शुक्रबार, वैशाख १४, २०८१

“बैंकमा सक्किएर गैर आवाशीय नेपालीलाई डलर खाता खोल्नुस् भनेको होइन” गभर्नर अघिकारी

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ पुष २६ गते १८:४९

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंकमा हाल १० करोड डलर संचित रहेकोले डलर अभावकै कारण गैर आवाशीय नेपालीहरुलाई नेपालका बैंकमा बिदेशी मुद्राको खाता खोल्न आग्रह नगरिएको स्पष्ठ पारेका छन् ।

“देशले आयात धेरै गर्ने हुँदा बिदेशी मुद्रा धेरै आवश्यक पर्छ । नेपाल राष्ट्र बैंकमा डलर छैन भन्ने नसोच्नुहोला । अहिलेपनि नेपाल राष्ट्र बैंकसित १० करोड डलर संचित छ । धेरै पछिलाई सोचेर यो प्रस्ताव गरेका हौं” अधिकारीले भने ।

उनले श्रीलंका जस्तो देशसित जम्मा तिन करोड डलर मात्रै संचित रहेकोसमेत उल्लेख गरे ।

त्यस्तै, अर्थ मन्त्री जनार्दन शर्माले संसारभरि बसोबास गर्ने प्रवासी नेपालीहरुलाई नेपालमा डलर खाता खोलेर नेपालको समृद्धिमा योगदान गर्न र आफै लाभान्वित हुन आग्रह गरेका छन् ।

नेपालका बैंकमा बिदेशी मुद्राको खाता खोल्नेबारे अर्थमन्त्रीसित एनआरएनए अभियन्ताहरुको छलफल

गैर आवासीय नेपाली संघ (एनआरएनए ) युके, अमेरिका, अष्ट्रेलिया लगायतका एनसीसीहरुद्वारा सोमबार आयोजित एक वेबिनारलाई सम्बोधन गर्दै मन्त्री शर्माले एनआरएनहरुले विदेशी मुद्रामा नेपालमा खाता खोल्दा राष्ट्रमा लगानी र रोजगारी बढ्ने बताए । “तपाईंहरुले थोरै सेवा गरिदिनुस्, मेवा पनि प्राप्त हुन्छ, तपाईहरुलाई पनि फाइदा पुग्ने छ” शर्माले भने ।

अर्थ मन्त्री शर्माले सरकारले वैदेशिक लगानीको वातावरण सहज बनाइरहेको बताए । नेपाललाई अल्प विकसित मुलुकबाट स्तरोन्नति गर्न वर्षेनी अरबौं डलर लगानी आवश्यक पर्ने र त्यसको लागि लगानीकर्ताहरुलाई सेवा सुविधा दिनुपर्ने अवश्यकता रहेको उनले औंल्याए ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले छोटो समयमै यो नियम ल्याइएको बताए । उनले यस अघि रहेको १० हजार डलरलाई घटाएर पाँच हजार डलर पुर्‍याएको र दुई वर्षलाई घटाएर एक वर्ष गरेको बताए । केहि बैंकहरुले विदेशी मुद्रामा खाता खोल्न शुरु गरिसकेको र यो प्रावधान विदेशमा हुर्कीरहेको दोश्रो पुस्तालाई नेपालसँग जोड्ने मध्यम बन्ने आशा पनि व्यक्त गरे। उनले कार्यान्वयनका क्रममा केही समस्या आएमा त्यसलाई तत्काल सम्बोधन गरिने बताए ।

अर्थ सचिव मधु मरासिनीले यस भन्दा पहिला पनि डलरमा खाता खोल्न पाइनेगरेको तर यस पटक सरकारले त्यसलाई सहजीकरण गरेको बताए । “तपाई जहाँ हुनुहुन्छ त्यहिँबाट खाता खोल्न पाइन्छ । फिर्ता लग्न पनि पाइन्छ । पैसासँग भावना र माया पनि जोडिन्छ । तपाईंहरुले आर्जन गरेको ज्ञान, सीप, क्षमता मातृभूमिको हितमा लगाउन पनि वातावरण निर्माण गर्छ भन्ने हाम्रो अपेक्षा छ । हाम्रो सम्बन्ध जीवन्त राख्छ” उनले भने ।

सम्बन्धको सेतुको रुपमा समेत त्यसले काम गर्छ भन्ने अपेक्षा रहेको उनले बताए । यसरी जम्मा भएको रकमले नेपालमै रोजगारी सिर्जना गर्न मदत पुग्ने, स्वदेशी उत्पादनका लागि लगानी बढाउन उपयोग गर्ने सरकारको ध्येय रहेको भनाई उनको थियो । देशलाई माया गर्दा बचत सुरक्षित हुने भन्दै व्यापक सहभागिताको लागि अनुरोध गरे ।

गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले नेपाल सरकारले ल्याएको नयाँ सुविधाका लागि सरकारलाई धन्यवाद दिंदै यसले संसार भरिरहेका नेपालीहरुलाई नेपालमा खाता खोलेर आफुसँग रहेको बचत नेपाल भित्र्याउन सहज हुने विश्वास व्यक्त गरे । संघले स्थापना कालदेखि नै नेपालको समृद्धि र विकासको लागि साझेदारको रुपमा काम गर्दै आएको स्मरणपनि पन्तले गरे ।

गैर आवासीय नेपाली संघका केन्द्रीय सल्लाहकार कुल आचार्यले सरकारले गैरआवासीय नेपालीलाई नेपालमै विदेशी मुद्रामा खाता खोल्न दिने नीति बनाएकाले एन आर एनको पहलले सार्थकता पाएको भन्दै यसका लागि अर्थमन्त्री शर्मा र नेपाल सरकारलाई धन्यवाद दिए ।

“गैरआवासीय नेपालीले नेपालकै बैंकमा पैसा राख्न पाउँदा विदेशमा निर्व्याजी थन्किएको पैसाले यहाँ ब्याज कमाउने छ । प्रारम्भिक फाइदा ब्याज आर्जनबाट हुनेछ । त्यसले देशलाई नेपालीको पैसा नेपालमै ल्याउन र नेपालको विकासमा लगानीमा फाइदा पुग्छ । ब्याज पनि प्राप्त हुने, पैसा पनि सुरक्षा हुने र रास्ट्रलाई पनि फाइदा पुग्ने यो नियम सबै गैर आवासीय नेपालीहरूका लागी सुनौलो अवसर हो” आचार्यले भने।

उनले नेपाली नागरिकताको निरन्तरताको साथै बेलायतमा रहेका भूतपूर्व गोर्खा सैनिकहरुको समस्या समाधान गरी उहाँहरुसँग रहेको सीप, पूँजी र ‘गुडविल’ नेपालको विकासमा उपयोग गर्न विशेष नीति ल्याउन पनि नेपाल सरकारलाइ आग्रह गरे ।

एनसीसी अष्ट्रेलियाका अध्यक्ष नन्द गुरुङले नेपाल सरकारले एनआरएनहरुलाई पूँजी र श्रोतको रुपमा हेर्नुपर्ने बताए । त्यस्तै एनसीसी अमेरिकाका अध्यक्ष बुद्धि सुवेदीले नेपालमा खाता खोल्न न्यूनतम रकम ५ हजार डलरबाट घटाएर १ हजार डलर गराउन, एनआरएन आइडी कार्ड बाहेक एनसीसीले जारी गरेका अन्य प्रमाणलाई पनि मान्यता दिन अनुरोध गरे । उनले विदेशी लगानी सम्बन्धी कानूनमा समसामयिक सुधार गर्न पनि सुझाव दिए ।

संवन्धित रिपोर्ट

नेपालका बैंकमा बिदेशी मुद्राको खाता खोल्नेबारे अर्थमन्त्रीसित एनआरएनए अभियन्ताहरुको छलफल

तपाइँको प्रतिक्रिया