आइतबार, मंसिर १८, २०७९

मनाङमा मानव र वन्यजन्तुबीच द्वन्द

बाबुलाल तिरुवा२०७८ पुष २९ गते २१:०९

उपल्लो डोल्पामा मानव र पशु, पशुपालन र जंगली जन्तु लगायतका विषयमा अनुसन्धान गरेका फ्रान्सेली मानव शास्त्री कोर्नेई जेस्तको पुस्तकबाट लिईएको तस्विर ।

२०७६ सालमा तेन्जिङ गुरुङले आफ्नो दुई वटा याकको बाच्छी र दुई वटै अर्धवयस्क याक हिउँ चितुवाबाट गुमाए । गुरुङ मनाङको ङिस्याङ गाउँपालिका वडा नं. ४ का स्थानीय हुन् । घटना याक खर्क नजिकै भएको थियो ।

२०७५ सालमा हिउँ चितुवा र ब्वाँसोले छाङ्ग्दु गुरुङको ४ वटा याक मार्‍यो । घटना माथिल्लो मनाङको तार्केङ खर्कमा चराइरहँदा र गोठमा राखेको बेला भएको थियो । सो क्षतिबाट छाङ्ग्दुले करिब ३ लाख रुपैयाँ नोक्सानी सहे ।

मनाङमा स्थानीय कृषकहरूले परभक्षी वन्यजन्तुहरूबाट भोग्ने यो सामान्य अवस्था हो । त्यसो त, तेन्जिङ र छाङ्ग्दु मात्र यो नियति भोग्ने वस्तुपालकहरु भने होइनन् । नेपालको हिमाली क्षेत्रमा हजारौं वस्तुपालकले परभक्षी वन्यजन्तुहरुबाट यस्तो क्षति व्यहोर्ने गरेका छन् ।

जब अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय (यूसीओ) मनाङले यी घटनाहरूलाई केलायो, नतिजा फरक थियो । नाउर आदि प्राकृतिक आहारा प्रजातिहरुलाई उक्त ठाउँमा घर पालुवा गाईवस्तुहरुले विस्थापित गरेका थिए । त्यस कारण शायद परभक्षी वन्यजन्तुहरुलाई पनि घरपालुवा गाईवस्तुहरुलाई खानु बाहेक अरु विकल्प थिएन । वास्तवमा परभक्षी वन्यजन्तुहरूले घरपालुवा गाईवस्तु खासगरि याक, गाईबाट ठूलो परिमाणमा आहारा पाउँछन् जुन प्राकृतिक आहाराको तुलनामा स्वादमा पनि फरक हुन्छन् । प्राकृतिक आहारालाई भन्दा यिनलाई मार्न पनि सजिलो हुन्छ । पीडित वस्तुधनीहरूसँग कुराकानी गर्दा आफूहरुले क्षतिपूर्ति दाबी नगरेको उनीहरुले बताए । किनकी त्यसको कार्यविधि हुने तिनीहरूलाई लाग्यो ।

२०७६ सालमा टंकी मनाङका स्थानीय लामा गुरुङले नाउरले आफ्नो बाली नोक्सान गरेको विषयमा एक्यापका कर्मचारीहरुलाई छानबिन गरिदिन हारगुहार गरिन् । हामीले बालीनाली क्षतिको विषयमा अनुसन्धान गर्‍यौं । सो क्षेत्रमा ठूलै क्षति भएको थियो । तर आहारा प्रजातिहरु नाउर, घोरल, झारल र मृग प्रजातिहरुले बाली नोक्सान गरेको क्षतिपूर्ति दिने कुनै प्रावधान छैन । न त सरकारी निकायमा सिफारिस गर्न सकिन्छ ।

माथिका घटनाक्रमहरु मनाङमा हुने गरेको पशुधन र बालीनाली क्षतिहरूका केही उदाहरणहरु मात्र हुन् । हरेक वर्ष यस्ता घटना यहाँ बढ्दो क्रममा छन् । यसले एकातिर स्थानीयको सम्पत्तिको ठूलो नोक्सान गरिरहेको छ भने अर्कोतिर स्थानीयहरुलाई पशुपालन र कृषि व्यवसाय गर्न हतोत्साह गर्दछ । यसैकारण पनि हिजोआज मानिसहरुले बालीनालीको कामलाई किनारा लगाइसके । मनाङको वास्तविक अवस्था यही हो जसले मानव र वन्यजन्तुबीचको द्वन्द्वलाई बढाएको छ ।

मानव र वन्यजन्तुबीचको द्वन्द्व केवल आजको मात्र समस्या होइन । यो दशकौंदेखि छ । तर समय र मानिसको जीवनपद्दती अनुरुप द्वन्द्वको परिस्थिति फेरिएको छ ।

यदि भूत र वर्तमानलाई दाँजेर हेर्ने हो भने हामीले धेरै परिवर्तनहरु हासिल गरेका छौं । पहिले पहिले मनाङमा हिउँ चितुवा नै मुख्य परभक्षी वन्यजन्तु थियो । ब्वाँसो दोस्रो ठूलो परभक्षी वन्यजन्तु थियो । त्यस्तै, याक, घोडा, बाख्रा र भेडा आदि घरपालुवा आहाराहरू सहित नाउर, घोरलहरु आदि मुख्य आहारा प्रजातिहरु हुन्थे ।

मनाङ गाउँका स्थानीय गाई वस्तुपालक तथा होटल धनी तेञ्जिङ गुरुङका अनुसार, अन्नपूर्ण संरक्षण क्षेत्रकोे शुरुवात अघि मानिसहरु आफ्ना घरपालुवा गाइवस्तुहरू चरनहरुमा छाड्थे जसलाई परभक्षी वन्यजन्तु र प्राकृतिक आहारा प्रजातिहरुले पनि आफ्नो वासस्थान र खानेकुराको लागि उपभोग गर्दथे । उक्त समयमा आहारा प्रजातिहरु प्रचुर हुन्थे । आहारा प्रजातिको संख्या प्रचुर हुन्थ्यो । माथिल्लो मनाङमा जब आहाराको अभाव हुन्थ्यो नाउरहरु चर्न बाली लगाएको ठाउँमा आउँथे। कहिलेकाहिँ गाउँलेहरुले तिनिहरुको शिकार गर्दथे । वस्तुपालन र कृषि नै स्थानीयवासीहरुको मुख्य पेशा हुनेगर्दथ्यो । शिकारी वन्यजन्तुहरु आहाराको लागि घरपालुवा गाईवस्तुहरुसँग त्यति निर्भर हुँदैनथे । उनीहरु प्राकृतिक आहारा प्रजातिकै शिकार गर्दथे । यदाकदा मात्र घरपालुवा गाइवस्तुहरुलाई मार्दथे । साधारणतया उनीहरु अर्धवयस्क घरपालुवा गाईवस्तु नै मार्दथे । स्थानीयहरुले पनि यदाकदा बदलाको भावनाले परभक्षी वन्यजन्तुहरु मार्दथे । त्यतिबेला, स्थानीयहरुलाई परभक्षी वन्यजन्तुहरुलाई मार्नबाट रोक्न र क्षतिको क्षतिपूर्ति गर्ने न त कुनै संरक्षणमूलक कानुनी प्रावधानहरु लागु गर्ने संस्थाहरू नै थिए ।

आजकाल भने पशुपालनको तरिका, परभक्षी वन्यजन्तुहरु र आहारा प्रजातिहरुसँग वासस्थानमा चरिचरन गर्ने स्थानीय मानिसहरुको प्रवृत्तिहरुमा व्यापक परिवर्तन आएको छ ।

त्यस्तै, यस क्षेत्रमा हिउँ चितुवा र ब्वाँसो मुख्य परभक्षीको रुपमा रहँदै आएका छन् । चितुवापनि परभक्षी वन्यजन्तुको श्रेणीमा देखिएको छ किनकी ३००० मि. मा यसको उपस्थितिलाई अभिलेख गरिएको छ ।

हिजोआज अधिकांश मानिसहरु पर्यटन व्यवसायमा आवद्द भएका छन । पशुपालन व्यवसाय दिनप्रतिदिन घटदै छ । पशुपालकहरु पनि आफ्ना गाइवस्तुहरुलाई कमै ध्यान दिन्छन् । बरु गोठालाहरु राखेर आफ्ना गाइवस्तुहरुको रेखदेख गर्न लगाउँछन् । मानिसहरुले पशुपालनलाई आयआर्जन र जीविकोपार्जनको वैकल्पिक व्यवसायको रुपमा लिएको पाइन्छ । जागिरको रुपमा नियुक्त गरिएका गोठालाहरुमा गाइवस्तु प्रति अपनत्वको भावनामा कमी हुनाले चरनमा सावधानीपूर्वक गाइवस्तुको हेरचाह हुन्न । परभक्षी वन्यजन्तुले घरपालुवा गाइवस्तुहरुको क्षति गरेको कारणले पनि मानिसको वन्यजन्तुसँग द्वन्द्व निम्तिने गरेको पाइन्छ ।

हिउँदमा जब आहाराको अभाव हुन्छ तब वन्यजन्तु र गाईवस्तुहरु पहाडको फेदीतिर झर्छन् । परभक्षी वन्यजन्तुहरुले घरपालुवा गाईवस्तुहरुलाई खोज्छन् । आहारा प्रजातिहरु खेतबारीमा पस्छन् । यो प्रवृत्तिले आहारा प्रजातिहरु मानिसहरुसँग घुलमिल भइरहेका हुन्छन् । वन्यजन्तुहरुको यही प्रवृत्तिको कारण पनि मानव र वन्यजन्तुबीचको द्वन्द्व निम्तिने गर्दछ ।

वन्यजन्तु ऐनमा आधारित रही एक्यापले शिकारी वा आहारा जुनसुकै संरक्षित वन्यजन्तुहरू मार्न प्रतिबन्ध लगाएको छ । अर्कोतिर यस क्षेत्रका स्थानीयहरु बुद्ध धर्मावलम्बीहरु भएकोले पनि वन्यजन्तु मार्ने गर्दैनन् । यी दुई अभ्यासहरुले यस क्षेत्रमा चोरी शिकार लगायत मानव र वन्यजन्तुबीचको द्वन्द्व कम गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

हरेक वर्ष मनाङमा सयौं याक, घोडा, बाख्रा, भेडा र गाई परभक्षी वन्यजन्तुहरुले मार्छन् जुन स्थानीयहरुको निजी सम्पत्तिको नोक्सानी हो । यसले स्थानीयहरुलाई पशुपालन र कृषिमा निरुत्साहित तुल्याउँदछ । नेपाल सरकारको राहत निर्देशिकाले परभक्षी वन्यजन्तुहरुबाट हुने पशुधन क्षतिको राहत दिने व्यवस्था त गरेको छ । तर न्यून छ । तर त्यसले आहारा प्रजातिहरुले गरेको बालीधन नोक्सानीको क्षतिपूर्तिलाई सम्बोधन गर्दैन ।

यस बाहेक, बजार मूल्य अनुरुप पशुधनको क्षति व्यहोर्ने त्यस्तो कुनै बीमा योजना छैन । एक्यापले परभक्षी वन्यजन्तुबाट मारिने पशुधनको तत्काल राहतको केही व्यवस्था त गरेको छ । तर त्यो थोरै छ । र त्यसले पशुधनीहरूलाई पूर्णरुपमा सन्तुष्ट गर्न सकेको छैन । यद्यपि यसले स्थानीय पशुपालकहरुमा वन्यजन्तु संरक्षणको लागि सकरात्मक प्रबृतिको विकास गर्न अवश्य पनि मद्दत गरेको छ ।

पारिस्थितिक प्रणाली प्राकृतिक अवस्थिति हो जसले प्रकृतिलाई सन्तुलित राख्दछ । विभिन्न वैज्ञानिक अनुसन्धान र लेखहरुले यो तथ्यलाई उजागर गरेका छन्, वातावरण र पारिस्थितिक प्रणाली सन्तुलनका लागि मानिस र वन्यजन्तुको सह–अस्तित्व महत्वपूर्ण हुन्छ । प्रकृति संरक्षण गर्न वन्यजन्तुको यो ठूलो योगदान हो ।

मेरो बिचारमा परभक्षी वन्यजन्तुहरु, आहारा प्रजातिहरु र मानिसहरुले वैज्ञानिक पद्धतिबाट साझा रुपमा वासस्थानको प्रयोग गर्नुपर्दछ । परभक्षी वन्यजन्तुहरु, प्राकृतिक र घरपालुवा दुवै आहारा प्रजातिहरु, वासस्थान खासगरि खर्कहरु, गोठहरुको संख्या र खर्कको चरन क्षमताको अद्यावदिक तथ्यांकको लागि वैज्ञानिक अनुसन्धानहरु गरिनुपर्दछ । खर्कहरुलाई सञ्चालन गराइराख्न चरन चक्रलाई व्यवस्थित गर्ने र चरन क्षेत्रहरुको ब्लक विभाजन गर्नु पर्दछ । त्यसले परभक्षी वन्यजन्तु, आहारा प्रजाति र मानिसहरुको सह–अस्तित्वलाई सन्तुलन गर्दछ र एकआपसलाई फाइदा पुर्‍याउँदछ । यो नै मानव वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्ने र स्थानीयलाई पशुपालन व्यवसायमा प्रवद्र्धन गर्ने सबैभन्दा स्वीकार्य उत्तम तरिकामध्ये एक हो ।

त्यस्तै, हामीले गोठाला र वस्तुधनी दुवैलाई प्रकृति, प्राकृतिक आहारा प्रजातिहरु, शिकारी वन्यजन्तुहरु र यीनको महत्वको बारेमा चेतना अभिवृद्धि गर्नुपर्दछ । हामीले गाईवस्तुलाई सुरक्षित राख्ने अन्य उपायहरु जस्तै परभक्षी वन्यजन्तु प्रतिरोधक खोर, फक्शलाइट्स आदिको सम्भावनाको बारेमापनि सोच्नुपर्दछ जसले आखिरमा द्वन्द्व अन्त गर्न सघाउँदछ ।

एक्यापले मनाङमा स्थानीय गोठालाहरुलाई लक्षित गरी पहिले नै परभक्षी वन्यजन्तु प्रतिरोधक खोरको निर्माण गरिसकेको छ । र फाक्सलाइट र सोलार लाइट वितवरण गरिसकेको छ ।

यो कार्यमा स्नो लेपर्ड कन्जरभेन्सी (एसएलसी) जस्ता संरक्षण साझेदारले पनि हातेमालो गरेका छन् । संरक्षण नीतिले तोकिएका सबै सीमाहरुलाई सम्बोधन गर्नुपर्दछ, कसरी हिमाली क्षेत्रमा यो सम्भव छ ? कसरी पशुपालकहरू बीमा योजनामा सहभागी हुन्छन् ? र कसरि परभक्षी वन्यजन्तुहरुले क्षति गरेको गाईवस्तुको बजार मूल्य बमोजिम क्षतिपूर्ति पाउँछन् । पशुधन बीमा नै मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणको उत्तम उपाय हो । यसले नै पशुपालक कृषकहरुलाई पशुपालन र खेतीपातीमा अभिप्रेरित गर्दछ ।

अन्तमा, वन्यजन्तुहरू स्वस्थ र सन्तुलित पारिस्थितिक प्रणालीका अमूल्य सूचकहरू हुन् । यसै कारण हामीले यिनीहरुलाई नोक्सानी नगरिकन र यिनीहरुबाट बढी भन्दा बढी फाइदा लिंदै वर्तमान र भावी सन्ततिका लागि संरक्षण गर्नुपर्दछ ।

(तिरुवा एक्याप–यूसीओ मनाङका कार्यालय प्रमुख हुन् । यो लेख हिउँ चितुवा पत्रिकामा ‘मनाङमा मानव र वन्यजन्तुबीचको द्वन्दको अवस्था’ शिर्षकमा प्रकाशित थियो-संपादक ।)

तपाइँको प्रतिक्रिया