शुक्रबार, वैशाख १४, २०८१

हिउँ चितुवा र बाघ एकै वासस्थानमा

तेन्जिङ राग्बे२०७८ माघ ८ गते ९:०५

Image Credit-Snow Leopard Trust via Twitter

जिग्मे सिङ्गे वाङ्चुक राष्ट्रिय निकुञ्जभित्रको कालो हिम श्रृंखलामा राखिएका दुई क्यामेरा ट्र्यापहरूले हिउँ चितुवाहरूको आकृति क्यामरामा उतारे । तर त्यहाँ बाघको तस्विर पनि थियो ! यसले जिग्मे सिङ्गे वाङ्चुक राष्ट्रिय निकुञ्जलाई भुटानको दोस्रो राष्ट्रिय निकुञ्ज बनाउँछ जहाँ हिउँ चितुवा र बाघ एकै वासस्थानमा पाइन्छन् ।

वरिष्ठ वनरक्षकहरू दोर्जी दुबा र छिरिङ वाङ्चुकले समुद्री सतह भन्दा करिब ४,६०० मिटर माथि क्यामेरा ट्र्यापहरू लगाएका थिए ।

“म यो राष्ट्रिय निकुञ्जमा सात वर्ष पहिले काम गर्न आएदेखि यहाँको कालो हिम श्रृंखलामा क्यामेरा ट्र्याप राख्ने मेरो सपना थियो’ दोर्जीले भने, ‘यो मेरो चौथो प्रयास थियो । प्रकृतिले मलाई सधैँ आकर्षित गरेको छ र म यसलाई बचाउन हरेक कुरा गर्न तयार छु । मेरो लगनशीलताले नतिजा ल्याएकोमा मा खुशी छु ।’ अब हामीलाई पक्का थाहा भयो कि यस निकुञ्जमा हिउँ चितुवाहरू पनि पाइँदो रहेछ ।

हिउँ चितुवा र बाघका अतिरिक्त क्यामेरा ट्र्यापहरूमा घोरल, कस्तुरी मृग, थार, सुनौलो बिरालो र मलसाँप्रोको तस्विरहरू कैद भएको थियो ।

अहिलेसम्म भुटानको जिग्मे दोर्जी राष्ट्रिय निकुञ्जमा मात्र हिउँ चितुवा र बाघ एकै वासस्थानमा पाइन्थे । तर अब जिग्मे सिङ्गे वाङ्चुक राष्ट्रिय निकुञ्जमा पनि हिउँ चितुवा र बाघको वासस्थान रहेको पुष्टि हुनु निकुञ्ज, वन तथा निकुञ्ज सेवा विभाग तथा डब्लुडब्लुएफ भुटान आदि सबैका लागि अत्यन्त गर्वको कुरा हो ।

“यो उत्साहजनक समाचार हो” भुटानको वन तथा निकुञ्ज सेवा विभागका निर्देशक फेन्टो छिरिङ भन्छन् “यो जैविक मार्गले सबै जनावरलाई प्रदान गर्ने सम्बन्ध विस्तारका अवसरको एक प्रमाण हो ।”

यी दुवै ठूला बिरालाहरू यहाँ हुनुले यो स्थान पर्यावरणीय दृष्टिकोणले स्वस्थ छ भन्ने जनाउँछ । यसबाट हाम्रो सम्पूर्ण टोली प्रोत्साहित भएको छ । भुटान नरेशको नेतृत्वमा हामीले गर्न पाएको यस असाधारण कामलाई निरन्तरता दिन आफूहरु उत्प्रेरित भएको छिरिङ बताउँछन् ।

भुटानको अन्य संरक्षित क्षेत्रहरू जस्तै वाङ्चुक शतवार्षिकी राष्ट्रिय निकुञ्ज, जिग्मे दोर्जी राष्ट्रिय निकुञ्ज जस्ता हिउँ चितुवा प्रशस्त पाइने उत्तरी संरक्षित क्षेत्रहरूबाट यो निकुञ्ज घेरिएर रहेको कारण पनि यहाँ हिउँ चितुवाको आवागमनको ठूलो सम्भावना छ । हिउँ चितुवा र बाघहरुको थप वासस्थान फेला परेकोले भुटानमा संरक्षणको यो ठूलो जीत हो । यसले यहाँ हिउँ चितुवा र बाघको संख्यामा वृद्धि हुने सम्भावना हुन्छ ।

“यस्तो कुराहरू संरक्षणका लागि ठूलै जित हुन् । हामीलाई यी प्रजातिहरूको संरक्षणमा थप लगानी गर्न प्रेरित गर्छन् । डब्लुडब्लुएफ भुटान र यसका दूरदर्शी नेताहरूको संरक्षण अभियानमा सहभागी हुन पाउँदा खुशी लागेको छ” डब्लुडब्लुएफ भुटानका राष्ट्रिय प्रतिनिधि देचेन दोर्जीले भने ।

दोर्जी दुवाका अनुसार दुई क्यामेरा ट्र्यापहरूमा खिचिएका तस्विरहरू एउटै हिउँ चितुवाको हो या दुई फरक हिउँ चितुवाहरूका हुन् भनेर निर्धारण हुन बाँकी रहेको छ । उनी अगाडि भन्छन् ‘यी जनावरहरू सन् २०१६ को राष्ट्रिय हिउँ चितुवा सर्वेक्षणको गणनामा परेको ९६ हिउँ चितुवा मध्ये हुन् कि होइनन् भनेर पनि राष्ट्रिय निकुञ्जले पुष्टि गर्न बाँकी छ ।’

हिउँ चितुवाको मुख्य आहारा नाउर हो । तर जिग्मे सिङ्गे वाङ्चुक राष्ट्रिय निकुञ्जमा नाउर भने पाइँदैनन् । तसर्थ, यसको मुख्य आहारको अभावमा पनि यस क्षेत्रमा हिउँ चितुवा हुनु भनेको बाँच्नको लागि उसले नयाँ वासस्थान र नयाँ आहार अपनाउन थालेको संकेत गर्दछ । हिउँ चितुवाले यहाँ कस्तुरी मृग र घोरललाई आफ्नो सिकार बनाइरहेको अधिकारीहरू मान्दछन् ।

हिउँ चितुवाहरू हिमाली पर्यावरणको स्वास्थ्यको परिसूचक मानिन्छन् । देशमा यसको उपस्थितिले भुटानको अधिकांश उच्च– हिमाली क्षेत्रको पर्यावरण स्वस्थ रहेको जनाउँछ ।
(तेन्जिङ डब्लुडब्लुएफ भुटान कार्यालयका सञ्चार अधिकृत हुन् । यो लेख हिउँ चितुवा पत्रिकाबाट साभार गरिएको हो- संपादक)

तपाइँको प्रतिक्रिया