शुक्रबार, असोज २१, २०७९

उपहारमा हिउँ चितुवा

करन बहादुर शाह२०७८ पुष २४ गते १५:१९

फोटो स्रोत- माईक्रोसफ्ट डट कम

पाँचवटा भेडाहरुलाई दश–दश दिनसम्म लेकका विभिन्न ठाउँहरूमा उनीहरूले बाँधेर राखेका थिए । तर एउटालाई पनि हिउँ चितुवाले मारेन । बरु एघारौं र बाह्रौं दिनमा एउटा भेडालाई रातो भालु र अर्कोलाई ब्वाँसोले खायो । हिउँ चितुवालाई क्यामेरामा कैद गर्न भेडाको चारो थापिएको थियो ।

हुम्ला जिल्लाको लिमी उपत्यकामा हिउँ चितुवा सम्बन्धी चेतनामूलक वृत्तचित्र बनाउन काठमाणडौंबाट नेपाली विज्ञहरुको एउटा टोली सो क्षेत्रमा गएको थियो । टोलीलाई भाजु आचार्यले नेतृत्व गरेका थिए । उनीसँगै आदव घिमिरे, ओम जिसी, खेमराज पौडेल, नौशल यादव, भुवन अर्याल, क्रमेश खड्का र प्राध्यापक बरन शाह थिए । लिमीमा उनीहरूको त्यो तेस्रो भ्रमण थियो । त्यस अघि उनीहरूले सो क्षेत्रको जैविक विविधताको विस्तृत अध्ययन गरेको थियो । यस पटक भने हिउँ चितुवालाई क्यामराले कैद गर्ने र त्यस सम्बन्धी वृत्तचित्र बनाई राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा त्यसको प्रचार प्रसार गर्ने उद्देश्य थियो ।

सो क्षेत्रमा रहँदा उनीहरुले हिउँ चितुवाको बारेमा स्थानीय गाउँलेहरुसँग छलफल गरे । लिमि उपत्यकाको विभिन्न ठाउँहरूमा हिउँ चितुवाको पाइलाहरु, बिष्टा, जमिन खोस्रको, ढुङ्गाा र चट्टानमा मुतेर चिन्ह लगाएको तथा उसले मारेको नाउर, नायन, कियाङ्ग, इत्यादिको खप्पर, अस्थिपञ्जरहरुलाई आफ्नो मुभि क्यामेरामा कैद गरिसकेका थिए । हिउँ चितुवा हिंड्ने ठाउँहरुमा भेडाको चारो राखेर वा त्यसै स्वचालित क्यामेरा राखेर छोड्दा त्यस भेकमा पाइने विभिन्न वन्यजन्तुहरु क्यामेरामा कैद भएका थिए । तर खास चाहिएको त्यस भेकमा “साबु” नाउँले चिनिने हिउँ चितुवाको भने केही अत्तो पत्तो थिएन ।

नेपालको अन्य उच्च हिमाली भेकमा पनि हिउँ चितुवाहरु पाइन्छन् । तर लिमीको जस्तो अध्ययन अनुसन्धान गर्न सजिलो वातावरण अरु स्थानमा नभएकोले अध्ययन् टोली तेस्रो पटक त्यहाँ गएको थियो । तर कडा परिश्रमको वाबजुद पनि ‘पर्वतको प्रेत’ भनिएको हिउँ चितुवाको भने कहिँ अत्तोपत्तो थिएन ।

गाउँलेहरुले उनीहरूको अनुसन्धानमा सहयोग गरेतापनि भेडा बाँधेर चारो हाल्ने विषयमा स्थानीयहरूले आपत्ति जनाएको बिस्तारै गाइँगुइँ हल्ला सुनियो । ‘पहिले र अहिले प्रत्यक्ष लाभ नपाउनेहरुले नै विरोध गरेको हुनुपर्छ’ भाजुले भने, ‘घरपालुवा भेडाहरु हिउँ चितुवाको चारोको रुपमा प्रयोग गर्दा हिउँ चितुवा र अन्य परभक्षीहरू पल्किन्छन् र पछि यिनीहरुले घरपालुवा जनावरलाई खोजी खोजी मार्न थाल्छन् भन्दैछन् गाउँलेहरु ।’

एकातिर हिउँ चितुवा फेला नपरेको झोंक, अर्कोतिर त्यहाँ बिस्तारै विकसित हुँदै गएको नकारात्मक धारणाले सबै दिक्क थिए । अतः उनीहरु जति छिटो काम सिध्याएर काठमाणडौं फिर्ने मनसायमा पुगेका थिए ।

टोलीले झेल्नुपरिरहेको तिक्ततादेखेपछि प्राध्यापक शाहले एउटा गजबको योजना तयार पारे । एउटा नक्कली हिउँ चितुवा बनाएर टाढैबाट उसको छायांकन गर्ने । ‘यस्तो अनकन्टार ठाउँमा हिउँ चितुवै देखाउने पो कसरी ! डेन्टपेन्ट गर्ने पो कसरी !’ टोलीका सदस्य नौशलले चिन्ता व्यक्त गरे ।

‘ह्यात्तेरी, त्यो सबै गुरुलाई छाडिद्याओ न, म बन्दोबस्त गर्छु भएन ?’प्राध्यापक शाहले हप्की पाराले भने । ‘हिउँ चितुवाको छाला एकजनाले ओढ्ने, अनि टाढैबाट शुट गर्ने’ प्राध्यापकले भने । ‘सकिगो नि, अनि डकुमेन्ट्री भाइरल !’ सबैजना गलल हाँसे ।

‘छाला ल्याउने पो कसरी सर !’ भाजुले सोधे ।

‘ल सबैले ध्यान दिएर सुन’, प्राध्यापकले भने ‘यस क्षेत्रका बौद्ध धर्मावलम्बीहरुले वनजंगलमा फेला पारेका स्थानीय वन्यजन्तुहरूको सिनो आलै भए छाला काढेर गुम्बामा चढाउने गर्दछन् । खप्पर, सिङ पनि चढाउँछन् । लिमी उपत्यकाको तीनवटै गाउँहरु तील, हाल्जी र झोंग मध्ये त्यस भेकको सबैभन्दा पुरानो मानिएको हाल्जीको गुम्बामा हालै एउटा मरेको ठूलो भाले हिउँ चितुवाको छाला काढेर झुण्डाइएको छ ।’ त्यति भन्दै प्राध्यापकले सबैलाई हाल्जी गुम्बातिर लगे ।

प्राध्यापकले गुम्बाको लामालाई केही दिनलाई हिउँ चितुवाको छाला आफूहरुलाई दिन अनुरोध गरे । बदलामा गुम्बालाई पाँच हजार रुपैयाँ दिने बचन गरे । लामाले समितिमा कुरा गरेर भोलिपल्ट बिहान झोंग गाउँमा छाला पठाइदिने बताए । टोली सदस्यहरूले टाढैबाट हिउँ चितुवाको छाला अवलोकन गरे र प्राध्यापक बुढाको तरकिबलाई मनमन ‘वाह वाह’ गरे ।

‘सक्कली हिउँ चितुवा नपाएपछि कमसेकम यसैले भएपनि इज्जत जोगिने भो केटा हो !’ टोली नेता भाजुले सबैलाई भने । सबैजना खित्का छाडेर हाँसे ।

अर्को दिन बिहानै हिउँ चितुवाको छाला शिविरमा आइपुग्यो । उनीहरूले गाउँले प्रविधि अनुसार नुन, तेल र गरम पानी प्रयोग गरेर खुट्टाले माड्दै छालालाई नरम पारे । मानिसले ओढ्न मिल्ने गरी त्यसलाई हिउँ चितुवाको प्रष्ट रुप दिँदै सिलाउन लगाए ।

‘नक्कली हिउँ चितुवा बन्ने काम सोनमले गर्छ’, केही दिन अघि देखि सहयोगीको रुपमा दैनिक ज्यालादारीमा उनीहरुको लागि काम गर्दै आएको ठिटो सोनामलाई त्यो छाला ओढाइदिंदै आदबले भने ।

सोनम केहीबेर अकमकायो । ‘गाँठ पाउँछस् मूला, किन धक मान्छस्’ उनले हप्की लगाए ।

आफैंसँग हिउँ चितुवा भएपछि टोलीको फूर्ति बेग्लै थियो । बन्दोबस्तको जम्मै सामान लिएर झोंग गाउँबाट उनीहरू झण्डै पाँच घण्टा घुमाउरो उकालो बाटो हिँडदै करिब ५,२०० मीटरमापर्ने बुकी पाटनको च्याक्पालुंग भन्ने स्थानमा पुगे । त्यस रात त्यहीं शिविर राखे ।

भोलिपल्ट विहानको नास्ता गरेर योजना मुताविक नक्कली हिउँ चितुवाको छायांकन गर्न जम्मै त्यहाँबाट साखे खोलातिर लागे । एक घण्टा जति हिँडेपछि उनीहरु साखे खोलाको माथि पुगे । त्यहिंबाट खोलाको पारिपट्टी हिउँ चितुवा रुपी सोनामलाई हिँड्न लगाएर छायांकन गर्ने बिचार गरे ।

उनीहरु बसेको ठाउँबाट ४०० मीटर जति तल झरे पछि साखे खोलामा पुगिन्थ्यो । त्यहाँबाट खोला अलिकति मात्र देखिन्थ्यो । तर खोला भन्दा पारीपट्टीको अलिकति उकालो भएको बुकी र घाँसले छोपिएको भू–भाग प्रष्टै देखिन्थ्यो । सोनामलाई खोला तरिसके पछि छाला ओढेर हिउँ चितुवा झैं मास्तिर हिड्न लगाउने, करिब २०० मीटर जति हिँडिसके पछि यतापट्टीकाले चिच्याएर ‘कट ! भयो सोनाम’ भन्ने र सोनाम त्यहाँबाट फर्किएर आउने । यो जम्मै कुरा क्यामेरामा कैद गर्ने सल्लाह भयो ।

सोनाम हिउँ चितुवाको छाला बोकेर खोला किनारातिर ओर्ल्यो । यतातिरकाहरु क्यामेरा तयार पारेर हँसिमजाक गर्दै बसे । बढीमा आधा घण्टाभित्र सोनाम खोलामा पुगेर पारीपट्टीबाट हिउँ चितुवा बनेर हिंड्दै गरेको देखिनुपर्ने थियो । तर ४० मिनेट भइसक्दा पनि नक्कली हिउँ चितुवा नदेखिंदा सबै मुखामुख गर्नथाले ।

अन्दाजी ४५ मिनट पछि हिउँ चितुवा बिस्तारै माथि तिर लाग्दै गरेको देखियो । यतातिरबाट क्यामेराले उसलाई कैद गर्न सुरु गर्‍यो । सो हिउँ चितुवा उनीहरुले सोचेको भन्दा अलि बढि नै गतिमा हिँडिरहको थियो । २०० मीटर जति माथि पुगिसकेपछि भाजुले ‘कट् सोनाम भयो’ भनी दुई–दुई पटक जोडले कराए । तर उनले कराएको केही असर देखिएन । किनकी हिउँ चितुवा अलि बेग बढाएर हिंड्दै गर्‍यो । त्यहाँ भए जतिकाले एकै स्वरमा चिच्याए ‘भयो सोनाम भयो ‘कट् ! कट् !’

तर सो हिउँ चितुवा हेर्दा हेर्दै तिनीहरुको आँखाबाट ओझेल भयो ।

हिउँ चितुवा रुपी सोनामको त्यो अपाच्य हरकत माथि त्यहाँ चर्चा चल्यो ‘लौ, हिउँ चितुवाको छाला लिएर सोनाम मानसरोवर जाने बाटो हुँदै ताक्लाकोटतिर लाग्यो । छाला बेचेर चार पाँच लाख रुपैयाँ कमाउने भयो अब’ प्राध्यापकले भने ।

‘लिमिको कान्छोले जाडोको बेला, हिउँ चितुवाको न्यानो छाला लाउन पायो, डाँडा कटेको पत्तै भएन’ क्रमेशले आफ्नो राय सुनायो ।

‘सम्पूर्ण शरिर ढाक्नेगरी छाला ओढेको थियो’, भाजुले भने, ‘कतै सुने न कि त !’

‘उनीहरू आफूसँगै थरमसमा ल्याएको कफी निकालेर पिउन थालेका मात्र के थिए, अचम्मले सोनाम उनीहरुको सामुन्ने टुप्लुक्क देखापर्‍यो । अरुले मुख खोल्नु अगावै उसले भन्यो ‘यो खोलो तर्न सकेना मो ता फर्क्यो ।’ उसको ग्लानी प्रकट गर्दै गरेको अनुहार देखेर तिनीहरु तीन छक परे । उनीहरू ट्वाल्ल परेर एकअर्कालाई हेरिमात्र रहे । कुरा स्पष्ट थियो । सोनामलाई देखेर त्यो खोलाको आसपासमा भएको हिउँ चितुवा केही छिन अघि माथि तिर हिँडेको थियो । ढुङ्गा खोज्दा देउता भेटे झैं त्यस अप्रत्यासित सफलताबाट सबैजना अत्यन्तै खुशी भए । त्यहाँबाट सबैजना झोंग गाउँको बाटो समाते ।

झोंग पुग्न केही माथि उब्जन शाही भन्ने एकजना व्यक्तिले बाटोमा होटल खोलेको थियो । सबैले लिमिको त्यो अन्तिम रातलाई त्यहीं उत्सव मनाउने बिचार गरे । केहीबेरपछि आगूको धुनी (क्याम्प फाएर) शुरु भयो । होटलका साहुले सबैलाई रक्सी र बियर टक्र्याए ।

टोली नेता भाजुले दुई शब्द बोल्दै भने ‘कार्यक्रमको सफलताको लागि सबैलाई बधाई र धन्यवाद छ । आजको त्यो हिउँ चितुवालाई बरन सरले टोलीलाई उपहार दिनु भएको हो । उहाँको नक्कली हिउँ चितुवाको योजनाले असली हिउँ चितुवा भेटाएको हो । सबैको तर्फबाट प्राध्यापक सरलाई मुरी मुरी धन्यवाद ।”

त्यसपछि सबैले घरेलु रक्सी र बियरको गिलास हातमा लिएर ‘चियर्स’ गरे । कहिल्यै मद्ययपान नगर्ने आदबले समेत सबैको करकापमा ‘फस्र्ट एण्ड लास्ट’ भन्दै एउटा चाइनिज बियरको चुस्की लगाए ।

जब मद्यपानले असर देखाउन शुरु गर्‍यो, गीत संगीतको गज्जाब माहोल बन्यो । रक्सीको खाली बोतल, पानीको खाली जर्किन, खाना खाने थाल, हात र चम्चा बजाउन थालियो । झ्याउरे लयमा गीत गुञ्जिए ।

अचानक त्यहाँ एउटा हिउँ चितुवा संगीतको लयमा खुट्टा, जीउ, मर्काउँदै लामो पुच्छर जमीनमा घिसार्दै नाच्न थाल्यो । यसपाला भने त्यो हिउँ चितुवाको छाला भित्र सोनामको सट्टा स्थानीय रक्सीले झ्याप् प्राध्यापक बुढा आफैँ थिए । सबैको अगाडि नाच्दै गरेको सो नक्कली हिउँ चितुवाले सबैलाई दिउँसो चाक्पालुंगमा हिंड्दै गरेको देखेको असली हिउँ चितुवाको दृष्यलाई फेरी एक पटक सम्झन बाध्य गराएको
थियो ।

(लेखक सरीसृप विशेषज्ञ, प्राध्यापक र जिवजन्तु अनुसन्धानकर्ता हुन् । ‘उपहारमा पाएको हिम चितुवा’ शिर्षकमा यो लेख हिउँ चितुवा पत्रिकामा प्रकाशित थियो-संपादक)

तपाइँको प्रतिक्रिया

फेसबुक