बिहीबार, वैशाख ६, २०८१

पाँच लाख भन्दा बढी जोखिममा परेका मानिसहरूको डाटासहित रेड क्रसको साईटमा हमला

नेपालप्लस संवाददाता / स्विजरल्याण्ड२०७८ माघ ७ गते १६:१५

जेनेभामा रहेको रेड क्रसको अन्तर्राष्ट्रिय समिति (आइसिआरसी) साइबर आक्रमणको शिकार भएको छ । साईट ह्याकमा पर्दा पाँच लाख १५ हजार भन्दा बढी अति कमजोर व्यक्तिहरूको व्यक्तिगत र गोप्य तथ्यांक ब्यवस्थापन गर्ने सर्भरहरू समेत परेका छन् ।

रेडक्रसले अज्ञात घुसपैठकर्ताहरूले यस हप्ता ह्याक गर्दा द्वन्द्व, बसाइसराइ र प्रकोपका कारण परिवारबाट अलग भएका, बेपत्ता व्यक्ति, तिनीहरूका परिवार र हिरासतमा रहेका मानिसहरू सहित लाखौं मानिसहरूको तथ्यांक एवं महत्वपूर्ण सूचनालाई असर गरेको उल्लेख गरेको छ ।

रेडक्रसका अनुसार विश्वभरका कम्तिमा ६० रेडक्रस र रेड क्रिसेन्ट सोसाइटी (मुस्लिम देशहरूमा सक्रिय संस्था जसले पीडामा परेका मानिसहरूलाई मद्दत गर्छ, उदाहरणका लागि युद्ध, बाढी वा रोगबाट) हरूबाट जानकारी प्राप्त भएको जनाएको छ ।

स्विसद्वारा सञ्चालित संस्थाको लागि सबैभन्दा महत्त्वपूर्ण चिन्ता भनेको उल्लंघनकर्ताहरुले ति गोप्य जानकारिलाई सार्वजनिक गरिदिन सक्ने र त्यसले द्वन्द, हिंसामा परेका ब्यक्तिलाई थप अप्ठेरो पर्नसक्ने भन्ने हो । रेड क्रस र रेड क्रिसेन्ट सञ्जालले सुरक्षा र सहयोग गर्न खोज्ने मानिस र तिनका परिवारको सूची र गोप्य जानकारिनै सार्वजनिक गरिदिए भने अप्ठेरो पर्नसक्छ भन्ने चिन्ता जनाएको छ ।

आइसिआरसीले भनेको छ “आक्रमणले स्विट्जरल्याण्डको एक बाह्य कम्पनीलाई लक्षित गरेको छ जसले मानवीय संस्थाको लागि डाटा भण्डारण गर्दछ । तर अहिलेसम्म कुनै सूचना सार्वजनिक रूपमा साझा वा लीक भएको कुनै संकेत रेडक्रसलाई नभएको बिज्ञप्तीमा उल्लेख छ ।

“यो मानवीय जानकारीलाई दुरुपयोग गरेर कतै सम्झौता गरिन्छ कि भनेर हामी सबै स्तब्ध र अन्योलमा छौं” आइसिआरसीका महानिर्देशक रोबर्ट मार्डिनीले बिज्ञप्तीमा भनेका छन् ।

मर्दिनीले ह्याकर र त्यस पछाडिका मानिसहरूलाई डाटा दुरुपयोग नगर्न, सही काम गर्न अपील गरेका छन् “यो डाटा सेयर, बिक्री, चुहावट वा अन्य कतै प्रयोग नगर्नुहोस् ।”

डाटा ह्याक भएकाले रेड क्रसले द्वन्द्व, विपद् वा बसाइँसराइबाट अलग भएका परिवारका सदस्यहरूलाई पुनर्मिलन गर्न मद्दत गर्ने आफ्नो ‘परिवार पूनर्मिलन र पुनर्स्थापना कार्यक्रम’ तत्कालकालागि बन्द गर्न बाध्य भएको उल्लेख गरेको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक