शुक्रबार, चैत १६, २०८०

एनआरएनएमा भित्रभित्रै गोप्य वार्ता, सहमति नभए हेरफेर नहुनेगरि निर्वाचन घोषणा

नेपालप्लस संवाददाता२०७८ पुष १२ गते ६:१८

गैर आवाशिय नेपाली संघ (एनआरएनए) को निर्वाचन पटक पटक सरिरहेका बेला अब भने कुनैपनि हालतमा निर्वाचन र महाधिवेशनको मिति, कार्यतालिका नसर्नेगरि डिसेम्वर महिनामै घोषणाको तयारि भैरहेको छ ।

सबै पक्षलाई सकेसम्म समेटेर लैजाने र एनआरएनएलाई एकढिक्का राख्ने अन्तिम प्रयासस्वरुप अध्यक्ष कुमार पन्तले पटक पटक निर्वाचनका प्रक्रिया सार्दै अनेक कोणबाट बहस र छफल गरिरहेका छन् ।

मुख्य विवाद प्रतिनिधि छनौटको विषयनै मूलत निर्वाचनमा आफ्नो पल्लाभारि हुन्छ कि हुन्न भन्नेनै हो । करिब तिन हजार ६ सय प्रतिनिधिनै आगामी नेत्रित्वका निर्णायक भएकाले निर्वाचनमा उभिएका तिन पक्ष र अन्य स्वतन्त्र उमेदवारहरुलेपनि प्रतिनिधि संख्या आफ्ना पक्षमा कति छन् भनेर गन्ति गरेका छन् ।

प्रतिनिधि छनौटको विषय अन्तत नेत्रित्वमा बिजय हुने कि नहुने भन्ने देखिएपछि अध्यक्ष कुमार पन्तले चक्रिय प्रणालीमा नेत्रित्व छनौटको बिकल्पपनि खुला राखिदिएका हुन् ।

नेपालप्लससित कुरा गर्दै अध्यक्ष कुमार पन्तले अध्यक्ष मात्रै नभएर अन्य जुनसुकै पदमापनि उमेदवारहरुले सहमति गरेर आएमा आफू त्यसको बाधक नबन्ने बरु सहजकर्ता बनिदिने बताए ।

“जुन जुन पदमा सहमति गरेर साथीहरु आउनुहुन्छ उहाँहरुलाई स्वागत छ । जुन जुन पदमा सहमति हुँदैन त्यसमा निर्वाचन हुन्छ” पन्तले नेपालप्लससित भने ।

‘एनआरएनएमा चक्रिय प्रणालीबाट नेत्रित्व लिने, पद भागवण्डा गर्ने माग पनि छ । यसरि भागवण्डा गरेर विधान त मिल्छ ? अध्यक्ष बाहेकका अन्य पदका उमेदवारहरुले मान्छन् ?’ भन्ने नेपालप्लसको जिज्ञासामा कुमार पन्तले विधिविधानका कुरा मिलाउन सकिने बताए । उनले संस्थामा यदि उमेदवारहरुलेनै सहमति गर्छन् भने त्यसले संस्थालाइ दिर्घकाल र तत्कालकालागिपनि हित गर्ने बताउँदै भने “उमेदवारहरुनै सहमति गर्छन् भने हामी किन बाधक हुने ? जहाँ सहमति हुन्न त्यहाँ निर्वाचन गर्ने बिकल्प छँदै छ । हामीले त्यो अधिकार, पद्दती खोस्न खोजेका छनौं ।”

संस्थालाई विवादरहित र एकताबद्द राख्न सक्नुनै प्रमुख कुरा भएकाले आफूले पदको भागवण्डा, सहमति, चक्रिय प्रणाली सबैको बिकल्प खुला राखिदिएको उनको भनाई थियो । “हामीले विधिविधान मिचेर गर भनेका छैनौं । त्यो प्रस्तावपनि गरेको होइन । तपाईहरुनै मिल्नुहुन्छ भने हामीलाई आपत्ती छैन । आफ्ना विवाद आफैंले मिलाउनुहुन्छ भने हामी सहजकर्ता र सहयोगि बनिदिन्छौं भनेको हो । उमेदवारहरुनै बिना निर्वाचन सहमति गर्छन् भने त त्यो राम्रो पक्ष हो नी” पन्तले भने ।

यहि महिना निर्वाचन घोषणा

अध्यक्ष कुमार पन्तले अध्यक्षका तिनै जना प्रत्यासीहरुलाई सँगै राखेर जनवरीको पहिलो साता अन्तिम वार्ता र सहमति गराउने प्रयास आफूले गरिरहेको बताए । तर निर्वाचनको मिति भने अब फेरबदल नहुनेगरि डिसेम्वरमै घोषणा हुने उल्लेख गरे ।

एनआरएनएको विवाद, समस्या र सहमति सबैको निकासकर्ता एनआरएनएका पदाधिकारी, सदस्यहरु र यहि संस्थानै भएकाले कुनैपनि विवादको समाधान संस्थाभित्रै खोजिनुपर्छ भन्ने परराष्ट्रका पत्र, विवाद र अदालतको आदेशलेपनि पुष्टी गरेको पन्तको भनाई थियो ।

“हाम्रो संस्थाको, हामी भित्रको विवाद हाम्रै संस्था एनआरएनएकै डेस्क हो । परराष्ट्र वा अदलतले हाम्रो विवाद मिलाइदिन्न । हाम्रा समस्या समाधान गरिदिँदैनन् भन्ने पुष्टि भैहाल्यो नी । त्यसैले हाम्रो समस्या समाधान परराष्ट्र वा अदालत वा अन्य कसैले होइन हामीलेनै मिलाउनुपर्छ ।”

अदालतको आदेशले निर्वाचन र प्रतिनिधिको विवादको मार्ग खोलिदिएपनि आफूले संस्थालाई एकढिक्का राख्न, एकता कायम गर्न र कुनैपनि साथीहरुको चित्त नदुखाईकन सहमति गरेर लैजाउँ, मिलेरै महाधिवेशन र निर्वाचन गरौं भनेर निर्वाचन प्रक्रिया रोकेकोसमेत उनले स्पष्ठ पार्न खोजे । भने “अदालतको आदेशबाट के निर्वाचनको बाटो खोलेको थिएन र ? जसरिपनि निर्वाचन गराउँ भन्ने सोचेको भए निर्वाचन समिति, अनलाईन निर्वाचन गराउने कम्पनी सबै तयार थिए । निर्वाचन गराउन कुनै आपत्ती त थिएन । तर एनआरएनएलाई एकढिक्का राख्नुपर्छ । सबै साथीहरुको गुनासो सकेसम्म सहमतिमै टुंग्याउँ, मिलेर लैजाउँ भनेरनै हामीले अन्तिमसम्म प्रयास गरिराखेका हौं ।”

तर अब एनआरएनएको केन्द्रिय समिति कार्यकाल थपिएको तिन महिना बित्न लागेकाले अब भने कुनैपनि हालतमा निर्वाचन प्रक्रिया, महाधिवेशनको मिति र प्रक्रिया नरोक्नेगरि घोषणा हुने पन्तले स्पष्ठ पारे । “अब हामीसित तिन महिनाभन्दा समयपनि छैन । अब यहि डिसेम्वरमै मिति नबदलिनेगरि निर्वाचन घोषणा गर्छौं । अन्तिम सहमतिको प्रयास गर्छौं । त्यति गर्दापनि नमानेमा अब घोषणा गरिएको मितिमा निर्वाचन हुन्छ । आउने आउँछन्, आउने आउँदैनन् । संस्था सधैं बन्धक बन्दैन ।”

अन्तिम वार्ता जनावरी तीन ?

निर्वाचनको मिति अब नसर्ने गरि डिसेम्वर महिनामै घोषणा गर्ने निर्णय हुने भएपनि अध्यक्षका प्रत्यासी तिन जनाबिच अन्य प्रक्रिया र नेत्रित्वमै सहमति गर्ने उद्देश्यले अन्तिम वार्ता जनरी ३ वा ४ मा हुने भएको एनआरएनए स्रोतले नेपालप्लसलाई बताएको छ ।

रसिया निवासी एनआरएनए उपाध्यक्ष डा. बद्रि केसी जनवरी ३ मा काठमाडौं पुग्ने भएकाले अध्यक्षका अन्य दुई उमेदवार कुल आचार्य र रबीना थापासितपनि जनवरी ३ कै दिन अन्तिम वार्ताको प्रयास हुनेभएको छ । कुनै कारणबस जनवरी ३ मा वार्ता हुन नसकेमा जनावरी ४ मा हुने छ । तर वार्ताकारहरुले अध्यक्ष तीनै जनाका प्रतिनिधिहरुसित अहिलेपनि भित्रभित्रै वार्ता गरिरहेका छन् ।

अध्यक्ष कुमार पन्तले कुल आचार्यलाईसमेत यो गम्भिर वार्ताकालागि जानकारि दिईसकेका छन् र आचार्यले उपस्थित हुने जानकारि गराएका छन् । रबीना थापाले भने आफू सहमति, सहकार्य र वार्ताकालागि सधैं तयार रहेको बताइसकेकि छन् । तर उनी चक्रिय प्रणाली भन्दापनि निर्वाचनकै पक्षमा रहेको बताउँदै आएकि छन् ।

अध्यक्ष प्रत्यासी डा. बद्रि केसीले भने आफू चक्रिय रुपमा नेत्रित्व बाँडफाँड गर्ने, भागवण्डामा सहमति गर्ने पक्षमा नरहेको बताउँदै आएका छन् । चक्रिय प्रणाली, भागवण्डाबाट नेत्रित्व छनौट भएमा आफूसमेत यस्तो समितिमा बसेर काम नगर्ने महासचिव डा. हेमराज शर्माले स्पष्ठ पारेका छन् ।

तर अध्यक्षका तिनै जना प्रतयसीहरुलाई सँगै राखेर वार कि पार वार्ता गराउने नेत्रित्व गर्न लागेका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोको प्रत्यक्ष वार्तामा कुनै सहमति निस्किन सक्छ कि भनेर आशावादी हुनेहरुपनि धेरै छन् । महतोले तिन जनालाई सहमति गराउन सक्ने सुत्र निकाल्ने, अन्य कुनै बैकल्पिक बातोपनि पत्ता लगाउन सक्छन् भनेर आशा गर्नेहरुको संख्यापनि बाक्लो छ ।

उच्चस्तरिय समितिको भित्रभित्रै वार्ता

यस अघि अहिलेको समस्या समाधान गर्न, विवादका विषयमा सहमति गर्न र सहमतिकालागि सुझाव दिन भनेर अध्यक्ष कुमार पन्तले गठन गरेको उच्चस्तरिय समितिले भित्रभित्रै वार्ता गरिरहेको छ ।

नेपालप्लस स्रोतका अनुसार अध्यक्ष कुमार पन्तले हालको विवाद समाधान गर्न पूर्व अध्यक्षहरु, आ इसिसी सदस्यहरु, संरक्षक र एनआरएनएको समिति बाहिर रहेका भिम उदास लगायतका ब्यक्तिहरुसितपनि छलफल जारि राखेका छन् ।

पन्तलाई प्राप्त सुझावकै आधारमा उनले हालको विवाद समाधान गर्न एनआरएनएका सचिव गरीराज जोशी, कुल आचार्य पक्षका विश्व आदर्श पण्डित, एनआरएनए प्रवक्ता डिबी क्षेत्री र डा. यादव पण्डित रहेको चार सदस्यिय उच्चस्तरिय समिति गठन गरेका थिए ।

यो चार सदस्यिय उच्च स्तरिय वार्ता समितिले करिब आधा दर्जन पटक छलफल गरिसकेको छ । पन्तले यो समितिले दिएको सुझावसमेत समेटेर अध्यक्षका तिन उमेदवारसित वार्ता गर्ने छन् । वार्तामा सम्पूर्ण बिकल्पमा हाकाहाकी र एक एक छलफल हुने तयारि भैरहेको छ । सहमति नभएमा निर्वाचनलाईनै प्राथमिकता दिएर अगाडि बढाईने भएको छ ।

“विवादरहित, सर्वसम्मत, सबै खुशि हुने, ‘संस्था जोगाउनकालागि त्याग गर्छु नी त’ भन्नेखालको वातावरण बनाउने कोसिस गर्छौं । हाकाहाकी आमनेसामने वार्ता हुन्छ । कुनै हालतमा नमिल्ने देखिएमा अब निर्वाचननै अन्तिम बिकल्प हो भनेर अगाडि बढिन्छ” पन्तले आफ्नो अन्तिम निष्कर्ष भन्दै सुनाए ।

तपाइँको प्रतिक्रिया

फेसबुक