शुक्रबार, असोज २१, २०७९

सुरमुचेको एक्लो घर !

युवराज नयाँघरे२०७८ पुष ११ गते १५:३२

अब हुँदै थियो मेरो परीक्षा ! तामाकोसीको झोलुङ्गे पुल तरियो छेदछेदमा । बिहान सुनखानीबाट हिँड्दा दिन यति सुन्दर, न्यानो र उज्यालो होलाजस्तो लागेकै थिएन । बादल भेला भइरहेको देखेर म आत्तिँदा साथीहरुले थुमथुमाए । गाडीले सिँगटी, भोर्ले भीर, जगत हुँदै ओराली दियो गोँगरमा । अनि अल्याङतल्याङ गर्दै छेदछेदसम्म पुग्यौँ हामी ।

मास्तिरपट्टि सुरुङ खनिँदै थियो लामबगरबाट तामाकोसी हुल्ने । पूर्वपट्टि गर्जना हालिरहेको थियो तामाकोसी नदी । कञ्चन पानीमा डुबेका ढुङ्गा, लेउ, रुखपात सबै देखिन्थे अत्यन्तै सुकिला र राम्रा ।

हो, मेरो परीक्षा लिँदै थियो उकालीले । ‘अब पुरै दुई घन्टा छ ठाडै उकालो !’कमल कार्कीले घडी हेरे ।

‘कम हुँदैन बरु बढी होला !’ घडी हेरेर सही थापे उद्धव लुइटेलले ।

सिमी गाउँको उकालीमा खुट्टा राखेपछि मैले बाक्ला लुगा बाँधेँ कम्मरमा । पानी घुट्क्याएँ । अलिकति गढतीर हिँडेपछि उभियो ठाडै उकाली । पहिलो, दोस्रोसम्म त तैबिसेक । सिँढीले फन्को मारेर तेस्रो क्रम बनेको उकालीका भर्‍याङमा नबिसाई धरै पाइएन ।

यस्तै दस किलो हुँदो हो मेरो झोला । लुगैलुगाले कोच्चिएको मेरो भ्यागुते झोला छ पुटक्क । त्यस बाहेक अरु पानीका बोतल, अरु खत्राकखुत्रुकले अड्डा जमाएथे मेरो झोलामा । उकालोमा निकै हम्मेहम्मे भो । झोला सरेर घरी देब्रे कोखामा, घरी दाहिने काखी दर्फराउन थाल्यो ।

तेर्पेमा भेटियो जापानीहरुको हुल । आजको रात यो ठाडो उकाली छिचोलेपछि तिनले डेराडन्डा यतै जमाउने सोचेका रहेछन् । तर तिनका पारामा हामी मिल्न सकेनौँ । निकै पर गएर हामीले बास बस्नु थियो । बाटो नछिचोले अरु उता दुई दिन पर पुग्ने ठाउँमा तलमाथि हुन्थ्यो ।

एकसालमा धेरै कुरा परिवर्तन हुन्छन् । एक साल भनेको पृथ्वीको एउटा ठूलै दुरान्तर हो नि ! शरीरको तन्तु एक वर्ष बूढो हुन्छ । रगत पातलिएको हुन्छ एक वर्षमा । आँखाको ज्योति कमजोर हुन्छ एक सालमा । कानका जाली कमजोर भएका हुन्छन् एक वर्षमा । चेतना लुलो भएको हुन सक्छ । स्मरणशक्ति रोगाएको हुन सक्छ एक वर्षमा ।

निकै माथि पुगेपछि धाराको चिसो पानी खायौँ धक फुकाएर । तल जगतमा बसेर पढिरहेका केटाकेटीसँग भेट भो । कहिले ती अघि, कहिले हामी । उकालीमा हाँसो, ठट्टा र छेडपेचले सघायो ।

मैले निकै उकालीमा पुगेपछि तल छङ्छङाइरहेको तामाकोसीलाई एक पटक गहिरेर निहालेँ—उसको गर्जना मीठो सङ्गीत भएर सुनियो, उसको आकार धागोजस्तो भएर देखियो । जीवन पनि उमेरका सिँढीमा यस्तै शान्त हुँदो हो, यस्तै मिहीन हुँदो हो, यस्तै गहिरो हुँदो हो ।

सिमी गाउँँ उक्लने भीरको बाटो ककारो र खोँचलाई कपेर सिँढी हालिएको रहेछ । मन अत्याउने, शरीर गलाउने र आँखा थकाउने लाग्दैछ उकाली । पसिनैपसिना भइयो । बाटोमा उक्लनेका खुइ्ययले नुहाइयो । घ्वाप्प छोप्यो बादलले ।

‘शीतल भो !’ उद्धव बोले ।

‘म त रमाइनँ भाइ !’ बादलतिर आँखा तरेँ मैले ।

‘उकालोमा घाम चर्केको भए गाह्रै हुन्थ्यो नि । ठीकै भो । एकातिर उकालीले खोस्ने, अर्कातिर सुर्जेनारानले चुस्ने !’ कार्कीले व्याख्या गरे ।

‘भरे यो बादलले हिउँ पारेर बाटो छेक्यो भने नि…..?’निधारको पसिना पुछ्दै म बोलेँ ।

‘तीन भाइ छौँ । जे त होला !’ लुइटेलले भरथेग गरे ।

बिसाउने र तन्केका घुँडा खुम्चाउँदै हामी उकालो चढिरह्यौँ । चिप्ला ढुङ्गा, बाटो छेक्न फैलेका जरा—सिँढीका मित्रु परे । हाम्रा लागि त्यत्तिकै शत्रु ।

बटारिएर गएको उकालो ठाउँठाउँमा आफैँ बिसाएको लाग्थ्यो । उसको थकाइमा हाम्रा सुस्केरा मिसिन्थे त्यतिकै जोडले । अनि थेच्चिन पुग्थे निकै बेर ।

पारि लामबगरको चेप देखियो खोँचमा झल्याकझुलुक । त्यस वरपर दार्हा ङिच्याएर बसेका पहराले हाम्रा पाइला र लस्काइलाई गिज्याइरहेजस्तो पनि लाग्थ्यो । कति ठाउँमा पहिरिएर पहाडको जगै खुस्किनै थालेको हो कि झैँ पनि भान पर्थ्यो । कति ठाउँमा छाती चिस्सिने खोँचले ह्वाङ्ङ मुख बाएको लाग्थ्यो ।

बाटोसँग के थियो—उही चकमन्नता । त्यही चकमन्नतालाई भत्काएर हाम्रा पैताला लम्किहाल्थे । पैतालामा झिनो सम्झना टाँसिन्थ्यो । मनभरि धेरै कुरा उकुसमुकुस भएर आउँथे ।

थाक्दै, बिसाउँदै र घुर्की देखाएर लस्केका पैतालालाई फकाउँदै फुल्याउँदै लम्किरहेको छु म । आपट्टे भीरमा कपेर बनेको बाटोसँग छ मनको गनगन । जतासुकै देखिने सगरभेदी पहाड । हामी पूर्व–उत्तर भएर लम्किरहेका छौँ । चेप, खोँच र ओडारहरु देखा परिरहेका छन् घरीघरी ।

झण्डै दुई घन्टा लाग्यो सिमी गाउँ पुग्न । तरेली परेको पखेरोमा बसेको रहेछ बाक्लो बस्ती सिमी गाउँ । मकै थिए तीनचार पाते पिपिरा । आलु रोपिएका मलिला गरा थिए जताततै । हामी घरका आँगन, पिँढी हुँदै गएको गोरेटोमा डोर्रिइरह्यौँ निरन्तर ।

काला बाला भएका गहुँ थिए गराभरि । बाटाभरि गुराँसका बुट्यान निकै भेटिए । गाढा रङ्गका गुराँस टिप्दै कानमा सिउरिन छोडिनँ मैले । दुधिलो र चाँपले अँगालो हालेर अकासिएको पनि देखियो । तिनको प्रेमलाई मैले मेरो गोडामा ऊर्जा भरेँ ।

बाटो निकै उकालिएको रहेछ । गुम्बालाई दाहिने पारेर घुम्दै उकाली चढ्यौँ । घाँस काट्ने, बारी सम्म्याउने र गहुँ काट्ने आइमाईका अनेक भङ्गिमा देखिन्थे । आलु गोड्नेहरुका हस्याङफस्याङ थिए झन् चर्का ।

अगाडि देखिएको भरिलो पहाड हेरेर थामिएँ म । गोडालाई भर दिन आलीमा अडिएको थिएँ ।

‘यी पहाडहरुसँग हेराहेर खुब हुने भो !’

‘देखादेख मात्र होइन, अँगालो हालेरै गइन्छ !’ उद्धवले मेरा कुरालाई अरु थपथाप पारे ।

सिमी गाउँ गौडो रहेछ रोल्वालिङ उपत्यकाको । यीँबाट चामल, पीठो, ओखती, लुगा बर्खैभरि लगिँदो रहेछ । धेरैको बिहेवारी नि यतै हुँदो रहेछ ।

‘जोईदेखि जाउलोसम्म जोगाड गर्दिदो रैछ यो गाउँले, है दाइ?’लुइटेलका कुरा सुन्छु ।

तामाकोसीको गर्जन थामिए पनि त्यसको रस भने यता पसेको देखियो । सार्है मुस्किलले हामी थाप्लामा पुग्यौँ गुम्बाको पिँढी टेक्दै । रङ्गीविरङ्गीमा सजिएको छुर्तेन पताका हावामा हल्लिएका थिए । बाख्रा चराइरहेकी च्याङ्गा शेर्पासँग चिनाजानी भो । उनले देखाएको बाटोअन्सार हामी अगाडि बढ्यौँ ।

छैन, कुनै घरबस्ती छैन । एकदमै एकलास, निर्जन, चकमन्न । मान्छे छैन । कुनै चरोमुसोको चालचुल छैन । जन्तु जनावरको चालामाला छैन । जीवको उपस्थिति छैन ।

‘काँसम्म हो आज ?’

‘पुग्न चैँ त च्छोरोल्पासम्मै हो । तर आज सुरमुचे पुग्न सकिएला कि भनेको…..!’ लुइटेल नै बोले ।

‘तपाईंहरु के पुग्ला र सुरमुचे ? तल सिस्नेरीसम्म पुग्ला । नभए बाटाकै ओडारतिर रात कटाउला !’ शेर्पिनीले हाम्रो हालत देखेर त्यत्तिको विश्वास गरेजस्तो लागेन । हामीले एकअर्कालाई हेर्‍यौँ ।

च्याङ्गासँग बिदावारी भएर लम्कियौं । अलिक अघि पुगेपछि सल्लाह भो केही खाएर लुइँलुइँ लम्कने ।

‘अब याँ–उता पुरै जङ्गल छ । बाटामा कुनै घर नि छैन । बस्ती त टाढाको कुरो भो । पुरै तीन घन्टापछि मात्र एउटा घर भेटिन्छ । त्यै घरमा नि मान्छे हुन्छ भन्ने के ग्यारेन्टी !’

‘त्यसपछि अरु दुई घन्टा मस्तले लम्किएपछि अनि अर्को घर भेटिन्छ जङ्गलका माझमा । यी सबै हालतलाई बुझेर हामीले यीँ क्यै खानु उत्तम हुन्छ !’ उद्धवले बेलिबिस्तार लाए ।

जङ्गलको साम्राज्यमा अनेक देश, महादेशको उपस्थिति छ । जङ्गलको सभ्यतामा अनेक उतारचढाव छ । जङ्गलको शासनमा परीपरीका स्वर र विचारले दागा धरेको देख्न सकिन्छ ।

दोलखा सुनखानीका यी दुई शिक्षक हुन् उद्धव लुइटेल र कमल कार्की । कालीनाग उच्च माध्यमिक विद्यालयमा कार्यरत छन् । लुइटेलसँग म यस्तै पाँच वर्ष अघिदेखि नजिक छु भने कार्कीसँग दुईदिन अघि मात्र परिचित । यसअघि च्छोरोल्पा पुगेर आइसकेका छन् लुइटेल । उनी परे जानकार । एकदमै खग्गु । ‘त्यसो भए एक सरो खानेपिउने काममा बिलम्व नगरौँ !’

हामी पस्यौँ बाटो तलको घरमा । तीनचार केटा हाँसो र खेलमा जुटेका देखिन्थे । तिनैलाई भन्यौँ हामीले, खाजाको जोहो गर्न ।

हातमुख धोई चौरमा पसारिएर पानी पिउँदै थिएँ म । साथीहरु वरपर गर्दै थिए । छिनभरमै अघि छुट्टिएकी शेर्पिनीले साग, गेडागुडी र झोलले भरिएको चाउचाउ बोकेर टुप्लकिइन् । उनकै घर पो रहेछ यो त । थपीथपी खाइयो झोले चाउचाउ ।

सिमी गाउँलाई तलैदेखि हेरेँ मैले । काठका छाना भएका घर थिए । मकै, भटमासले भरर्र उम्रिएका तरेली गरा । हरियोपरियो नि त्यत्तिकै । एक खालको घरैघरको लस्कर । निगालोले डोका, थुन्से बुन्नेहरु जतासुकै थिए । बाँसका चित्रा बनाएर बारीका पाटामा थाक–थाक लाइएका देखिन्थे जतासुकै । आरु, खुर्पानीका बोट थिए बारीका डिलडिलमा ।

गणितका गुरु थिए कार्की । उनी भन्दै हिँड्थे—‘यो पचहत्तर डिग्रीको उकालो हो !’

‘मेरा खुट्टाले त नब्बे डिग्रीको पो पायो त !’लुइटेल थप्थे । म हाँसेर दुबैलाई समर्थन गर्थें ।

थकाइलाई गुटमुट्याएर पाइला सार्दा साथीहरुसँग मैले भनेँ—‘मलाई राति हिँड्न गाह्रो पर्छ । बेलैमा लम्किऊँ है !’

‘ए, आत्तिनै पर्दैन । साँझसम्ममा हामी पुगिसक्छौँ जुत्ता खोलेर ओछ्यानमा घुस्रिन !’ उद्धवको कुरो मैले नपत्याई भएन । अनि खुट्टा तन्किए । पूर्व–उत्तर भएर हिँड्दा अगाडिका अन्कन्टार डाँडाहरु झन् अग्लिए । तिनलाई लाग्दो हो—‘यी मनुक्खे त खाना खाएर बलिया भएका छन्, यिनको शक्ति परीक्षण मैले किन नगर्नु नि !’

आज बिहानैदेखि भुँडीमा गड्याङगुडुङ भइरहेथ्यो बेस्सरी । चिसोपानी र मेरो तातो शरीरको मेलमिलाप नभएको हो कि भन्ने अड्कल काटेँ । तैपनि पेटको आरनमा मकै, भटमासको घान हाल्न भने छोडेको थिइँन ।

तेर्पे भएर लम्किरहँदा गोठ निकै देखिए । बारीमा मल हालिएका र हरियै भएका गहुँको लहलहले मन भरियो । बाटाभरि ठाउँठाउँमा ओखर भेटिए । बोटबाट खसेका हुन् कि कसैले खल्तीबाट चुहाउँदै हिँडेको हो ? पत्तै भएन ।

‘मुर्दा गाड्न लाँदा भोटेले ओखरको लावा छर्दै पो लगेका हुन् कि ?’ शङ्कालु मन मैसँग बोल्यो ।

‘किनभने जहाँ जे छ, त्यै चलन हुन्छ । यता धान नफल्ने हुँदा ओखरले काम गरेको नहोला त, लावाको रुपमा ?’

जे होस्, कार्की र लुइटेलले बाटाभरिका ओखर टिप्दै खल्ती भरे ।

ओराली र तेर्पेलाई मजाले नाघियो । लुइँलुइँ लम्केका छौँ हामी । गुराँसैगुराँसले अब हामीलाई छोप्दै छ । बाक्लो छ जङ्गल । गोधूलीको पातलो पछ्यौरीले हाम्रा वरिपरि बेरबार पारिरहेको छ । जङ्गलमा न्याउली कराएको खुबै सुनिन्छ । अनौठो आवाजले रसाएको छ मेरो छाती पनि । एकोहोरो हिँडाइले थकित पार्छ । तर बाटो र बास सम्झेर मनलाई आड दिनु परिरहेको छ मैले ।

‘सकेसम्म घरमा बास बस्न पुग्नु पर्छ । क्यै सिप नलागे ओडार त छँदैछ नि !’ अन्तर्मन पोखेँ मैले ।

कार्कीले मुन्टो हल्लाए । दारी कन्याएर सहमति पोखे लुइटेलले ।

ढुङ्गेनी चेप र उबडखाबड बाटो निकै अप्ठ्यारो थियो । ठमठमती हिँडे भीरका चट्टानले निधार ठोक्किने, साँघुरो र अक्करे बाटो थियो । बडेबडे ढुङ्गा कुनै बेला नि तल गुड्लान् जस्तो भएर भीरमा आएर अडिएका देखिन्थे टक्क ।

‘यो बाटो मान्छेलाई होइन दाइ !’

‘कसलाई त ?’

‘चौरी, भेडा र गाईगोरुलाई !’

‘मान्छेलाई नि ?’

‘पशुलाई थोरै सजिलो पारिदिएको । मान्छेलाई त नभए नि हुन्छ बाटो । अझ यताका मान्छे त भीर, बुट्यान, खोलानाला, लहरापहरा जाँ र जेमा पायो तीँ टेक्दै हिँड्न सकिहाल्छन् नि !’ उद्धव फरर्र बोले ।

चकमन्न जङ्गलमा हामी तीनका आवाज, सुस्केरा र धड्कन मात्र छन् । अरु त अटुट छ रोल्वालिङको गर्जन । घरीघरी हावा सुइँयय मच्चिन्छ—वनै छिचोलेर ।

हो जस्तो लाग्यो मलाई पनि आफैंले नाघेको बाटो देख्ता ।

साह्रै गाह्रो भो सास फुलेर । पाइला घिस्रिनै नसक्ने भए । म त दुई पाइला हिँड्न दुई पल रोकिने गर्न थालेँ । कार्की र लुइटेल मेरा अङ्गरक्षक थिए पुरै दायाँ बायाँ । ती मेरा पारामा सास फेर्थे, मेरा तालमा पाइला घिसार्थे, मेरा लयमा बोली निकाल्थे ।

‘दाइलाई मैले जस्ताको तस्तै याँसम्म फर्काउनु पर्छ च्छोरोल्पा पुर्‍याएर !’  ‘त्यतिले मात्र पुग्दैन, कुनै बेदखल बिनै भाउजूको काखमा लगिदिनु पर्छ मैले दाइलाई !’ दुबै वाक्य थिए उद्धवका ।

मलाई तिनले अघोर हार्दिकता देखाए । अब पुरै ढुक्क थिएँ म । निकै माथि पुगेपछि चौतारी भेटियो । ढुङ्गेनी गारोले चौर घेरिएको थियो । पश्चिमपट्टिको लामबगर अलेली देखिन्थ्यो । पारिको रिगु गाउँ पनि झुलुक्क देखा पर्‍यो । पहिरोले तलैदेखि तानिरहेको थियो रिगुलाई । पूर्वतिरबाट गड्गडाएर आएको थियो रोल्वालिङ खोला । उसको चर्को आवाजले भत्काएर लगिसकेको थियो हाम्रा कानका दुईचार तह ।

‘यो ओखर खाएपछि शक्ति आउँछ ज्यानमा !’ लुइटेलले ढुङ्गामा फोरिसकेछन् ओखर ।

पानी खाइयो । एक मुठी मकै चबाइयो । ओखरले तिनलाई जिब्रामा सजाएँ मैले ।

अब खुट्टा लागे लुइँलुइँ वनतिर । घना वनमा खसेका पात मर्‍याकमुरुक्किए । बडाबडा रुखहरुका हाँगामा चराका लीला थिए । लोखर्केहरुका बथान गुडुडु कुदिरहेका थिए । खरायोका हुल दगुरिरहेका थिए । बाँदरका झुण्ड हाँगा–हाँगामा फाल हानिरहेका थिए । वन बोल्यो एकाएक !

निकै तर्पे हिँडेपछि एउटा छाप्रो भेटियो । पाखामा मल छरछार पारेको देखिन्थ्यो । एउटा चौरी उग्राइरहेको थियो । अरु कुनै जीवनको गति, पति मति देखिएन कत्ति पनि । घाँटी भिजाउने काम हुन्थ्यो । पानी खाने निहुँमा म बिसाउने गर्थें शरीरलाई । अघिपछि लम्किरहेका मित्रहरुलाई ‘थाम्मिउँ है’ भन्न पनि अप्ठ्यारो थियो ।

रुखका चेपमा अनौठाअनौठा छायाँ देखिन्थे, रुप देखिन्थे, आकार देखिन्थे । रोल्वालिङ खोलाको आवाज निकै नजिक आयो । चर्को आवाजमा जङ्गलको चकमन्नता निकै कडा र भयावह लाग्थ्यो ।

‘हामी यसलाई छोड्दैनौँ, यसले नि छोड्दैन !’ उद्धवले खोलातिर हेर्दे भने । सारा वन, पखेरा र भीरमा रोल्वालिङको गर्जना थियो अटुट । नदीकोे कठोर आवाजको शक्ति रसमय भएर यी भीर, पाखा र वनमा लिपिस्सै टाँसिएको लाग्छ ।

‘जाँ का खोलाको स्वर नि एउटै है ?’मनले सोध्यो मनैलाई ।

रोल्वालिङको तीरैतीर अबका तीन दिन हामीले हिँड्नुपर्ने कुरो सुनियो । जे होस्, शिर–पुच्छर साथी हुने भो हाम्रो ।

दिउँसोको एक बजेदेखि हिँडेका छौँ हामी । तेर्छो, ठाडै उकाली, तेर्पे अनि ओरालीका नसा–नसा छामिसकेका छौँ हामी तीन भाइले । यी सबैले पनि हाम्रा नौनाडी गलाइसकेका छन् बेस्सरी । शरीरमा एकोहोरो हमला भएको छ—बाटो, पानी, हावा र गतिको । सेता लेउ उम्रिएका अक्करे ढुङ्गामा थकाइ मेट्छु । झोला गरुँगै छ ।

‘यो पटक लट्टी नटेकौँ कि भनेको भाइ !’ ओरालीमा हातैमा थमाइएको लट्ठी समाउन खोजिनँ मैले ।

‘सजिलो हुन्छ नि !’ खुकुरीले चिल्ल्याएर मेरा हातैमा थमाए उद्धवले ।

‘सकेसम्म म यसपालि फुक्काफाल हिँड्छु !’ मेरो जिद्धी रह्यो त्यत्तिकै । बाटो छेकेर बसेका लाग्थे अजङ्गअजङ्गका रुखहरु । तिनलाई पर सर भन्न नि नमिल्ने ।

बाक्लो थियो जङ्गल । ढुङ्गामा खसेका पहेँला पातले बाटो थियो साह्रै चिप्लो । एक ठाउँमा टेक्यो—अन्तै पुग्थे खुट्टा । फेरि उबडखाबड ढुङ्गाले गर्दा बाटै नचिनिने !

कति ठाउँमा त खुट्टै पातमा भास्सिन्थे ग्वामग्वामी । कार्की र लुइटेलले मलाई भासबाट झिक्ने काम पाए निकै खेप ।

‘मान्छे के गरी हिँड्दा हुन् ?’ एक ठाउँमा चिप्लेर उठ्दै बोलेँ म ।

‘मैले अघि नै भनेँ नि दाइ, बाटो काँ हो र मान्छेका लागि !’उद्धवले मेरो झोला मिलाइदिए काँधमा ।

मैले ह्वार्लाङे ज्याकेट बाँधेर राखेँ कम्मरमा । झोलाले काखीमा दर्फराइसकेछ गतिलैसँग । पसिना, दर्फराइ र झोलाको घर्षणले आफ्नो तुजुग देखाइरहेका छन् बिचरो मेरो कमलो काखीमा । अवाक् छु म ।

पातैपातका चाङ । फेरि ओराली छ घरीघरी । अनुमान लगाएर भेटिने ढुङ्गेनी गोरेटो । बाक्लिदै गएको छ अँध्यारो । जाडो, अँध्यारो र थकाइले घेर्छन् पटकपटक । पहाडमा चाँडै अन्धकार ओर्लेको भान हुन्छ ।

ओडार भेटिन्छन् ठाउँठाउँमा । दाउरा बालेका ठुटाठुटी, ढुङ्गा जोरेर चम्का बनाएका र रात बिताएर लम्केका चिनो जतासुकै देखिन्छन् । ओडारका काला ढुङ्गामा भात पकाएका र देउतालाई मन्साएका खानेकुरा पनि देखिन्थे पातपातमा कक्रिएका । ओराली र तेर्पे बाटोसँग भेटघाट भइरह्यो ।

मन घरीघरी ढक्क फुल्थ्यो । बाक्लो वनले निलिरहेको थियो हामीलाई । दिनलाई साँझले बोलाएर टुकुटुकु हिँडाइरहेको थियो मसँग । मेरो लम्काइ छ सुस्तरी । तर चारै दिशा घेरेर आएको साँझ भने चम्केर आइरहेको छ…..आइरहेको छ ।

एक ठाउँमा ढुङ्गा चिरेर बनेको बाटोलाई साथी बनाउनु पर्‍यो । दुई बडा ढुङ्गा फग्लेटा भएर फाटेका थिए । त्यसका चेपमा थुप्रिएका पतिङ्गरमा मचमची टेक्दै हामी हिँड्यौँ । सेता च्याउ थिए ढुङ्गेनी कापभरि ।

हजारौँ वर्षका बूढा रुखहरु थिए । ढलेपलेका रुखमा अरु नै नयाँ बिरुवा उम्रिएका देखिन्थे । जङ्गलको सभ्यता थियो—नित्य, निरन्तर । जङ्गलमा अनेक पुस्ताको उपस्थिति थियो—दर्पसाथ, गर्वसाथ ।

चकमन्न जङ्गलमा हामी तीनका आवाज, सुस्केरा र धड्कन मात्र छन् । अरु त अटुट छ रोल्वालिङको गर्जन । घरीघरी हावा सुइँयय मच्चिन्छ—वनै छिचोलेर ।

‘हामीले बाटो बिराएका त छैनौँ नि भाइ ?’ म सोध्छु पटकपटक ।

‘यो लुइटेलका छोराको गिदी काँ कमजोर छ र !’ गए साल मात्र यै गोरेटो टेकेका थिए उद्धव भाइले । त्यसैले पनि उनमा साहस छ, जानकारी छ, सूचना छ । नपत्याउँदो तुजुग पनि । ‘तैपनि त….!’ जिस्काउन छोड्दिन थिएँ म ।

एकसालमा धेरै कुरा परिवर्तन हुन्छन् । एक साल भनेको पृथ्वीको एउटा ठूलै दुरान्तर हो नि ! शरीरको तन्तु एक वर्ष बूढो हुन्छ । रगत पातलिएको हुन्छ एक वर्षमा । आँखाको ज्योति कमजोर हुन्छ एक सालमा । कानका जाली कमजोर भएका हुन्छन् एक वर्षमा । चेतना लुलो भएको हुन सक्छ । स्मरणशक्ति रोगाएको हुन सक्छ एक वर्षमा ।

‘मलाई एक–एक कुरा ख्याल छन् पोहोरका !’ भाइसँग मैले जित्न सकिनँ । बेलाबेला बाटो अन्तै गएजस्तो लाग्थ्यो । उनी टक्क अडिएर भन्थे—‘लाखे है, यता पो हो त !’

अनि हामी उनले औँल्याएतिरै लागथ्यौँ । दारी कन्याउँदै मेरै वरपर हुन्थे लुइँटेल । बाटोसँग के थियो—उही चकमन्नता । त्यही चकमन्नतालाई भत्काएर हाम्रा पैताला लम्किहाल्थे । पैतालामा झिनो सम्झना टाँसिन्थ्यो । मनभरि धेरै कुरा उकुसमुकुस भएर आउँथे ।

रोल्वालिङको आवाज अब झन् नजिक भयो । कर्कश स्वरमा दगुरेको पहाडी खोलामा तेज थियो, प्रहार थियो, शक्ति थियो । तर यी सबै तुजुगमा पनि सफा, सेतो र सुकिलो चरित्र थियो लपक्कै मिलेको ।

‘जाँ का नदीको स्वर नि एकै है !’ फ्याट्ट बोल्छु म ।

जङ्गल नापिरहँदा पनि भेटिएका गुराँसका थुँगालाई हेर्दै म शक्ति भर्थें ज्यानमा । त्यो गाढा रातो रङले आँखा, खुट्टा र छातीमा बल भित्रिन्थ्यो । ओराली र तेर्पे बाटोसँग जुहारी नै चल्यो ।

‘पछि यो बाटो कसरी फर्कन होला ?’ फर्किने चिन्ताले मलाई गलाइसकेको छ अहिले नै ।

तेर्छोमा पातको गद्दा छ बाक्लै । टेक्यो उच्छिटिएर शरीर काँ पुग्छ काँ । साह्रै उबडखाबड बाटो । अति ख्याल गरेर पाइला घिसार्नुपर्ने ।

‘कुन जन्मको रिन खा रैछु !’ थकाइले सुस्केरामा मिसाएर बोल्छ । थाकेको छु बेपत्तैले । साथीहरु नि उही हालचालका ।

‘सारा रुख नाङ्गिएर बसेका छन् !’ मैले बाटोका पात हेर्दै भनेँ ।

सारा वन, पखेरा र भीरमा रोल्वालिङको गर्जना थियो अटुट । नदीकोे कठोर आवाजको शक्ति रसमय भएर यी भीर, पाखा र वनमा लिपिस्सै टाँसिएको लाग्छ ।
गुराँसैगुराँसले अब हामीलाई छोप्दै छ । बाक्लो छ जङ्गल । गोधूलीको पातलो पछ्यौरीले हाम्रा वरिपरि बेरबार पारिरहेको छ । जङ्गलमा न्याउली कराएको खुबै सुनिन्छ । अनौठो आवाजले रसाएको छ मेरो छाती पनि ।

‘तिनको शरीरलाई बयान गर्ने पारखी नभएर होला !’ कार्कीले भित्तोमा अडेसिएर बोले ।

हामी दुईभन्दा अलिक चाँचाँडो हिँड्थे तिनी । यसोउसो गर्दागर्दै पछाडि परिहाल्थ्यौँ हामी । के गर्नु, हिँड्नु आज मात्र होइन नि । अरु निकै दिन लम्किनु थियो मैले ।

फेरि लेक लाग्ने डरले पनि सतर्क भएको थिएँ । फेदीमा पुगेर फकिनुृ पर्‍यो भने नि…..! त्योभन्दा मरेतुल्य अरु के हुन्छ र ! बरु एक दिन बढी लागोस्, सकुशल पुगेर आउन सकियोस् । मनमा उब्जेको यो कुराले पनि हतारपतार गरिरहेको थिइनँ म ।

छैन, कुनै घरबस्ती छैन । एकदमै एकलास, निर्जन, चकमन्न । मान्छे छैन । कुनै चरोमुसोको चालचुल छैन । जन्तु जनावरको चालामाला छैन । जीवको उपस्थिति छैन ।

छ त जङ्गल छ । जङ्गलको साम्राज्यमा अनेक देश, महादेशको उपस्थिति छ । जङ्गलको सभ्यतामा अनेक उतारचढाव छ । जङ्गलको शासनमा परीपरीका स्वर र विचारले दागा धरेको देख्न सकिन्छ ।

‘निर्धोलाई हेप्ने ?’ सानो पोथ्रालाई मोटो लहराले बेरेको देखेर म बोलेँ । लुइटेलले लहरो तान्दिए । भुइँमा लत्रियो लहरो ।

‘हेर्नु होला केही दिनपछि यो तीँ पुग्छ । पोथ्राको भाग्यै त्यस्तै छ त !’ कार्कीले बोलेको सुनियो । मनै तरल भएको छ वन पढेर । ठाडै ओरालीमा एउटा केटो भेटियो ।

‘काँबाट आको भाइ ? आजको बास काँ हो ?’ लुइटेल बोले फरर्र ।

सुकिलो केटो काठमाडौँको विद्यार्थी रहेछ । उसले मैलो र धसिङ्गरे केटीलाई भरिया बनाएर ल्याएको थियो । केटीले आफ्नो तौलभन्दा बढ्ता भारी नाम्लाले कसेर बोकेकी लाग्थी ।

‘ना गाउँबाट आको । सिमी गाउँमा बास बस्छ !’

‘कति बजे हिँडेको बिहान ?’

‘पाँच बजे । मेरो आमा पछि आउँदैछ ।’ उसले बोलेका वाक्य अशुद्ध लाग्थे । पुरै शेर्पा पाराका ।

‘लु ठीक छ । बिस्तारै जानु ।’ म पनि बोलेँ ।

अलिक लम्किएपछि तेर्छो भेटियो । मैले फेरि एक मुठी भटमास खल्तीमा कोचेँ । अनि टोकिरहेँ कुटकुटु । आज बिहानैदेखि भुँडीमा गड्याङगुडुङ भइरहेथ्यो बेस्सरी । चिसोपानी र मेरो तातो शरीरको मेलमिलाप नभएको हो कि भन्ने अड्कल काटेँ । तैपनि पेटको आरनमा मकै, भटमासको घान हाल्न भने छोडेको थिइँन ।

‘मुख चलाइरहनु, ठीक हुन्छ । लेक लागिहाल्दैन, क्यै चबाइरहँदा ।’

सिमी गाउँकी च्याङ्गाले भनेको कुरो गढेको थियो मनमा । झोलाले काखी बिझाइरहेको छ । घरी दायाँ, घरी बायाँ सार्छु । सार्छु, के भन्नु र । झट्कार्छु र मिलाएजस्तो मात्र गर्छु । आँखामा आँसु भरिन्छ चिसोले । थकाइ लागेको छ उल्कैसँग । यसो ढुङ्गा ठडियो कि पुठ्ठो टेकाउन मन लागिहाल्छ । तर दौडमा गएका खुट्टालाई बाटो सम्झाएर मनले चाबुक लाइहाल्छ—‘के गर्नु, बिसाउन मिल्दैन । भरे बाटैमा अलपत्र परियो भने नि….. !’ अनि खुट्टा लुइँलुइँ लर्किहाल्थे ।

अलिक ककारो भीरको खोँचमा दुइटी आइमाई आइरहेका देखिए । कुरा गर्दा अघिको किशोरकी आमा भन्ने चिनियो । अघिअघि गएकी शेर्पिनी ह्वास्स गनाउने हालतमा थिई । ऊ भारीतारी सिमी गाउँमा पुर्‍याएर फर्किहाल्ने भन्थी ।

‘तपाईंहरु तलै बास बस्छ—सिस्नेरीमा । काँ पुग्छ सुरमुचे ! मो पनि आउँछ एकै छिनमा । पर्खिबस् है मोलाई । सँगै जाउँला !’ उसले हामीलाई पर्खन भनी ।

भारी बोकाउने चैँ सुकिली थिई । मान्छेभन्दा बढ्ता लुगा थिए, छातीमा गहना थिए टम्म । मोटीघाटी ऊ निकै फरासिली थिई ।

‘यो आउन निकै समय लाग्छ । नपर्खनु, जानु । राति भइसक्यो ।’ सुकिली शेर्पिनीले भनी ।

उसले जाने बेलामा यसो पनि भनी—‘यो खा’ को मान्छे हो !’

हामी ‘नखाएका’ हरु भातेजस्तै भएका थियौँ—थाकेर, गलेर, अनि सुस्ताएर । बाटोले हामीलाई मताइसकेथ्यो बेस्सरी । अब अँध्यारो निकै वर आयो ।

रोल्वालिङको गर्जना झन् तिख्खर लाग्थ्यो, झन् कठोर लाग्थ्यो, झन् भयाकुल लाग्थ्यो । पारिका पहाड अनौठा भएर देखापर्थे । काला र जब्बरे डाँडाहरु । न्याउली कराएको खुबै सुनिरहेको छु म ।

तेर्पे कटेर हलुका उकालो लाग्न नपाउँदै बाक्लै सिस्नोघारी देखियो । हामी खोला गएको बाटो छोडेर उकालोतिर लाग्यौँ । चराहरु बेस्सरी कराउन लागे । बास बस्दाको कचिङ्गलो होला नि !

‘सिस्नेरी आइपुगियो !’उद्धवले जोसिलो पारामा भने ।

म खुइ्यय गर्दै उभिएँ । कतै थ्याच्च बस्न मन थियो नि ! एउटा सानो झुप्रो थियो । बाटो छेउछाउमा सप्लाएको थियो सिस्नोघारी । मल हालेरै हुर्केका लाग्थे सिस्नोका झाङ । कुकुर जोडले भुक्यो । दाम्लो चुँडालेरै आउलाजस्तो गर्‍यो । एउटा लठेब्रो–लठेब्रोजस्तो मान्छेले थामथुम पार्‍यो कुकुरलाई ।

गोठमा टन्न बस्तुभाउ थिए । आँगन पश्चिमको ठूलो घरमा ध्वजा फर्फराइरहेको थियो । लर्‍याङतर्‍याङ गरिरहेको त्यो मान्छेले गरिरहेको सबै गतिविधि हेर्दै उकालोमा खुट्टा घिसारिरहेको थिएँ म । कुकुर भुकाइ झन् चड्किलो भइरहेथ्यो । ऊ सिक्री चुँडाएर, किलै उखेलुँला गर्दै थियो । जीवनमै मान्छे नदेखेजस्तो !

‘अब एक घन्टामा हाम्रो बास !’ भाइका कुरा सुनिरहेको छु ।

‘पक्का हो नि ?’ कार्कीले प्रश्न गरे ।

‘फरकै पर्दैन । एकदमै पक्का !’लुइटेलको उत्तर सुनेर फड्किहाले कार्की ।

स्वाँस्वाँ हुँदै उकालो चढिरहेका छौँ हामी । ढुङ्गाका बडे चेप्टिला आकारमा थुप्रिएको अँध्यारोलाई चिर्दै हिँडिरहेका छौँ ।

कत्ति अप्ठ्यारो उकाली । पाँच पाइलापछि ठिङ्ग । बाफरे स्वाँस्वाँ त बेस्सरी । पैतालादेखि टुप्पीसम्म फतक्कै गल्ने ।

कुकुरको घ्वाङघ्वाङ आवाज पातलिँदै गयो ।

‘बाघका मः मः !’ मैले कुकुरलाई गाली गरेँ ।

‘चितुवाका सेकुवा !’ लुइटेलले सघाए ।

‘ब्वाँसोका पक्कु !’कार्कीले थपथाप पारे ।

हामी उकालोमा स्वाँस्वाँ हुँदै उक्लिरह्यौँ । सुरिला रुख थिए भिरालामा । चट्टाने चेप र चेप्टा ढुङ्गाले बाटोले मास्तिर बोलाए पनि म तानिन्थेँ पछिल्तिरै । उकालीमा सास फुलेर हिरिकहिरिक भएँ म त ।

भीरमा उबडखाबड ढुङ्गा । अनि त्यसमा चिप्ला पतकर । खुट्टा चिप्लेर हैरान । साह्रै कष्ट भयो मलाई । निकै अघि गएका कार्की पारि पुगेको सिलिङबिलिङ देख्छु म । कस्तो भयानक उकाली ।

मैले त मुखबाट मात्र सास फेरिनँ होला यो उकालीमा । खुबै गाह्रो भो । मेरा त शरीरमा भएका सबै प्वालबाट सास हुल्ने र निस्कने प्रक्रृया भयो होला । हो, पक्कापक्की !

अँध्यारो र जङ्गलको एकलास । ढुङ्गा र जाडोको घेराबन्दी । अब फेरि आयो ओराली ।

परीक्षापछि परीक्षा । खुट्टा त धुजैधुजा भइसके । काछमा पिल्लिएजस्तो हुँदैछ । कान गुम्म भइसकेका छन् । ओराली झरे पनि त्यो त उकालो भित्रकै तह त हो नि । हामी निकै माथि आइसकेका छौँ ।

मास्तिर देखिने चिल्ला, खुइले र कालाम्मे पहाडबाट ह्वात्तह्वात्त कालो अँध्यारो ओर्लेको लाग्दैछ ।

पूर्व पसारिएको बाटोमा भेटिन्छ उही पाते गद्दा । रुखबाट चैते हावाले भुँइमा सोत्र्याम्म खसाएको छ पातैपातको लचकलचक । यता टेकयो, उता पुगिन्छ । चिप्लेर हैरान । निकै खेप शरीर हुत्तिएर पुगेको छ अन्तै ।

‘पछारिए पनि घुँडा चैँ नखुस्किऊन् !’ मन बोल्छ ।

गुराँस खसेका छन् बाटाभरि । पाइलैपिच्छे हातमा थमाउँछन् लुइटेल, गुराँसका थुँगा । हत्तेरिका, आफूलाई त हिँड्न यति सकस छ– भाइ चैँ फूल टिप्न नि सकिरा’ छन् ।

अघि सिमी गाउँका भन्दा बेग्लै हावापानीमा हुर्किएका रुखपात छन् यता ।

‘कतै स्वीकार !’ गुराँस खसेर रातै भएको बाटो हेर्दै बोलेँ म ।

‘कतै वहिस्कार !’ पातैपातले चिप्लो भएको बाटो टेक्दै भाइ बोले ।

मेरो बोली दमले भरिएको छ । बोली लर्बरिएको छ स्वाँस्वाँ बढेर । आँखा धमिला भइसकेका छन् । म एक पाइला सार्न एक मिनेट लाउने हबिगतमा पुगिसकेको छु ।

पारिपट्टि खर्क देखिन्छ रिमरिम । कालै भीर रसाएर बसेका खोँचमा गज्मौरिएको अँध्यारोले नयाँ रङ बनाएको लाग्छ । चरनजस्ता ती पखेरामा चौँरीसम्म पुग्छन् भन्ने सुनेथ्यौँ हिजेदेखि हामीले ।

अँध्यारोले जम्मै घेरेपछि मेरो हिँडाइ पुरै शून्य भयो । म त डेगै चलाउन नसक्ने हालतमा पुगेँ । पाइलै जमे, ठाउँका ठाउँ ।

‘म अब साथी बन्छु !’ कार्की यतिखेर नजिकै थिए मेरा । लुइटेलले हाते लाइट बाले । मलाई दुबैले घिच्च्याउन थाले दुईतिरबाट अचेटेर । बल्ल मेरा जमेका पाइला पग्लिएर बग्न थाले बिस्तारैबिस्तारै ।

गोली गाँठो टन्किरहेको थियो । पिल्लिइसकेका थिए घुँडाका पाङ्ग्रा । कुम गलेर फत्रक्कै भएका थिए । गर्मीले गर्दा शरीरभित्र असिनपसिन भइरहेको थियो । तर बाहिरको जाडो ज्यानमा घुस्रिनलाई कान, नाक, घाँटी वरपर नजिकिइसकेको थियो । चिसो स्याँठ निकै तिख्खर थियो—जर्खरिएर बसेको ।

ठाडै उकाली आयो । सबभन्दा अप्ठ्यारो पर्‍यो अँध्यारोमा खुट्टा घिसार्न । पहेँला पात खसेर बाटो भएको छ चिप्लो न चिप्लो । पटकपटक जिउ ढुन्मुनिँदै काँ पुग्छ काँ । थकाइले शरीर लेथ्निएको त छ नै, बाटोले फेरि जिउ छ काबुबाहिर । डेगै चलाउन गाह्रो भो बा !

आँखामा चिसो स्याँठले आँसु भरिहाल्छ लगत्तै । बाटो हेर्नुपर्ने आँखामा, आँसुको ओइरोले गाह्रै पार्‍यो मलाई । सास फुलेर म त हिरिकहिरिक !

दुईतिर उभिएका साथी नि वाल्ल पर्छन् मेरो हबिगतमा । घनघोर अँध्यारो छ । निस्पट्ट अन्धकारमा एकाध रुख देखिन्छन् । हाँगाहाँगी फाटेर देखिने अकास अलेली देखिन्छ सेतो । त्यत्ति हो उज्यालो ।

स्वाँस्वाँसँग मेरो सम्झौता भइरहन्छ पटकपटक । म पाइला घिसारेर हिँड्दैछु । घना वनको बाटो । अँध्यारो छ चौपट्टै । रुखका ठुटाठुटी पनि चितुवा, भालु र बनढाडे हुन् कि भन्ने पातलो डरले झ्वासझ्वासी डरले मनमा हाम्फाल्छ पटकपटक । मेरा दायाँबायाँ छन् दुई भाइ । मेरो शरीर तिनकै भरमा छ डोर्रिएको । एक ठाउँमा जरा अल्झिए खुट्टामा ।

‘यतातिर गोही नि होलान् !’ ‘अजिङ्गर झन् बढी पाइन्छन् !’ मेरो डरलाई कार्कीले अरु थपथाप पारे । बाटोमा हाँसो भयो । निकै माथि पुगेपछि अलिक आवाज आएको सर्‍याकसुरुक सुनियो । मैले आवाज आएतिर साथीहरुलाई भनेँ ।

‘को, हँ ?’ धमिलो आवाज र उज्यालो पल्लो डिलमा देखियो ।

‘हामी हौँ हामी !’ बोलीसँगै मानव आकृति देखियो मधुरो ।

‘ए, हामी तल्लो छोटो बाटो आएका । लाग्दै गर्नुस् बाटो ।’ हाते बत्तीतिरबाट सुनियो ।

‘लौ–लौ !’ हामी लम्किरह्यौँ सुस्तसुस्त । भरिया रहेछन् लोग्नेस्वास्नी ।

‘सके सुरमुचे आउँछौँ, नसके यतै बास बस्छौँ !’ लोग्नेले भारी मिलाएर भन्यौ । स्वास्नी हातमा नाम्लो लिई स्वाँस्वाँ गरिरहेकी थिई । बाटो उकालो थियो, ढुङ्गेनी थियो, पतिङ्गरले भरिएको थियो । स्वातस्वाती चिप्लिन्थे खुट्टा । सम्हालिएर हिँड्नै महाभारत । पैतालाले बाटोमा कोरेको डोब बरु उज्यालाको धर्काधर्की लाग्थे, अरु त कालाम्मे ।

लगातारको लम्काइपछि भेटियो तेर्छो बाटो । वन फाँडिएजस्तो चौर देखापर्‍यो । पानीको खोल्सो पनि माथ्लो डिल भएर गएको देखियो ।

‘अब त आउनु पर्ने !’ उद्धवको बोली घरीघरी उही हुन्छ । हो त रहेछ । आइपुगेछ सुरमुचे । हामी मूलबाटो छोडेर मास्तिर लाग्यौँ । पानीको धारो भेटियो । एउटा लामो घर टुप्लुकियो । बत्ती देखियो पिलपिलाएको । लामो घरको आँगनमा दाउराका चाङ थिए ।

लामो घरभन्दा उत्तरपट्टि भान्साजस्तो छाप्रो नि देखियो । अगेनामा सिलिङबिलिङ अनुहारको छायाँ सलबलाएको देखिन्थे ।

‘को हुनुहुन्छ, घरमा ?’ ‘बास चाहियो हामीलाई !’ कार्की बोले ।

पातला लुगाले बेरिएकी एउटी शेर्पिनी आइन् हामी भएतिर । उनका साथमा सानी केटी पनि । हातमा उज्यालो बोकेर आएकी शेर्पिनीले लामो कटेरातिर जान भनिन् ।
बास पाइयो ।

खाटमा झोला हुर्‍याएँ मैले । हलुक्याएँ आफूलाई । कोठाभित्र पुगेका साथीहरु भक्लाकभुक्लुक लडिहाले । म चैँ अगेनामा पसेर आगो ताप्न थालेँ । निकै बेर पछि आलुको झोल र भात पाक्यो त्यै रापिलो अगेनामा ।

लेकको चिसोले तिनका गालामा रातो पोतेको थियो लछप्रै । बोटका गुराँस आएर तिनका गालामा फक्रेको देखेँ मैले ।

भात खाएर कार्की र मैले घुँडामा तेल दल्यौँ । भर्भराउँदो तातोमा घुँडालाई सेकताप गर्दै दिनभरिको थकानलाई लखेट्यौँ । भर्खरकी सुत्केरी रहिछन् गाङ्गु शेर्पा ।
दुई सन्तान पाएकी ती शेर्पिनी भन्थिन्—‘यो जङ्गलमा बाँच्न बाघभालुजस्तै हुन सक्नुपर्छ । के गर्नु मान्छे भइयो !’

गाङ्गुलाई सघाउन तरुनी उमेरतिर उक्लिन लागेका उनैका दुइटी बहिनीहरु थिए । ती अगेनामा दाउरा हाल्न, भाँडा सार्न, तरकारी काट्न र भाँडा माझी सघाउन आएका रे । घन्टौँ परबाट याँ आएका । फुर्पा डिकी र डोल्मा थियो तिनको नाउँ ।

लेकको चिसोले तिनका गालामा रातो पोतेको थियो लछप्रै । बोटका गुराँस आएर तिनका गालामा फक्रेको देखेँ मैले ।

हातमुख धुन लगेको पानीले आँखाका कोस मात्र पुछेर फर्केको थिएँ म । जाडो थियो डरलाग्दो । अघि उकालीमा त मज्जाले नुहाउँला राति सुत्दा भन्ठानेको सोचले हावा खायो यतिखेर । दाँत कट्ट बजेका थिए मेरा ।

काछ दुखेर झन् हैरान पारेको थियो । टाउको चड्केर भाउन्न होला झैँ भइरहेथ्यो घरीघरी । भुइँको चिसो तालुभित्र पस्थ्यो चम्कीचम्की ।

दिनभरि लाएका मोजासहितै घुस्रिएँ सिरकमा म । अरु एक पत्र लुगा खाप्न लाए कार्कीले मलाई ।

सुत्ने बेलामा कागजमा टिपेँ—‘२०६९ साल चैत ३० गते सुरमुचेको एक्लो घरमा बास बसियो !’

जिउ कति धेरै मक्किएछ भने—मेरा दायाँबायाँ सुतेका साथीहरुको छुवाइ पनि छ कि छैन भेउ पाइरहेको छैन म । आफनो ज्यानमा अरु कसैले सास फेरेको लाग्दैछ । मुडो भएँ म आज । भोलि त झन् बढी हिँड्नुपर्ने छ मैले । यो हो च्छोरोल्पा तकाइको पहिलो दिन !

नयाँघरेका अघिल्ला रचनापनि हेर्नुस्

टोपीटाले भेट्न खोल्सी !

निबन्ध : गौचरनको स्वर

रोड्याइँ !

एक जोर नाङ्ला

हिउँको बाढी रातनाङ्गेमा !

कविता खोज्न ओलङ्गङतिर !

भुल्दै–भुल्दै गोर्खालीको वीरता !

रुकुम हानेपछि ‘उपराष्ट्रपती’सहित होटेलतिर

रोसीका हजार छाल

त्रिशुलीमा ढिकीच्याउँ !

भानुको आलोकमा भाषा

फाप्लुतिर फुरफुर

खप्तडका लेकबेसी

डिल्लुको बाख्रो

(नयाँघरे मदन पुरस्कार बिजेता साहित्यकार, लेखक हुन्)

तपाइँको प्रतिक्रिया

फेसबुक