शुक्रबार, वैशाख १४, २०८१

कोरोना संकटले फ्रान्समा रेल संख्या कटौती

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ पुष २४ गते १९:३१

फ्रान्सको राष्ट्रिय रेलवे कम्पनी एसएनसिएफले अर्को हप्तादेखि रेल संख्यामा कटौती गर्ने भएको छ ।

कोरोना संकटका कारण यात्रु संख्या घटेपछि आफ्नो उच्च-गतिका रेलहरुको संख्या १० प्रतिशत र अन्य मुख्य लाइन रेलहरूको २० प्रतिशतले कटौती गर्ने भएको हो ।

महामारीका कारण रेल टिकटको बिक्रिमा कमी आएपछि यो उपाय लागू गरिने भएको एसएनसिएफका प्रवक्ताले बताएका छन् ।

“वर्षको सुरुदेखि टिकट बुकिङमा ३० प्रतिशतले गिरावट आएपछि विशेष गरी हप्ताको समयमा टिजिभी (उच्च गतिको ट्रेन) यातायात योजना अर्को हप्ताबाट घटाईने छ ।

बिभिन्न सुविधा, सेवा, छुट लगायतका योजनाबद्ध प्रस्तावहरुलाई भने ९० प्रतिशतसम्म कायमै राखिने छ । इन्टरसिटी (अन्य मुख्य लाइनहरू) को लागि ८० प्रतिशत कायम गरिने छ ।

जुन यात्रुका रेलहरू रद्द गरिएका छन् उनीहरूलाई सम्पर्क गरेर टिकट परिवर्तन गर्ने वा रकम फिर्ता गरिने छ ।

क्रस-च्यानल यूरोस्टार (पेरिस, ब्रसेल्स लगायतका शहरबाट ब्रिटिस च्यानल पार गरेर लण्डन जाने रेल) सेवामा जति पूर्व घोषणा गरिएका थिए ति योजनाबद्ध रेलहरूमा १० प्रतिशत कटौति गरिने भएको छ ।

“यो अप्रत्याशित तरिकाले रेल रद्द गर्ने प्रश्न होइन । समयानुसार परिवर्तित यातायात योजनाहरूको प्रश्न हो । यात्रुहरूको घटेको संख्यालाई ध्यानमा राख्न यस्तो गरिएको हो । हालका प्रभावहरूलाई ध्यानमा राख्दै यात्रुहरूको लागि सबैभन्दा भरपर्दो यातायात योजना सुनिश्चित गर्ने उद्देश्य पनि हो । अहिले कोविडबाट प्रभावित एसएनसीएफ कर्मचारीहरूको उपलब्धतामा पनि कमी आएको छ” एसएनसीएफ प्रवक्ताले भनेका छन् ।

फ्रान्समा कोविड-१९ को पाँचौं लहरबाट स्थानीय रेलहरू पहिले नै प्रभावित भएका छन् । देशमा कोरोना संक्रमितको संख्या उच्च भएको छ । शुक्रबार कोरोना संक्रमितको संख्या तिन लाख २८ हजार भन्दा बढी दर्ता गरिएको छ ।

तपाइँको प्रतिक्रिया