शुक्रबार, वैशाख १४, २०८१

मलेसियामा मृत्युदण्ड पाएका राजकुमारसहित जेलका २५ नेपाली एनआरएनएको सहयोगमा स्वदेश फिर्ता

नेपालप्लस संवाददाता२०७८ पुष २३ गते २३:१९

वैदेशिक रोजगारीको लागि मलेसिया पुगेर त्यहाँ विभिन्न कारणले जेल जीवन विताइरहेका २५ नेपाली स्वदेश फर्किएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) को पहलमा विहिवार २ महिलासहित २५ नेपाली स्वदेश फर्किएका हुन् ।

यसरी फर्किनेमा मलेसियामा मृत्युदण्ड सुनाइएका सप्तरीका ३८ वर्षीय राजकुमार शाह समेत छन् । सन् २०१८ को २९ जुलाइमा उच्च अदालतले राजकुमारसहित मलेसियाका अन्य दुई व्यक्तिलार्ई ‘लागूऔषध’ कारोवारमा दोषी ठहर गर्दै मृत्यु दण्डको फैसला सुनाएको थियो ।

मलेसियामा मृत्युदण्ड सुनाइएका सप्तरीका ३८ वर्षीय राजकुमार शाह

मृत्युदण्डको सजाय सुनाएपछि त्यहाँस्थित नेपाली दूतावासको आर्थिक र अन्य सहयोगमा राजकुमारले माथिल्लो अदालतमा पुनरावेदन गरेका थिए । मृत्युदण्डको सजाय पाएका राजकुमारले पुनरावेदन गर्दा आफूमाथि लगाइएको अभियोग नै घटाएर पुनरावेदन गरेका थिए । अन्नत : सन् २०२० को १३ जुलाइमा माथिल्लो अदालतले राजकुमारको पुनरावेदनलाई सदर गर्दै उनको सजाय घटाएर १० वर्ष जेल र १० कोर्रा हान्ने ‘छडीले हिर्काउने’ आदेश दिएको थियो ।

विहीवार उनै राजकुमारसहित जेलमा कैदी जीवन विताइरहेका २५ नेपालीलाई एउटै उडानमा स्वदेश फर्काइएको हो ।

संघका उपाध्यक्ष डा. बद्री केसीले संयोजन गरिरहेको संघको वैदेशिक रोजगार तथा कल्याणकारी विभाग अन्तर्गतको राहत तथा उद्दार कार्यक्रममार्फत यी २५ नेपालीलाई जेलबाट छुटाएर स्वदेश फर्काइएको हो ।

डा. केसीको पहलमा एनआरएनए एनसीसी मलेसिया र क्वालालम्पुरस्थित नेपाली दूतावासले उनीहरुको स्वदेश फिर्तीका लागि समन्वय गरेका थिए । संघले जरिवाना तिरेर जेलबाट छुटाउने, कागजी प्रक्रिया मिलाउने र ट्राभल डकुमेण्ट बनाएर पीसीआर परीक्षण गरेपछि उनीहरु स्वदेश फर्कन बाटो खुलेको थियो ।

शाहसहित भूपेन्द्र भण्डारी, हिमानचल मौरिया, ओके कुमार यादव, टिकाराम प्रजा, पारसनाथ यादव, कर्णबहादुर तामाङ, हृदेश केवत, राजकुमार शाह, कृष्णकुमार मण्डल, कैमुल्ला मिया, राजकुमार माझी, कर्णबहादुर पुन, बेलबहादुर थामी, पूर्णबहादुर सुनारी, आशबहादुर कामी, बाबुराम थापा, दिशन सुनार, सन्जय कुमार यादव, जगलाल तामाङ, रामनाथ पण्डित, सपना तामाङ, जुनु माया बोम्जन, बलन राई र छत्रबहादुर न्यौपानेलाई जेलबाट उद्धार गरी नेपाल ल्याइएको हो ।

‘म जेलमा परेको खवर दूतावासमार्फत एनआरएनएका सरहरुले पाउनु भएको रहेछ । एनआरएनएको सहयोगमा मसहित अरु जेलमा रहेका २४ जना साथीहरु एकैसाथ नेपाल आएका हौँ । म धेरै खुशी छु । यसका लागि एनआरएनएका सरहरुलाई धेरै धन्यावाद दिन चाहान्छु’ मृत्युदण्डबाट जोगिएर नेपाल फर्किन सफल राजकुमारले भने ।

काठमाडौं ओर्लिएपछि उनीहरुलाई संघको समन्वयमा प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी)को सेल्टरमा बसोबासको व्यवस्था गरिएको थियो। उनीहरुलाई संघका स्वयंसेवक विमानस्थलमै लिन पुगेका थिए।

बेखर्ची भएर आएका उनीहरुलाई आ–आफ्ना गन्तब्यसम्म पुर्याउन एनआरएनएले नै यातयात खर्च उपलब्ध गराएको थियो।

तपाइँको प्रतिक्रिया

फेसबुक