मंगलबार, वैशाख ४, २०८१

पोल्याण्डद्वारा तोपले हानेर प्रदूषण हटाउने परिक्षण

नेपालप्लस संवाददाता२०७८ माघ ७ गते १८:३९

Image Courtesy-yourstelecast.com

पोल्याण्डमा अत्यधिक मात्रामा निस्किएको धुवाँ बिरूद्धको लडाईमा वैज्ञानिकहरूले नयाँ तोप हानेर धुवाँ हटाउने परीक्षण गरिरहेका छन् । पोल्याण्डका वैज्ञानिकहरुले बासिन्दाहरूलाई सास फेर्न सजिलो पार्न विषाक्त प्रदुषणका कणहरूलाई वायुमण्डलमा माथि धकेल्न ध्वनि तरंगहरू प्रयोग गरेका हुन् ।

धातुको कन्टेनरको माथिल्लो भागमा स्थापना गरिएको प्रयोगात्मक उपकरणमा उल्टो फर्काएको धोद्रो धातुको भाँडो हुन्छ जसले हरेक छ सेकेन्डमा ठूलो आवाज निकाल्छ ।

यो तोपको उद्देश्य कल्वारिया जेब्रिजिडोस्का शहरबाट अत्यधिक रुपमा गुम्म परेर बसेको धुवाँलाई पछ्याउने हो । धेरै पोलिश नगर र सहरहरूले प्रत्येक जाडोमा उच्च स्तरको प्रदूषणको सामना गर्दछन् । त्यहाँका बासिन्दाहरूले अत्यधिक जाडो बढेपछि घरलाई न्यानो पार्न घर घरमा आगो लगाउँन थालेपछि यो समस्या देखा पर्छ ।

जब घाम अस्ताउँछ चिम्नीबाट बाक्लो धुवाँ निस्कन्छ र त्यो धुवाँ तल तल झर्दै आएर शहरलाईनै ढाकिदिन्छ । धुवाँ हटाउने यो तोपले ठूलो आवाज निकालेपनि वासिन्दाहरुले सहजै स्विकार गरेको युरोन्युजले उल्लेख गरेको छ ।

“यहाँ धुवाँ धेरै बाक्लो छ। हामी फ्ल्याट बाहिर हावा पनि लिन सक्दैनौं किनकि यसले धेरै दुर्गन्ध फैलाउँछ ! त्यसैले, यदि यसले मद्दत गर्न सक्छ भने उनीहरूलाई परीक्षण गर्न दिनुपर्छ । किनभने यो धुवाँ धेरै कष्टप्रद छ” सहरका एक वासिन्दा जोलान्टा वोल्कोविचले युरोन्युजसित भनिन् “हामीले आवाज थोरै सुन्छौं । यो आतिशबाजी बल्दा आउने आवाज जस्तै हो ।”

पोल्याण्ड युरोपको सबैभन्दा प्रदूषित देशहरू मध्ये एक हो । वर्षको सबैभन्दा खराब मानिने समय (खासगरि जाडो याम) मा सयौं प्रतिशत अंकले ईयु मापदण्डहरू उल्लङ्घन गरेको हुन्छ ।

ध्वनि तरंगहरू सिर्जना गरेर बनाएको तोपले सहरको हावामा हानिकारक पिएम२ दशमलव ५ र पिएम१० कणहरूलाई स्थिर रहन दिंदैन । त्यसले बरु हटाउन केहि मद्दत गर्ने अनुसन्धानकर्ताहरूको भनाई छ ।

“यहाँ हामी एसिटिलीन र हावाको मिश्रण जलाएर सिर्जना हुने झटका तरंग प्रयोग गर्छौं । यो ठाडो तरंगले प्रदूषित हावालाई मिसाएर माथि फ्याँक्छ” क्राकोको एकेडेमी अफ माइनिङ एन्ड मेटलर्जीका वैज्ञानिक डोमिनिक ग्राइबोसले बताए ।

एसिटिलिन एक रंगहीन तिखो गन्धको हाइड्रोकार्बन ग्यास हो जुन उज्यालो ज्वाला निकालेर जल्छ । यसलाई वेल्डिंग गर्न र पहिले प्रकाश निकाल्नमा प्रयोग गरिन्छ । यो ज्वाला आकाशमा बिजुली चम्किंदा देखिन्छ ।

यो तोप हानेर विषाक्त कणहरू सयौं मिटर माथि पठाइन्छ । त्यसो गरेपछि बासिन्दाहरूको लागि हानिकारक बन्न पाउँदैन ।

‘हामीले आधा घण्टादेखि एक घण्टासम्म तोप प्रयोग गर्ने हो भने दुई–तीन किलोमिटरको परिधिभित्र १५–३० प्रतिशतले प्रदूषण कम हुने तथ्य हामीले फेला पारेका छौं’ ग्राइबोसले भने ‘अहिलेसम्म काम गरिरहेको छ । एक देखि तीन घण्टाको लागि ।

अन्वेषकहरूले विस्फोटको आवश्यक आवृत्ति (फ्रिक्वेन्सी) का साथै सम्पूर्ण प्रक्रियाको लागि आवश्यक अवधि र समय निकाल्ने प्रयास गरिरहेका छन् ।

एक घण्टाको तोप पड्काउन २२० देखि ३३० युरो लाग्ने आँकलन गरिएको छ ।

ग्रिबोसले यो आविष्कारले विशेष गरी पोल्याण्डमा व्यावसायिकता पाउन सक्ने आशा गरेका छन् ।

तपाइँको प्रतिक्रिया