बुधबार, वैशाख १२, २०८१

चीनबाट रकम लिएर बेलायती राजनितिमा हस्तक्षेपको आरोप

नेपालप्लस संवाददाता / बेलायत२०७८ पुष २९ गते २०:१८

लन्डनस्थित एक वकिलले चिनियाँ कम्युनिष्ट पार्टीको तर्फबाट बेलायतको राजनीतिमा गोप्य रूपमा हस्तक्षेप गर्न खोजिरहेको भन्दै बेलायतको घरेलु खुफिया एजेन्सीले सांसदहरूलाई चेतावनी दिएको छ ।

क्रिस्टिन लीले चिनियाँ पार्टीको संयुक्त मोर्चा कार्य विभागसँग समन्वयमा काम गरिरहेको आरोप लगाउँदै हाउस अफ कमन्सका अध्यक्ष लिन्डसे होइलेले बिहीवार विधायकहरूलाई एमआई५ जासूस एजेन्सीबाट चेतावनी पठाएका हुन् ।

एमआई ५ ले बेलायती राजनीतिक दल र विधायकहरूलाई विदेशी नागरिकहरूको तर्फबाट राजनीतिक संस्थाहरूलाई चन्दा उपलब्ध गराएको बताएको छ ।

“युनाइटेड फ्रन्ट वर्क डिपार्टमेन्टले “युकेको राजनीतिक परिदृश्य सीसीपीको एजेन्डाअनुरुप अनुकूल छ भनी सुनिश्चित गर्न र मानवअधिकार जस्ता सीसीपी गतिविधिको बारेमा चिन्ता उठाउनेहरूलाई चुनौती दिन प्रभावशाली व्यक्तिहरूसँग सम्बन्ध विकास गर्न खोजेको छ” चेतावनीमा भनिएको छ ।

संसदका सदस्यहरूले आफूले प्राप्त गरेको चन्दाको स्रोत घोषणा गर्न आवश्यक छ । त्यो बेलायतमा दर्ता भएका मतदाता वा संस्थाहरूबाट हुनुपर्छ ।

लेबर पार्टीका सांसद ब्यारी गार्डिनरले आफूले विगतमा लीबाट आफ्नो कार्यालयमा अनुसन्धानकर्ताहरूलाई सहयोग गर्न चन्दा प्राप्त गरेको एक विज्ञप्तिमा उल्लेख गरेका छन् ।

गार्डिनरले बेलायती सुरक्षा सेवाहरूसँग लीबारे आफूले वर्षौंदेखि सम्बन्ध राख्दै आएको बताएका छन् ।

“मलाई सुरक्षा सेवाहरू द्वारा आश्वस्त गरिएको छ कि उनीहरूले क्रिस्टिन ली मार्फत च्यानल गरिएको अनुचित कोषको निश्चित रूपमा पहिचान गरेका छन् । यो मेरो कार्यालयले प्राप्त गरेको कुनै पनि कोषसँग सम्बन्धित छैन” गार्डिनरले भने ।

गार्डिनरले लीका छोराले आफ्नो कार्यालयमा डायरी प्रबन्धकको रूपमा काम गरेको तर बिहीवार राजीनामा दिएकोपनि बताएका छन् ।

“सुरक्षा सेवाहरूले मलाई सल्लाह दिएका छन् कि उनीहरूसँग आफ्नी आमाको गैरकानूनी गतिविधिको बारेमा सचेत थिए वा यसमा संलग्न थिए भन्ने मसित कुनैपनि प्रमाण, संकेतसम्म थिएन” गार्डिनरले भने ।

लीको फर्म ‘क्रिस्टिन ली एन्ड कम्पनी’ ले आफ्नो वेबसाइटमा भनेको छ “यसले बेलायत र चीन बीच बलियो सम्बन्ध विकास गरेको छ । र लन्डनमा चिनियाँ दूतावासको कानुनी सल्लाहकारको रूपमा काम गर्दै आएको छ ।”

लीको कार्यालयले टिप्पणीको लागि अनुरोध गर्दा तुरुन्तै प्रतिक्रिया दिएन ।

बेलायत र चीनबीचको सम्बन्ध पछिल्लो समयमा झन् चिसो हुँदै गएको छ । बेलायतका अधिकारीहरूले बेइजिङलाई आर्थिक जालझेल र मानवअधिकार उल्लंघनको आरोप लगाएका छन् । नोभेम्बरमा एमआई६ ओभरसिज इन्टेलिजेन्स एजेन्सीका प्रमुख रिचर्ड मूरले चीनलाई बेलायत र यसका सहयोगीहरूका लागि सबैभन्दा ठूलो खतरा भएको बताएका थिए ।

(स्रोत-एपी, युरोन्युज)

तपाइँको प्रतिक्रिया