शुक्रबार, वैशाख ७, २०८१

अमेरिका र रुसबीच जनवरी १० मा वार्ता हुने

नेपालप्लस संवाददाता२०७८ पुष १३ गते १२:५१

संयुक्त राज्य अमेरिका र रुसले जनवरी १० मा बहुप्रतीक्षित वार्ता गर्ने भएका छन् । ह्वाइट हाउसका एक अधिकारीले आणविक हतियार नियन्त्रण र युक्रेनमा बढ्दो तनावका विषयमा केन्द्रित भएर वार्ता हुने जनाएको भन्दै एएफपीले उल्लेख गरेको छ ।

“संयुक्त राज्य अमेरिका रसियासँग संलग्न हुन तत्पर छ” राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ताले नाम नछाप्ने सर्तमा एएफपीलाई भने “जब हामी वार्ता गर्न बस्छौं, रुसले आफ्ना चिन्ताहरू टेबुलमा राख्न सक्छ र हामी आफ्ना चिन्ताहरू रुसका गतिविधिहरूबारे टेबुलमा राख्छौं ।”

रुस र अमेरिकाबिचको द्विपक्षीय वार्ता जनवरी १० मा हुने तय भएको प्रवक्ताले बताएका छन् ।

अमेरिका र रुसबिचको वार्तापछि मस्को र नाटोका प्रतिनिधिहरू जनवरी १२ मा भेट्ने अपेक्षा गरिएको छ । रूस र संयुक्त राज्य अमेरिका सहितको युरोपमा सुरक्षा र सहयोग संगठन (ओएससिई) ले जनवरी १३ मा भेट्ने अपेक्षा गरेकोसमेत प्रवक्ताले उल्लेख गरे ।

जनवरी १० को बैठक अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनले गत जुनमा जेनेभामा गरेको शिखर सम्मेलनकै निरन्तरता हो । जेनेभामा भएको वार्तामै दुई राष्ट्राध्यक्षहरु आगामी वार्ताकालागि सहमत भएका थिए । जेनेभामा सुरु गरेको रणनीतिक सुरक्षा संवादकै पहलको रूपमा जनवरी १० को वार्ता आयोजना हुन लागेको हो ।
त्यो ढाँचा प्रायः शीतयुद्ध पछिको आणविक हतियार नियन्त्रण सन्धिहरू पुनरुत्थान गर्नको लागि स्वतन्त्रता र खुल्लारुपमा गर्ने भनिएको छ । वार्ताले युक्रेनको विषयलाई पनि समेट्नेछ जहाँ रसियाले युक्रेनको सीमामा ठूलो संख्यामा लडाकु बल तैनाथ गरेको छ ।

नाटो-रसिया परिषद्को बैठक र मस्को र ओएससीईको स्थायी परिषद्बीचको वार्ता युक्रेनमा केन्द्रित हुने बताइएको छ ।

पूर्व सोभियतबाट छुट्टिएको युक्रेनलाई रुसले आफ्नै प्रभाव र नियन्त्रणमा राख्न खोजेको आरोप पस्चिमी देशहरु खासगरि नाटो राष्ट्रहरुको छ । युक्रेनले भने रुसको प्रभाव र नियन्त्रणबाट छुट्टिएर नाटो राष्ट्रको निकट हुन खोजेको बुझाई नाटो राष्ट्रहरुको छ ।

रुसले क्रिमियन प्रायद्वीपमा युक्रेनको एक भाग ओगटेको छ । देशको औद्योगिक क्षेत्र भएको पूर्व भागमा पृथकतावादी समर्थक जन्माएर मस्को विद्रोहलाई उक्साएको आरोप रुसले लगाइएको छ ।

रुसले युक्रेनसितको सीमामा दशौं हजार नयाँ सेनाको तैनाथी गरेको छ । त्यसले युक्रेन र यसको पश्चिमी सहयोगीहरूबीच व्यापक युद्धको डर पैदा गरेको छ । रुसले युक्रेनी क्षेत्रको थप कब्जा गर्न सक्ने संभावना ठानेका छन् ।

पुटिनले छिमेकी देशमा आक्रमण गर्ने योजनालाई अस्वीकार गर्दै आएका छन् । उनले सेना तैनाथी रुसलाई अतिक्रमण गरिरहेको पश्चिमी सेनाबाट बचाउनको लागि भएको बताएका छन् ।

यहि महिना पुटिनले पश्चिमी देशहरूलाई दूरगामी सुरक्षा मागहरूको एक श्रृंखला जारी गरे जसमा युक्रेनलाई नेटो सदस्यता लिनबाट रोक लगाउनुपर्ने भन्नेसमेत थियो ।

जवाफमा संयुक्त राज्य अमेरिका र यसका युरोपेली साझेदारहरूले रूसले युक्रेनमा आक्रमण गरेमा कडा आर्थिक प्रतिबन्ध लगाउने धम्की दिएका छन् । तर रुससित वार्ता गर्ने प्रस्ताव पनि दिएका छन् ।

जनवरी १० मा दुबै पक्षको प्रतिनिधित्व कसले गर्ने भन्ने बारे तत्काल किटान गरिएको भने छैन ।

तपाइँको प्रतिक्रिया

फेसबुक