शुक्रबार, असोज २१, २०७९

ब्यक्ति ब्यक्तिको ईतिहास जोडिएको घर-घरको कथा

सुशिल देवकोटा२०७८ माघ ६ गते २२:३७

करिव साँढे एक महिना अघि ‘बुवा सिकिस्तै बिरामी’ भन्ने खबर आएपछि म वहाँको अवस्था बुझ्न र सक्दो हेरचाह गर्न हतारिदैँ अमेरिकाबाट नेपाल लागेँ । मृत्युको मुखबाट बचेर अहिले राम्रो स्वास्थ लाभ गरेको देखेर एकदमै खुशी लाग्छ । मलाई वेज्ञानिकका रुपमा मधुमेह के हो, किन हुन्छ, उपचार कसरी गर्ने, मोलिक्युलर तत्वको स्तरको जिवन कति हो, सबै थाह छ । तर यी सबै ज्ञान भएरपनि आफ्नै परिवारमा जिवन-मरणको अवस्थामा ज्ञान भन्दामाथि प्रेमले कसैलाई नगुमाउनु परोस् भनेर डरको श्रृजना गर्दो रैछ । प्रेम पनि बाँडेर गर्नु पर्दो रैछ । नेपाल पुगेपछि फेरि यहाँ छोडेर गएको छोरी, श्रीमतीको माया लाग्ने । निकै गहिरो चिज यो माया भन्ने ।

म आज घरको कुरा गर्न गइरहेको छु । नेपालमा हप्तौँसम्म बुवाको छेवैमा बसेर पुराना फोटोहरु हेर्दै गर्दा मलाई मेरो घर कसरी बन्यो भन्ने कौतुहलता लाग्यो । मेरो बाल्यकालका मैले सम्झना गरेका प्रत्येक यादहरु घरसँग जोडिएका छन् ।

घर हाम्रो खम्बा हो जसको जगमा हामीले आफ्नो जिवनको रेखा कोर्छौँ । तर, जिवनमा अगाडी बढ्ने क्रममा हामी आफैँ बसेको घरको इतिहास थाह पाउन्नौँ । यो मेरो घरको मात्र कथा हैन । हजुरहरु पनि आफु हुर्केको घरको बारेमा बुझ्नुस्, अनि आफैलाई बुझ्नुस् भन्ने आग्रह हो । घरको कथा नै परिवारको कथा हो ।

कथा मेरो हजुरआमाबाट सुरु हुन्छ (आमाको आमा)। ९१ वर्षीय हजुरआमा गजबै राम्रो स्वास्थ्यमा हुनुहुन्छ । राडोको घडी लगाएर मसिना सुई सजिलै देख्नु हुन्छ । मज्जाले रामायण पढ्नु हुन्छ । त्यो बेलाको समाजमा कलिलो उमेरमै एउटा मात्र छोरी पाएको बेला विधुवा हुनुभएकोले होला मायालु हुनुहुन्छ । तर कडा हुनुहुन्छ । कुनै बकवास, नाटक होइन कि लागेको कुरा सिधै प्रहार गर्ने, भन्ने । भनेपछि मेरो आमा नै वहाँको एक्लो सन्तान हुनुहुन्छ ।

करिब २०-२२ साल तिर ‘कति एउटा छोरी लिएर माइत बस्नु’ भनेर माइत नजिकै जग्गा खोज्ने काम शुरु भएछ । हजुरआमाका अनुसार त्यो बेलाको ३०० रुपैँयामा करिब एक विगाह जग्गा अहिलेको कर्णाली राजमार्ग नजिकै किनियो । २०२६ सालमा सानो ४ कोठाको ढुंगा र माटोको घर बन्यो जहाँ मेरो आमा र हजुरआमा बस्न थाल्नुभयो ।

परिवर्तन भनेको पत्थर हटाएर टिन हालियो । यही घरमा मेरो आमा-बुवाको विहे भयो । मेरा दुई दिदीहरुको जन्म पनि भयो । कुरो के भने, मेरो आमा एक्लो सन्तान भएकोले मेरो वुबा अहिलेको हेपेर बोलिने भाषामा ‘घर-ज्वाई’ बस्नु भयो । त्यो ३०० रुपैँमामा किनेको जग्गा अलिकति ज्वाईको नाममा पास भयो ताकी ज्वाईले आफ्नै घर बनाउन सकुन् । हजुरआमा अहिले पनि त्यही घरमा बस्नुहुन्छ । बाहिर कतै सुत्नु हुन्न । म बच्चाको बेला त्यो सानो घरमा धेरै खेलें पनि । अहिले कसैलाई छिर्न दिनु हुन्छ । कूटनितिक भाषामा यहाँ हेर्न के छ र बाबु भन्नुहुन्छ ।

अब सासु आमाले जग्गा दिएपछि घर हाल्नैपर्यो । आफ्नै घर छोडेर सासुले दिएको जग्गामा घर बनाउन खोज्ने मान्छे धनी हुने कुरै भएन । तर दुख गर्दै पढेर, शिक्षक भई बचाएको पैसाले घर बनाउने योजना भयो । सस्तोको लागि ढुंगाको गारो र माटोको जोड । पत्थरको छाना र दाउरा ओच्छ्याएर माटो हालेको भुइँ।

प्रेम पनि बाँडेर गर्नु पर्दो रैछ । नेपाल पुगेपछि फेरि यहाँ छोडेर गएको छोरी, श्रीमतीको माया लाग्ने । निकै गहिरो चिज यो माया भन्ने ।

तर, यो घर बनाउने योजना गर्दै गर्दा, एउटा क्यानेडियन पर्यटक आयो । ऊ स्वयंसेवक थियो । स्टिभ नामको ऊ पेशाले इन्जिनियर थियो । स्टिभसँगको निकटतापछि उसले घरको डिजाईन गर्ने जिम्मा लियो । कामचलाउ बनाउने भनेको घर पुरै स्तरोन्नती भयो । यो कुरा सन् १९८५-८६ तिरको हो ।

घरको डिजाईन हेरेर बुवाले ‘यस्तो घर बनाउन त मेरो क्षमताले भ्याउँदैन’ भनेपछि स्टिभले सम्झाएछ “हेर यहाँ ढुंगा-काठ सस्तै छ । कामदार पनि सस्तै छ । माटो सित्तैमा भैहाल्यो । हिम्मत गर, एकबारको जुनीमा घर बनाउने हो ।” उसले ‘केही गार्हो भए म पनि सहयोग गरौँला’ भन्यो होला । र बन्यो क्यानेडियन फार्म हाउस ढाँचाको तर नेपाली शैलीको घर ।

तीन तलाको घरमा दुई तला बस्नको लागी र एक तला भण्डारण । प्रत्येक तलामा तीन कोठा । तल्लो तलामा भान्सा र बैठक कोठा । माथिल्लो तलामा ओछ्यान। ओछ्यान कोठामा प्रत्येक ढोकामा सानो बालकोनी छ । घर अगाडी दुई तल्लामा बरन्डा । एउटा बिज्ञ डिजाईनरको अक्किलले कति फरक पर्यो । आफ्नै तालले बनाए पनि उति नै पैसा लाग्थ्यो होला । तर यो त धेरै राम्रो घर बन्यो । बाटोको तहमा ढलको ढक्कन राख्न नजान्नेहरुलाई यो एउटा पाठ बनोस् ।

डिजाईन भनेको थप खर्च हैन । भएको स्रोत र साधन प्रयोग गरेर राम्रो उत्पादन निकाल्ने हो । यो घरमा सिमेन्ट र रडको स्तम्भ (पिल्लर) छैन । सबै ढुंगाको हो। यो जाडोमा नेपाल बस्दा, घर भित्र न्यानो भैराख्यो । बुवाले ‘एक फिट भन्दा मोटो छ भित्ता’ भन्नुभयो । भौतिकशात्रको वा भौतिक कारणले हो कि पुरानो यादले हो, घर भित्र मैले सार्है न्यानो पाएँ ।

घर भित्र साधारण थियो । यहाँ स्टिभ कि छोरी नाओमी मेरो दिदीहरुसँग गोट्टा खेल्दै छिन् । यो कोठा मेरो दिदीहरुको ओछ्यान थियो । एउटा डोरीको खाट र अर्को काठको थियो । बच्चाको बेला दिदीहरु को कहाँ सुत्ने भनेर झगडा गरेको याद आउँछ ।

ल हेर्नुस् स्टिभलाईपनि यो तस्विरमा । देब्रेबाट क्रमश: बुवा, स्टिभ, सानो दिदीको काखमा म, छिमेकी दिदी, हजुरआमाको काखमा मेरो भाइ, अनि ठूलो दिदी । मैले बालपन सम्झँदा, मलाई घरको सबैभन्दा सुन्दर भाग, अगाडीको तल्लो बरन्डा थियो। कारण थाह भएन तर स्टिभले पुरै रंगिन डिजाईन गर्यो । रातो र निलो रेखाहरु एक आपसमा ठोक्किएका ।

चित्रमा मेरो हजुरआमा र आमा, उनीहरू लगभग ३० वर्ष पछाडि कति आश्चर्यजनक देखिन्छन् । वास्तवमा, मैले उनीहरूका सयौं तस्बिरहरू हेरें र यो अचम्मको कुरा हो कि उनीहरूले त्यो समयमा पनि आफ्नो पहिरनको भावना कसरी बोकेका थिए । उनीहरु हरेक तस्विरमा आकर्षक देखिन्छन् । वा, यो केवल मेरो आँखाको रङ, हेराईले ले गर्दा हो !

घरको माथिल्लो तलाको बरन्डामा हाम्रा साँस्कृतिक काम हुन्थे । दशैँ-तिहारमा टिका लगाएको झल्लझली याद आऊँछ । यो बरन्डाको भुइँ पुरै काठको फलेक मात्र थियो । र अझै छ । बच्चाको बेला काठमा खुट्टा बजार्दै हिंडेको याद आउँछ । माथि चित्रमा हामी तिहारको टिका लगाऊँदै अनि अर्को चित्रमा मेरो हजुरआमा आफ्ना भाइहरुलाई टिका लगाउन तयारी गर्दै हुनुहुन्छ । मलाई अमेरिका बस्दा यो बरन्डामा राडी र पाखी ओछ्याएर टिका लगाएको कुरा सधैँ याद आइराख्थ्यो । त्यसैले यो चोटी आफूसँग लिएर आएको छु त्यो राडी र पाखी । सधैं घर जान नसके पनि घरको सम्झना बोकेर आएको छु ।

अब तपाईहरुलाई कौतुहलता लाग्यो होला, त्यो घर अहिले कस्तो छ ? उस्तै छ । वुवाले बगैचा बनाएर झन् हरियाली छ । चारैतिर फूल छन् । आमा-वुवा वृद्दा भएकोले सुविधाको लागी बाल्कोनीमा एट्याच्ड बाथरुम (कोठासँगै चर्पी र स्नानकक्ष) बनेछन् । अरु सबै उस्तै । पहिले हालेको पथ्थर समेत त्यही रैछ । कति बलियो होला । धेरै दलालले घर बेचाउन खोजेछन् । तर मेरो आमाले मान्नुभएन ।

सुशिल देवकोटा

मलाइ यो चोटी नेपाल रहँदा सधैँ बेचैनि भैराख्यो । सबै ठूलो स्वरमा बोलेको जस्तो लाग्यो । धुवाँ-धुलोको कुरै नगरौं । तर, आफ्नो घरमा छिरेपछि मनमा एकदमै शान्ती मिल्यो । अचम्मको स्वर्ग जस्तो । मैले कहीँ बाहिर ननिस्केर (बुवालाई जँचाउन बाहेक) पुरै समय त्यहीँ बिताईदिएँ ।

मेरो घर वरीपरि अहिले ठूला-ठूला भवन बनेका छन् । जग्गा बेच्दै पैसाको माला लगाउने योजनामा पुराना घरजग्गा सब मासिए । तर यो दशैंमा फूलको माला लगाउन धेरैले हाम्रो बगैंचामा फूल मागे रे ! फूलैको मालाले मेरो परिवारलाई सु:ख दियो । यही हो मेरो घरको कथा । मनमा आएको बह पोख्न यो सब लेखेँ ।

मैले मेरो परिवार विशेष भन्न खोजेको हैन । हामी सबैको परिवार विशेष हो। तर जिवनको दौडमा हामी कहिले आफ्नो घर-परिवार भुल्छौँ । हामी को हौं र कहाँबाट आएका हौं भनेर हामीले सधैं सम्झनुपर्छ । हामीलाई यहाँसम्म ल्याउन परिवारले के के गर्यो त्यो जान्नु पर्छ । अरुले पनि आफ्नो घर परिवारको बारेमा लेखेको पढ्न पाए म खुशी हुन्थेँ । वुबा बिरामी हुँदा मनमा लागेको बह लेखेकोले सबै प्राविधिकरुपमा सहि नहोला, तर मैले इमानदार हुन कोसिस गरेको छु । देवकोटा परिवारको तर्फबाट सबैलाई माया र प्रेम गर्छु । हाम्रा सम्पूर्ण अभिभावकज्यूहरुको दिर्घायु र स्वस्थ जीवनको कामना गर्दछु ।

(देवकोटाले ट्विटरमा पटक पटक गरेर राखेका अनुभव र तस्विरलाई समेटेर यहाँ राखिएको हो-संपादक)

तपाइँको प्रतिक्रिया

फेसबुक