शुक्रबार, वैशाख १४, २०८१

फ्रान्समा सन् २०२० मा साइबर आक्रमण ६३० प्रतिशतले वृद्धि

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ पुष २३ गते २१:५०

फ्रान्समा क्लाउड सेवाहरूले महामारीको पहिलो वर्षमा साइबर आक्रमणहरू ६३० प्रतिशतले बढेको देखाएको छ । मानिसहरूलाई घरबाट काम गर्न बाध्य पारेपछि साईबर हमला बढेको एक डाटा सुरक्षा विशेषज्ञले सार्वजनिक गरेका हुन् ।

युरोन्युजका अनुसार फ्रान्सेली कम्पनी अक्सिबक्सका प्रमुख कार्यकारी निर्देशक फ्रंस्वा एस्नोल-फ्युजियासले अनिवार्य टेलिवर्किंग लगाउने निर्णयले गर्दा यस्तो मूल्य चुकाउनुपरेको बताएका छन् ।

“हामीले २०२० मा सार्वजनिक क्लाउड र इन्टरप्राइज क्लाउडहरूमा साइबर आक्रमणहरू ६३० प्रतिशतले बढेको देख्यौं । आक्रमणकारीहरूले नयाँ अवस्थाको फाइदा उठाइरहेको देखाएको छ” फ्रंस्वा एस्नोलले युरोन्युजसित भने “यद्यपि एउटा समस्या के भने युरोपभरि एउटै अनलाइन कभरेज छैन । र सबै पेशा टाढाबाट बसेर मात्रै काम गर्न संभव छैन ।”

तर के युरोपेली आयोगले युरोपभर मानक उपायहरू लागू गर्न सक्छ ?

इसीका प्रवक्ता एरिक मेमर भन्छन् “टेलिवर्किङमा ईयुपभरि यस्तै हुनुपर्छ भन्ने नियमहरू छैनन् । स्वास्थ्य सुरक्षा उपायहरू सदस्य राष्ट्रहरूको जिम्मेवारी हो ।”

महामारीले युरोप र विश्वलाई पूर्ण रूपमा नयाँ परिस्थितिमा धकेलिदिएको भनाई उनको छ ।

अब प्रश्न उठ्छ – सार्वजनिक स्वास्थ्यको नाममा रहेका डाटा सुरक्षा कसरि हुन्छ ?

फ्रंस्वा एस्नोल भन्छन् “अन्तिम चुनौती भनेको टाढा बसेर काम गर्ने कामदारको पहिचान हो । पहिचानलाई नियन्त्रण गर्ने क्षमता र आइटी प्रणालीहरू टाढाबाट पहुँच गर्ने क्षमता हो ।”

आयोगले युरोपेली डिजिटल पहिचानको लागि गत वर्ष योजनाहरू घोषणा गरेको छ जुन सबै ईयु नागरिकहरूलाई उपलब्ध हुने छ ।

यो योजना अनुसार सदस्य राष्ट्रहरूले नागरिक र व्यवसायहरूलाई डिजिटल वालेटहरू प्रस्ताव गर्ने हो जुन सवारी चालक अनुमतिपत्र जस्ता अन्य कागजातहरूको प्रमाणसँगै उनीहरूको राष्ट्रिय पहिचानसँग जोडिने छ ।

यी वालेटहरू सैद्धान्तिक रूपमा सार्वजनिक अधिकारीहरू वा निजी संस्थाहरूद्वारा उपलब्ध गराइने छन् ।

तर यो अझै कार्यान्वयनमा आउने निस्चित भने भएको छैन । किनभने इयुका देशहरुले यसमा सहमति जनाउने वा नजनाउने निर्यौल भैसकेको छैन ।

तपाइँको प्रतिक्रिया

फेसबुक