बिहीबार, वैशाख १३, २०८१

राष्ट्रका निर्माताको जन्मदिनमा एक दिन छुट्टी नगर्नु ईतिहास मेटाउने सरकारी प्रपञ्च

तिर्थनाथ कँडेल२०७८ पुष २९ गते १५:१७

लेखक तिर्थनाथ कँडेल

नेपाल सरकारले गत क्रिसमस बिदा दिने निर्णय गर्‍यो । जिसस क्राइस्टको जन्मदिन थियो त्यो दिन । सानो प्रतिशत मात्र इशाई ध्रमालम्वीहरु भएको देशमा बिदा दिन गरिएको निर्णय गलत थियो या सहि थियो त्यसको छुट्टै वहस हुन सक्छ । तर अल्पमतमा रहेको कुनै धार्मिक समुहलाइ सम्मान गर्नु स्वागत योग्य कुरा थियो । सरकारले मुस्लिम समुदायका लागि पनि विदाको ब्यवस्था मिलाएको छ । हिन्दू वाहुल्य भएका हुनाले त्यस्ता विशेष दिनहरुमा छुट्टी नदिने कुरै भएन । दसैं तिहार जस्ता चाडवाडहरुमा छुट्टी छ । यस्ता खालका बेलाबखत आउने छुट्टीहरुले धेरै कुरा बोल्छन ।

सर्सर्ती हेर्दा सरकारले दिने एक दिनको छुट्टी त्यही १२ घण्टाको जस्तो मात्र देखिन्छ । तर त्यसले बोक्ने भावनात्मक महत्वले सयौं वर्ष एकै दिनमा बोल्छ । देश हिन्दू, मुस्लिम, इशाई सबैको हो । सरकारले छुट्ट्याइदिने एकदिनको बिदाले आफ्नो देश प्रतिको अपनत्वलाई अझ गहिरो बनाउँछ । तर जसले देश बनायो त्यसलाई देशले आफ्नो सम्झेन । सरकारले पृथ्वी नारायण शाहको जन्मदिनमा एक दिन छुट्याउन कन्जुस्याँई गरेर धेरै नेपाली मनलाई दुखित बनायो ।

पृथ्वी नारायण शाहका बारेमा विभिन्न तरिकाले वहस हुने गरेका छन । खास गरेर पुष महिनाको शुरु देखिनै उनको बारेमा विभिन्न तरिकाले खोजतलास हुन्छ । शाहका योगदानलाई छताछुल्ल हुनेगरी सतहमा ल्याइन्छ र नव बुर्जुवा वर्गले त्यसलाई तेल घसेर नमिठो गरी पस्किन खोज्छ । उत्तर आधुनिक चरण पार गर्दै गरेको एउटा देशको लागि यहाँँ भन्दा ठूलो विडम्बना अर्को केही हुन सक्दैन । जब देश निर्माणमा जुटेको एउटा ऐतिहाशिक पात्र पटक पटक विवादमा तानिन्छ ।

पृथ्वी नारायण शाहले नेपाल राज्य एकिकरण गरेका थिए वा त्यो गोरखा राज्यको विस्तार थियो भन्ने एउटा वेतुकको वहस पनि चलेको छ । एक्कै छिनका लागि मान्नुस् त्यो गरखा राज्यको विस्तार मात्र थियो रे । तैपनि तपाईंले त एउटा सिङ्गो देश पाउनु भएको छ । यदी कसैलाई आफू नेपाली भएकोमा गर्व लाग्छ भने त्यो गर्विलो वस्तुका जन्मदाता पृथ्वी नारायण शाह मात्र हुन । पूर्व राजा ज्ञानेन्द्र शाहलाई हेर्ने नजरियाले नै पृथ्वी नारायण शाहलाई हेरियो भने उनलाई चिन्न सकिंदैन । नेताहरुले नजर फेर्न जरुरी छ ।

पूर्व राजा ज्ञानेन्द्र र पृथ्वी नारायणमा धेरै फरक छ । पृथ्वी नातायण शाहको मानमर्दन गर्नु भनेको सबै तीन करोड नेपालीको अपमान गर्नु हो । सरकार भनेको अभिभावक हो । अभिभावकले आफ्ना नागरिकको भावना बुझ्नु पर्दछ । अधिकांश हामी नेपाली भावनात्मक रुपमा पृथ्वी नारायण शाहसँग जोडिएका छौं । उनको जन्मदिनलाई सरकारले नै विभिन्न कार्यक्रमका साथ मनाउनुपर्नेमा एक दिन सार्वजनिक विदा समेत नदिएर बहुलट्ठी देखिएको छ ।

नेपाल देश छ र त शेरबहादुर देउवा छन । केपी ओली, प्रचन्ड, माधव नेपालहरु छन । नेपाल देश नै नभएको भए यिनको हालत के हुन्थ्यो ? नेपालको कुरा छोड्नुस; गोरखा राज्य विस्तार नभएको भए यि नेताहरु कहाँँ हुन्थे ? कम से कम अहिलेका नेताहरुले आफ्नो अस्तित्वका लागि पनि पृथ्वीनारायण शाह प्रती आभारी हुनुपर्ने हो । तिनको शालिक अगाडी शिर खुकाएर नतमस्तक हुनुपर्ने हो । देश छ र पो यि नेताहरुले प्रधानमन्त्री हुने मौका पाए । नत्र यिनिहरुको औकात दरवानको जत्ती पनि छैन ।

आलोचना गर्नेहरुले भन्ने गरेका छन, पृथ्वी नारायण शाहले तल्लो जात वा भनुँ मगर गुरुङहरुलाई प्रयोग गरेर, उनिहरुलाई हतियार बोकाएर र लडाईमा उतारेर मात्र यो देश बनेको हो । उनले यि जातजाती प्रती अन्याय गरेका हुन । राज्यको पक्कै पनि आफ्नो सेना थियो होला । तिनले सरकार द्वारा तोकिएको सेवा सुबिधा पक्कै पनि पाउँथे होला । राज्यमा कसैले हमला गर्दा वा संकटका बेला राज्यको संकटसँग जुझ्न जनतालाई आव्हान गर्नु सामान्य कुरा हो । त्यो अहिलेका सरकारहरुले पनि गर्दछन ।

कतिपय विकशित भनिएका पश्चिमा मुलुकहरुमा १८ वर्ष पुगेका युवाहरुलाई अझै पनि शैन्य तालिम दिइन्छ । किनभने देश संकटमा पर्दा देशको सबैभन्दा ठूलो सेना भनेकै नागरिकहरु हुन । नागरिकहरु राज्य बचाउन वा विस्तारको अभियानमा सामेल हुनु कर्तब्य हो ।

यो दुई सय ५० वर्ष अघिको कुरा छोडौं । हालसालैको कुरा गरौं । पुष्पकमल दाहालले नेतृत्व गरेको जनयुद्दलाई मिहिनसँग हेरौं । मुक्तिका लागि राज्यका विरुद्द हतियार बोकेर हिंडेका अधिकांश जनसेना कुन जातका थिए ? तपाईंहरुलाई थाहा छ । प्रचन्डका ७० प्रतिशत लडाकुहरु मगर, गुरुङ र दलितहरु थिए । १५ वर्ष देखि प्रचन्ड र तिनको पार्टी लगातार सरकारमा छ । तर ति लडाकुहरु कहाँँ छन ? थोरैले राष्ट्रिय सेनामा मिसिने मौका पाए । ति पनि ठूला नेताका नजिकका र उनिहरुका नजरमा परेकाहरु मात्र । अधिकांश लडाकुहरु कतार र मलेशियामा मजदुरी गरिरहेका छन भने केही अझै गाउँमा बसेर विस्मृत जनयुद्दको ‘फ्ल्यास ब्याक’ हेरिरहेका छन ।

पृथ्वी नारायण शाहको आलोचना गर्नेहरुले नबुझेको कुरा के हो भने देश बनाउने युद्द र ब्यक्ति बनाउने युद्द फरक हुन्छन । शाहले राज्य विस्तारकै लागि युद्द गरेको भए पनि त्यसले देश बनायो । तर देश भित्र भएका अन्य युद्दहरु खास गरेर प्रचन्ड नेतृत्वको युद्दले के बनायो ? यो कस्तो विडम्बना हो देश बनाउने भन्दा पनि भत्काउनेहरु देशमा पुज्य भएका छन । जनयुद्दमा १७ हजार मान्छेहरु अनाहकमा मारिए । तर त्यसको उपलब्धी भने प्रचन्ड र केही माओवादी नेताहरुको ऐशआराममा पुगेर खुम्चियो ।

जातकै हिसावले हेर्ने हो भने जनयुद्दमा मारिनेहरु धेरै मगर, गुरुङ र दलितहरु नै थिए । माओवादिहरुले जो जो लाई मारे ति कथित सामन्त थिए । स्कूल पढाउने सामान्य शिक्षक थिए । खेती गरेर जिविकोपार्जन गर्ने किसानहरु थिए । देश बनाउने युद्दमा पृथ्वी नारायण शाह द्वारा मारिएकाहरुको पटक पटक जिकिर हुने गर्दछ ।

नेपालको अहिलेको भूगोल भित्र त्यतिबेला दुई दर्जन देश थिए । पृथ्वी नारायण शाहको लडाईं देशवासीसँग नभएर विदेशीसँग थियो । यो देश त्यही लडाईंको परिणाम हो । जसले यो देशलाई स्विकार गर्दछ त्यसले पृथ्वी नारायण शाहलाई स्विकार नगर्नु लहड मात्र हो । कसैले माने पनि नमाने पनि यो राष्ट्रका निर्माता पृथ्वी नारायण शाह मात्र हुन । एउटा सानो समुहले नमान्दैमा उनको योगदान मेटिंदैन । ईतिहासलाई जुनसुकै कोणबाट लेखे पनि सत्य देश निर्माणको सत्य शाह भन्दा बाहिर जाँदैन । उनको जन्मदिनमा सरकारले एक दिनको छुट्टी समेत नगर्नु ईतिहास मेटाउने प्रपञ्च मात्र हो ।

क्रिशमसमा छुट्टी दिने सरकारले पृथ्वी नारायण शाहको कुनै पनि योगदानको अवमुल्यन गर्न पाउँदैन । यदी जनमत संग्रह नै गराउने हो भने पनि सम्वभत ९० प्रतिशत जनताले पृथ्वी नारायण शाहलाई राष्ट्र निर्माता नै भन्छ । लोकतान्त्रिक सरकारले कसरी लोकमतको कदर गर्‍यो त खै ? पृथ्वी नारायण शाहको ईतिहास बाँचीरहनु पर्दछ । हजारौं वर्ष पछीका सन्ततिले थाहा पाउनु पर्दछ- यो देशको असली हिरो को थियो । ईतिहासमा त शेरबहादुर देउवा, केपी ओली, प्रचन्ड र माधव नेपालहरुको पनि जोगिनु पर्दछ । तिनै हजार वर्ष पछिका नेपालीले थाहा पाउनु पर्दछ देशका असली खलनायक को थिए भन्ने ।

तपाइँको प्रतिक्रिया