शनिबार, वैशाख १५, २०८१

एनआरएनए नेताहरुको काठमाडौंमा जमघट, मंगलवारको छलफलमा के के भयो ?

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ पुष १४ गते ०:५०

गैर आवाशीय नेपाली संघ (एनआरएनए) को अहिले निर्वाचन छैन । महाधिवेशन प्रक्रियानै रोकिएको छ । तर एनआरएन नेतृत्वकर्ता, अभियन्ताहरुको भने काठमाडौंमा भिड लागेको छ । दिनभरि सामुहिक, गुटउपगुटका भेला हुन्छन् । सामुहिक भेला टुंगिएपछि फेरि निकटका अभियन्ताको छुट्टा छुट्टै आफ्नो आफ्नो गुटको भेला र छलफल हुन्छ । त्यो बाहेक अभियन्ताका आफ्ना बिचार, राजनितिक द्रिष्टीकोण र पार्टी तथा नेतालाई भेट्ने लर्कोपनि उत्तिकै लाग्छ ।

एनआरएनए महाधिवेशन र निर्वाचनका बारेमा उत्पन्न प्रतिनिधी विवादलाई सल्ट्याउन भन्दै मंगलवारपनि धेरै खाले बैठक भए । मूलरुपमा अध्यक्ष कुमार पन्तले अनौपचारिक रुपमा बोलाएको बैठक सबैभन्दा महत्वपूर्ण थियो ।

बैठकमा एनआरएनए अध्यक्षका प्रत्यासी कुल आचार्य, डा. बद्रि केसी र रबीना पक्ष तिनै समुहका ब्यक्तिहरु जम्मा भएका थिए । अनौपचारिक बैठकमा अध्यक्ष पन्तले सबै पक्षको बिचार सुन्ने जमर्को गरेका थिए ।

कुल आचार्य पक्षका लोक दहाल, दिल गुरुङ लगायतका थिए । रबीना थापा पक्षबाट रबीना स्वयं उपस्थित थिईन । संस्थापन पक्षका तर्फबाट डिबी क्षेत्री लगायतका केहि ब्यक्ति थिए । मध्यमार्गी भूमिका खेल्दै आएका कोषाध्यक्ष महेश श्रेष्ठसमेत उपस्थित थिए ।

बैठकमा सबैले एकअर्काका बिचार सुन्ने र सुनाउने भनिएको थियो । आज बिचार सुन्ने र आफ्ना बिचार राख्ने क्रममा रबीना थापाले प्रतिनिधि छनौटको विषयलाई बढी नलम्ब्याउन र विवाद बनाउन नहुने बताईन् । उनले प्रतिनिधीहरुको सूची जसरि आएको छ त्यसरिनै मानेर निर्वाचनमा जान सुझाव दिईन् । उनको भनाई थियो “मैले कसैलाईपनि मेरा प्रतिनिधि परेनन्, थप्नुपर्‍यो भनेर गुनासो गरेकि छैन । जसरि आएका छन् मानेर निर्वाचनमा जाउँ । छनौट भएका प्रतिनिधिबाटै सबैलाई भोट आइहाल्छ नी !

संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले विवाद जहाँपनि हुने, नेपाली कांग्रेस लगायतका अन्य दलमापनि विवाद रहेकाले त्यसलाई सल्टाएर निर्वाचनमा जानुपर्नेमा सुझाव दिएका थिए । उनको भनाई थियो “विवाद अलि अलि जहाँ, जुन संस्थामापनि हुन्छ । कांग्रेस कम्युनिस्ट जहाँपनि छ अलि अलि विवाद त । सानोतिनो विवादलाई मिलेर निर्वाचन गरेर जानुपर्छ ।”

पूर्व अध्यक्ष जीवा लामिछानेले भने निर्वाचनकालागि एक पक्ष तयार नभएको, आफ्ना मागहरु राखेकोले त्यसलाई नसल्टाइकन निर्वाचनमा जाँदा राम्रो नदेखिने भएकाले सहमति गरेर, मिलाएरै जानुपर्छ कि भन्ने भनाई राखेका थिए ।

आफ्ना भनाई राख्ने क्रममा एनआरएनए अफ्रिका क्षेत्रिय संयोजक रोशन थापाले सुनाएका थिए -चुनावमा त जानै पर्छ । यो कार्यसमितिलाई बिस्थापित गर्ने भनेको निर्वाचनबाट चुनिएर आएरै हो । पुरानो निर्वाचन कमिटीलाई बिस्थापन निर्वाचनले गर्छ । सहमतिमै गएपनि त प्रक्रियामै जानुपर्‍यो । त्यो प्रक्रिया भनेको निर्वाचन हो ।”

अनौपचारिक छलफलकालागि प्रमुख संरक्षक शेष घलेसितपनि पटक पटक संपर्कको प्रयास गरिएको तर बिरामी भएकाले आराम गरेको भन्ने जवाफ घलेको संपर्क सुत्रले दिएको बैठकमा सहभागि एक ब्यक्तिले नेपालप्लसलाई बताए । अनौपचारिक बैठक लगातार जस्तै बस्ने भएको छ । सहमति वा निर्वाचनको अन्तिम निर्णय गर्नु अघि अध्यक्ष कुमार पन्तले छुट्टाछुट्टै भेटघाटलाई तिब्र पारेका छन् ।

अध्यक्ष कुमार पन्तले सबै पक्षलाई डाकेको बैठककालागि महासचिव डा. हेमराज शर्मा, उपाध्यक्ष डा. बद्रि केसी र सल्लाहकार कुल आचार्यसमेत काठमाडौं पुग्दै छन् । जनवरीको ३ वा ४ का दिन अन्तिम बैठक बस्ने र त्यसले सहमति गर्ने बताइएको छ । सहमति नभएमा प्रक्रिया अनुसार निर्वाचनमा जाने अन्तिम निर्णयका साथ बैठक टुंगिने छ ।

छलफल एनआरएनएको केन्द्रिय कार्यालय काठमाडौंमै भएको हो । त्यसपछि केहि अभियन्ताहरु डा. महतोकहाँ छलफलकालागि गएका थिए ।

तपाइँको प्रतिक्रिया