मंगलबार, माघ ४, २०७८

बताससँगै प्रिय नेताका अनुहारमा एकपछि अर्को भ्रष्ट अनुहारको प्रतिविम्ब

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ पुष २८ गते १४:१४

रविन्द्र अधिकारी धेरै नेपालीले रुचाएका युवा नेता थिए । अल्पायु मै बिते । बितेका मान्छेका बारेमा नकारात्मक टिप्पणी गर्नु शायद उचित हुँदैन । उनी पर्यटन मन्त्री हुँदा जहाज काण्ड चलिरहेको थियो । सरकार र विपक्षमा बस्ने नेताहरुले जहाज काण्डबाट कती करोड रुपैयाँ हजम गरे त्यो भने अधिकारीको मृत्‍यु पछी रहस्य मै छोडियो । र करोडौं रुपैयाँ भ्रष्टाचार भएको त्यो काण्ड उनको अन्त्य सँगै अस्तायो । ओली सरकारमा रविन्द्र अधिकारी मन्त्री थिए वाइड वडी काण्डमा ककसको निवासमा कती रकम पुग्यो, कसले जहाजको पंखा समाते, कसले पांग्रा समाते र को ककपिटमा पुगेको थियो उनलाई छर्लंग थाहा थियो । उनी मरेर गए, जहाजलाई अंगालो हाल्नेहरु किटानीमा आएनन् । रविन्द्र अधिकारी नमरेको भए अहिले उनको असली स्वरुप देखिने थियो ।

ओली सरकारका पालामा बिभिन्न ब्यापारिक समुहहरु चर्चामा आए । बिभिन्न घोटालाहरुमा एमालेका बडा बडा नेताहरु मुछिए । सरकारी सेटिङमा यती र ओम्नी ग्रुपहरुले चाहे जती फाईदा आफ्नो पोल्टामा पारे । बिभिन्न ठाउँका सरकारी सम्पत्तिहरु यिनै समुहहरुको कब्जामा पुग्यो । केपी ओली, इश्वर पोखरेल, बिष्णु पौडेल सत्ता पक्षका भए । सात पुस्तासम्म पुग्ने गरी यिनिहरुले सम्पत्ति जम्मा गरे । पक्ष विपक्ष जताततै बाँडचुड भए होला । तर राष्ट्रिय सम्पत्ति हिनामिना भएका आधा दर्जन घटनामा कुनै पार्टीले केही बोलेनन् । प्रतिपक्ष पार्टीका नेता शेरबहादुर देउवा झनै बोलेनन् ।

नेपाली कांग्रेसका एकजना केन्द्रिय नेता भन्छन्- देशका जती पनि ठूला भ्रष्टाचार काण्ड छन् त्यसको हिस्सा सबै पार्टीका नेताहरुले प्राप्त गर्दछन । ओम्नी र यतीका घोटालामा देउवा, महन्थ ठाकुर वा उपेन्द्र यादव कोही किन बोल्थे, कोही बोलेनन ! घोटालाहरु चुपचाप सेलाउँदै गए । यो नेपाल र नेपालीको नियती हो ।

अख्तियार दुरुपायोग अनुसन्धान आयोग देशले पालिरहेको छ । त्यसले भने २० हजार घुस लिएको एक जना खरदारलाई छोपेर आफ्नो जिम्मेवारी पुरा गर्छ । अख्तियार, अदालत, सरकार सबै सेटिङमा चलिरहेका छन् । नेपालको एउटा ठूलो जमातले सधैंभरी भनिरहने एउटा कुरा छ- नेताहरुले देश बेचे । देश बेच्ने भनेको के हो ? के अहिलेको युगमा देश बेच्न सम्भव छ ? कसरी बिक्री हुन्छ देश ? के देश बेच्नु भनेको आफ्नो नक्सालाई खुम्च्याएर अर्को देशलाई दिनु मात्र हो ? होइन होला, यो परिभाषा अली पुरानो भएको हुनसक्दछ । बेच्नु भनेको आफ्नु हिस्सेदारी नरहनु, पैसा लिएर कुनै पनि वस्तु जस्तै जमीन, घर, तलाउ, जंगल अर्कालाई दिनु भन्ने बुझिन्छ । बेच्ने अर्थमा देश भारतलाई सुम्पे भन्ने मात्र बुझियो भने अहिलेको परिभाषा खल्बलिन्छ । सहुलियतपूर्ण तरिकाले जो जसले राष्ट्रको सम्पत्तिमा रजाइँ गर्न पाए, तिनले देश किने । राष्ट्रिय सम्पत्तिमा कुनै ब्यक्ति वा समुहलाइ जो जसले पहुँच दिए तिनिहरुले देश बेचे ।

यसको मतलव के हो भने अहिलेका हरेक नेताहरुले देश बेच्ने तमसुकमा सहिछाप गरेका छन् । कुनै दिन यस्ता तमसुकहरु फेरी सतहमा आउनेछन् र जनताले निकै रुचाएका भनिएका नेताहरु समेत सतहमा देखिने छन् ।

अहिले वतास समुह चर्चामा छ । धेरै नेपालीहरुलाई बतास भन्ने कसैको थर पनि हुने रहेछ भन्ने सुनेर अचम्म लागेको हुन सक्दछ । बतास नेपाली ब्यापारिक समुह नै हो र यही समुहका कारण जनताका प्रिय राजनीतिज्ञ रविन्द्र अधिकारी एकपटक फेरी चर्चामा आएका छन् । आनन्द बतासका स्कुले सहपाठी हुन रविन्द्र अधिकारी जसले आफू पर्यटन मन्त्री हुँदा राष्ट्रिय सम्पत्तिलाई बतास समुहको झोलामा मात्र राखिदिएनन् त्यसवापत आफूले आर्थिक फाईदा पनि प्राप्त गरे । चुनाव खर्च देखी अन्य ब्यक्तिगत भोग्यका सुविधाहरु उनले आनन्द बतासबाट प्राप्त गरे ।

पशुपतीको धर्मशालालाई होटल बनाउने सोच बतासको थियो । तर त्यसमा लालमोहर अधिकारीले नै लगाएका थिए । काठमाडौ, पोखरा, लम्जुङ, तनहुँ जताततै बतासलाई सदर गराउने काम रविन्द्र अधिकारीको नै थियो । आफूले आशा देखाएर चुनाव जिताउन आग्रह गरेका जनताको विश्वासमा गद्दारी गरे । अहिले उनी यो दुनियाँमा छैनन् । उनको आत्माले शान्ती पाओस ।

तर यो दुनियाँको रित के हो भने यो अजर अम्बर कोही पनि छैन । सबैलाई कुनै न कुनै रुपमा मरेर जानु पर्दछ । मरिसकेपछी आफ्नो नामको पछाडि के जोडिन्छ भन्ने मात्र हो । अहिले देशमा सबै भन्दा बढी चर्चामा कोही छ भने तिनै बतास समुहका मालिक आनन्द बतास छन । एक हप्ता देखि नेपाली संचार माध्यममा लगातार छाएका छन बतास । नारायणीहिटी जग्गा र रेष्टुरेन्ट काण्डका एक्ला नाइके उनै हुन । उनले नारायणीहिटी र पशुपतिनाथ जस्तै राष्ट्रिय सम्पत्ति हात पार्न कुन कुन नेतालाई कती रकम बुझाए भन्ने कुरा उनले नभने पनि आधाआधी नेपाली जनताले राम्रोसँग ठम्याएका छन । यस्ता कुराहरु कसैले मुख फोरेर भन्नै पर्दैन । सिमित आय भएका नेताहरुको जीवनस्तर हेर्ने हो भने छर्लंङ्ङ हुन्छ । आनन्द बतासले पनि मिडियामा स्पष्टिकरण दिदै छार्लङ्ङ नभने पनि स्पष्ट रुपमा बुझाईदिएका छन ।

अहिले नारायणीहिटिमा उनले बनाएको संरचना भत्किसकेको छ । उनकै भनाइलाई मान्ने हो भने अब उनी फेरी फर्केर नारायणीहिटी जाने छैनन । बतासलाई अहिलेको आँधिले उडाउने निष्चित छ । नारायणीहिटी मात्र होइन अन्य धेरै ठाउँँबाट बतास हट्ने छन । तर नेपाली जनमानस कसै प्रती यती धेरै सापेक्ष कसरी हुन सक्दछ ।

पशुपतीको धर्मशाला होटलमा रुपान्तरित गरिनु, नारायणीहिटी परिसरमा रेष्टुरेन्ट बनाउने तालमेलका सम्झौता बन्नुमा बतास मात्रै दोषी होलान र ? हामीमा एउटा ठूलो समस्या छ । हामी पर्दा उघारेर हेर्दैनौं । देखिएको सबै कुरा सत्य नहुन सक्दछ । त्यसैले पर्दाभित्र झाँक्नु निकै जरुरी छ । त्यसपछी देखिन्छन् असली अनुहारहरु । घोटालाहरुमा जहाँँ जहाँँ बतास पसेका छन ति हरेक ठाउँमा पर्दा भित्रका मजबुत हातहरु छन । विषय, पशुपतिनाथमा होटल र नारायणीहिटी संग्राहलयमा क्याफे चाहिन्छ कि चाहिदैनन भन्ने मात्र होइन । राजनीतिज्ञहरुले पैसाका लागि के बाँकी राखेका छन भन्ने हो । केरकारको कसिमा बतास मात्र होइन योगेस भट्टराईलाई पनि दाखिल गराउनुपर्‍यो । रविन्द्र अधिकारीले गरेका निर्णयमा बहस हुनुपर्‍यो । प्रधानमन्त्री पत्नी आराजु राणाको संलग्नता खुल्नुपर्‍यो । देशको सम्पत्ति बेचेर खानेहरुको अनुहारबाट बिस्तारै लेप हट्नु पर्‍यो । अब हरेक नेताले आफ्नो अनुहार छोपेर हिँडे हुन्छ । किनभने प्रिय भनिने नेताका अनुहारमा समेत एउटा पछि अर्को एउटा भ्रष्ट अनुहारको प्रतिविम्ब देखिन्छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक