बिहीबार, वैशाख ६, २०८१

धनगढीमा एनआरएनएद्वारा रगत बोक्ने ‘घुम्ती बस’ हस्तान्तरण

नेपालप्लस संवाददाता / कैलाली२०७८ माघ ३ गते १४:२९

गैर आवाशीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तसहितको एक टोलीले धनगढीस्थित रेडक्रस सोसाईटीलाई मोबाइल ब्लड बैंक बस सोमवार हस्तान्तरण गरेको छ ।

हरेक प्रदेशलाई ब्लड बैंक बस हस्तान्तरण गर्ने एनआरएनएको योजना अन्तर्गत् संघले सुदूर पश्चिम प्रदेशलाई उक्त बस हस्तान्तरण गरेको हो । संघले यस अघि यस्तै बस भरतपुर नगरपालिकालाई हस्तान्तरण गरेको थियो । देशका सबै प्रदेशलाई मोबाईल बलड बैंक बस हस्तानतरण गर्ने यो अभियानको संयोजक संघका सचिव गौरी राज जोशी हुन् ।

गैह्र आवाशिय नेपाली संघका सचिव गौरीराज जोशीले नेपालप्लसलाई दिएको जानकारि अनुसार एनआरएनको घुम्ती रगत बस परियोजनाकालागि संघले नेपाल रेडक्रस सोसाईटी कैलालीसँग सहकार्य गरेर यो परियोजना अगाडि बढाएको हो ।

यो सेवा बिस्तारपछि मौसम प्रतिकूलताको बेला पनि रगत संकलन गर्न अब सहज हुनेछ । “घुम्ती रगत बस परियोजनाले रगतको संकलन तथा भण्डारणमा सहज बनाउँछ । रगतको व्यवस्थापनलाई गुणस्तरीय र सर्वसुलभ बनाउन मद्दत गर्ने छ” संघका सचिव गौरी जोशीले नेपालप्लससित भने ।

जोशीका अनुसार सुदूरपस्चिमको धनगढी अर्को मेडिकल सिटीका रुपमा बिकास भैरहेको क्षेत्र भएकालेपनि संघले दोस्रो बस हस्तान्तरणको प्राथमिकता कैलाली जिल्लालाई दिएको हो ।

हाल कैलाली क्षेत्रमा रगतको माग बढेपनि आपूर्ति त्यहि अनुपातमा बढेको छैन । धेरै गर्मि र धेरै चिसोको बेलामा रक्तदान घट्ने गरेको छ । जसलेगर्दा रगत नभई नहुने थालासेमिया, हेमोफिलिया, किड्नी रोगी, हृदय रोग र रक्तक्यान्सर रोगीका लागि झन समस्या हुने गरेको छ ।

“रगतको अभावमा काठमाडौँ गएर रक्तसंचार सेवा लिनुपर्ने अवस्थाले धेरै विरामीले समयमै उपचार पाएका छैनन् । अबको रगतको खाँचो यो घुम्ती सेवाले पुरा गरिदिने छ भन्ने हामीले बिश्वाश लिएका छौं” जोशीले भने ।

बस हस्तानतरण कार्यक्रममा अध्यक्ष पन्तसहित पूर्व अध्यक्ष जीवा लामिछाने, उपाध्यक्ष डा. बद्री केसी, महासचिव डा. हेमराज शर्मा, कोषाध्यक्ष महेश श्रेष्ठ, सल्लाहकार कुल आचार्य, प्रवक्ता डिबि क्षेत्री, मानार्थ सदस्य धर्मराज अधिकारीलगायतको टोली संलग्न छ ।

अभियानका संयोजक गौरी जोशीले यो अभियानलाई नेपालका सबै प्रदेशमा पुर्‍याईने जानकारि नेपालप्लसलाई दिँदै भने “थोरै भएपनि मातृभूमिको सेवा गर्न पाउँदा सबै गैर आवाशीय नेपालीहरु खुशि भएका छौं । अभियानको संयोजक भएर काम सफल हुँदा यतिखेर मैले यो अभियानमा हातेमालो गर्ने सबैलाई स्मरण गरिरहेको छु । सबै गैर आवाशीय नेपालीहरु यो अभियानमा धन्यावादका पात्र हुन् ।”

तपाइँको प्रतिक्रिया