शनिबार, मंसिर १०, २०७९

निर्वाचनमा हार्नेहरु केन्द्रिय समितिमा मनोनित : आन्तरिक लोकतन्त्रको भयानक खिल्ली

तिर्थ नाथ कँडेल२०७८ पुष १८ गते १८:५३

लेखक तिर्थनाथ कँडेल

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशनको दुई साता पछी १३ जना केन्द्रिय सदस्यहरु मनोनित गरेका छन । कांग्रेसको विधान अनुसार १६७ सदस्यीय केन्द्रीय कार्यसमितिमा १३४ जना महाधिवेशनमार्फत चयन हुन्छन् । सभापतिले समुह मिलाएर ३३ जना मनोनीत गर्न पाउने ब्यवस्था छ । शनिवार र आइतवार गरी देउवाले केन्द्रिय सदस्यका लागि गरेको मनोनयन प्रकृया भर्खरैको आवश्यकता भन्दा पनि पार्टीलाई चलायमान बनाउने एउटा जुक्ति हुनसक्छ । तर उनले गरेका नियुक्ति विधानत: सहि देखिए पनि नैतिक रुपमा भने निकै गलत र अप्रजातान्त्रिक छन् ।

देउवाले रामचन्द्र पौडेल, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा. नारायण खड्का, सुजाता कोइराला, उमा रेग्मी, मीनबहादुर विश्वकर्मा, पदिप पौडेल, जीवन बहादुर परियार र कल्याण गुरुङलाई केन्द्रीय सदस्य मनोनीत गरेका छन् । यि मध्ये रामचन्द्र पौडेल, सिटौला, खड्का, रेग्मी, विश्वकर्मा महाधिवेशनमा कुनै पनि पदका लागि उम्मेद्वार थिएनन् । विमलेन्द्र निधी, प्रकाशमान सिंह र कल्याण गुरुङ अध्यक्षमा पराजित हुन् । त्यस्तै, विजय गच्छदार र सुजाता कोइराला उपसभापतिमा हारेका हुन् भने प्रकाश शरण महत र प्रदिप पौडेल महामन्त्रीमा पराजित हुन् । जीवन बहादुर परियार सहमहामन्त्रीमा हारेका हुन् ।

अधिवेशनका क्रममा प्रदिप पौडेल र सिटौला लगायत सबै जना देउवा गुटमै थिए । मनोनित १३ जना मध्ये रामचन्द्र पौडेलले आफू महाधिवेशनको सम्पूर्ण प्रकृयाबाट अलग रहेको घोषणा गरेका थिए । उनी मतदानमा समेत सामेल थिएनन् । तर फेरी केन्द्रिय सदस्यमा नियुक्त हुनुले पौडेलको राजनीतिक चरित्रमा गम्भिर प्रश्न उठाएको छ ।

जीवनको उत्तरार्धमा रामचन्द्र पौडेल निकै कमजोर देखिएका छन् । उनको हैशियत जिल्लाको सामान्य नेताको भन्दा बढी देखिएन जो कुनै पद प्राप्तिको लागि आजीवन कुनै नेताको चाकडी गरिरहेको हुन्छ । कांग्रेसका एक युवा नेता गुरुराज घिमिरेले प्रश्न उठाएका छन् ‘महाधिवेशन प्रकृयाबाट अलग भएको नेता फेरि केन्द्रिय सदस्यमा मनोनित हुनु कस्तो खालको नैतिकता हो !’

अर्को तर्फ नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी भनेपनि यो पार्टीले न त ईतिहासमा होस अथवा अहिले, कुनै पनि समयमा लोकतान्त्रिक प्रणालीको अभ्यास गर्न सकेको छैन । खास गरेर देउवाको यो पछिल्लो कार्यकाल जडसुत्रवादी मनोविज्ञानग्रस्त रहने संकेत देखिएको छ ।

नेपाली कांग्रेसमा सभापति देउवाको ईतिहास धेरै लामो छैन । २०४० साल पछीका हरेक वर्षहरुलाई केलाएर हेर्ने हो भने दुनियाँ चकित पर्नेगरी उनी जीवनको अन्तिम समयमा पनि पार्टीको सभापतिमा निर्वाचित भएका छन् । उनले आफ्नो पार्टीगत राजनीतिक जीवनमा शायदै कुनैबेला लोकतान्त्रिक निर्णय गरेका होलान् ।

पौडेलको द्वैध चरित्र देशकै लागि घातक

कुनै ब्यक्ति चुनावी प्रकृयामा सामेल भएर र चुनाव जितेर मात्र प्रजातान्त्रवादी हुन सक्दैन । प्रजातन्त्रबादी हुनका लागि उसको आचरणले देखाउने कुरा हो । देउवाको राजनीतिक आचरण कहिल्यै पनि प्रजातान्त्रिक हुन सकेन । तर उदेक लाग्दो पक्ष भनेको प्रजातान्त्रिक दलका कार्यकर्ताहरुले  देउवा जस्ता ब्यक्तिहरुलाई एक पटक होइन पटक पटक किन चुनिरहन्छन ?

दुई साता अघिको महाधिवेशनलाई हेरौं, देउवाले अहिले केन्द्रिय कार्य समितिमा मनोनित गरेका १३ जना मध्ये ८ जना महाधिवेशनमा बिभिन्न पदका लागि उम्मेद्वार थिए । ति पराजित भएका थिए । महाधिवेशनमा पराजित हुनु भनेको कार्यकर्ताले तिनलाई पत्याएनन् । अथवा तिनले अझै केन्द्रिय समिती भन्दा बाहिर रहेर आफू खारिने काम गर्नुपर्‍यो भन्ने नै हो । उनिहरुले पार्टीलाई दिएको योगदानमा कमी देखिनु हो । कार्यकर्ताले तिनलाई अझै केही समय पर्खिनु भनेका हुन् । तर सभापतिले फेरी तिनै हरुवाहरुलाई केन्द्रिय समितिमा मनोनित गरे ।

सर्सर्ती नेपाली कांग्रेसको विधानका पाना पल्टाएर हेर्दा सभापतिले विधान अनुसार नै मनोनित गरेका हुन् । यो विधान विपरित भने छैन । केन्द्रिय समितीमा आउने लडाईंमा पराजित भएका ब्यक्तिहरु फेरी अर्को बाटोबाट प्रवेश गर्नु भनेको नैतिकताको कुरा हो । मनोनित हुनेहरुले पनि ‘हामी चुनावमा हारेका फेरी अर्को बाटोबाट प्रवेश पाउनुले गतिलो सन्देश जाँदैन, हामी बाहिरै बस्छौं’ भन्न सक्नु पर्दथ्यो । मनोनित गर्नेले पनि हरेक पटक विधानका छिद्रहरु खोजिरहनु हुँदैनथ्यो । जब मान्छेमा नैतीकता र इमान र्‍हास हुन्छ तब उसले ससानो छिद्र प्रयोग गरेर दुनियाँका अगाडि आफूलाई सुकिलो देखाउने कोशिस गर्दछ ।

देउवा लगायत भर्खरै केन्द्रिय समितिमा मनोनित ८ जना हरुवाहरु त्यस्तै इमान र्‍हास भएका फोहरी जल्लादहरु हुन् । यदी सभापतिले यसरी नै चुनावमा मत नपाएका र कार्यकर्ताले पाखा लगाएकाहरुलाई मनोनित गरेर पुन: त्यही ठाँउमा लैजाने हो भने अधिवेशन र चुनाव गर्नुको के औचित्य ? करोडौं रुपैंया खर्चेर गरिने त्यस्ता खाले सम्मेलनहरुको कुनै अर्थ छैन । नेपाली कांग्रेस भित्र यस्ता खाले विडम्बना पहिले छिटपुट रुपमा देखिएको भएपनि देउवा कार्यकालमा भने यस्ता उरेन्ठेउला र अप्रजातान्त्रिक विषयले बढी नै आश्रय पाएका छन् ।

कांग्रेसका एक केन्द्रिय नेता भन्छन्- देउवा सँगबाट धेरै अपेक्षा गरिनु हुँदैन । उनी जस्ता छन् उनका निर्णयहरु पनि ठ्याक्कै त्यस्तै हुने हुन् । यो देउवाको भन्दा पनि उनलाई पार्टीको राजनीतिमा पटक पटक मतदान गरिरहने कार्यकर्ताको गल्ती हो । किन उनिहरुले देउवालाई नै चुनीरहेका छन् ।

अर्को महत्वपूर्ण कुरा, महाधिवेशनमा हारेकाहरुले कुन नैतिकताले आफूहरु नेपाली कांग्रेसको केन्द्रिय सदस्य हुँँ भन्न सक्लान ? पार्टीका अन्य स्थानिय कार्यक्रमहरुमा ति हरुवालाई देखेर कार्यकर्ताहरुको कस्तो मनोविज्ञान होला ?

निर्वाचित भए लगत्तै आएका देउवाका केही अभिव्यक्तीले कांग्रेस भित्रको एउटा सानो समुहलाई के लागेको थियो भने आफ्नो उमेर सत्तरी पार गर्नै लागेका यि बुढाले कम से कम यो समयमा पार्टीलाई लोकतान्त्रिक पद्दतीबाटै अगाडि बढाउने छन् । तर दुई साता मै उनी आफ्नो हैशियतमा पुगेका छन् । देउवासँग प्रजातान्त्रीक मुल्यको अपेक्षा गर्नु गधाबाट दुधको अपेक्षा गर्नु जस्तै हो ।

अब कांग्रेसको चौधौं महाधिवेशन पछी रुपान्तरणको अपेक्षा गरेर बसेको जमातले बोल्न छोडेहुन्छ, पार्टीका लागि लड्न छोडे हुन्छ । हरुवाहरु पुन केन्द्रिय समितिमा पुग्नु भनेको पार्टीका लागि घोर पस्चगामीकरण हो । अप्रजातान्त्रिक हो । देउवाले आन्तरिक लोकतन्त्रको भयानक खिल्ली उडाएका छन् ।

कँडेलको अघिल्लो लेखपनि हेर्ने कि ?

पौडेलको द्वैध चरित्र देशकै लागि घातक

तपाइँको प्रतिक्रिया