सोमबार, मंसिर १९, २०७९

दहालको राष्ट्रिय सम्मेलन केपी ओलीकै महाधिवेशनको निरन्तरता

सुरेशचन्द्र कुँइकेल /काठमाडौं२०७८ पुष १० गते १८:५७

फोटो साभार-हिमालय टेलिभिजन

आइतवार देखि नेकपा (माओबादी केन्द्र) को राष्ट्रिय सम्मेलन काठमाडौंमा हुँदैछ । यहि मौसममा नेपालका अन्य तीन पार्टीहरुले आफ्नो सम्मेलन (महाधिवेशन) सम्पन्न गरिसकेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीलाई छोड्ने हो भने बदलिंदो परिवेश अनुसार अन्य दुई ठुला पार्टीहरु नेपाली कांग्रेस र नेकपा एमालेले पनि आफ्ना महाधिवेशनमा कुनै परिवर्तन् ल्याउन सकेनन् । पुरानै नेतृत्वलाई पार्टी र देशको जिम्मा दिएर कार्यकर्ताहरु बिदा भए । माओबादी केन्द्रको अधिवेशनमा पनि कुनै नौलो कुरा हुने छैन । पुष्पकमल दाहाल पुन: पार्टीको अध्यक्ष बनाइनेछन र उनका कार्यकर्ता आफ्ना जिल्ला तिर लाग्ने छन ।

माओवादीको यो सम्मेलन नहुने हो भने पनि कसैलाई खासै कुनै फरक पर्ने थिएन र पर्दैन । पुष्पकमल दाहाल निर्विकल्प अध्यक्ष हुन । किनभने बितेका ३० वर्षमा जतिसुकै पटक पार्टीको नाम परिवर्तन भए पनि अध्यक्षको पदमा बस्ने ब्यक्ति कहिल्यै परिवर्तन भएको छैन । खासमा भन्ने हो भने माओबादी केन्द्र भित्र अध्यक्ष बन्न लायकको अर्को कुनै नेता नै छैन । अथवा यसरी भन्दा हुन्छ- पार्टीमा लागेको कुनै पनि ब्यक्तिले अध्यक्ष बन्नेगरी आफुलाई हुर्काउन पाउँदैन । यदि त्यसरी हुर्किन लाग्यो भने निमोठिन्छ । माओबादीभित्र त्यसरी दर्जनौं नेता निमोठिएर विस्थापनको बाटो समातेका छन । यो पार्टी भित्र दाहाल बाहेक अर्को अध्यक्ष बन्ने नजिर बन्न सक्दैन ।

२०५२ सालमा जनयुद्द शुरु हुँदा दाहालसँग जो जो नेताहरु थिए ति मध्ये अधिकांशले उनको साथ छोडेका छन् । त्यो बेला पार्टीको केन्द्रिय समितिमा पुगिसकेका मोहन वैद्य, डा। बाबुराम भट्टराई, नेत्रविक्रम चन्द विप्लव, रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, गोपाल किराती, लेखराज भट्ट, लोकेन्द्र विष्ट, इन्द्रमोहन सिग्देल, हेमन्तप्रकाश ओली, धर्मेन्द्र बास्तोला, खड्गबहादुर विश्वकर्मा, हिसिला यमी, सीपी गजुरेल र हरिभक्त कँडेल लगायतका लगभग डेढ दर्जन नेता तितर वितर भएका छन् र दाहालसँग अँजुलीमा अटाउन सक्ने एउटा मसिनो समुह मात्र बचेँको छ । त्यसैले पनि पुष्पकमल दाहाल निर्विकल्प अध्यक्ष हुन ।

जनयुद्दकालमा एक दुई पटकका सम्मेलन बाहेक अरु सम्मेलनका बारेमा कहिंकतै सुन्नमा आएन । तर जतिपटक सम्मेलन भए यिनै दाहाल नै पार्टीको शक्तिशाली महासचिवमा दोहोरिइ रहे । कसैले यिनलाई विस्थापित गर्न सकेन वा आँट गरेन ।

कुनै जमानामा मोहनविक्रम सिंह पनि दहालका नेता थिए । चौथो महाधिवेशनपछि पुनर्गठित चौम समूहलाई छोडेर प्रचण्ड र मोहन वैद्यले मोटो ‘मशाल’ बनाएका थिए । ०४७ सालमा प्रजातन्त्र स्थापनापछि निर्मल लामा र नारायणकाजी श्रेष्ठले नेतृत्व गरेको चौम समूह र मोटो मसालवीच पार्टी एकता भएर नेकपा एकता केन्द्र बनेको थियो । जसको महासचिव दाहाल बने । त्यस यता दाहाल पार्टीको नेतृत्वबाट तल ओर्लिनु परेको छैन । एकतमासले पुष्पकमल दाहाल पार्टीको चुचुरोमा बसेको बस्यै छन ।

जनयुद्द कालमा नेकपा माओवादी भित्र नेतृत्वको कुनै प्रतिस्पर्धा थिएन । बरु तल्लो तहका नेताहरुलाई केन्द्रिय सदस्यमा बढुवा गर्ने चलन थियो । खास गरेर दाहाललाई रिझाउन सक्ने ब्यक्ति केन्द्रिय सदस्यमा बढुवा हुन्थ्यो । अहिले समय फेरिएको छ । तर माओवादीको चलन फेरिएको छैन- उस्तै छ । जनयुद्दको समय जस्तै ।

माओवादीले जनयुद्दलाई पूर्णविराम लगाएर मुलधारको राजनीतिक प्रकृयामा आएको १३ वर्ष बितेको छ । तर प्रकृया उही छ, उस्तै बन्दुके पारा । आइतवार काठमाडौं शुरु हुने राष्ट्रिय सम्मेलनका लागि १४८३ जना प्रतिनिधिहरुको सहभागिता हुने छ । यसबाहेक पार्टी स्थाई समितिले दस प्रतिशत अरु प्रतिनिधि चयन गर्ने ब्यवस्था गरिएको थियो । तर शुक्रवार बसेको समितिको बैठकले सो १० प्रतिशत प्रतिनिधि चयनको जिम्मा अध्यक्ष दाहाललाई दिएको छन । अब उनले राष्ट्रिय सम्मेलनका लागि १ सय ४८ जना प्रतिनिधि चयन गर्ने छन ।

यो अधिकार अध्यक्षका लागि यस्तो अधिकार हो जसले हरेक पटक एउटै ब्यक्तीलाई अध्यक्ष बनाइ रहन महत्वपूर्ण भूमिका खेल्दछ । केहि समय अघि नेकपा एमालेको अधिवेशन जुन रुपले भयो माओवादी केन्द्रको रुप पनि त्यहाँ भन्दा फरक छैन । केपी ओलीकै पथमा दाहालले पनि धेरैलाई मनोनित गर्ने छन् । अर्को पार्टीबाट प्रवेश गरेका केहि नयाँँ अनुहारहरु केन्द्रिय सदस्य हुनेछन् । र ऐतिहासिक भनिएको यो सम्मेलन सकिने छ ।

हुन त दाहालले यो सम्मेलनमा आफ्नो प्रतिवेदन प्रस्तुत गर्ने छन् । उनको प्रतिवेदनमा शुक्रवार देखि केन्द्रिय समितिमा छलफल भइरहेको छ । तर दहाललाई के थाहा छ भने आफ्नो प्रतिवेदन जुनसुकै समितिमा छलफल भए पनि सर्वसम्मतले पारित हुन्छ । दाहालको यो अहंकारलाई विस्थापन गर्न सक्ने नेता अहिलेसम्म देखिएन माओवादीमा । विस्थापन त के कसैले चुनौतीसम्म दिन सकेन । ३० वर्षको यती ठूलो अन्तरालमा अध्यक्ष पदमा उम्मेद्बारी दिनसक्ने एउटा पनि मान्छे हुर्काउन नसकेको यो पार्टीले देशका लागि के दिन सक्ला ?

अहिले देशलाई माओवादी केन्द्र मात्र नभएर नेपाली कांग्रेस, नेकपा एमाले अथवा राष्ट्रिय प्रजातन्त्र पार्टी जस्ता दलहरुले नयाँँ सोच र विचार दिन सक्नुपर्ने थियो । तर अवस्था सबैको उस्तै छ । राष्ट्रिय राजनीतिमा असफल भएकाहरु, एक्काइसौं शताब्दिको प्रतिश्पर्धात्मक भूमण्डलको रत्तिभर ज्ञान नभएकाहरु र देशको हरेक हिसावकितावमा वेरुजुमा परेकाहरु नै सबै पार्टीको पुन: नेतृत्वमा पुगेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग कती नेपालीले देशको उन्नत भविष्यको अपेक्षा गर्लान ? केपी ओली अथवा माधव नेपालले यो देशको कायापलट हुनेगरी केही योजना ल्याउलान भनेर कती मान्छेले पत्याउलान ? सर्वेक्षण नै गर्ने हो भने यिनका खोपी भित्रका भित्रियाहरु बाहेक अरु कसैको मत यिनिहरुले पाउँदैनन ।

पुष्पकमल दाहाल यहि वर्णानुक्रममा ‘डेट एक्स्पाएर’ भएका अर्का नेता हुन् । दाहालले पनि राष्ट्रका लागि केही गर्लान् भन्ने कुनै नेपालीले विश्वास गर्दैन । अझ कम्युनिष्टको पर्दा भित्र रहने झनै अलंकारिक देखिए । खासमा अहिले पार्टीहरुमा नेतृत्व रुपान्तरणको आवश्यकता थियो । यथास्थितिमा केही समय बाँच्न सकिन्छ । सधैं यथास्थितिमा बाँचिरहनु भनेको लाचार हुनु हो । सबै राजनीतिक दलका कार्यकर्ताहरु लाचार हुन् ।

हुन त धेरै नेपालीलाई शैद्धान्तिक रुपमा कुनै कम्युनिष्ट नेता कस्तो हुन्छ भन्ने थाहा नै छैन । हामीहरुले कम्युनिष्ट नेताको चरित्र देखेका छौं । चारित्रिक रुपमा कम्युनिष्ट नेताहरु पुष्पकमल दाहाल, केपी ओली र माधव नेपाल जस्तै हुन्छन् जो मरणोपरान्त पदका लागि हक जमाइरहन्छन्, दावा गरिरहन्छन् । यिनिहरुका महाधिवेशन हुन्छन् । सम्मेलन हुन्छन् । तर देशका लागि केही हुँदैन । पुष्पकमल दाहालको राष्ट्रिय सम्मेलन केपी ओलिकै महाधिवेशनको निरन्तरता हो ।

तपाइँको प्रतिक्रिया