सोमबार, माघ १०, २०७८

संझनामा पुरानै लोग्ने

अनुराधा पौडेल२०७८ पुष २३ गते १३:०२

नयाँ जीवन जिउने अभिलाषाले छोरो समातेर पेरिस आएको तीन महिना पनि पुगेको छैन । श्रीमानजीका पाइला पच्छाउँदै उनले नेपाल छाडेको दुइ बर्ष पछि म पनि आइपुगेको छु । अब मैले नयाँ भविष्य बनाउनु छ यो ठाउँमा । तर कसरी ? अन्यौलमा छु ।

डिसेम्बर महिनामा त दिउँसै रात पर्दो रहेछ पेरिसमा । साँढे चार बजे नै अँध्यारो हुन शुरु गर्छ । बिहान अठ बजेसम्म पनि घाम झुल्केको देख्न पाइन्न । पेरिसमा सधैं यस्तै हुनेहोला कि के होला ? बेस्सरी अत्याहार लागिसकेको छ । र पेरिस झिलिमिली भएपनि एक्लोपनले सताएको छ ।

बुबाले हिंड्ने बेला ‘नाती नलैजाउ, दुइ चार वर्ष कमाएर नेपालमै फर्कनुपर्छ छोरी’ भन्नुभएको थियो । तर पनि बच्चा छाड्न मनले मानेन । उसलाई उ आइपुग्नुभन्दा पहिल्यै हाम्री फ्रान्सेली दिदीले स्कूल भर्ना गरिदिनुभएको रहेछ ।

यहाँ आएपछि थाह पाएँ, हामी बसेको अपार्टमेन्ट त फ्रान्सेली दिदीको रहेछ । दिदीको परिवार र मेरा श्रीमानजीको घरपरिवारको सम्बन्ध निकै लामो छ । मेरो श्रीमान जी इत्रुको हुँदा देखिनै दिदीले रेखदेख गर्नुभएको रहेछ । दिदीको भर्साइको दरवार तिर घर र काम भएकोले उतै बस्ने रे । अनि यो खाली भएको अपार्टमेन्टमा हामी बस्न पाएका रहेछौँ ।

यो अग्लो भवनमा कम्तीमा पनि १५ १६ तल्ला छन् । दुइ वटा लिफ्ट छन् । हामीहरु नवौँ तलामा बस्छौँ । मौसम खुलेको बेला पेरिसको एक छेउ देखिन्छ यहाँबाट । बेलुका झ्यालबाहिर आइफल टावर चमचम चम्केको देखिन्छ । यसको शिरमा चम्किला घुम्ने बत्ती रहेछन् । केहि मिनेटको अन्तरालमा यो घुम्ने बत्तीको प्रकाशले अपार्टमेन्टका झ्यालहरु छोएर भाग्छ । झ्याल खुलै हूँदा त्यसको प्रकाशले हाम्रो आँखा पनि टल्काउँछ ।

बिहान उठेर म छोरालाई स्कूल पुर्याउन जान्छु । अनि भाषा कक्षा जान्छु । मलाई अचेल एकदमै सामान्य बोल्न मात्र आउँछ । गाह्रो हूँदा म अँग्रेजी बोल्छु । तर यहाँका मानिस अंग्रेजीमा जवाफ फर्काउँदैनन् । अस्ति भर्खर भाँडा माझ्ने पाउडर किन्न गएको, नेपालको जस्तै सन पाउडर । चिन्नै सकिन । पसलेलाई ‘सन पाउडर छ कि ?’ भनेर सोधें । ‘मैले तेँले भनेको कुरा बुझिन’ भन्यो । यत्तिकै फर्केँ ।

फ्रान्सेली नेपाली शब्दकोष बजारमा आएको रहेनछ । नेपालमा अलि अलि फ्रान्सेली भाषा पढेको भएपनि हुने थियो ! कस्तो बोर लागेर आयो । अहिले हरेक फ्रान्सेली शब्दलाई म अंग्रेजी शब्दकोषमा गएर हेर्छु । अनि नेपाली भाषामा टिप्छु ।

भाषाको उच्चारण पनि गाह्रो रहेछ । जम्मैले नाक बजाएर बोलेको जस्तो लाग्ने । भाषा नजान्दा मलाइ रुन मन लाग्छ । कयौँ पटक कक्षामा मेरा आँशु खसेका छन् । श्रीलंकाबाट आएको अर्धबैँसे युवकले मलाइ अचेल टुटे फुटेको हिन्दी र अंग्रैजीमा कुरा बुझाइदिन्छ ।

सामान किन्न पसल एकदमै नजिक छ । हप्तामा दुइ दिन हाट लाग्छ । १० युरो बोकेर हाट गयो भने एक झोला फलफुल र तरकारी आउँछ । कति सस्तो बजार रहेछ । कति खाने फलफुल र हरियो तरकारी !

झ्यालबाट तल हेर्दा हेर्दै एक भारतीय अनुहार भएकी महिलासँग चिनजान भयो । उनको अपार्टमेन्ट अलि कोल्टोमा परेकोले झ्याल खोल्दा सबै देखिन्छ । आफ्नै जस्तो छाला देख्दा उनी हाम्रै तिरकी हुन् जस्तो लाग्छ । तर उनी मोरिसस भन्ने टापुबाट आएकी रहिछिन् । हिन्दी र उर्दु मिसाएर बात गर्छिन् मसँग । अरुहरुसँग भने उनले फरर फ्रान्सेली भाषामा बात मारेको देखेकी छु । ‘मध्यान्न पछि काम गर्छु’ भन्छिन् । के काम गर्छिन् थाह छैन ।

आज दिन खुलेको थियो । मेरो कक्षा पनि बन्द थियो आज । मार्च महिनाको जाडो कताकती काठमाडौंको जस्तो लाग्ने । आज दिउँसो यिनै छिमेकीले ‘हिँड न कफी पिउन जाउँ’ भनिन । ल त भनेर म उनकै पछि लागेँ ।

‘नचिनेको मानिससँग के जानु’ जस्तो पनि नलागेको हैन । तर उनी मै बसेको घरमा बस्ने त हो नि, के नराम्रो गर्लिन् त भन्ने लागेर उनका पछि लागेँ ।

कफी शप पुगेपछि उनैले ‘कुन कफी पिउने ?’ भनेर सोधिन् । एकछिन अक्कबक्क भएँ । नजानेकी भन्लिन् भनेर तिमीले जुन पिउँछौ त्यहि भनेँ । नेपालमा त मैले कफी त एउटै खालको देखेकी थिएँ । उनले कुन कफी भनेपछि मेरो सातो गयो । नेपालमा चिनेको त्यहि नेस्लेको कफी हो । एकपटक बुबाले ‘ल तिमी धनीकी छोरी पर्यौ कफी पिउने भइछौ’ भनेर जिस्काउनुभएको थियो बिद्यार्थी हुँदा । त्यो बेलादेखि संझन्छु, यो नेस्लेको कफीलाई ।

त्यसो त, नेपालमा भर्खर भर्खर कफी खेती शुरु गर्न थालेका छन् । खै ठूला ठूला रेष्टुरेन्टमा पाइन्छ होला फरक फरक कफी । तर मैले चिनेको छैन । उनले दुध हालेको दुइ कप कफी लिएर आइन् ।

हामीहरु अपार्टमेन्ट नजिकैको ओरालोमा रहेको कफी पसलमा गएका थियौँ । आम्मा नि हो मानिसको भिड । त्यहाँ त वियर पनि धारामै बेच्ने रहेछन् । रक्सी पनि धारामै बेच्ने । धेरै आश्चर्य मानौँ भने मोरिसियनले कति केहि नदेखेकी आइमाइ रहिछे भन्लिन् भनेर छडके छड्के हेरेँ । तर धेरै सोधखोज गरिन ।

कफी पिउन आमने सामने हुँदा आफ्नै परिवारको सदस्य भेटेको जस्तै लाग्यो । कस्तो रमाइलो लागेको ।

आज धेरै पारिवारीक कुरा भयो । कुराकानीका क्रममा मैले ‘हामीहरु केहि दिनकालागि पाहुना भएको र छुट्टै डेरा खोजेर जानुपर्ने छ’ भनेँ । उनले मलाइ पेरिसमा अपार्टमेन्ट लिन निकै राम्रो आम्दानी हुनुपर्ने बताइन् । अनि नगरपालिकाले पनि अपार्टमेन्ट दिन्छ तर त्यसको लागि कम्तीमा पाँवर्ष कुर्नपर्छ भनिन् । अरु पनि के के हो कुरा गरिन् तर मैले बुझिन । अहो घरै नभएर जीवन जान्छ कि के हो भन्ने पिर पो लाग्न थालेको छ ।

घरको बारेमा मन खोलेर कुरा गरौँ भने बुढा झर्किन्छन् । ‘तिमी पहिला खुरुखुरु पढ अनि अरु कुरा गर’ भन्छन् । भर्खर बच्चा पनि यतैको स्कूल भर्ना भएको छ । कुरा नगरौँ अर्काको घरमा बस्दा बोझ भइन्छ जस्तो लाग्छ । बाहिर गएर सोधौँ भाषा आउने होइन ।

यिनि मोरिसियन बसेको अपार्टमेन्ट चाँही नगरपालिकाले दिएको रे । सात बर्ष कुरेपछि यो दुइ कोठाको अपार्टमेन्ट पाएकी रे । हिजो देखि साथमै रहेको भतिजोले पनि अपार्टमेन्ट छाडेर अर्कै शहर पढ्न गयो रे । अनि एक्लै भएँ भनिन् शुरुमा । मैले तिमीले बिहे गरेकी छैनौ र भनेर सोधेँ । उनले बिहे त गरेकी हुँ नि भनिन् ।

‘तिम्रा श्रीमान खै त ? भनेको उनले « उनी त गए « भनिन् । गयो भन्नुको मतलब मेरा मनमा दुइटा आए । एउटा त स्वर्ग जाने र अर्को छुट्टीमा जाने । मैले डराइ डराइ कता घुम्न गएका छन् र भनि सोधेँ । उनले छुट्टीमा हैन, अर्की लिएर गयो भनेपछि मलाई पनि नमज्जा लाग्यो ।

नेपालमा चाहिं अर्की लिएर जाने भन्दा पनि अर्की लिएर आउँछन् । यस्ता घटना पनि थोरै थोरै मात्र सुनिन्छन् । यता चाहिँ अर्की लिएर गएको भनेको सुन्दा अलि अनौठो लाग्यो । ‘हो र ? किन यसो भयो त ?’ भनेको । उनले खरर आफ्नो कुरा भनिन् ।

बिहे गरेको १५ वर्ष भएको रहेछ र ‘डिभोर्स प्रोसेस’ चलिरहेको रहेछ । यो रंगिन शहरमा एक जोडा भएर एकबारको जुनी बिताउने उनको सपना सिसा टुक्रेजस्तै टुक्रेको रहेछ । उनका लवज लवजमा यो कुरा झल्के ।

उनकी आमा मद्रासकी र बाबु मोरिससका हुन् रे । आमा बुबाको कता भेट भएर बिहे भयो उनले बताइनन् ।

उनले थपिन् “मेरी आमाले पाएसम्म मलाइ भारतिय केटासँगै बिहे गर” भनेकी थिइन् । मोरिसस बुबासँग बिहे गरेकोमा मेरी आमालाई पछुतो पनि थियो । आमा हिन्दु थिइन् । बुबा क्रिश्चियन थिए । मेरि आमा एकदमै अनुसासित र विनम्र स्वभावकी थिइन् । आमाले नै तिमी पेरिस जाउ भनेर पठाइन् । म यता आएँ ।

एकपटक छिमेकमा रङ लगाउन आएका बेला मेरा उनिसँग चिनजान भयो र माया प्रेम बस्यो । उनी पन्जाबका रहेछन् । नम्र बोली भएका शिख ।

बिहे गर्दा उनको पेपर थिएन । मेरै कागजातबाट उनले फ्रान्स बस्ने अनुमति पाए । १५ वर्ष सँगै बसियो । यो अबधिमा मलाइ उनले कहिल्यै नराम्रो भनेनन् । उनले कमाएको पैसा मध्ये धेरै पन्जाब पठाउँथे । मैले पनि केहि भन्दिनथेँ । बिहे भएपछि म उनीसँग दुइपटक पन्जाब गएँ । पन्जाबतिरका धेरै बेलायत जाँदा रहेछन् । तर उनी फ्रान्स आइपुगेका थिए ।

अदातलमा दिएको डिभोर्सको कागजमा चाहिँ मबाट यौन सुख प्राप्त भएन र बच्चा पनि पैदा भएनन् भनेर लेखेका रहेछन् । मेरा कोखबाट बच्चा जन्मेनन् । मेरो उमेर पनि ढल्क्यो र उनको मनपनि बदलियो । केहि समय यता हाम्रो यौन सम्बन्ध पनि टुटेको थियो । एकदिन साँझ ‘तिमी तिम्रो गरेर खाउ, अब मेरो बाटो नहेर’ भनेर निस्के । त्यो बेलादेखि फर्केर आएका छैनन् । पछि थाह भयो, उनी डिभोर्स गर्ने चक्करमा रहेछन् । उनी छोराछोरि खोज्ने भए, म बाट छोराछोरी जन्मेनन ।

‘अहिले उनी कहाँ छन् त ?’ भनि मैले सोधेँ । यहि पेरिसमै छन् । लामो सर्को चुरोट उडाउँदै उनले थपिन्, “अस्ती भर्खर वकिलहरुले छुटिनुपूर्व तिमीहरु मिल्न पो सक्छौ कि भनेर हामी दुवैलाई वार्ताकालागि बोलाएका थिए । त्यहाँ उनलाई देखेर बेस्सरी रोएँ । मैले वकिलहरुलाई भनेंपनि ‘उनले मलाइ जे भनेपनि म उनलाई छाड्न चाहन्न । तर मेरो बलमिच्चाइँले भएन । उनले म डिभोर्स नै गर्छु भने । हामी दुवैको कमाइ छ । हाम्रो आम्दानी बाँडिने कुरा भएन । बाँकी सगोलमा किनेको केहि छैन । छुट्टिनकालागि अब अदालतको औपचारिकता मात्र बाँकी छ ।

“कति दुखद” मैले थपेँ । मेरो पनि मन चरक्क भएर आयो । आफ्नो थात थलो छोडेर आउनुछ । सपनाको राजकुमार भनेर मान्नु छ । अनि फेरी उसैसँग छुट्टिनु छ । फेरी जिरो देखि उठ्नु छ ।

उनीसँगै मेरापनि आँखा मलिन भए । टुटे फुटेको हिन्दीमै उनले थपिन्, “कस्तो राजकुमारी जस्तो बनाएर राख्यो । अपार्टमेन्टमा सामान सबै उसैले किनेको हो । बेला बखतमा उपहारहरु ल्याइरह्यो । अहिले अपार्टमेन्टमा जे छुन्छु उसैका सामान् हुन् जस्तो लाग्छ । भतिजो पनि हिजो देखि अर्कै शहर गयो । अब एक्लै । कति रुन मन लाग्छ । मोरिसस जाउँ भने बृद्द बुवा बाँकी छन् । आमा बितिसकिन् । बुबा पनि भाइसँग बस्छन् ।”

उनको कथा सुन्दा आफ्नै मन झन् भारी भएर आयो । मनमा बियोगको अथाह भुमरी परेको रहेछ र पो आज मलाइ उनले ‘कफी पिउन जाउँ’ भन्ने प्रस्ताब राखेकी रहिछिन् । बल्ल कुरो बुझ्दैछु म पनि ।

‘शुरुमा लभ पर्दा पनि उसलाई देख्नै पाए हुन्थ्यो जस्तो लाग्थ्यो । अहिले छाडेर जाँदा पनि उसैलाई देख्न पाए हुन्थ्यो जस्तो लाग्छ । भएभरको माया एउटैमा खनाएपछि छुट्टिदा पनि गाह्रो हुने रहेछ । राती पनि निन्द्रा पर्दैन’ उनैले फेरी थपिन् ।

“तिमी छुट्टिने प्रकृयामा भएपनि साथी भएर रहन सक्दैनौ र ?” मैले सोधेँ ।

एकपटक आची पुछेर फालेको ढुंगोलाई तुरुन्त उठाउन को जान्छ र ? समय क्रममा पानीले पखालिएपछि त्यहि ढुंगो अरुले प्रयोग गर्छन् ; तैपनि मैले यति आँट गरेर सोधेँ ।

‘अब त्यो पनि संभावना छैन’ उनले भनिन् ।

अस्ती मेट्रोबाट झर्दा झ्वाट्टै उनलाई देखेँ । उनले पनि देखे । भन्न मन थियो, “अपार्टमेन्टमा तिम्रा सामान असरल्ल छन् । कहिले आउँछौ ? एकपटक आउ । म तिमीसँग पुन रुन चाहन्छु ।” तर भनिन । किनभने हाम्रै जस्तै अनुहारकी भर्खरकी युवती उनको साथमा थिइन् । शायद उनको केटी हुन सक्थिन् ।”

हाम्रो छुट्टिने बेला भैसकेको थियो । किनभने म त बच्चालाई लिन स्कूल जानुपर्ने थियो । आँखाभरी आँशु बनाउँदै थपिन् “अब म शून्यबाट उठ्नु छ । हुन त तिमी पनि अहिले शून्यमै छेउ । तर यहाँ धेरै कुरा सिकिन्छ ।”

कफीको पैसा उनैले तिरिन् । भर्खर स्कूलबाट छोरो फर्केपछि कुनै दिन यो कथा काम लाग्न सक्छ भनेर उतारेँ ।

मार्च २००५ पेरिस

अपडेट : नयाँ डेरा भेटेर सन् २००८ मा हामीहरु पेरिसको अर्को गल्ली पुग्यौं । त्यसपछि उनको र मेरो सम्पर्क भएको छैन ।

तपाइँको प्रतिक्रिया

फेसबुक