शुक्रबार, वैशाख ७, २०८१

देश र जनताको विषयमा नबोल्ने सरकार, प्रधानमन्त्री कसको ?

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ माघ ७ गते १९:२६

आफ्नो सरकार गठन भएपछीको छ महिनाका ‘उपलब्धी’ लाई राष्ट्रका नाममा सम्बोधन मार्फत् सार्वजनिक गरेका छन् प्रधानमन्त्री शेर बहादुर देउवाले । देउवा ६ महिना अघि सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनी गत असार २९ मा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाको समर्थनमा प्रधानमन्त्री भएका हुन् । प्रधानमन्त्री भएपछी राष्ट्रका नाममा देउवाको यो पहिलो सम्बोधन हो ।

हुन त देउवासँग राष्ट्रलाई जानकारी गराउनुपर्ने त्यस्ता खास उपलब्धि पहिलेपनि थिएनन् र अहिले पनि छैनन् । तैपनि देउवाले सम्बोधन मार्फत् दर्जनौं उपलब्धि सुनाएका छन । ति मध्ये पनि निर्वाचन गराउने कुरामा उनले बढी समय खर्चेका थिए ।

देउवाले अबको एक वर्ष भित्रैमा तिनै तहको निर्वाचन गर्नुपर्नेमा जोड दिएका छन । र सम्बन्धित सबै निकायलाई निर्देशन समेत दिएका छन । तर पहिले कुन निर्वाचन गर्ने भन्ने विषयमा सत्तारुढ गठवन्धन भित्र विवाद छ । सरकारले आउँदो वैशाखमा स्थानिय निर्वाचन गर्ने बताएको छ भने सत्तारुढ गठवन्धनको एउटा घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संघीय निर्वाचनको प्रस्ताव अघि सारेका छन । यसले पनि बुझाउँछ, देउवाले राष्ट्रलाई बताएजस्तो निर्वाचन गराउने प्रकृया त्यति सहज छैन । माओवादीको चाहनामा धेरै कुराहरु निर्भर गर्छ र दाहालका लागि पहिले संघिय निर्वाचन अनिवार्य भएको छ । त्यसैले पनि निर्वाचन प्रकृयाका लागि देउवाका अघि तगारै तगारा छन ।

देउवाले बितेका छ महिना आर्थिक क्रियाकलापमा उल्लेख्य सुधार हुँदै गएको र गत वर्षभन्दा यो वर्ष आर्थिक वृद्धिदर बढी हुने पनि बताएका छन् । तर आर्थिक वृद्धिदर कसरी हुन्छ ? त्यसका मापनहरु के के हुन र हाम्रो जस्तो देशमा आर्थिक विकासका लागि कस्ता खालका आधार छन् भन्ने न देउवालाई थाहा छ न देउवाका विज्ञहरु सँग त्यस्ता कुनै कार्यक्रम छन ।

नेपाल यस्तो मुलुक हो जहाँका नेताहरुले जती झुटो बोले पनि हुन्छ । जनतालाई जती ढाँटे पनि हुन्छ । कसैले प्रश्न सोधिहाल्यो भने जवाफ दिनुपर्दैन । बडो उर्वर भूमी हो नेपाल राजनीतिकर्मीहरुका लागि ।

देउवाले आफ्नो पाँच वर्षको कार्यकालमा कम्तिमा पनि सात पटक राष्ट्रका नाममा सम्बोधन गरेका छन र हरेक पटक देश उन्नतीको पथमा लम्किरहेको बताएका छन । देउवाले उन्नतिको जुन बाटो भनिरहेका हुन्छन त्यो बाटो न जनताले कहिल्यै देखेका छन न महशुस गर्न सकेका छन ।

लामो समय देखि संसद अवरुद्द छ । भन्न त देउवाले आपसी छलफलमा सबै अवरोधको निकासा दिने बताएका छन । देउवा एउटा लोकतान्त्रिक मुलुकका प्रधानमन्त्री हुन् । देशको उन्नती र जनताका मुद्दामा छलफल हुने ठाउँ महिनौं देखि बन्द छ । प्रधानमन्त्री भएको नाताले झुक्ने काम देउवाको हो । लगातार प्रतिपक्षीसँग छलफल चलाइरहनुपर्ने हो । प्रतिपक्ष विना देश विकासका लागि हुने अड्कलहरु फर्जी हुन्छन । अझ अहिलेको अवस्था कोरोनाका कारण गम्भिर बनेको छ । कुनै भौतिक संरचनाको योजना भन्नु भन्दा पहिले स्वास्थ्यका क्षेत्रमा सरकार चनाखो रहनुपर्ने हुन्छ । यो महामारीसँग लड्नका लागि सरकारसँग कुनै योजना छैनन । देउवा झुट बोलेका छन ६५ प्रतिशत नेपालीहरुले खोप पाए भनेर । पाएकै छैनन ।

खोप, आर्थिक वृद्धि, निर्वाचन वाहेक देउवाले आफ्नो सम्बोधनमा भनेका छन- संयुक्त सरकारले अङ्गीकार गरेका नीतिहरूप्रति जनसमर्थन र सहयोग प्राप्त भएको छ । संविधान र संवैधानिक प्रणालीको रक्षा भएको छ र विधिको शासन सुदृढ बनेको छ । जनतामा त्रास र भय एवम् राजनीतिक स्थायित्व प्रतिको संशयको अन्त्य भएको छ । यो अर्को पाटो हो, सरकार जनताप्रती कत्तिको उत्तरदायी छ भन्ने ।

देउवाले भनीदिए, ‘संयुक्त सरकारले अङ्गीकार गरेका नीतिहरूप्रति जनसमर्थन र सहयोग प्राप्त भएको छ’ । कसरी भएको छ थाहा छैन । देउवा गुमराहमा छन वा जनता । नेपाली जनताको काम प्रजातन्त्रमा होस् अथवा लोकतन्त्रमा मात्र भोट दिने भएकोछ । भोट खसालेपछी जनताको काम सकिन्छ । बिचको समयमा सरकारले कुनैपनि कामका लागि जनतालाई सोध्दैन । सरकारले अङ्गीकार गरेका नीतिहरूप्रति जनताको कती समर्थन छ भन्ने कुरा सामाजिक संजाल हेर्ने हो भने थाहा हुन्छ । देउवा अविरल आलोच्य छन ।

तर आन्तरिक विवाद, उन्नती र बिकासका मुद्दाहरुलाई पर राखेर हेर्ने हो भने अन्तर्राष्ट्रिय रुपमा भएका भ्रमण र सभा सम्मेलनमा भएका उपस्थिती भने प्रंसायोग्य छन । ग्लास्गो शहरमा आयोजित जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको पक्षराष्ट्रहरूको २६ औँ सम्मेलनमा सहभागी भई नेपालको तर्फबाट राष्ट्र अनुकुल योजना, हानी-नोक्सानी सम्बन्धी राष्ट्रिय कार्यढाँचा र नेट शून्य उत्सर्जन नेपालको दीर्घकालीन रणनीति गरी ३ वटा नीतिगत दस्तावेजहरू प्रस्तुत भएका थिए । त्यसैगरी संयुक्त राष्ट्रसंघको ७६औँ महासभा, ग्लोबल कोविड-१९ शिखर सम्मेलन र संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिद्वारा आयोजित लोकतन्त्रसम्बन्धी शिखर सम्मेलनलाई सम्बोधन लगायत केही अन्य अन्तराष्ट्रिय मन्चमा नेपालको उपस्थिति सकारात्मक पक्ष हुन । तथापी आन्तरिक मामिलामा भने देउवा फर्जी छन । उनले आजको सम्बोधनमा जे जे कुरा उल्लेख गरे ति सबै अकर्मण्यता छोप्ने वस्त्र मात्र हुन ।

धेरैलाई लागेको थियो, राष्ट्रका नाममा आएको देउवाको सम्बोधनले राष्ट्रको चासो र सरोकारको विषय लिपुलेक कालापानीलाई सम्बोधन गर्ने छन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लिपुलेकमा भारत सरकारले सडक निर्माण गरिरहेको छ भन्ने अभिब्यक्तीका विषयमा सरकारी आवाज आउँला भन्ने सम्बोधन सुन्नेहरुलाई लागेको थियो । तर देउवा बोलेनन । यसको मतलव नेपाली भूमिमा भारतीय कृयाकलापका बारेमा हाम्रो सरकारले केही सोचेकै छैन । सार्वभौम राष्ट्र देउवाको प्राथमिकतामा पर्दैन ।

कालापानी, लिपुलेक देशको सरोकारको विषय हो । नेपाली जनताको आत्मसम्मानको कुरा हो । जुन विषय देशको हो, नेपाली जनताको हो, त्यो विषयमा नबोल्ने सरकार कसको हो ? जनताको कुरा बोल्न नसक्ने कुनै मान्छे देशको प्रधानमन्त्री कसरी हुन सक्दछ ? प्रिय शेरबहादुर देउवा तपाईंको सरकारलाई जनसमर्थन छैन । तपाईं फर्जी हुनुहुन्छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक