सोमबार, माघ १०, २०७८

देउवा, ओली, प्रचन्ड, माधव नेपालहरुले पालेको खतरनाक भ्रम

ऋषी पल्लव२०७८ पुष २२ गते १५:५९

बितेका डेढ महिना यता नेपालका तीन ठूला पार्टी र एउटा सानो गरेर चार वटा पार्टीहरुले आफ्नो महाधिवेशन सम्पन्न गरेका छन् । पार्टीहरुका लागि यि महाधिवेशनहरु महत्वपूर्ण किन पनि थिए भने प्राय सबै पार्टीहरुले आन्तरिक रुपान्तरणको आवाज उठाएका थिए । तर तीन वटा ठूला भनिएका पार्टीहरुमा आन्तरिक रुपान्तरणको कुनै पनि तत्वले परिक्षण हुने पालो पाएन । अणुवांशिक प्रकृयामा नै सबै पार्टीहरु अल्झिए । देशले पार्टीहरुबाट आशा गरे जस्तो भर्खरैलाई रुपान्तरण हुन सकेन । देश हाँक्ने खेलमा रहेका यि पार्टीहरुका महाधिवेशनले आशातित सकारात्मक संचार प्रवाह गर्ने सकेनन् । पार्टीका अधिवेशनहरु सामान्य सम्मेलन जस्ता मात्र देखिए । किनभने अधिवेशन भनिएको भए पनि नेतृत्व परिवर्तन हुन सकेन ।

सम्मेलनमा पस्नुअघि तिनै ओली, देउवा र प्रचन्ड नै ति पार्टीका सर्वेसर्वा थिए र सम्मेलनबाट बाहिर निस्किदा पनि यिनै सर्वेसर्वा छन् । न अनुहार फेरियो, न प्रवाह फेरियो । न पार्टीको कुनै कार्यक्रमनै फेरिए । सबै कुरा उस्ताका उस्तै । केही पनि नफेरिनु, परिवर्तन नहुनु भनेको यथास्थितिमा रहनु हो । महाधिवेशन सकियो पार्टीहरु यथास्थितीमै रहे । न यिनिहरु सँग कुनै एजेण्डा थपिए न देशको उन्नतीका लागि कुनै दृष्टिकोण आए ।

देउवा, ओली, प्रचन्ड, माधव नेपाल सबैलाई के लागिरहेको छ भने हामीहरु मरणोपरान्त यसरी नै गजधम्म परेर बसिरहन सक्छौं र हामीलाई विस्थापित कसैले गराउन सक्दैन । यो नेपाली राजनीतिलाई डोर्‍याउन खोज्नेहरुले पालेको सबै भन्दा खतरानाक भ्रम हो । गन्तब्य विहिन भएर अगाडि बढ्नु भनेको चौराहामा पुगेर रोकिनु हो, कता हिंड्ने भनेर रोकिनु हो । अहिले सबै पार्टीको अवस्था त्यही हो ।

हरेक राजनीतिक दलका ९८ प्रतिशत नेताहरु साना ठूला गरेर कुनै न कुनै रुपमा भ्रष्टाचारका मुद्दामा मुछिएका छन् । तथापी नेताहरु सधैं चोखिएका हुन्छन् ।

कांग्रेस सबैभन्दा पुरानो र प्रजातान्त्रिक पार्टी भएको दम्भमा चलिरहेको छ । यही दम्भले पछील्ला निर्वाचनहरुमा यो पार्टी नराम्रोसँग पछारिएको हो । कांग्रेस पछारिंदा स्वभावत: एमालेको गठवन्धनमा रहेको कम्युनिष्ट समुहले त्यसको फाईदा लिनसक्यो । कांग्रेससँग कुनै एजेण्डा नहुनुको कारण कम्युनिष्ट गठवन्धनले मत प्राप्त गर्न सफल भएको थियो । तर अहिले यि मध्ये कुनैपनि पार्टीसँग एजेण्डा छैनन् । अबको एक वर्षसम्म त्यस्तो कुनै प्रकारको भवितब्य आइलागेन भने स्थानिय र संसदिय दुबै तहका चुनाव भइसक्नुपर्ने छ भने आगामी ४५ वर्षका लागि ठूला दलका चिर परिचित तिनै अनुहारहरु नेतृत्वमा रहने छन् ।

यसको मतलव के हो भने एमाले, नेपाली कांग्रेस, माओवादी र माधव नेपाल समुह लगायत मधेशवादी दलहरुसँग चुनावमा जानका लागि कुनै एजेण्डा हुने छैनन् । जसले आगामी चुनावहरुमा यि पार्टीहरुका असली अनुहार देखिने छन् । त्यो किन पनि भने यिनै ठूला भनिएका पार्टीहरुसँगै आफ्नो महाधिवेशन सम्पन्न गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो नेतृत्व मात्र फेरेको छैन उसले आफ्ना एजेण्डाहरुलाई पनि तरोताजा बनाएको छ । राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देन देश दौडाहमा छन् । उनले देशैभरी सभा र सम्मेलनहरु गरिरहेका छन् । पार्टीका पुराना नाराहरुलाई स्पष्ट रुपमा एजेण्डा बनाएका छन् । हिन्दू राष्ट्र र राजतन्त्र पुनर्स्थापनाका नारासँग त्यो पार्टीले देशभरी मान्छे उचालेको छ । हिन्दू राष्ट्र निर्माण सम्बन्धी नारा मात्र एउटा नारा होइन ठूला भनिएका पार्टीहरुले गणतन्त्र घोषणाका पछील्ला १५ वर्षमा जन्माएको निरासा र नेताहरुको अकर्मण्यताले निम्त्याएको मनोवैज्ञानिक वाध्यता हो ।

राप्रपाका भर्खरैका सभाहरु हेर्दा यस्तो यस्तो लाग्छ, अब निकट भविष्यमा हिन्दू राष्ट्रको नाराले ठूलै उथलपुथल ल्याउने निष्चित छ । हिन्दू राष्ट्र सम्भवत: अहिलेको आवश्यकता नहुन सक्दछ । तर वर्तमान राजनीतिले निम्त्याएको निरासाको विकल्प भने पक्कै हो । यो निरासालाई राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो मुख्य मुद्दा बनाइरहेको बेला ठूला दलका नेताहरु एजेण्डा रहित कोठे जोड घटाऊमा ब्यस्त छन् ।

नेपाली कांग्रेस अनन्तकाल देखि चलिरहेको घर झगडाका तानावानामै अल्झिएको छ । माधव नेपाल, प्रचन्ड र केपी ओलीहरुलाई अहिलेको ब्यवस्था प्रती कुनै स्वामित्व भएको भान छैन । उनिहरु आफ्ना पार्टीका मसिना प्वालहरु सिलाउन लागिपरिरहेका छ्न् । त्यसैले पनि नेपाली जनता अब विस्तारै एउटा निष्कर्षमा पुग्दै छ, खासमा फेर्नु पर्ने ब्यवस्था थियो या ब्यक्ति ?

बितेका ३० वर्षमा तीन पटक ब्यवस्था फेरिएको छ । तर राष्ट्रिय राजनीतिमा यिनै पात्रहरू प्रमुख भूमिकामा छन- शेर बहादुर देउवा, केपी ओली, माधव नेपाल । देश फेर्न हिंडेका प्रचन्ड डेढ दशक देखि सत्ता राजनीति र देशका टूला ठूला ठेक्कापट्टाको कारोवारमा रुमल्लिएका छन् । सात वटै प्रदेशका सरकार परिवर्तन र मन्त्री बनाउने उही पुरानो घनचक्करमा जेलिएका छन् ।

देशका हरेक खाले सुविधाहरुमा लगभग १३ प्रतिशत मानिसहरुको मात्र पहुँच छ र सम्पूर्ण राज्य ब्यवस्था त्यही १३ प्रतिशतको वरिपरि घुमिरहेको छ । ८७ प्रतिशत मान्छेहरु सधैं बाहिर छन् ।

जति पटक ब्यवस्था फेरिए पनि जनताको दिनचर्या फेरिएन । देश सरकारले होइन पार्टीका कार्यकर्ताहरुले चलाईरहेका छन् । मुलुकका संवैधानिक अंग र अदालतलाई समेत राजनीतिक दलहरूले आफ्नो अनुकुलतामा चलाएका छन् । भ्रष्ट, अपराधी र दलालहरूलाई नेताहरुले संरक्षण गर्छन् ।

२०४६ सालको पहिलो जनआन्दोलन पछी २६ वटा सरकार बने । र ति मध्ये कुनैपनि सरकारले पूर्णकाल देश चलाऊन पाएको छैन । यि ३२ वर्षमा आएका हरेक बजेटहरु घाटामा छन् । सरकारहरु बिकास बजेट भन्दा बढी प्रशासनिक खर्चमा केन्द्रित देखिए । किनभने निर्वाचनहरुमा भोट दिने जनताको भन्दा जित हारमा प्रहरी प्रशासनको भूमिका बढी देखिन गयो । देशको मेरुदण्ड मानिएको कृषि क्षेत्र तहसनहस भएको छ । सरकारले कृषिलाई प्राथमिकतामा नराख्दा यो ३० वर्षमा सबैभन्दा धेरै युवा जनशक्ती पलायन भएको छ । फलत कृषि प्रधान देशले हरेक वर्ष खरबौं रुपैयाँको खाध्यान्न आयात गरिरहेको छ । देशमा किन यस्तो भएको छ भने पछिल्ला ३० वर्षमा लगभग ११ वर्षको समय सरकार गिराउन, बचाउन, बनाउन, संसद अवरुद्द र आन्दोलनहरुमा बितेको छ । बाँकी समय दलहरु देशका महत्वपूर्ण विषयहरुमा छलफल गर्न चुकेका छन । पहुँच नहुनेहरुको बिचमा कुनैपनि सरकार पुग्नसकेको छैन । देशका हरेक खाले सुविधाहरुमा लगभग १३ प्रतिशत मानिसहरुको मात्र पहुँच छ र सम्पूर्ण राज्य ब्यवस्था त्यही १३ प्रतिशतको वरिपरि घुमिरहेको छ । ८७ प्रतिशत मान्छेहरु सधैं बाहिर छन् । ति पंचायतकालमा पनि बाहिर थिए । बहुदलमा पनि त्यसरी नै बाहिर थिए । र यो लोकतन्त्रमा पनि बाहिर नै छन् । तर त्यो ८७ प्रतिशतको जमात यस्तो जमात हो जसले हरेक पटकका ब्यवस्था परिवर्तनमा निर्णयक भूमिका खेलेको छ । १३ प्रतिशत जसले कहिल्यै कुनै आन्दोलन गरेन, कहिल्यै कुनै ब्यवस्था पल्टाउन हिंडेन । तर देशको हरेक सुविधामा सधैं पकड जमाइरहेको छ । सरकार र सबै राजनीतिक दलहरु त्यही १३ प्रतिशतको पकडमा छ ।

हरेक राजनीतिक दलका ९८ प्रतिशत नेताहरु साना ठूला गरेर कुनै न कुनै रुपमा भ्रष्टाचारका मुद्दामा मुछिएका छन् । तथापी नेताहरु सधैं चोखिएका हुन्छन् । शेरबहादुर देउवा, केपी ओली र प्रचन्डले जती भ्रष्टाचार सम्भवत: दुनियाँमा कुनै राजनीतिज्ञले गरेको होला । तैपनि यिनिहरु सुकिला छन् किनभने त्यो १३ प्रतिशतको जमात हरेक दिन यिनलाई सुकिलो बनाउन लागिरहेको हुन्छ । अब पनि कस्तो अवस्था देखिएको छ भने आफूलाई गणतन्त्रका पहरेदार बताउने प्रचन्ड, देउवा, ओलीहरुसँग भोलिका लागि कुनै पनि योजना छैन । योजना विहिन तरिकाले देश संचालन हुनु भनेको कुनै पनि बेला दुर्घटना हुनु हो । दुर्घटनाका मसिना छिर्का देशभरी देखिंदैछन । युवाहरुले निकालेका जुलुसहरुमा ‘गणतन्त्र मुर्दाबाद’ का नारा सम्भवत: देउवाहरुले नसुनेका हुन सक्छन् । तर नारा चर्किंदो छ । ८७ प्रतिशत मान्छेहरु जसले कुनै पनि ब्यवस्थामा आफूलाई कहिल्यै पनि छाम्न सकेन तिनिहरुले यो ब्यवस्थालाई चिल्लो बनाइराख्लान भन्ने भ्रम पाल्नु गलत हुनेछ । राजेन्द्र लिङ्देन त कर्ता मात्र हुन ।

तपाइँको प्रतिक्रिया