बुधबार, जेठ ११, २०७९

रात रुङ्न राङरुङमा

युवराज नयाँघरे२०७८ पुष ३० गते २३:४६

पाइलैपिच्छे फँस्यो गाडी !
बल्लतल्ल पुगियो बालुवा । भनेकै समयमा भने नि हुने । तीनको सेरोफेरो भनेथे– भनेजस्तै भो । बाटाभरि फँसेको समय हिसाब नगर्दा गाडी तीन बजे दिउँसो पुगेको भन्न मिल्छ । टाकनटुकुन तीस ठाउँमा त फँसेकै हो गाडी । हिलो हारेथ्यो यतिबेला ।

अनि पो मैले चार बजे पुगेको समयलाई एक घन्टा घटाएर तीन बजेको भनेको हुँ । हो, बालुवामा पुग्दा गर्मीले तताएथ्यो । तीस–पैंतीस घर थिए छरपस्ट । गाडीभित्रैबाट एकसरो बालुवाको संसार हेरेँ । अनि ओर्लिएँ म । साथी थिए उत्तम भट्टराई ।

भ्यागुते झोला भिरेर पूर्वतिर लाग्दा झोलुङ्गे पुल छेउमा चार पुलिस देखिए । मास्तिर गन्जी, तल्तिर टाटेपाटे जाँघे लाएर रुखमुनि हावा खाइरहेका पुलिस देख्दा मैले भनेँ– ‘कि नलाउनु, लाए पुरै लाउनु ।’

यतिञ्जेल हामी अलिक मास्तिर लम्किसकेथ्यौं । पहाड र खोलाको रुपले छातीमा उल्लास ओर्लियो ।

बाटाभरि भारी बोकेर मास्तिर जानेहरुको लर्कन देखियो । बिहान चार गाँस टिपेको भातभान्साले दमपच ठोकिसकेको थियो । बाटामा क्यै खाम्ला भनेर थामथुम पार्दै लम्केको छु । भाइले भन्न छोडेका छैनन्– ‘आमाले सखर–च्यूरा हाल्दिनु भा’छ झोलामा । भरे थकाइ मार्दा चबाउँला ।’

तर त्यो मौका परेको छैन । ठ्याम्मै परेको छैन ।

दरौंदी तर्नुअघि खान खोजियो– मौकै परेन । चारैतिरबाट अँध्यारो धेरै आएको हुनाले पनि खुट्टा चाँडचाँडो लम्के । मनलाई भन्दा खुट्टालाई हतारो ।

घ्वाँक भाले बोकेर एकजना बाहुन अनुहार भेटिए । ‘पाल्न कि ?’ मैले अनायासै सोधें । ‘भोलिको जनै पूर्णिमा मान्न !’ ती बाहुनले परिवर्तित चलनबारे सिकार बनाउने कुरा भने ।

नजिकै बगेको दरौंदीले संसारका सबै स्वर निलेजस्तो लाग्छ । चर्को आवाज एकै ठाउँमा मिसाएजस्तो लाग्छ । सारा ध्वनिलाई एउटै सुरुङमा कोचेर बाहिर पठाएजस्तो लाग्छ । ठूलै गर्जनामा कराइरहेको छ– दरौंदी ।

ऊ बेलामा पूर्खाले ‘चल्ला’ भनेको मिल्दै गएको कुरा भयो भट्टराई र म बीचमा ।

दरौंदीको लामो पुल तरियो । हल्लिएर गाह्रै पर्‍यो पुल तर्न । फर्किउँला झैं हुन्थ्यो पुल पनि । फेरि वारि–पारि बसेका तन्नेरीले हामी अगिल्तिर नारदकुण्डको मेला भर्न गएका तरुनीको बथान देखेर नि हल्लाए बेस्सरी पुल । हत्तेरिका, कति थोकको हमला हाम्लाई ?

सकससँग पुल तर्‍यौं । सेता छालमा दरौंदी निकै कोलाहलमय थियो । कत्रो गर्जना हँ, खोलाको । मनमा कौतुहल भइरह्यो– पटक पटक ।

‘भाइ म त पाइलै सार्न नसक्ने भएँ !’ पुल नाघेपछि भनें ।

अनि झुरुप्प बस्ती भएठाउँमा क्यै पाइएला कि भनी धुवाइँरहेका छाप्रामा चिहायौं । धुवाँमा हराए पनि चुरोटका धुँवा खाइरहेका बूढीहरु ख्वाइँ ख्वाइँ खोकिरहेका देखिन्थे । अनि दाउरा ठोसिरहेका देखिन्थे । तीनपानेका भाँडा हुन्थे चुलोमा । कति गर्दा नि चिया पाकेन । हाम्रो बिन्ती त फुस्सा !

निकै चिहाइपछि चिया पाक्यो, बस्तीदेखि पुछारको छाप्रोमा ।

‘यतै बास बस्ने कि ?’ कुरा पटक पटक’नि भए हाम्रा । कारण एउटै थियो, पहाडबाट आइरहेको अँध्यारो । अग्ला–अग्ला डाँडाको चेपबाट सोहोरिएर आएको बर्खाको बादल र अकाससँग अँध्यारोको नजिकको नातो हुँदो रहेछ ।

हिउँदमा मजाले धुलो उड्ने बाटोमा पनि बर्खाको भेल स्वात्तै कुलाकुलाइ रहेथ्यो । जुत्ता त भ्यातभ्याती– पानीमा । जतिसुकै जोगाउन खोजे पनि क्यै सीप लागेन । म के फड्किनु र जुत्ताले टेकेर उच्छिटिएका छप्लाङले कम्मरमुनि ल्याफल्याफी भई त गो । एकलासलाई साथी बनाएर निकै लम्क्यौं ।

‘हामी काँसम्म पुगौंला ?’ बाटामा भेडा धपाइरहेकी जसमाया गुरुङसँग सोधें ।

‘हाम्लाई त यो बाटो घन्टा भएको नि छैन तर तपैंहरुलाई पो ।।। !’ उनले हामीप्रति दया देखाइन् । हाम्रा तन्नेरी छाती पनि उनका निम्ति निम्छरा भए । हत्तेरिका, कमजोर पो भइयो त ।

खुट्टा बाउँडिएर दुख्न थाले । ब्याग गह्रुंगो हुन थाल्यो झन् झन् । आइरहेको अँध्यारोले डस्न थाल्यो बेस्सरी । बाटो एकलास र जंगलले ढाकिएको छ ।

देब्रेपट्टि गर्जिरहेको छ– दरौंदी । कति कठोर, कति कडा, कति आवेग, कति भयानक । ढुंगा, सुरुङ, खोँच र बालुवाका थुप्रोमा के रोकिन्थ्यो र नदीको गर्जना !

झमक्क साँझमा राङरुङ पुग्यौं । धेरै परदेखि देखिएको टिनछाने छाप्रोमा अल्मलियौँ । अघि जाँदा बास नपाइला भन्ने निक्र्यौल भयो ।

‘झोला बिसाऊँ त !’ सल्लाह यै भो । अनि बास र गाँसको जोहो गर्न थाल्यौं ।

बर्खामा कराउने झ्याउँकीरीहरु कता बेपत्ता कता ! रुख–रुखमा गीत उराल्ने चरा कता हराए कता ! टोड्का टोड्कामा बसेर कराउने कालिजहरु कता बिलाए कता ! विरह गाउने न्याउली कता छेलिए कता !

धने घले थिए– छाप्रोका मूली । उनलाई हामीले नातो लायौं– वारपाकी कृष्ण घलेको ।

‘ए, उनी त मेरा भान्जा । राम्रा मान्छे । यता आउँदा यै कोठामा बस्छन् । यतै खान्छन् । यतै रमाउँछन् ।’ धनेले बयान गरे कृष्णको ।

तर हामी दुबैले ती कृष्णको नाकमुख क्यै देखेका छैनौं । जे होस्, असल मान्छेको नाम भन्नाले हाम्रो सत्कार पनि राम्रै हुने देखियो ।

‘यी बस्नु, तपाईहरु पनि । जहानले नमान्ली । तर म त केटाकेटी सुत्ने ओछ्यानै तपाईंहरुलाई मिलाइ दिऊँला, एकरातलाई ।’ उनी फूर्तिफार्ती गर्न थाले । हामी सडक मास्तिरको टहरोमा झोलाझाम्टा थन्क्याएर वारिपट्टिको छाप्रोमा खर्किन थाल्यौं ।

नजिकै बगेको दरौंदीले संसारका सबै स्वर निलेजस्तो लाग्छ । चर्को आवाज एकै ठाउँमा मिसाएजस्तो लाग्छ । सारा ध्वनिलाई एउटै सुरुङमा कोचेर बाहिर पठाएजस्तो लाग्छ । ठूलै गर्जनामा कराइरहेको छ– दरौंदी ।

नदीको तीर । बर्खाको नदी । चर्कोसँग उर्ली–उर्ली कराइरहेका । अरु बर्खामा कराउने झ्याउँकीरीहरु कता बेपत्ता कता ! रुख–रुखमा गीत उराल्ने चरा कता हराए कता ! टोड्का टोड्कामा बसेर कराउने कालिजहरु कता बिलाए कता ! विरह गाउने न्याउली कता छेलिए कता !

दरौंदीको ह्वाङ ह्वाङ गर्जनाले राङरुङको पाले भइयो– पुरै जागराम । नदीको गार्ड ! कानको ओखती चैं भएको हुनुपर्छ– दरौंदीको गडङ–गडङले !

दरौंदीले सबैलाई सोहोरेर पूरपार गर्‍यो । एकनासले उसकै गर्जनाले सबैलाई छोयो । गड्ङ –गड्ङ यही स्वर । स्वाँ… स्वाँ…. यही आवाज ।

म हेरिरहेको छु– सेता छालमा बटारिएर बगेका पानीका भँगाला । म पढिरहेको छु– निर्मल लहरमा हेलिएका पानीका भुँवरी । दरौंदीको आवाज रातको निरन्तरतासँगै बहन थाल्यो । चकमन्न रातमा झन् गर्जी–गर्जी कराउन थाल्यो– नदीको आभा ।

चर्को भएछ– सुकुटी माछा । दरौंदीको सिकार हो भन्ठानेर अल्याङमल्याङ गर्दै गोजेरो उक्साइयो । भाइले त यतिसम्म भन्न भ्याए– ‘नुन क्षेत्रकै माछा पो थिए कि हाम्ले खाएका ?’

राति चट्याङ पनि पर्‍यो । तिर्खा पनि लाग्यो । पहिराको डर पनि आइरह्यो । लामखुट्टेले डसेर हैरान पनि भइरह्यो । बढ्ता त दरौंदीको होहल्लाले कान बजिरहे एकोहोरो ।

मेरा कच्पल्टिला आँखा देखेर बिहान भाइले सोधे– ‘निद्रा परेन ?’ मैले भनी छाडें– ‘रात रुङ्न राङरुङ आइएको रहेछ !’ हुन पनि गोर्खाको यो अभेगमा पुग्दा आँखाले आराम पाएनन् । दरौंदीको ह्वाङ ह्वाङ गर्जनाले राङरुङको पाले भइयो– पुरै जागराम । नदीको गार्ड !
कानको ओखती चैं भएको हुनुपर्छ– दरौंदीको गडङ–गडङले !

नयाँघरेका अघिल्ला रचनापनि हेर्नुस्

सुरमुचेको एक्लो घर !

टोपीटाले भेट्न खोल्सी !

निबन्ध : गौचरनको स्वर

रोड्याइँ !

एक जोर नाङ्ला

हिउँको बाढी रातनाङ्गेमा !

कविता खोज्न ओलङ्गङतिर !

भुल्दै–भुल्दै गोर्खालीको वीरता !

रुकुम हानेपछि ‘उपराष्ट्रपती’सहित होटेलतिर

रोसीका हजार छाल

त्रिशुलीमा ढिकीच्याउँ !

भानुको आलोकमा भाषा

फाप्लुतिर फुरफुर

खप्तडका लेकबेसी

डिल्लुको बाख्रो

(नयाँघरे मदन पुरस्कार बिजेता साहित्यकार, लेखक हुन्)

तपाइँको प्रतिक्रिया

फेसबुक