बिहीबार, जेठ १२, २०७९

पार्टी प्रवेशको बेलायती ईतिहास र वोरिस जोनसनको राजिनामा माग

सुरेन्द्र श्रेष्ठ / बेलायत२०७८ माघ ८ गते १९:०३

दलीय / संसदीय व्यवस्थाको एक महत्वपूर्ण विशेषता भनेको दल बदलमा रोक हो भन्ने बुझाइ छ । एउटा पार्टीबाट चुनाव जितेर आउने तर पछि अर्को पार्टीमा जानबाट रोक्नु स्वाभाविक जस्तो पनि लाग्दछ । तोकिएको संख्या पुगेमा नयाँ दल खोल्न पाउने संवैधानिक ब्यवस्था भने हुन्छ नै । नेपालको परिवेशमा विशेषत यो वर्ष यो विषयमा धेरै घटना/परिघटनाहरु मञ्चन भए । प्रमुख प्रतिपक्षी दलले त यही विषयलाई लिएर अहिलेसम्म सदन नै चल्न दिएको छैन । यो झण्डै उस्तै प्रकृति जस्तो देखिने तर बिल्कुल फरक विषय थियो ।

नेपालको संविधानले दल बदललाई कानुनी मान्यता दिएको छैन । त्यो अहिले नै दिन पर्छ भन्ने मेरो जिकिर पनि छैन । तर प्रजातन्त्रको जननी मानिने बेलायतमा भने एकपटक जनताद्वारा मत पाएर विजयी भएपछि त्यो सांसदलाई अर्को निर्वाचन नभएसम्म आफ्नो छुट्टै पहिचान स्थापना गर्न वा पार्टी परिवर्तन गर्न बन्देज लगाइएको छैन ।

जनताले निर्वाचनमा सम्बन्धित व्यक्तिको नाम अगाडि क्रश चिन्ह लगाउने हुँदा यो स्वतन्त्रता दिन पर्छ भन्ने सिद्धान्तको बहस अठारौं शताब्दीको अन्त्यतिर नै भैसकेको थियो । सम्बन्धित सांसदले आफ्नो पार्टी नेतालाई अब आइन्दा तिम्रो पार्टीमा छैन भन्ने जानकारी दिएर स्वतन्त्र वा नयाँ पार्टीमा जान सक्ने व्यवस्था छ । यसको लागि राजीनामा दिनुपर्ने अनि उपनिर्वाचन हुने गर्दैन । तर धेरै जस्तो असन्तुष्ट सांसदहरुले राजिनामा दिएर पद खाली गर्ने र उप निर्वाचनमा आफैँ अर्को पार्टीबाट उमेद्वार बनेर हार जित हुने चलन देखिन्छ ।

अहिले बेलायतको राजनीतिमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने माग बढिरहेको छ । कोरोनाको समयमा सबैलाई घर भित्रै बस्ने, छ जनासम्म मात्रै घर बाहिर भेटघाट गर्न पाइने नियम हुँदा आफू भने प्रधानमन्त्री निवासको बगैँचामा धेरै कर्मचारीहरु जम्मा गरेर पार्टी गरेको विषय सार्वजनिक भएपछि यस्तो आवाज उठेको हो । बोरिस जोन्सन आफूले त्यस्तो पार्टी आयोजना नगरेको, कसैले पनि त्यसो गर्न हुँदैन भनेर जानकारी नगराएको जस्तो हलुको प्रतिवाद गरिरहेका छन् । केही दिनमा यसबारे सत्यतथ्य पत्ता लगाउन क्याविनेट सेक्रेटरी सु ग्रेको नेतृत्वमा गठित आयोगको प्रतिवेदन कस्तो आउँछ त्यसैमा उनको भविष्य जोडिएको देखिन्छ ।

बोरिसले पटकपटक व्यक्तिगत, पारिवारिक र सामाजिक (राजनीतिक) विषयमा धेरै विवादित क्रियाकलापहरू गर्दै आएका छन् । उनी पहिलादेखि नै अरुलाई खासै महत्त्व नदिने, सकेसम्म कानुन नियमबाट बढी बाँधिन नपरे हुन्थ्यो भन्ने प्रकृतिको विद्यार्थी थिए भन्ने उनलाई इटन कलेजमा पढाउनेमध्ये एक शिक्षकले गरेको खुलासा प्रमाणित भए जस्तो देखिन्छ । यो विषयलाई लिएर विज्ञान मन्त्री, स्वास्थ्य मन्त्री लगायत केही महत्त्वपूर्ण सांसदहरुले उनले तुरुन्तै राजीनामा दिनु पर्छ भनिरहेका छन् । धेरैजसोले भने जाँचबुझ आयोगको प्रतिवेदन पर्खिरहेका छन् ।

जनवरी १९ का दिन बेलायती राजनीतिक ईतिहासमा एउटा नौलो घटना भएको छ । विगत २५ वर्षमा जम्मा तीन जना सांसदहरूले दल परिवर्तन गरेका थिए । ती तीनै जना सांसदहरु कन्जरभेटिभबाट लेबर पार्टीमा गएका थिए । तर त्यतिबेला लेबर सरकारमा थियो । मानवीय विशेषताअनुसार प्रतिपक्षबाट सरकारी दलमा पद पाउनका लागि जानु स्वाभाविक पनि देखिन्छ । तर यसपालि भने पहिलोपल्ट क्रिस्चियन वेकफोर्ड भन्ने सांसद सरकारी पार्टीबाट प्रतिपक्षमा बस्न तयार भए । टोरी पार्टीबाट गत निर्वाचनमा बेरी साउथ निर्वाचन क्षेत्रबाट ४०२ मतको झीनो बहुमतले विजय भएका सांसदले आफूले पार्टी छाड्न परेको मुख्य कारण बोरिसको जनता प्रतिको अपमानजनक व्यवहार नै हो भनेका छन् । आफ्नो निर्वाचन क्षेत्रका जनतालाई नेतृत्वले खासै महत्व नदिएको पनि उनको जिकिर छ । अबका केही दिनहरुमा यस्ता घटनाहरु दोहोरिने सम्भावना पनि छ ।

बेलायतमा पार्टी परिवर्तनसम्बन्धी ईतिहास हेर्दा त्यति धेरै संख्यामा भने देखिएको छैन । पार्टी नै फुटाउने घटना त झन् बिरलै छ । ब्रेक्जिट जनमत संग्रहताका नयाँ गठन गरिएको युकिप पार्टी केही समय सक्रिय र सफल जस्तो देखियो । तर कन्जरभेटिभ पार्टीबाट राजिनामा दिएर युकिपमा जाने सांसदहरुको भविष्य भने त्यति लामो हुन सकेन । कतिपय विषयमा सांसदहरुलाई आफ्नो स्वतन्त्र धारणा राख्न पाउने मात्रै हैन आफ्नो पार्टीले अगाडी सारेको प्रस्तावविरुद्ध पनि मतदान गर्नसक्ने अधिकार भएको कारण पनि सितिमिति पार्टी नै छाडी हाल्नपर्ने अवस्था नआएको हुन पर्छ ।

यहि परिवेशमा हेर्दा संसारमै निकै बलियो देखिएका प्रख्यात द्वितीय विश्वयुद्धकालिन बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिलको राजनीतिक पृष्ठभूमि पनि रोचक देखिन्छ । उनी पहिलो पटक सांसदको रूपमा सन् १९०० मा कञ्जरभेटिभ पार्टीको प्रतिनिधित्व गर्दै ओल्ड ह्याम क्षेत्रबाट वेस्ट मिनिष्टरमा प्रवेश गरेका थिए । विभिन्न विषयमा मत भिन्नता भए पछि उनले सन् १९०४ मा आफ्नो पार्टी छाडेर लिबरल पार्टी प्रवेश गरे । त्यसपछि भएको निर्वाचनमा म्यानचेष्टर नर्थ वेस्टबाट चुनाव पनि जिते । ४० वर्ष पुग्नु अगाडी नै उनले विभिन्न महत्त्वपूर्ण राजनीतिक जिम्मेदारीहरु बहन गरिसकेका थिए ।

तपाइँको प्रतिक्रिया

फेसबुक