वर्षदेखि ११ वर्षका वालवालिकाकालागि फाईजर खोप लगाउन अनुमोदन गरिसकेको छ ।

फ्रान्सले बुधवारबाटै सार्वजनिक क्षेत्र, होटेल, रेस्टुरेन्टमा स्वास्थ्य पास अनिवार्य गराएको छ ।

बुधवार साँझ कोरोना संक्रमितको संख्या २४ घण्टामा एन लाख पुगेको फ्रान्स १ टिभीले उल्लेख गरेको छ ।

जर्मनीले निजी पार्टीहरूमा १० व्यक्ति भन्दा बढी सामेल हुन नपाउने भन्दै सीमा तोकेको छ । नाइटक्लबहरू बन्द गरेको छ । फुटबल खेलहरू लगायतका प्रमुख कार्यक्रमहरूमा दर्शकहरूलाई प्रतिबन्ध लगाएको छ ।

“यो पार्टीहरू र धेरै मानिसहरूसँग आरामदायी साँझ आयोजना गरेर रमाईलोसित बिताउने समय होइन” जर्मनीका नवनियुक्त चान्सलर ओलाफ स्कोल्जले भनेका छन् ।

फिनल्याण्डका बारहरू क्रिसमसको पूर्वसन्ध्यामा राति ९ बजे बन्द गर्नुपर्ने बनाइएको छ ।  प्रधानमन्त्री सान्ना मारिनले क्रिसमस र नयाँ वर्ष लगत्तै कोरोना जुन स्तरमा देखिन्छ त्यस स्तरसित लड्न नयाँ प्रतिबन्धहरू लगाउने बुधवार मेडियाहरुलाई बताएकि छन् ।

स्पेनको क्याटालोनिया क्षेत्रले पनि कोरोना भाईरस नियन्त्रणकालागि कडा नियमहरु घोषणा गर्नेबारे विचार गरिरहेको स्पेनको अलपाईस अखवारले उल्लेख गरेको छ ।

नेदरल्याण्ड्सले यस अघिनै क्रिसमस र नयाँ वर्षलाई लक्षित गरेर लकडाउन गरिसकेको छ ।

ओमिक्रोन भेरियन्ट फैलिएपछि बेल्जियमले सिनेमा, थिएटर र अन्य इनडोर गतिविधिहरू बन्द गर्दै भाइरस प्रतिबन्धहरू थप कडा पारेको बुधवार घोषणा गरेको छ ।

नेदरल्याण्ड्सका प्रधानमन्त्री अलेक्ज्याण्डर डे क्रोले ओमिक्रोन नयाँ संस्करण चाँडै बेल्जियममा प्रभावशाली हुने र लगभग ३० प्रतिशत नयाँ संक्रमण ओमिक्रोन भेरियन्टकै रहेको बताएका छन् ।

हाल बेल्जियममा ६ सय ९३ जना सघन उपचार कक्षमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री  क्रोले पत्रकार सम्मेलनमा भनेका छन् “धेरै अनिश्चितता भएको अवधिमा हामी अत्यन्तै विवेकी हुनुपर्छ ।”

बेल्जियममा अधिकांश इनडोर गतिविधिहरू बन्द गर्नुपर्नेछ । संग्रहालय, पुस्तकालय र फिटनेस केन्द्रहरू खुला भएपनि इनडोर क्रिसमस बजारहरू, जाडोको छुट्टी मनाउन खोलिएका केन्द्र (विन्टर भिलेज) र अन्य सांस्कृतिक कार्यक्रमहरू बन्द गर्नुपर्ने छ ।

जर्मनीमा केहि क्रिसमस मेलाहरु रद्द गरिएको छ । जर्मनीको संघीय र राज्य नेताहरूले  सम्पर्क न्युन गर्ने प्रतिबन्धहरू लगाउन सहमत भएका छन् । खोप लगाएका र निको भएका व्यक्तिहरूलाई समेत डिसेम्वर २८ देखिनै नयाँ नियमहरु लागु गरिंदै छ ।

नयाँ वर्षलाई लक्षित गरी ठूला ठूला समारोह, सांगितिक भेला, नाचगान र भोज आयोजना गरेर भिड लाग्नबाट रोक्न जर्मनीले २८ डिसेम्वरबाट यस्तो नियम घोषणा गर्न लागेको जर्मन अखवारहरुले उल्लेख गरेका छन् ।

« हामी सामान्य तालाबन्दी गर्न तयार हुनुपर्छ । यदि हामीलाई अर्को वर्ष चाहिन्छ भने लकडाउन छिटो भन्दा छिटो कार्यान्वयन गर्न सकिन्छ” बाल रोग विशेषज्ञ तथा सत्ता साझेदार दल ग्रीन पार्टीका सांसद जोहानेस सदस्य वाग्नरले डिडब्ल्यु न्युजसित भनेका छन् ।

स्विजरल्याण्डमा फेडरल अफिस अफ पब्लिक हेल्थका प्याट्रिक म्याथियासले मंगलबार एक पत्रकार सम्मेलनमा ओमिक्रोन संस्करणले हाल सबै नयाँ केसहरूको १० देखि २० प्रतिशत ओगटिसकेको तर प्रत्येक दुई देखि तिन दिनमा दोब्बर हुने सम्भावना रहेको बताएका छन् ।

स्वीजरल्याण्ड अझै पनि युरोपमा सबैभन्दा उच्च कोविड घटना दर भएको देश मध्ये एक रहेको भन्दै अस्पतालहरूले फर्वरीमा कोविड बिरामीहरूको चापले गर्दा ओभरलोडको जोखिम सामना गर्ने सम्भावना रहेको बताएका छन् । उनले तत्कालै केहि नयाँ नियमहरु लगाउनुपर्ने सुझाव दिएका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक