शुक्रबार, वैशाख १४, २०८१

“एनआरएनमा सहमति भयो भन्दै भ्रमको खेती गरियो” आचार्य

नेपालप्लस संवाददाता२०७८ पुष २६ गते १३:४७

गैर आवाशिय नेपाली संघ भित्र वितेका ६ महिना देखि चर्केको प्रतिनिधि विवादमा अझै कुनै सहमति हुने छाँटकाँट देखिएको छैन । प्रतिनिधि विवादका बारेमा देखिएको विवादले संघको भविष्यलाई नै संकटमा पार्दै गइरहेको आशंका बढ्दो छ । परराष्ट्र मन्त्रालयको आदेशका विरुद्दमा अदालत पुगेका अध्यक्ष कुमार पन्त अदालतको निर्णयलाई थाती राखी सहमतिका खाका बोकेर नेपाल र युरोप ओहोरदोहर गरिरहेका छन् । अहिले सहमतिका लागि पूर्व अध्यक्षहरु सहित अध्यक्ष तिनै जना प्रत्याशीहरु काठमाणडौंमा छन् । पटक पटक छलफल भएको छ । तर पनि सहमति हुन सकिरहेको छैन । एनआरएनको एउटा पक्षले सहमती नहुनुको सम्पूर्ण दोष कुल आचार्यलाई दिएको छ । तर आचार्यले भने विभिन्न बहानामा संस्था कब्जा गर्न खोजिएको बताउँदै आएका छन् । तै पनि दुबै पक्षबिच छलफल जारी छ । छलफलले निष्कर्ष निकाल्ने संकेत छ कि छैन ? के हुँदै छ काठमाडौमा ? हामीले अध्यक्षका एक जना प्रत्याशी कुल आचार्यसँग कुराकानी गरेका थियौं । प्रस्तुत छ कुराकानीको सम्पादित अंश-

कुल जी ल बधाई छ तपाईलाई । निर्वाचन र प्रतिनिधि छनोटमा सहमति गर्नुभएछ नी ?

होइन, बधाईनै फिर्ता लिनुस् । यो सबै झुटको खेती हो । यस्ता झुटले केहि हुँदैन ।

सहमति भयो भनेर चौतर्फि न्युज आएको छ नी ! दस्तखतसमेत आएको छ । के हो त यो ?

यो सबै झुट हो । कसैले सहमति गरेको छैन । यसरि प्रतिनिधि छनौट गर्ने उमेदवार वा अध्यक्षले होइन । राष्ट्रिय समन्वय परिषदले चयन गरेर पठाएका प्रतिनिधिलाई मान्यता दिनुपर्छ । हामीले सहमति गर्ने भए किन प्रतिनिधि चाहियो ? किन एनसिसीहरु चाहिए ? किन विधान चाहियो ? विधि र विधान भन्दा पर गएर यो संसारलाई भ्रम फैलाउने, संस्थालाई दूर्गतिमा पुर्‍याउने जुन अत्यन्तै तल्लोस्तरको मेडियाबाजी भएको छ त्यसप्रति खेदप्रकट गर्दछु ।

चुनावको मिति घोषणा गरियो भनिएको छ, कुनै सहमतिमा होइन उसो भए ?

होइन ।

एक पक्षिय हो ?

एकपक्षियपनि नहुनसक्छ । यो मेडियाले भ्रम छरेको हुनसक्छ । यद्दपी कुमार पन्तजी र म आफैं हिजोपनि सँगै बसेर छफलफल गरेका थियौं । आजको एउटा कार्यक्रममापनि सँगै जाँदै छौं । नेपाल सरकारका अर्थमन्त्रालयका गभरनरले नेपाल र नेपालीलाई जोड्ने डलर खाता खोल्न दिने काम गर्नुभएको छ । त्यसमा मैले एनआरएनए युकेको अध्यक्ष हुँदादेखि बोल्दै, आवाज उठाउँदै आएको थिएँ । अवधारणा पत्र लेखेर अर्थमन्त्रिज्युलाई बुझाएको थिएँ । आज त्यसैका बारेमा कार्यक्रम हुँदै छ र हामी सँगै सहभागि हुँदै छौं ।

भनेपछि कुनै सहमति भएकै होइन ?

हिजो र आजै विहानपनि मेरो कुमार पन्तजीसित कुरा भएको छ । अगाडी बढ्ने कुरामा सकारात्मक छलफलमै छौं । त्यस्तो कुनैपनि सहमति चाहिं भएको छैन । मलाई लाग्छ, यो अध्यक्षको भन्दापनि कुनै मेडियाले संसारका गैर आवाशीय नेपाली संघलाई उल्लू बनाउने, यो संस्थालाई बिखण्डनतिर लैजाने दुस्प्रयास गरेको मैले बुझेको छु ।

चार जना सदस्य रहेको उच्चस्तरित समितिले बनाएको सहमतिपनि सहि होइन ?

खै कहाँ छ त्यो पत्र ? त्यसको बैधता के हो ? त्यसको रिपोर्ट खोइ ? त्यसलाई दिएको टीओआर खोइ ? मेरो बिचारमा उहाँहरुले अनौपचारिक छलफल गर्नुभएको छ । उहाँहरुप्रति मेरो सम्मान छ । तर कुनै खालको रिपोर्ट आएको छ भन्ने मलाई लागेको छैन ।

लगभग एक सातादेखि केन्द्रिय पदका उमेदवारहरु काठमाडौंमा हुनुहुन्छ ? यतिका दिनसम्म के पाक्या छ त भित्रभित्रै ?

मेरो फेरिपनि एउटै भनाई के छ भने उमेदवारहरुले प्रतिनिधि चयन गर्ने होइन । मैले प्रतिनिधि चयन गरें भने त मैले मलाई भोट हाने प्रतिनिधि मात्रै चयन गर्छु नी होइन र ? जुन दिन राष्ट्रिय समन्वय परिषदले चयन गरेर पठाएको प्रतिनिधि चयनले मान्यता पाउँछ त्यो दिन मात्रै निर्वाचन र महाधिवेशन हुन्छ भन्ने बुझ्नुहुन म अनुरोध गर्छु ।

त्यसो हो भने किन सहमति सहमति भन्नुभएको त ? सहमति गर्नुपर्नेनै रहेनछ नी त ?

मैले सहमति गर्छु भनेकै छैन । सहमति भनेकै के भने अहिलेका राष्ट्रिय समन्वय परिषदहरुले पठाएको प्रतिनिधिको सूचीलाई मान्नुनै सहमति हो । हामीले सहमति गर्नुनै पर्दैन ।

उहाँहरुले ६५, २५ र १० प्रतिशत प्रतिनिधि चयनको जुन आधार भन्नुभएको छ त्यो होइन की राष्ट्रिय समन्वय परिषदले पठाएको प्रतिनिधिको सूची मान्नुपर्‍यो भन्ने तपाईको तर्क रह्यो ?

फेरिपनि के भने, विधानले जुलाई महिनाभरि राष्ट्रिय समन्वय परिषदको चुनाव गर्नुपर्छ भनेको छ । र अगस्टको १५ सम्म प्रतिनिधि सूची पठाउनुपर्छ भनेको छ । अगस्ट १५ सम्म डेलिगेट्स पठाउने बेला कुन समिति हुन्छ त्यो जसलेपनि जान्ने कुरा हो । हो तिनले वा वर्तमान राष्ट्रिय समन्वय परिषदले पठाएको प्रतिनिधि सूचीलाई मानेर हामीले महाधिवेशन गर्नुपर्छ । महाधिवेशनको एउटा अंग एउटा निर्वाचन हो । भ्रामक बनाएर पुरानो कार्य समितिले प्रतिनिधि चयन गर्ने, उमेदवारले प्रतिनिधि चयन गर्ने अत्यन्तै विधान बिपरित, हाम्रो प्रचलन बिपरित र देख्दापनि हांस्यास्पद कामहरु भैरहेको छ । कता कता कोकसले सहि गर्दै हिंडेर सहमति भयो भन्दै हिंड्नु अत्यन्त भ्रम फैलाउने काम हो । कुमार पन्तजीले पनि यो भ्रामक काममा सहमति जनाउनुभएको छ भन्ने मलाई विश्वाश छैन ।

सहमति पत्रमा भएको कुमार पन्त, यादव पण्डितहरुको सहि पनि झुटो हो ?

त्यो जोजोले सहि गर्नुभयो उहाँहरुलाईनै सोध्दा हुन्छ । यद्दपी मलाईपनि सहि गर्नुस् भनेर आएको थियो । यो हाम्रो काम होइन । यसरि कोहि ठेकेदार बनेर सहि गर्दै हिंड्नु र हामीले कसैको जिम्म्मा लिनु यो गलत हो । त्यो गल्ति गर्नुहुँदैन । प्रतिनिधि चयन कुल आचार्य वा अन्य कुनै ब्यक्तिको नभएर राष्ट्रिय समन्वय समितिको हो । उनीहरुलेनै पठाएको प्रतिनिधि सूचीलाई मानेर अगाडि बढ्नुपर्छ ।

त्यसो भए, पूर्व अध्यक्षहरुसित बैठक बस्नुपर्ने भन्ने त कुरै आवश्यकतानै रहेनछ नी ?

होइन, कुनै असहज परिस्थितिलाई सहज बनाएर पूर्व अध्यक्षज्युहरु, संरक्षक ज्युहरुलाईपनि यसमा सहजिकरण गर्न लगाएर, अहिलेको परिस्थितिलाई अगाडि बढाएर लैजान मैलेपनि पहल गरेको छु । तर प्रतिनिधि चयन भनेको फेरिपनि राष्ट्रिय समन्वय परिषदले पठाएको सूचीलाई मान्ने । त्यो भनेको वर्तमान कार्य समितिलाई मान्यता दिएर अगाडि बढाउनुको बिकल्प हुँदैन ।

अध्यक्ष, महासचिव दुई जना बनाउने, एक एक वर्ष कार्यकाल बनाउने भन्ने प्रस्ताव तपाईले गर्नुभएको भन्ने छ नी ?

होइन, कुनै छलफल भएको छैन, त्यो विषयमा । मबाट कुनै प्रस्ताव गएकै छैन । महासचिव दुई जना बनाउने, अध्यक्ष बाँडेर एक एक वर्ष गर्ने लगायतका कुनै विषयमा मेरो प्रस्ताव त के मैले त्यो छलफलमा भाग लिएकोपनि छैन । त्यसको बारेमा मलाई केहि थाहपनि छैन । तर कुल आचार्य सहमति र सहकार्यको बिरोधी चाहिं होइन ।

तपाई कार्यकाल बाँडेर चलाउने पक्षमा हुनुहुन्न उसो भए ?

छैन ।

तपाइँको प्रतिक्रिया