शनिबार, वैशाख ८, २०८१

गरिबीले वच्चा बेच्न बाध्य अफगानी जिवन

नेपाल प्लस२०७८ माघ १ गते १५:३१

Image credit-news.un.org

अफगानिस्तानमा अहिले पानी परिरहेको छैन । बरु भोकमरी परिरहेको छ । अत्यन्तै गम्भिर आर्थिक संकट र खडेरीका कारण खेती नहुँदा अफगानहरू अनिकालको मारमा छन् । तालिबान सत्तामा आएदेखि वैदेशिक आर्थिक सहयोग रोकिएपछि जनता झन गरिबीमा डुबेका छन् ।

काबुलको उचाइमा, शहरको पश्चिम भागस्थित पहेंलो पहाडहरूको मुन्तिर एउटा नीलो मस्जिद खडा छ । मस्जितमा केहि मानिसहरु पूजा गर्न हिंडिरहेका छन् । नजिकै एउटा चिहानपनि छ । त्यहि कार्ते साखी नामको चिहानको बीचमा साना केटाकेटीहरु घुम्छन् । हरेक दिन दर्जनौं केटाकेटीहरू पानी बोक्ने काम गर्न त्यहाँ भेला हुन्छन् । “म दुई वर्षदेखि आउँदैछु” ९ वर्षीय मुजघान भन्छन् ।

उनका स-साना हातहरू धुलोले छोपिएका छन् । उनले पानीले भरिएको भाँडो समातेर भने “म यो पानी आफ्ना प्रियजनहरूको चिहान सफा गर्न चाहनेहरूका लागि ल्याउँछु । हरेक चिहान धोएपछि म १० अफगानी (युरोमा ९ सेन्ट) कमाउँछु ।” पछिल्ला महिनाहरूमा संकट बढ्दै गएपछि आफ्नो परिवारलाई मद्दत गर्न उनी धेरै पटक त्यहाँ पानी बोक्न आएका छन् ।

राजधानीको बाहिरी भागमा रहेको चिहानभन्दा टाढा मुजघानको परिवारको घर छ । त्यो जीर्ण छ । सयेदी परिवारका आठ सदस्य १५ वर्ग मिटरमा सँगै बस्छन् । बुबा अब्दुलसयद सार्वजनिक विद्यालयमा मर्मतसम्भारको काम गर्छन् । “तालिबान आएदेखि मलाई तलब दिइएको छैन” उनी भन्छन् ।

सन् २००१ मा संयुक्त राज्य अमेरिका र अन्तर्राष्ट्रिय गठबन्धनद्वारा देश छोडेपछि तालिबानले अगस्टमा राजधानी काबुल कब्जा गर्‍यो । फेरि एकपटक देशमा शासन गर्न तालिबान आयो । अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण राज्यले निजामती कर्मचारीलाई तलब दिन सक्ने अवस्था छैन । तर खाद्य असुरक्षा यी प्रतिबन्धहरूको कारणले मात्र होइन । तीन वर्षदेखि ग्रामीण क्षेत्रमा खडेरीका कारण खाद्यान्न संकट परेको घटनास्थलका विभिन्न गैरसरकारी संस्था र सञ्चारमाध्यमले जानकारी दिंदै आएका छन् । हजारौं मानिस भोकमरीले गाउँ छोडेर पलायन भएका छन् ।

गत गर्मी याममा संयुक्त राज्यले अफगानिस्तान केन्द्रीय बैंकको भण्डार खाली गर्यो जुन ९५ करोड डलर थियो । वा अफगानिस्तानको आधा [जिडिपी अर्थात् पूर्ण घरेलू उत्पादन] हो । बैंकलाई गिर्नबाट जोगाउन त्यसो गरिएको भन्ने उनीहरुको भनाई थियो । त्यो तालिवानको हातमा थिएन ।

त्यसपछि बैंकिङ प्रणाली ध्वस्त भयो । देशमा मुद्रास्फीति बढ्यो । केही महिनामा अफगान मुद्राले आफ्नो मूल्यको एक चौथाइ गुमायो जसले गर्दा खाद्यान्नको मूल्य विस्फोट हुन पुग्यो । यहि बेला धेरै अन्तर्राष्ट्रिय सहायता एनजीओहरूले देश छोडेका छन् । बहुमूल्य मानवीय सहायताबाट जनतालाई वञ्चित गर्दै ति हिंडे ।

Image credit-news.un.org

अफगानिस्तानमा राजनीतिक एक्लोपन छ । जस्तै- छिमेकी देशहरूसँगको सिमाना बन्द छ । काबुल एयरपोर्टमा गतिविधि कम छ । यात्रु छैनन् । आम्दानी सुकेको छ । त्यसले व्यापारलाई गम्भीर रूपमा प्रभावित गरेको छ ।

मानवीय प्रकोपबाट खतरामा परेको देशको लागि भविष्य सुरक्षित गर्न संयुक्त राष्ट्र संघले मंगलबार (जनवरी ११) मा यस वर्ष अफगानिस्तानलाई आर्थिक सहायताका लागि पाँच अर्ब डलरको माग गरेको छ । “यो एउटै देशको लागि गरिएको सबैभन्दा महत्वपूर्ण अपील हो” संगठनले एक विज्ञप्तिमा भन्यो ।

“मलाई मेरा छोराछोरीलाई काममा लगाउन मन पर्दैन । तर हामीसँग कुनै विकल्प छैन” अब्दुलसयद भन्छन् ।

उनकी श्रीमती राइसा उनको छेउमा बसेकि छिन् । “हामीले सक्दा हामी आलु खान्छौं” उनी भन्छिन्, “तर केही दिन हामीले खान पाउँदैनौं ।

निराशा र भोकले ग्रसित, अब्दुलसयदले आफ्नी एउटी छोरी ४ वर्षीया मारवालाई एक लाख अफगानीम वा ९०० युरोमा बेच्ने विचार गरे । अब्दुलसयदले क्रेता खोज्दै गर्दा एक छिमेकीले उनलाई पीठोको झोला दिएका थिए । “केही हप्ता खान पुग्छ” उनले भने । तर जाडो सुरु भएसँगै बाँच्नका लागि आफ्नो एउटा सन्तान बेच्न बाध्य हुने डर उनमा छ ।

अफगानिस्तानको दुर्गम क्षेत्रका गरिब परिवारहरूमा जवान केटीहरूको बिक्री लामो समयदेखि हुने गरेको छ । तर संकट बढ्दै जाँदा घटना ठूला शहरहरूमा फैलिएको छ । तिनीहरू सामान्यतया कम उमेरमै विवाह गर्न अभिप्रेरित हुन्छन् । तर जबरजस्ती तिनलाई कठिन श्रमको काम गर्ने सन्जालमापनि लग्ने गरिन्छ ।

आज, अस्पतालबाट बाँचेर फर्किएकाहरुले रेडक्रसको अन्तर्राष्ट्रिय सहयोगका लागि धन्यवाद दिएका छन् । तालिबान फिर्ता भए पनि धेरै अन्तर्राष्ट्रिय संगठनहरू बाँचेका छन् । र तिनीहरूलाई बलियो बनाउनु पर्छ । किनभने डिसेम्बर २२ मा संयुक्त राष्ट्र सुरक्षा परिषदले एक वर्षको लागि मानवीय सहायताको सुविधा दिने प्रस्ताव पारित गर्यो । तर जाडोको सामना गर्न अझै पनि साधनको अभाव छ । “हरेक हप्ता हजारौं नयाँ अफगानहरूले हामीलाई मद्दतको लागि सोध्छन्” संयुक्त राष्ट्र शरणार्थी एजेन्सी (युएनएचसिआर) का प्रवक्ता बाबर बलोचले बताउने गरेका छन् ।

“यो संकटको शक्ति अभूतपूर्व छ । राज्य सुरक्षाको संजालबिना अत्यधिक संख्यामा अफगानीहरु गरीबीमा पर्ने छन् । संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडिपी) को प्रतिवेदनले कुनै कदम चालिएन भने ९७ प्रतिशत अफगानीहरू सन् २०२२ को मध्यसम्ममा गरिबीमा झर्ने संकेत गरेको छ । काबुलको बाहिरी भाग जलालाबाद जाने बाटोमा रहेको शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तको केन्द्रले विस्थापित अफगानहरूका लागि नगद प्राप्त गर्दछ ।

“आज, युएनएचसिआरले प्रति परिवार ५०० डलर भन्दा बढी अनुदान दिनेछ” अहमद सत्तारले भने । त्यसले वितरणको निरीक्षणसमेत गर्दछ । यो सहयोगबाट दुई सय परिवार लाभान्वित हुनेछन् । कुल चार करोड जनसंख्या मध्ये ३५ लाख अफगानीहरू विस्थापित छन् । ति मुख्यतया युद्धको कारणले बिस्थापित भएका हुन् ।

तर धेरै ग्रामीण क्षेत्रहरूमा खराब कृषिको कारणले गरिबीबाट भागिरहेका छन् । यो घटना वर्दक प्रान्तका फैज मोहम्मदको हो जो त्यो दिन केही पैसा उठाउन आएका थिए ।

उनको उमेर ५२ वर्षको भयो । तर उनको सेतो दाह्री र कोरिएका विशेषताहरू युद्ध र भोकलाई चिनेका धेरै अफगानीहरू जस्तै ऊनी दस वर्षभन्दा जेठा देखिन्छन् । उनी भन्छन् “म किसान थिएँ । गहुँ र आलु खेती गर्थेँ ।”

“तीन वर्षअघि पानी पर्न रोकिएको थियो । त्यसयता केही उम्रेको छैन, उम्रेको बाली बढ्न पाएको छैन । त्यतिबेला उनी जागिरको खोजीमा गाज्नी गएका थिए । सफलता मिलेन । उनी पाँच महिनाअघि काबुल गए फेरि ।

“मेरो परिवार भोकै थियो” उनले टाउकोमा हात राख्दै भने । उसले आफ्नो भिजेको गाला पुछे । त्यसपछि भन्दै गए “मैले उनीहरूलाई आर्थिक रूपमा सहयोग गर्न सकिन । हामी खडेरीका सिकार भयौं । देशको दक्षिणी भागस्थित कान्दाहारको बाहिरी भागमा रहेको रेगी गाउँको एउटा सानो फार्म सडकको छेउमा छ । कम वर्षा र पुरातन सिँचाइ प्रविधिहरुले उब्जनी हुन सकेको छैन ।

कुदरत आफ्नो कुखुराको खोरबाट केही गजको दूरीमा कम्बल ओछ्याएर बसेका छन् । हातमा चिया छ । उनी पानी नपाएर पहेंलो बनेको खेतहरू हेर्छन् । “म पशुको दाना र गहुँ रोप्छु” युवा किसान भन्छन् “तर पछिल्ला दुई वर्षमा हामीले हाम्रो उत्पादनको ७० प्रतिशत गुमाइसकेका छौं ।

उनले चियाको चुस्की लिंदै भने “यो पानीको पाइप मेरो खेतको सिमानामा पर्ने खाडलजस्तै खाली छ । तर विगतका वर्षहरूमा पानीले भरिएको थियो ।”

“आवश्यक भए पनि आपतकालीन मानवीय सहायताले अफगानिस्तानले सामना गरिरहेको संरचनात्मक समस्याहरू समाधान गर्न सक्षम हुनेछैन” फ्रान्सको लियों शहरस्थित लियों २ विश्वविद्यालयका भूगोलविद् र अनुसन्धान निर्देशक फेब्रिस बालान्चे भन्छन् “अफगानिस्तानको जनसंख्या बढ्दै गएको छ । यसले पानीको पहुँचमा ठूलो समस्या निम्त्याउँछ ।

उनका अनुसार खडेरी प्रत्यक्ष रूपमा जलवायु परिवर्तनसँग जोडिएको छ । सन् १९७० को दशकदेखि मध्यपूर्व क्षेत्र र छिमेकी देशहरूमा वर्षामा क्रमशः कमी आएको छ । गरिबी र ग्रामीण इलाकामा तालिमको अभावले पानीको तनावलाई अझ बलियो बनाएको छ । पुरातन सिंचाई प्रविधिको कारण पानी खेर जान्छ । यसका लागि स्प्रिंकलर, ड्रिप सिंचाई गर्नुपर्ने हुन्छ । यसका लागि इन्जिनियरहरूले किसानलाई तालिम दिनुपर्ने हो । तर युद्धका कारण उनीहरूले काबुल छोडेनन् ।

खराब बालीले मुख्यतया ग्रामीण इलाकामा खाद्य असुरक्षालाई बलियो बनाएको छ । “अफगानिस्तानको जनसंख्याको ७० प्रतिशत भूभाग ग्रामीण छ” फाब्रिस बालान्चे टिप्पणी गर्छन् । यी ग्रामीण मानिसहरूले आफ्नो घट्दो बालीबाट फाइदा लिन असमर्थ त छन् नै, ति एक्लिएका, बेवास्ता गरिएकापनि छन् । तिनीहरूसँग मानवीय सहायतामा पनि कम पहुँच छ ।

ठूला शहरहरूमा जसको पहुँच छ तिनलागि लामो अवधिसम्म खाद्य सहायता अफगान अर्थतन्त्र र उनीहरूको क्रय शक्तिको लागि हानिकारक हुन सक्छ । संयुक्त राष्ट्रका एजेन्सीहरूद्वारा आयात गरिएको खाना निःशुल्क दिइन्छ । त्यसैले यसले स्थानीय बजारमा विकृति ल्याउने संभावना छ । फलस्वरूप स्थानीय उत्पादनको मूल्य बढ्ने फेब्रिस बालान्चेको भनाइ छ । यसले कृषकलाई उत्पादन गर्न प्रोत्साहित गर्दैन । “यो वर्ष सबै किसानले अफिम लगाएका छन्” उनी भन्छन् ।

खडेरीको सामना गर्न धेरै किसानहरू अफिमको खेतीमा लागे । यो बिरुवा कठिन मौसममा बाँच्न सक्छ । पानी धेरै नभएपनि हुर्कन्छ । त्यसले किसानलाई आर्थिक सुरक्षा ल्याउँछ ।

कुदरातको फार्मबाट केही किलोमिटर टाढा मोहम्मदले दुई वर्षदेखि यो खेती गर्दै आएका छन् । “पानीको अभावमा गहुँ बढ्न सक्दैन । त्यसैले हामीले अफिम खेती गर्ने निर्णय गर्यौं । स्थानीय व्यापारीहरूले किनेको हाम्रो उत्पादन त्यसपछि निमरोजमा जान्छ जहाँ यसलाई प्रशोधन गरिन्छ । त्यसपछि इरानको सीमा पार गरी युरोपलाई हेरोइन आपूर्ति गर्न सकिन्छ” मोहम्मद भन्छन् ।

मोहम्मदसँगै उनको खेतमा लगभग पन्ध्र किसानहरू छन् । ति सबै अफिम खेति गर्छन् । तिनीहरूमध्ये एक समीर हुन् । उनले बीउले भरिएको बोरा दिए । “हामीले अर्को सिजनको लागि बीउ रोप्यौं” उनी मुस्कुराउँदै भन्छन् ।

मोहम्मद आफ्नो खेतमा फर्केर भन्छन् “हामी पोपी (अफिम बनाउने विरुवा) बिना बाँच्न सक्दैनौं । संकट र खडेरीका कारण यस वर्ष सबै किसानले अफिम खेती गरेका छन् । ”

(फ्रान्सेली भाषाको पत्रीका रपोतेयरको आलेखलाई नेपाली भाषामा अनुवाद गरिएको हो-संपादक)

तपाइँको प्रतिक्रिया

फेसबुक