बिहीबार, वैशाख १३, २०८१

जलवायु परिवर्तनको श्रेय प्राप्त गर्ने पुरुषभन्दा ५ वर्षअघिनै महिलाले पत्ता लगाएको खुलासा

नेपालप्लस संवाददाता२०७८ पुष १९ गते २०:५८

युनिस फुटले प्रयोग गरको एक दृष्टान्त – कार्लिन इभरसन द्वारा प्रतिलिपि अधिकार। रेखाचित्र- NOAA Climate.gov, मार्फत्- मेडियम डेली

तपाईंले युनिस फुटको बारेमा कहिल्यै सुन्नुभएको छैन सायद । तर उनी जलवायु परिवर्तनको दस्तावेज गर्ने पहिलो व्यक्ति थिइन् । जुन पुरुषले पत्ता लगाए भनेर श्रेय दिईयो त्यो भन्दा पाँच वर्ष पहिलेनै ति महिलाले पत्ता लगाइसकेकि थिईन् ।

फुटले गरेको प्रयोग सन् १८५६ मा एक वैज्ञानिक पेपरमा दस्तावेज गरिएको थियो “सूर्यको किरणहरूको उच्चतम प्रभाव, मैले कार्बोनिक एसिड ग्यास [कार्बन डाइअक्साइड] मा भएको फेला पारेकी छु ।”

यो खोजले ‘ग्रीनहाउस ग्यास प्रभाव’ को आधुनिक बुझाइको लागि आधार तयार पार्यो । तर मान्यता सन् १८६१ मा जोन टिन्डल नामक एक आइरिश वैज्ञानिकलाई दिइएको थियो ।

को थिईन् युनिस फुट ?

सेनेका फल्सको महिला अधिकार सम्मेलन, १८४८ कांग्रेस पुस्तकालय मार्फत्- मेडियम डेली

युनिस फुट त्यतिबेला ३७ वर्षकी थिइन् जब उनले आफ्नो जलवायु परिवर्तनको प्रभावलाई यकिन गरिन् । संयुक्त राज्य अमेरिकाको कनेक्टिकटस्थित एउटा फार्ममा हुर्केकी महिला । उनको किशोरावस्थाको अन्त्यमा उनले ट्रोय फिमेल सेमिनरी (पछि एम्मा विलार्ड स्कूल) मा पढिन् । त्यो अमेरिकाको पहिलो महिला प्राथमिक स्कूल थियो ।

न्यूयोर्कमा रहेको ट्रोय युवतीहरूलाई उच्च गणित र विज्ञान लगायतका विषयहरू सहितको पुरुषसँग प्रतिस्पर्धी, योग्य र तुलनायोग्य शिक्षा प्रदान गर्ने पहिलो विद्यालय थियो ।

उनका एक शिक्षक थिए, एमोस ईटन जसले केटाहरूका लागि नजिकैको रेन्सेलेर स्कूलको सहस्थापना गरे । र अमेरिकामा विज्ञान पढाउने तरिका परिवर्तन गरे ।

यसले पनि उनलाई मद्दत गरेको हुन सक्छ । किनभने उनको बुबाले विज्ञानका संस्थापक पिताहरू मध्ये एक आइज्याक न्यूटनसँग एउटा नाम साझा गरेका थिए ।

विज्ञानमा उनको रुचिको साथसाथै फुट एक सक्रिय महिला अधिकारकर्मी, अधिवक्ता पनि थिइन् । सन् १८४८ सेनेका फल्स कन्भेन्सनको सम्पादकीय बोर्डमा थिइन् उनी । त्यो पहिलो महिला अधिकार सम्मेलन थियो जुन प्रख्यात मताधिकारवादी एलिजाबेथ क्यान्डी स्ट्यान्टनद्वारा आयोजित थियो।

उनले जलवायु परिवर्तन कसरी पत्ता लगाइन् ?

फुटको वैज्ञानिक पेपर ‘अन द हिट अन द सन्स रेज’। स्रोत-कांग्रेस पुस्तकालय, मार्फत्- मेडियम डेली

फुटको वैज्ञानिक पेपर ‘सूर्यको किरणहरूमा ताप (अन द हिट अन द सन्स रेज)’ नोभेम्बर १८५६ मा अमेरिकन जर्नल अफ साइन्स एन्ड आर्ट्समा प्रकाशित भएको थियो ।

उनले गरेको प्रयोगमा दुईवटा गिलास सिलिन्डर, दुई थर्मामिटर र एउटा हावा दिने पम्प प्रयोग गरिएको थियो । उनले एउटा सिलिन्डरमा कार्बन डाइअक्साइड र अर्कोमा हावा भरिन् र त्यसपछि घाममा राखिन् ।

“ग्यास भएको भाँडो (रिसीभर) आफैं धेरै तातियो । अर्को भन्दा धेरै संवेदनशील रूपमा । र त्यसलाई हटाइयो । त्यसपछि त्यो चिसिन धेरै गुणा लामो समय लाग्यो” उनले आफ्नो पेपरमा उल्लेख गरेकि छन् ।

कार्बन डाइअक्साइड सिलिन्डरको उच्च तापक्रमले फूटलाई देखायो-कार्बन डाइअक्साइडले सबैभन्दा बढी गर्मीलाई फ्याँक्छ । उनले हाइड्रोजन र अक्सिजन सहित विभिन्न ग्यासहरूको दायरामा प्रयोग गरेकि थिईन् ।

उनले उल्लेख गरेकि छन् “विभिन्न ग्यासहरूमा सूर्यको तापलाई तुलना गर्दा मैले यो हाइड्रोजन ग्यास १०८ डिग्रीमा भएको फेला पारें । सामान्य हावामा १०६ डिग्री; अक्सिजन ग्याँसमा १०८ डिग्री र कार्बोनिक एसिड ग्यासमा १२५ डिग्री ।”

यस खोजले फुटलाई यो निष्कर्षमा पुर्यायो “त्यस ग्यासको वायुमण्डलले हाम्रो पृथ्वीलाई उच्च तापक्रम दिनेछ । र मानौं, इतिहासको कुनै अवधिमा हालको तुलनामा हावा यसमा धेरै मात्रामा मिसाएको थियो भने यसको आफ्नै कार्य र बढ्दो तौलबाट तापक्रम बढेको हुनुपर्छ ।”

कार्बन डाईअक्साईडमा पृथ्वीको तापक्रम परिवर्तन गर्ने शक्ति थियो भन्ने यो पहिलो वैज्ञानिक मान्यता थियो ।

जोन टिन्डले किन श्रेय पाए ?

फूटले आफ्नो निष्कर्ष प्रकाशित गर्दा जोन टिन्डल एक आईरिश भौतिकशास्त्री थिए । उनी पहिले नै वैज्ञानिक समुदायमाझ चुम्बकत्व र ध्रुवीयता (पोलारिटी) संवन्धि गरेको कामले प्रसिद्ध थिए ।

वास्तवमा टिन्डलले ‘द अमेरिकन जर्नल अफ साइन्स एन्ड आर्ट्स’ संस्करणमा रङ उड्ने, रङ हराउने वा रङ नदेखिने वा रङको अन्धोपन (कलर ब्लाइन्डनेस) को बारेमा एउटा पेपर प्रकाशित गरेका थिए । र यहि अंकमा फुटले उनको कार्बन डाइअक्साइड प्रयोगबारे प्रकाशित गरेकि थिइन् ।

त्यसपछि सन् १८६१ मा जोन टिन्डलले अक्सिजन, जल वाष्प र कार्बन डाइअक्साइड सहित ग्यासहरूको अवशोषण वा सोस्ने (आबसोर्प्टिभ) गर्ने प्रकृतिबारे प्रदर्शन गरे । उनले आफ्नै डिजाइनमा स्पेक्ट्रोफोटोमिटर (स्पेक्ट्रमको एक भागमा प्रकाशको तीव्रता मापनको लागि एक उपकरण, विशेष गरी विशेष पदार्थहरु द्वारा प्रसारित वा उत्सर्जित भएको) प्रयोग गरेर उनले यी ग्यासहरूको अवरक्त (इन्फ्रारेड) अवशोषण मापन गरे जुन पछि ‘ग्रीनहाउस प्रभाव’ भनेर चिनियो ।

टिन्डलले फुटको अनुसन्धान चोरेका हुन् कि भन्ने बहसपनि चलेको छ । यद्यपि फूटका खोज पढेपछि त्यसबाट उनका भविष्यका खोजहरूलाई प्रभाव पारेको थियो भन्नु उचित हुने अन्यले उल्लेख गरेका छन् । यद्यपि उनले आफ्नो निष्कर्षमा फूटको खोजका सन्दर्भ उल्लेख गरेनन् ।

जे भएपनि नतिजा एउटै हो-टिन्डललाई जलवायु परिवर्तन विज्ञानको संस्थापक पिताको रूपमा स्मरण गरिएको थियो, जबकि फुटलाई २१ औं शताब्दीको प्रारम्भसम्म बिर्सिएको थियो ।

टिन्डल एक प्रमुख वैज्ञानिक बने जबसम्म उनकी श्रीमतीले सन् १८९३ मा उनको अनिद्राको उपचार गर्न क्लोरल हाइड्रेटको घातक खुराक दिएर उनको हत्या गरिन् ।

प्रारम्भिक जलवायु विज्ञान कस्तो थियो ?

१९ औं शताब्दीमा जलवायु विज्ञान र जीवाश्म ईन्धनको उपयोगको चर्चाले एक प्रमुख मोड लियो । सन् १८०० मा विश्वको जनसंख्या पहिलो पटक एक अर्ब पुगेको थियो र औद्योगिक क्रान्तिले पकड लिन थालेको थियो । १८ औं शताब्दीको उत्तरार्धमा जेम्स वाटको स्टीम इन्जिनको विकासको कारण त्यसो भएको थियो ।

सन् १८८० को दशकमा कोइला कारखानाहरूको लागि बिजुली उत्पादन गर्न प्रयोग भइरहेको थियो । पहिलो अटोमोबाइल कार्ल बेन्जको ‘मोटरवागन’ थियो । त्यसले सामूहिक निजी यातायातको युगको घोषणा गर्‍यो ।

सन् १९२७ सम्म जीवाश्म ईन्धन (फोसिल फ्युल) र उद्योगबाट कार्बन उत्सर्जन प्रति वर्ष एक अरब टन भैसकेको थियो । सन् २०१९ मा जीवाश्म ईन्धनको प्रयोग ३६ अरब ७० करोड टन पुग्यो ।

यी ठूला सामाजिक परिवर्तनहरू सुरुमा मानिसले पूर्ण रूपमा बुझ्न सकेनन् । स्विडेनी रसायनशास्त्री स्वान्ते अर्हेनियसले सन् १८९६ मा विश्वास गरे-कोइला जलेर उत्पन्न हरितगृह प्रभाव र त्यसपछिको तापक्रम वृद्धि केहि डिग्री हुनेछ । उनले सही रूपमा भविष्यवाणी गरेका थिए । वास्तवमा मानवताको लागि लाभदायक हुन सक्छ भन्ने थियो ।

वास्तवमा अमेरिकी वैज्ञानिक वालेस ब्रोकरले ‘ग्लोबल वार्मिङ’ शब्दको प्रयोग गरेपछिपनि २० औं शताब्दीको मध्यसम्म हरितगृह प्रभाव र यसका प्रलयकारी परिणामहरूलाई गम्भीरतापूर्वक लिन थालिएको थिएन ।

छायाँमा पारिएका अन्य वैज्ञानिक महिला

जलवायु विज्ञानको इतिहासमा फुटको योगदान अन्ततः सन् २०१० मा सेवानिवृत्त भूवैज्ञानिक रे सोरेनसनले पुन: पत्ता लगाए । उनले आफ्नो खोज प्रकाशित गरे र सन् २०१९ मा सान्ता बार्बराको क्यालिफोर्निया विश्वविद्यालयले फुटको कामको बारेमा एक प्रदर्शनीमा राख्यो ।

दुर्भाग्यवश, कसैको योगदानलाई कदर नगरिएको, दबाईएको वा चर्चा बाहिर राखेको फुट एक्ली महिला होइनन् । कुनै महिलाको खोज पुरुषलाई श्रेय दिइएको एक मात्र महिला वैज्ञानिकपनि होइनन् उनी । आणविक विखण्डन पत्तालगाउने वैज्ञानिक टोलीको प्रमुख सदस्य लिसे मेइटनरलाई समेत बेवास्ता गरिएको थियो । उनका सहवैज्ञानिक ओटो हानलाई नोबेल पुरस्कार दिईयो र प्रमुख अनुसन्धानकर्ता महिलालाई बेवास्ता गरिएको थियो ।

भाग्यवश पछिल्लो समयमा महिलाका खोज, अनुसन्धान र ठूला आविस्कार अब बाहिर आउन थालेका छन् । आफ्नो कर्म अनुसार उनीहरुले पाउनैपर्ने मान्यता र कामको परिचय, जस अब पाउन थालेका छन् । नासाका गणितज्ञहरू – क्याथरिन जे. जोन्सन, डोरोथी भन र मेरी ज्याक्सन शोको कथा बताउने ‘हिडेन फिगर’ जस्ता चलचित्रहरूका रूपमा महिलाहरूले आफूले पाउनुपर्ने मान्यता, कामको पहिचान पाउन थालेका छन् ।

ति तीन महिलाहरूले नासाको प्रारम्भिक वर्षहरूमा मुख्य भूमिका खेलेका थिए । तर सन् २०१६ मा फिल्म सार्वजनिक नभएसम्म ऐतिहासिक रूपमा बेवास्ता गरिएको थियो।

(युरोन्युज डटकमको सहयोगमा)

तपाइँको प्रतिक्रिया