शुक्रबार, वैशाख १४, २०८१

सरकारको आलोचना गर्दै फ्रान्सेली सांसदहरुद्वारा खोप पास कानून अनुमोदन

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ पुष २२ गते १९:१३

फ्रान्सेली सांसदहरूले बिहीवार बिहान कोविड-१९ स्वास्थ्य पासलाई खोप पासमा रूपान्तरण गर्ने विधेयक अनुमोदन गरेका छन् ।

विहान ५ बजेर २५ मिनेटमा विधेयकको पक्षमा २१४ मत दिंदै पास भएको थियो । विपक्षमा ९३ र अनुपस्थित २७ मत थिए ।

यो विधेयक अर्को हप्ताको सुरुमा माथिल्लो सदनमा जानेछ र महिनाको दोस्रो सातामा लागू हुने अपेक्षा गरिएको छ ।

त्यसपछि १२ वर्ष भन्दा माथिका मानिसहरूले मनोरञ्जन गतिविधिहरू, रेस्टुरेन्ट र बारहरू, मेलाहरू वा अन्तर-क्षेत्रीय सार्वजनिक यातायात पहुँच गर्न खोप प्रमाण अनिवार्य देखाउनुपर्ने छ । स्वास्थ्य सेवा र सुविधाको पहुँच बाहेक अन्यत्र कोरोनाको नकारात्मक परीक्षण अब पर्याप्त हुने छैन ।

सरकारले यस विध्येयकलाई पास गरेर जनवरी १५ सम्ममा कानून लागू हुने आशा गरेको थियो । तर मंगलबार विधेयकमा पहिलो बहस भएको दिन विपक्षी सांसदहरूले तत्कालै पास गर्न मानेनन् । बरु रातारात विध्येयकमा उल्लेख भएका बुँदा जाँच गर्न माग गरेर यसको अनुमोदनलाई ढिलाई गरिदिए ।

प्रधानमन्त्री जँ कास्टेक्सले बुधवार सांसदहरूलाई राष्ट्रपति एमानुएल माख्रोंले गरेको अपाच्य भनाईपछि विधेयक पास गर्ने प्रक्रियालाई गति दिन आग्रह गरेका थिए ।

ल पेरिजियन अखबारमा मंगलबारको एक अन्तर्वार्तामा माखोंले “खोप नलगाएकाहरूलाई सताउन चाहन्छु” भन्दै सरकारले अन्त्यसम्म खोप नलगाएकालाई दुख दिइरहने उल्लेख गरेका थिए ।

उनको यो भनाईले प्रतिपक्षी लगायत अन्य दल, सामाजिक अभियन्ता र राजनितिक क्षेत्रमा तिब्र आलोचना बढाएको छ ।

“जब मेरो स्वतन्त्रताले अरूलाई धम्की दिन थाल्छ म गैरजिम्मेवार बन्छु । गैरजिम्मेवार व्यक्ति अब नागरिक रहँदैन” राष्ट्रपतीले भनेका थिए ।

यसैबीच फ्रान्समा बुधवार तिन लाख ३२ हजार दुई सय ५२ नयाँ ब्यक्तिमा कोरोना संक्रमित भएको छ । अस्पतालमा भर्ना हुने बिरामीहरूको संख्या बढ्दै गएको छ । विशेष गरी गम्भीर हेरचाह कक्षको भार थाम्न अस्पतालहरुलाई मुस्किल पर्दै जान लागेको छ ।

स्वास्थ्य मन्त्री ओलिभिय भेरँका अनुसार अस्पतालमा भर्ना भएका बिरामीमध्ये पाँच प्रतिशत नक्कली स्वास्थ्य पासधारी छन् । विधेयकले स्वास्थ्य पासमा ठगी गर्ने, नक्कली स्वास्थ्य पास किन्ने र बेच्ने दुबैको सजाय बढाएको छ ।

तपाइँको प्रतिक्रिया