आइतबार, मंसिर १८, २०७९

ति पानीका फोका, त्यो कट्टुको पसल

कृष्ण शर्मा२०७८ माघ ८ गते ४:२६

शान्त सागरको समतल सतहमा म चेप्टो ढुंगा फ्याँक्छु । मेरो हातबाट प्रवाहित शक्तिको परिणाम स्वरुप त्यो ढुंगा जरायो जस्तै सकेसम्म गुरुत्वहिन हुँदै केहि कदम पार गर्छ । तर अन्तिम कदमको बोझलाइ सामना गर्न सक्दैन । अनि डुब्दछ ।

त्यस्तै चेप्टो ढुंगा म उर्लंदो खोलाको पानीमा त्यस्तै तवरले फ्याँक्छु । तर पानीको उतार चढावले त्यस ढुंगाको गतिलाइ टाढा पुग्न नपाउँदै निलिदिन्छ ।

त्यस्तै चेप्टो ढुंगा म त्यहि तवरमा समतल जमीनमा फ्याँक्छु । ढुंगा त्यति टाढा पुग्दैन जति मैले आशा गरेर फ्याँकेको हुन्छु । खस्छ कतै । पहाडको फेदबाट म त्यस्तै ढुंगा माथि फ्याँक्छु । त्यति माथि पुग्दैन ढुंगा । तर त्यस्तै ढुंगा म माथि देउरालीबाट तल तिर फ्याँक्छु । ढुंगा बत्तिंदै अलिक टाढा तल कतै पुग्छ र जमीनमा खस्छ ।

म शान्त प्रकृतिसँग दिनहुँ आफ्नै लहडी स्वभाव अनुसार यस्तै यस्तै प्रकारले साक्षात्कार गरिरहेको हुन्छु । मेरो कर्मको सिमा चेप्टो ढुंगा मेरो हातबाट फुस्कने अवधिसम्म मात्र रहन्छ । त्यसपछि मसँग केहि रहँदैन ।

कर्मले दिने फल पनि मसँग रहँदैन । अनि त्यो एउटै कर्मको परिणामपनि अवस्थिति अनुसार फरक फरक आउँछ । म जरायो जस्तै उफ्रिरहने मन लिएर शान्त सडकमा सधैं हिंडिरहेको हुन्छु । तर प्रयास चाहीं यहि रहन्छ कि म सधैं आफू हिंड्ने सडक जस्तै, त्यो तालको पानी जस्तै, त्यो मिलौं माथि आकाशमा आफ्ना पखेटाहरु फैलाएर तैरिरहेको जस्तो देखिने चिल जस्तै भित्रै देखि नै शान्त रहन सकुँ । तर मेरो मन दिउँसोको असन बजार जस्तै सधैं कोलाहलपूर्ण छ । हरदम बिचारहरुको वर्षात भैरहेको हुन्छ मेरो मनमा । अनि मेरो मष्तिस्कले शान्त बन्ने प्रयासमा त्यो वर्षातले सृजना गरेका पानीका फोकाहरु फुटाल्ने प्रयत्न गरिरहन्छ । मष्तिस्कले बुझिरहेको हुन्न ति पानीका फोकाहरु त केहि बेरमा आफैं फुट्छन र बिलाउँछन भन्ने कुरा ।

ति साँझहरु टुप्लुक्क बास माग्न आउँछन मेरो स्मृतिको मझेरिमा जुन साँझहरुमा हामी कट्टुको पसलमा रक्सि र पीडाका आँसु सँगसँगै पिईरहेका हुन्थ्यौं । मातेर डेरामा पुगेका रात रक्सि धेरै पिएका हुन्थ्यौं भने मन हल्का भएका रातमा आँसु धेरै पिएका हुन्थ्यौं ।

प्रकृतिलाइ नबुझिकनै हामि शान्त हुनका लागि पानीका फोका फुटाल्ने क्रममा जीवनभर यता उता पानीमै चोपल्लिरहेका हुन्छौं र फोकाहरु सृजना गर्दै फुटाल्दै गरिरहेका हुन्छौं । बुद्ध, लाओत्से लगायत एकाध ब्यक्तिका हकमा बाहेक क्रम भंग भएको छैन ।

धेरै पछि हिजो फेसटाइममा दाजु प्रेमसँग कुरा भयो । सम्झनको लागि भन्ने नै हो भने मैले आफ्नो वाल्यकाल, विद्यार्थीकाल एबं बयस्कावस्था समेतका धेरै वर्ष उहाँसँग बिताएको छु । धेरै स्मृतिहरु बसेका छन मस्तिष्कको तह तहमा । तरपनि उहाँ कोरियाबाट फर्केपछिका ति काठमाडौंका संघर्षशील दिनहरु नै सबैभन्दा पहिले दिमागको बैठक कोठामा बस्न आइहाल्छन । त्यस मध्ये पनि ति साँझहरु टुप्लुक्क बास माग्न आउँछन मेरो स्मृतिको मझेरिमा जुन साँझहरुमा हामी कट्टुको पसलमा रक्सि र पीडाका आँसु सँगसँगै पिईरहेका हुन्थ्यौं । मातेर डेरामा पुगेका रात रक्सि धेरै पिएका हुन्थ्यौं भने मन हल्का भएका रातमा आँसु धेरै पिएका हुन्थ्यौं । मलाइ थाहा छैन स्मृतिको गर्भमा किन ति दिनहरु नै छरपष्टिएर आउँछन अरु दिनहरुलाइ कोषौं पछाडिछोडेर ।

संयोगबश प्रेम दाजु पनि मेरो याद आयो कि तिनै दिनहरुको शरणमा पुगेका हुँदा रहेछन । फेसटाइममा भलाकुसारि पछि कट्टुको पसलमा बितेका क्षणहरुबारे धेरै बेर गफियौं हामी ।

आखिर जीवन भनेको अल्झिरहने उपाय बाहेक अरु के नै पो रहेछ र खै । क्लिन्टन जस्ता मान्छे समेत खस्कने रहेछन…

मलाइ सम्झना छैन त्यो पसलको नाम के थियो । शंकरदेव क्याम्पसबाट पुतलिसडकको बाटो काट्नासाथ बाँसघारि तिर जाने बाटोको बायाँपट्टि थियो त्यो सानो पसल जसमा दिउँसो नजिकैका प्रिन्टिंग प्रेसमा काम गर्ने मानिसहरु खाजा खान आउँथे । तर साँझमा भने त्यो पसल त्यति ब्यस्त हुँदैनथ्यो । युवा युवति तान्ने त्यति चमक धमक थिएन त्यस पसलमा । सस्तो थियो । त्यसैले हाम्रा लागि चाहिं ठिक थियो । खानेकुरा स्वादिस्ट हुने र हाम्रो डेराबाट त्यति टाढा नभएको हुनाले पनि हामी सधैं त्यहीं जान्थ्यौं । प्रेमलाइ मन पर्ने तरिकाले माछा तारेर पस्कने हुनाले पनि त्यो पसल प्रेमका लागि अति प्रिय थियो । प्रेमको लागि प्रिय मेरोलागि पनि प्रिय हुने नै भयो।

त्यस पसलका धनि नेवार समुदायका थिए । म अनुमान गर्न सक्छु, हामी भन्दा त्यस्तै सात आठ वर्ष जेठा हुँदा हुन् । हामीले उनलाइ पुष माघ महिनाका ति शरिरनै डल्लो पर्छ कि जस्तो गरि कठ्यांग्रिंदा चिसा रातमा पनि कट्टुमै देख्यौं । त्यसैले हामीले मात्र बुझ्ने गरि त्यस पसलको नाम कट्टुको पसल राखेका थियौं । म कामबाट फर्कने समयमा प्रेमले फोनको बूथबाट भन्थे, “तिमी कट्टुको पसलमा आउ, म त्यहिं हुन्छु ।” अनि हामी दाजु भाइ कट्टुको पसलमा भेट्थ्यौं र खाजा खान थाल्थ्यौं । पैसा भएको दिन पिउथ्यौं पनि । बिल्कुल भद्र तरिकाले पिउथ्यौं जस्तो लाग्छ हामीले । भद्र तरिकाले रास्ट्रिय अन्तर्रास्ट्रिय परिघटनाको सिंहावलोकन गर्थ्यौं। भद्र तरिकाले आ-आफ्ना तर्क राख्थ्यौं अनि भद्र तरिकाले नै पैसा तिरेर निस्कन्थ्यौं ।

हामी बस्ने टेबल कट्टु दाइको काउन्टर नजिकै हुन्थ्यो । हामी भित्र छिरे पछि कट्टु दाइले यन्त्रवत हामीलाइ मौसम अनुसार या त चिसो बियरका बोत्तल ल्याउँथे या व्हिस्कि वा रम । पैसा नभएको दिन हामी ति टक्र्याइएका पेय पदार्थ छुँदैनथ्यौं । उनले बुझ्दथे । केहि समय पछि फिर्ता लैजान्थे । अनि भान्सा भित्र गएर छोईला, चिउरा, भटमास, लसुन, प्याज, खुर्सानी सहित दुइ वटा प्लेट ल्याउँथे । बिचमा खसिको टाउको फ्राइ ल्याउँथे । त्यसपछि माछा तारेर ल्याउँथे । आमालाइ जस्तै उनलाइ पनि हाम्रो खानकि, नून, मसला र खुर्सानीको मात्रा सब थाहा भैसकेको थियो ।

कहिलेकाहिं दुबै जनासँग बाहिर खाजा खाने पैसा नभएका बेलामा भने हामी डेरामै बस्थ्यौं । तर कहिल्यै उधारोमा खान जाँदैनथ्यौं। केहि दिनको अन्तरालमा जाँदा उनि अलिक हँसिला देखिन्थे । खाना पनि अलिक धेरै हालेर ल्याउँथे ।

मैले मनमनै लल्कारिरहेको हुन्थें, “साला, काठमान्डौ, तँ धनि छस त तेरै लागि; मलाइ छुः मतलब । तर बुझिराखः म पनि पढेको मान्छे हुँ ।”

सन् १९९८ को एक साँझको कुरा हो । हामी कट्टुको पसलमा थियौं । त्यस रात अमेरिकामा राष्ट्रपति विल क्लिन्टन माथि महा-अभियोग लगाउने वा नलगाउने भन्ने बारे तल्लो सदनमा चर्को बहस चलिरहेको थियो । दि राइजिंग नेपालमा रिपोर्टिंग गर्ने हुनाले मेरा प्रिय सम्पादक बिजय लाल श्रेष्ठको सुझाव अनुरूप आफ्नो लेखनि राम्रो बनाउनका लागि “टाइम” र “दि इकोनोमिस्ट” नामक साप्ताहिक अंग्रेजी पत्रिकाहरुको नियमित ग्राहक बनेको थिएँ । टाइम म्यागजिनको पहिलो पेज विल क्लिन्टन र मोनीका लेविन्स्किको रंगीन फोटोले भरिएको थियो । ति पत्रिकाहरु हातमा हल्लाएर काठमाडौंका गल्लिमा हिंडदा खै कस्तो मादकताले छुन्थ्यो कुन्नि, मैले मनमनै लल्कारिरहेको हुन्थें, “साला, काठमान्डौ, तँ धनि छस त तेरै लागि; मलाइ छुः मतलब । तर बुझिराखः म पनि पढेको मान्छे हुँ ।” कठै त्यो घोर अज्ञानता, त्यो अन्धो मादकता ।

हामीले त्यस साँझ क्लिन्टन-लेविन्स्कि स्क्यान्डलको बारेमा धेरै कुरा गर्यौं। सिग्मण्ड फ्रायड्को यौन मनोबिज्ञानका कुरा गर्यौं । हिलारि क्लिन्टन सेतो घरमा श्रीमति भन्दा आमा एबं वकिलको ब्यक्तित्व एबं भूमिकामा बढि प्रस्तुत भएकोले विल क्लिन्टन बाहिर बढि बरालिएका हुन सक्छन् भन्ने केहि पत्रिकाका अनुमान पत्रकारिताका बारेमा कुरा गर्यौं । हामीलाइ थाहा थिएन, कट्टु दाइले हाम्रो कुरा चासो मानेर सुनिरहेका छन भन्ने ।

हामीले बिल माग्दा उनले भने, “यि दुइ पेय मेरो तर्फबाट।।। कृपया कुरा सकाउनुस न । मैले तपाइहरुको जस्तो गहन बिश्लेषण स्कुल छोडेको धेरै वर्ष पछि सुन्दैछु ।”

त्यस साँझ उनले “टाइम”पत्रिका आफ्नो घर लगेर पढ्नका लागि सापटि मागे । हामीले दियौं । केहि दिन पछिको एक साँझ हामी पसल छिर्नासाथ उनले खाजाको पैसा नलिने घोषणा गरे । त्यस रात उनले डिनरको लागि निकै मेहनत गरेर खसिको पकुवा अनि शुद्ध घिउ हालेर पुलाउ बनाएका रहेछन । त्यस रात हामीले उनको कथा सुन्यौं ।

हामीले उनलाइ पुष माघ महिनाका ति शरिरनै डल्लो पर्छ कि जस्तो गरि कठ्यांग्रिंदा चिसा रातमा पनि कट्टुमै देख्यौं । त्यसैले हामीले मात्र बुझ्ने गरि त्यस पसलको नाम कट्टुको पसल राखेका थियौं ।

पश्चिम बझांगका नेवार रहेछन उनी । बाबुको त्यहाँ एक सानो किराना पसल रहेछ । बुबाकै जोडबलमा बुढानिलकन्ठ स्कुलमा छात्रबृत्तिमा पाँच कक्षादेखि पढेका रहेछन। एस एल सि सकाएर घर जाँदा उनै बाबुले कान्छी आमा ल्याएको र आफ्नी आमालाइ हेला गरेको देखे पछि आमालाइ बस चढाएर कहिल्यै बझांग फर्कनु नपरोस भनी काठ्माडौं ल्याएका रहेछन । आमालाइ सुख दिन्छु भनेर ल्याएपछि दुख दिन त भएन भन्ने सोची रेस्टुरामा वेटर काम शुरु गरेछन ।

“अर्काकोमा कति गर्ने भनी यो पसल खोलें । त्यस पछि त यहिं पो अल्झिरहेछु । आखिर जीवन भनेको अल्झिरहने उपाय बाहेक अरु के नै पो रहेछ र खै । क्लिन्टन जस्ता मान्छे समेत खस्कने रहेछन…. मैले त बुबालाइ भेट्न जाने निधो पो गरेको छु । एक्लो छोरो हुँ । कान्छिआमाबाट सन्तान भएका छैनन रे । मलाइ देख्न पाए सजिलै सास जान्थ्यो कि भन्छन रे आजकल ।”

डेरा फर्कंदै गर्दा प्रेम दाजुले भन्दै हुनुहुन्थ्यो, “पीडाका कथा नभएको कोहि होला र यो दुनियाँमा… पूर्व अमेरिकि राष्ट्रपति क्लिन्टन पनि त पीडामै होलान अहिले । राष्ट्रपति हुँदै त कैयौं रात सोफामै सुत्नु परेका कथा भन्छन ….”

“पीडाका कथा नभएको कोहि होला र यो दुनियाँमा… पूर्व अमेरिकि राष्ट्रपति क्लिन्टन पनि त पीडामै होलान अहिले । राष्ट्रपति हुँदै त कैयौं रात सोफामै सुत्नु परेका कथा भन्छन ….”

मैले उहाका कुरा सुन्दै सिंहदरबारको उत्तरि पर्खाल र बैधखाना बिच हुँदै जाने बाटोबाट माथि नीलो आकाशमा अडिएको सेतो चन्द्रमा देखेर मुस्कुराएँ। त्यो साँझ हामीले खाजाको पैसा पनि रक्सिमा नै लगाएको हुनुपर्छ, अलिक बढि नै पिएका रहेछौं ।

म शान्त हुन खोज्दै गर्दा कट्टु दाइलाइ सम्झन्छु । अहिले सम्झँदा अचम्म लाग्छ । हामी दुबैलाइ थाहा छैन ति दाइको नाम के थियो । शायद कहिल्यै सोधेनौं होला । कहिलकाहिं लाग्छ, मन पानीको फोकाको पछि दौड्दाको मजा पो मजा । बिचारहीन हुनको लागि त जीवनका अन्तिम वर्षहरु बाँकि नै छन ।
“कि सकिए?”
“होइन होला ….”
“ए, हो र भन्या …”
“त्यसो भए त फसाद पो भयो …”
“तर केहि छैन । प्रकृतिले नै बिचारशुन्य बनाइदिन्छिन हामीलाइ जीवनका ति अन्तिम क्षणहरुमा जसरि धेरै मानिसहरुलाइ बनाउँदै आईरहेकि छिन ।”

कृष्ण शर्माका अघिल्ला रचनापनि हेर्ने कि ?

भाङको सत्यले चिमोटिएको बेला

जिवनलाई उत्कर्षमा पुर्‍याउने आनन्ददायी बानीहरु

तपाइँको प्रतिक्रिया