शुक्रबार, वैशाख १४, २०८१

यस्तो पनि राजनीति हुन्छ कमरेड ?

थानेश्वर सापकोटा२०७८ पुष २५ गते १२:०९

पाँच महिना भयो, शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत लिएको । ठ्याक्कै पाँच महिना नै भयो संसदको सबै भन्दा ठूलो दल तथा प्रमुख प्रतिपक्षी दलले संसद अवरुद्द गरिरहेको । यि पाँच पनि दिन देशको नियम कानुन बनाउने र सम्पूर्ण ब्यवस्थालाई स्थिर राख्न निर्णय गर्ने थलो संसद एक दिन पनि गतिलोसँग चल्न सकेको छैन । एमाले पार्टी अथवा भनौं केपी ओली नेतृत्वको पार्टीले आफ्नो पार्टीलाई टुक्र्याउन वर्तमान सरकार तथा सभामुख अग्नी सापकोटाले भूमिका खेलेको भन्दै ओली असन्तुस्ट छन् । एमालेले आफ्नो पार्टी फुटाउन अध्यादेश ल्याएको, पार्टीले निष्काशन गरेका सांसदहरूलाई सांसद पद नरहेको सूचना सभामुख अग्निप्रसाद सापकोटाले नटाँसेकोमा आपत्ति जनाउँदै संसद बैठक अवरुद्ध पार्दै आएको छ ।

यहि बिषयलाई लिएर एमाले अध्यक्ष ओलीले सर्वदलिय बैठक समेत वहिस्कार गर्दै आइरहेका छन् । पाँच महिना देखि जनताले सुखशान्तिको अपेक्षा गर्ने ठाउँ यसरी नै रोकिएको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले महाकाली नदिमा टाँगिएको तुइन काटिदिंदा महाकाली नदीमा खसेका दार्चुलाका जयसिंह धामी बेपत्ता भएको पनि पाँच महिना पुग्यो । धामी बेपत्ता भएको मुद्दा यस्तो मुद्दा थियो जो सार्वभौम देशका लागि सह्य नहुनुपर्ने थियो । यो घटना उनको परिवारले पाएको क्षतिपूर्तीमा मात्र सिमित नहुनुपर्ने थियो । धामी महाकाली नदीमा अचानक खसेर बेपत्ता भएका थिएनन् । कुनै अर्को देशको सुरक्षाकर्मीले नियोजित तवरमा उनलाई बेपत्ता पारेको थियो ।

निर्मला पन्तको बलात्कार पछी हत्या भएको वर्षौं वितिसकेको छ । उनको परिवारले अझै न्याय पाएको छैन । नेपालगन्जकी निर्मला कुर्मी बेपत्ता पारिएको घटनामा पीडितले न्याय नपाएपछी त्यहाँका १५ जना महिलाहरुको एउटा समुह नेपालगन्ज देखी २० दिनको पैदल यात्रा पार गरेर काठमाडौंमा धर्ना बस्न आइपुगेका थिए । तीन साता लामो उनिहरुको धर्ना बल्ल केहि दिन अघि सकिएको छ ।

नेपालगन्जकै नकुन्नी धोबी घरेलु हिंसाबाट मारिइन् । अपराधी किटान हुन सकेको छैन । सरकारी र प्रशासनिक अनुसन्धानहरु प्रभावकारी देखिएका छैनन् । तीन महिना अघी परेको अविरल वर्षाले किसानहरुका खेत सोहोरेर लाग्यो । वर्षभरीको जिविकोपार्जन तीन दिनको वर्षाले सखाप पर्‍यो । धान बगाउने भेलसँगै किसानका आँसु बगे ।

यहि साता मात्रै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो उत्तराखण्डको भ्रमणका क्रममा स्थानिय प्रश्नहरुको जवाफ दिंदै लिपुलेक जोड्ने सडक विस्तारको कार्य भइरहेको बताएका छन् । दुई वर्ष अघि देखी नेपाली भूमिमा भारतले सडक निर्माण गरिरहेको छ  । नेपालले यस बारेमा आफ्नो कूटनैतीक नोट पठाएर असहमती जनाएको भए पनि भारतले यसको कुनै जवाफ दिएको छैन । तर भर्खरै त्यहाँका राष्ट्र प्रमुखले नै छिमेकी देशको भूमीमा सडक निर्माण भइरहेको सार्वजनिक रुपमा भन्नु गम्भिर विषय हो । भारतले नै दक्षिणी सिमामा हरेक वर्ष अतिक्रमण गरिरहेको तथ्य सहितका समाचारहरु आइरहेका हुन्छन् ।

यसबाहेक राजनीतिक नेताहरुकै मिलोमतोमा महिनौंजसो सार्वजनिक भइरहने आर्थिक घोटालाहरु झन गनिसाध्ये छैनन् । दुरदराजका गरिवहरुले सामान्य उपचार नपाएर मर्नु परेका कथा, आफ्नो थातथलो छोडेर कतै पलायन हुनु परेका आत्मा बिथोलिने काहानीहरु किन काठमाडौंलाई कहानी मात्रै लाग्छन ? के यि विषयहरु कुनै राजनीतिक दलहरुले संसदमा, सडकमा वा कुनै छलफलमा उठान गर्न लायक विषयहरु होइनन र ?

एमालेले आफ्नो पार्टी चिरिएको झोंकमा पाँच महिना देखि संसद भवनका ढोकाहरु बन्द गराएको छ । केको लागि त ? मात्र शक्ती आर्जन गर्न, आफ्नो हैशियत देखाउन ! यो एमालेको कुरा मात्र होइन । अन्य पार्टीहरु प्रतिपक्षीको बेन्चमा बस्दा पनि हामी कहाँँ कुनै यस्तो दल देखिएन जसले नेपाली जनताका लागि, देशका लागि, आफ्नो राष्ट्रिय स्वाभिमानका लागि कुनै एक दिन संसद अवरुद्द गरेको होस् । कसले बोल्यो जयसिंह धामी बेपता पारींदा आफ्नो स्वाभिमान स्खलित भएको कुरा । के जयसिंह धामीको जीवन सभामुखले टाँस्न बिर्सेको पत्र जत्तिको पनि थिएन । निर्मला पन्तको परिवारलाई न्याय माग्दै कुन दलले धर्ना बस्यो ? निर्मला कुर्मीलाई बेपत्ता बनाउने अपराधीलाई कानुनी दायरामा ल्याउन कसले पहल गर्‍यो ? असाह्य महिलाहरुले ३ हप्ता सम्म पैदाल हिँडेर काठमाडौं आउनु पर्‍यो, धर्ना बस्नु पर्‍यो न्यायको लागि । कुन पार्टीले देख्यो, कुन दलले बोल्यो ? कुन दलले न्यायको लागि संसदमा आवाज चर्कायो ? वर्षभरिको जीवन धान्ने अनाज बढीले लैजाँदा बगेका किसानका आँसु कुन पार्टीले पुछ्यो ? के यि सबै संसदमा उठ्नु पर्ने विषय थिएनन् ? कुन पार्टीले जनता र राष्ट्रका यि बिषयहरु संसदमा उठायो ? कसैले उठाएन । किनभने यि कुराहरु कुनै पनि पार्टीको प्रथामिकतामा पर्दैनन् ।

केपी ओलीलाइ एमाले पार्टी टुक्रिएको रोष छ । देउवालाई प्रधानमन्त्री बनिरहनुपर्ने छ । पुष्पकमल दाहालले आफ्नो ऐश आराम गणतन्त्रमै देखेका छन् । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का नाममा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सदस्यको पद खारेजीको माग गर्दै दर्ता गराएको पत्रको अवज्ञा गरेर पक्षपात गरेको आरोप सभामुखमाथि लगाएका छन् केपी ओलीले । यदी देउवाले त्यो अध्यादेश नल्याएको भए वा सभामुखले माधव नेपाल पक्षधर सांसदहरुलाई पदमुक्त गराएको भए के हुन्थ्यो ? एमाले भन्ने पार्टी विभाजन हुनबाट रोकिन्थ्यो ? त्यस्तो केही हुने थिएन । एमालेको विभाजन अवश्यम्भावी थियो । बेलुनमा चाहिने भन्दा बढी हावा भरियो भने फुट्छ, सामान्य कुरा हो । केपी ओलीले अब रुवाबासी गरेर कुनै अर्थ छैन । संसदले गर्ने काम के हो त्यो गर्न पाउनु पर्दछ । संसदलाई चल्न नदिने, कुनै पनि राष्ट्रिय विषयमा छलफल गर्न नपर्ने, जनताका समस्यामा न सरकारले सम्बोधन गर्ने न प्रतिपक्षले बोल्ने । तर राजेन्द्र लिङ्देन र पूर्व राजा ज्ञानेन्द्रलाई गाली गर्न हरेक सभा र सम्मेलन पुग्नुपर्ने ! यस्तो पनि राजनीति हुन्छ कमरेड ?

ल नेपाली जनतालाई भन्नुस? सरकारले बेवास्ता गरेका जनताका माग पुरा गराउन कुन दिन तपाईंले संसद अवरुद्द पार्नु भो ? जनताका लागि कुन दिन सरकारलाई झुकाउनु भो ? छैन नि ! तपाईंहरुले जे गर्नु भएको छ? मात्र तपाईंहरुकै लागि गर्नु भएको छ । ओम्नी ग्रुप, यती समुह, बतास समुह, एनसेल जस्ता अनेक समुह बनाएर तपाईंहरुले नै सुविधा लुट्नु भएको छ । जनताले के पाएका छन ? संसद भवनको ढोका बन्द गरेर लोकतन्त्रको वकालत गरेको सुहाएन कमरेड ।

हुन त नेपालमा न कहिल्यै प्रजातन्त्र आयो, न कहिल्यै लोकतन्त्र आयो । जहिले जहिले जे जे आयो मात्र तपाईंहरु आउनु भयो । देशका लागि अभिशप्त पाटो त्यही नै भयो । जब तपाईंहरु आउनुभयो, प्रजातन्त्र र लोकतन्त्रको परिभाषा फेरिंदै गयो ।

तपाइँको प्रतिक्रिया