शुक्रबार, चैत १६, २०८०

“ओमिक्रोनले मानिसहरूलाई मार्दैछ, हल्का भन्नु हुँदैन” डब्ल्यु एचओको चेतावनी

नेपालप्लस संवाददाता२०७८ पुष २४ गते ३:०५

Image Credit-unesco.org

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुखले बिहीवार ओमिक्रोन भेरियन्टलाई हल्का भनी वर्णन गर्ने बिरूद्ध चेतावनी दिएका छन् “केसहरूको सुनामी चलिरहेको छ, विश्वव्यापी स्वास्थ्य प्रणालीहरूलाइ भार पारेको छ । यसलाई हल्का भन्नुहुँदैन ।”

“गत हप्ता महामारी शुरु भएदेखिनै अहिलेसम्म सबैभन्दा धेरै कोविड-१९ को संक्रमण रिपोर्ट गरिएको छ” डा. टेड्रोस अधानोम गेब्रेयससले नियमित प्रेस ब्रीफिंगमा पत्रकारहरूलाई भने ।

संयुक्त राष्ट्र संघको हालसालैको साप्ताहिक रिपोर्टले देखाएको छ- गत हप्तामा विश्वभरि ९५ लाखमा कोविड-१९ संक्रमण रिपोर्ट गरिएको थियो । यो अघिल्लो सात दिनको अवधिमा ७१ प्रतिशतले वृद्धि हो ।

सबै क्षेत्रहरूले कोविड-१९ संक्रमणहरूको संख्यामा वृद्धि भएको रिपोर्ट गरेका छन् । सबैभन्दा ठूलो वृद्धि अमेरिकामा १०० प्रतिशत देखिएको छ । त्यसपछि दक्षिण-पूर्वी एशियामा ७८ प्रतिशत र युरोपमा ६५ प्रतिशतले वृद्धि भएको छ ।

डब्ल्यूएचओ प्रमुखले जोड दिएका छन् “हामीलाई थाहा छ, निश्चित रूपमा यो केसहरूको कम अनुमान हो । किनभने रिपोर्ट गरिएको संख्याहरूले बिदाको वरिपरि परीक्षण गर्नेलाई प्रतिबिम्बित गर्दैन । कतिपय ब्यक्तिगत तर्फबाट परिक्षण गर्नेले दर्ता गरेका छैनन् । निगरानीमा बोझ परेको र निगरानी प्रणालीहरूमा कमजोरीका कारणपनि संसारभरि धेरै संक्रमितका घटना दर्ता गर्न छुटेका छन् ।

नोभेम्बरमा दक्षिण अफ्रिकामा पहिलो पटक पत्ता लागेको ओमिक्रोन पछिल्लो लहरको लागि दोषी ठहर गरिएको छ । यो भेरियन्टलाई डब्ल्यूएचओ द्वारा चिन्ताको विषय भनिएको थियो । किनभने अध्ययनहरूले यो डेल्टा लगायतका अन्य भेरियन्टहरू भन्दा बढी संक्रमण र उपचारको लागि बढी प्रतिरोधी देखाउँछन् । मानिसहरूलाई पूर्ण रूपमा खोप लगाउँदा पनि संक्रमित वा पुन: संक्रमित हुने सम्भावना बढी छ ।

डा टेड्रोसले चेतावनी दिए “ओमिक्रोन डेल्टाको तुलनामा कम गम्भीर देखिन्छ । विशेष गरी खोप लगाइएकाहरूमा । यसको मतलब यो होइन कि यसलाई ‘हल्का’ भनेर वर्गीकृत गर्नुपर्छ ।”

“पहिलेका संस्करणहरूले जस्तै ओमिक्रोनले मानिसहरूलाई अस्पतालमा भर्ना गराईरहेको छ । यसले मानिसहरूलाई मारिरहेको छ” उनले जोड दिए ।

गत हप्ता यस रोगबाट ४१ हजारले ज्यान गुमाएका थिए । डब्ल्यु एचओको अपडेट अनुसार हप्तामा १० प्रतिशतले वृद्धि भैरहेको छ जसले महामारीको कुल मृत्युको संख्या ५४ लाख भन्दा बढी बनाईसक्यो । अफ्रिकी क्षेत्रमा नयाँ मृत्यु हप्तैपिच्चे २२ प्रतिशतका दरले बृद्धि भएको रिपोर्ट छ । यद्यपि युरोपमा २२ हजार ८ सय १७ जनाको मृत्यु भएको छ । ओमिक्रोनबाट सबैभन्दा बढीको मृत्यु भएको युरोप क्षेत्रमा हो ।

“केसहरूको सुनामी यति ठूलो र छिटो छ कि यसले विश्वभरिकै स्वास्थ्य प्रणालीलाई भारी पारेको छ” डा. टेड्रोसले भने ।

“अस्पतालहरूमा भीडभाड छ । कर्मचारीको संख्या न्युन बन्दै गएका छन् जसले गर्दा कोभिड-१९ मात्र नभई अन्य रोग र चोटपटकबाट पनि रोकथाम गर्न सकिने विरामीले समयमै उपचार नपाएर मृत्युहरू हुने देखिएको छ” उनले थपे ।

डब्ल्यूएचओ प्रमुखले खोप महामारीको बिरूद्ध सबैभन्दा प्रभावकारी औजार मध्ये एक रहेको दोहोर्‍याए । तर विश्वभरको पहुँच यति असमान भएकोले फेरि एकपटक दु:ख व्यक्त गरेका छन् ।

“भ्याक्सिन लगाएको हालको गति कायम रहेमा १०९ देशहरूले जुलाई २०२२ को शुरुवातमा आफ्नो जनसंख्याको ७० प्रतिशत पूर्ण रूपमा खोप लगाउनबाट वञ्चित हुनेछन्” उनले भने ।

“असमानता यस्तो छ कि केही देशहरूले चौथो पटक नागरिकहरूलाई खोप दिन तर्फ लागेका छन् । तर अरूले आफ्ना स्वास्थ्यकर्मीहरू र सबैभन्दा जोखिममा रहेकाहरूलाई पर्याप्त खोप दिन पाएका छैनन्।

“थोरै देशहरूमा बुस्टर पछि बुस्टरले महामारीको अन्त्य गर्दैन जबकि अरबौं मानिस पूर्ण रूपमा असुरक्षित रहन्छन्” उनले जोड दिए ।

तपाइँको प्रतिक्रिया

फेसबुक