मंगलबार, वैशाख ११, २०८१

‘साना काम’ ले घर धान्ने महिला

देवकला पराजुली / काठमाडौं२०७८ माघ ८ गते १६:४५

सम्पन्न परिवारको प्रसंग अलग होला । धनाढ्यहरुको परिवारमा सायद महिलाहरु आर्थिक आय आर्जनमा कम भूमिका खेल्दा हुन् । पुरुषहरुले मनग्गे कमाएर घरको आर्थिक पाटो पुरा गरिदिँदा हुन् । तर मध्यम र न्युन वर्गका परिवारमा भने घर धान्ने महिलाहरुनै हुन् । यो वर्गका परिवारमा पुरुषहरुको कमाईले मात्रै घर धानिन्न । पुरुषहरुले मात्रै घर खर्च धान्नेगरि कमाउन सक्दैनन् । त्यसैले मध्यम र न्युन वर्गका परिवारको घर धान्ने महिलाहरु हुन् ।

मध्यम परिवारका धेरै पुरुषहरु सानोतिनो काम गर्नपनि रुचाउँदैनन् । इज्जत जाला भनेर सानोतिनो आय आर्जनको काम गर्दैनन् । नाङ्लामा चुरोट, बिँडी र सुर्ती बेच्नु, सडकमा सुन्तला र स्याउ, तरकारि बेच्नु तिनका लागि ईज्जत जाने विषय बन्छ । सडकमा मकै पोलेर बेच्ने, फूल बेच्ने र सेल रोटी पकाएर दुइ चार पैसो कमाउनु तिनकालागि प्रतिष्ठाको विषय बन्दैन । बरु इज्जत जाने ठान्छन् । त्यसैले ति यस्ता काम गर्दैनन् ।

महिलाहरु भने घर खर्च चलाउन, घरको गर्जो टार्न बढि चिन्तित हुन्छन् । त्यो किनपनि भने घरका केटाकेटीले सताउने भनेकोपनि महिलाहरुलाईनै बढि हो । खरको गर्जो टार्न दिनदिनैको खर्च धान्नपनि महिलाहरु सानोतिनो काम गर्न हिच्किचाउँदैनन् ।

‘बुढाले तैट यस्तो काम कसले गर्छ भन्नुहुन्छ । घर खर्च चलाउन गाह्रो छ । अनि आफैं अघि सर्नुपरो’ काभ्रेकी सुनिता सापकोटा भन्छिन् ।

उनले बसपार्कमा सेल रोटी पकाएर बेच्न लागेकोपनि पाँच वर्ष भयो । कमाई राम्रै भएको उनको भनाई छ ।

यस्तो काम गर्न थोरै लगानी भए पुग्छ । बिहानदेखि साँझै सम्म खट्नुपनि पर्दैन । बालबच्चा स्कूल गएपछि यस्सो नाङ्लामा केहि पानीका बोत्तल राख्यो बजार निस्कियो । केहि सुन्तला, स्याउ, तर्कारी र पान, सुर्ति र चुरोटका पाकेट लिएर सडकमा पुगेपछि ग्राहक भेटिहालिन्छ । दिनभरि बेच्यो । साँझ वालवालिका स्कूलबाट नफर्किँदै घर फर्कियो । फेरि तिनको हेरचाह गर्‍यो । साहुको निर्देशन मान्नुपरेन । कार्यालयको समयमा यति घण्टा काम गर्नै पर्छ भन्ने बाध्यतापनि भएन । यिनले कमाएको पैसाले गज्जबसित घर खर्च चल्छ ।

हेर्दा सामान्य, थोरै लगानीको, अलिकति सामान देखिएपनि यसबाट महिलाहरुले राम्रै बचत गर्ने गरेका छन् । तिन देखि ५० प्रतिशतसम्म नाका हुन्छ, हरेक सामानमा । दिनभरि बेच्दा २५, ३० हजारको सामान्य जागिरे पुरुषले भन्दा बढि यिनै महिलाले कमाउँछन् । परिवारपनि हेर्छन् ।

धनुषाकी राधा रेग्मीले रत्नपार्क नजिकै फलफूल बेच्न लागेकोपनि निकै भयो । यो कामले आफ्नो घर खर्च गज्जबले चलेको अनुभव उनी सुनाउँछिन् । ‘लगानी जति गर्‍यो त्यसको दोब्बर त गज्जबैले कमाई हुन्छ । फूर्सदमा कालिमाटी गयो ल्यायो’ उनी भन्छिन् ।

यहि फलफूल बेचेरै महिनामा ४० हजारको हाराहारीमा कमाउने गरेको भनाई उनको छ “जति खट्यो उति कमिन्छ । यतिनै भन्ने के भो र ? स्कूल केटाकेटी पुराएर आउँछु, फेरि स्कूल छुट्ने बेला लिन जान्छु । त्यहि हो ३५, ४० हजार आरामले कमाइ हुन्छ ।”

तराई होस कि पहाड, मधेश होस कि ठूला शहर । जतापनि यस्तो सामान्य ब्यापार गरेर घर धान्ने महिलाहरुनै देखिए । मध्यम र न्युन परिवारको घर धान्नेनै महिलाहरु रहेछन् । पुरुषहरु फूर्सदिला हुँदापनि धेरैले तास, क्यारेमबोर्ड खेल्ने गर्दा रहेछन् । चौतारो वा पाटीमा बसेर पत्रपत्रिका पढ्ने, गफ गर्ने, चेस र बाघ चाल खेलेर समय कटाउँदा रहेछन् । महिलाहरु भने खेतदेखि धारोपानी, गाइभैंसी पालनदेखि सानोतिनो ब्यापार, क्रिषी र अनेक सिपमुलक काममा लागेर घर धान्ने रहेछन् । महिलाहरुलाई बेक्कारमा समय फालेको देख्न पुरुषहरुको तुलनामा निकै मुस्किल हुने रहेछ ।

नुवाकोटकी तारा बिकले बसन्तपुरमा परेवाको चारा बेच्न लागेकोपनि नौ वर्ष भयो । यहि नाङ्लाको पसलले उनको खर्च धानिएकै छ । श्रीमान काठ कारखानामा काम गर्छन् । उनी भने नाङ्लामा परेवाको चारो बेच्ने गर्छिन् ।

‘बुढोले दिनभरि काठको काम गरेको भन्दा मेरो आम्दानी बढी छ । त्यो बलको काम नगर्नु यहि गरौं भन्यो मान्नुहुन्न । सबैले देख्छन् लाज लाग्छ रे । काम गरेर खान केको लाज भनेर म यहि गर्छु । दुख छैन, बस्यो मकै बेच्यो” उनले सुनाईन् ।

तपाइँको प्रतिक्रिया