शुक्रबार, वैशाख १४, २०८१

कोविड स्वास्थ्य पास बिरुद्दको प्रदर्शनीमा बेल्जियममा प्रहरी र प्रदर्शनकारीबिच झडप

नेपालप्लस संवाददाता बेल्जियम२०७८ माघ १० गते २:२५

Image Credit-Belga via Brussels Times

आइतवार बेल्जियमको राजधानी ब्रसेल्समा सरकारको कोविड-१९ उपाय र भाइरस खोपहरूको बिरूद्ध विरोध गर्न भेला भएका प्रदर्शनकारी र प्रहरीबिच झडप भएको छ । प्रदर्शनकारीहरूलाई तितरबितर पार्ने प्रयासमा प्रहरीले पानीको तोप र अश्रु ग्यास प्रहार गरेको छ ।

देशको स्वास्थ्य पास र अन्य महामारी प्रतिबन्धहरूमा आक्रोशित बनेकाहरु सडकमा ओर्लिएका थिए । बेल्जियन नागरिकसँगै कोरोना खोप पास बिरोधी अन्य युरोपेली देशहरूका केही मानिससमेत संलग्न रहेको ब्रसेल्स दैनिकले उल्लेख गरेको छ । ब्यानरमा प्रधानमन्त्री अलेक्ज्याण्डर डे क्रो र सरकारको कदमको बिरोधमा नारा लगाइएको थियो ।

प्रदर्शनकारीहरू करिब ५० हजार रहेको सरकारी अधिकारीहरुले बताएका छन् । तर आयोजकहरुले भने लाखौंको संख्या रहेको दाबी गरेका छन् । प्रदर्शनकारीहरुले ब्रसेल्सस्थित युरोपेली क्वार्टरको सिन्क्वान्टेनेयर पार्कमा भेला हुनु अघि राजधानीका बिभिन्न गाल्लीमा जुलुस गरेका थिए । उनीहरूले सरकारको भाइरस नीतिहरूको कडा शब्दमा विरोध गरेका छन् ।

प्रदर्शनकारीहरुलाई तितरबितर पार्न दंगा प्रहरी बल खटाईएको थियो । जुलुसको संख्या बढ्दै गएपछि प्रहरीहरुले लाउडस्पीकरबाट प्रदर्शन समाप्त गर्न आग्रह गरेका थिए । जुलुस छोडेर जान आग्रह गरेपनि प्रदर्शनकारीले मानेनन् ।

प्रहरीको आग्रहलाई बेवास्ता गरेपछि प्रहरीले पानीका तोपले हान्न थालेको थियो । प्रदर्शनकारीहरूलाई हटाउन प्रहरीले अश्रु ग्यास प्रहार गरेको आरटिएल रेडियोलाई उल्लेख गर्दै ब्रसेल्स टाईमले जनाएको छ । युरोपेली आयोग कार्यालयको प्रवेशद्वारमै एउटा झ्याल फुटेको उल्लेख छ ।

आइतवारको मार्च अघि शनिवारपनि अन्य युरोपेली राजधानीहरूमा प्रदर्शनहरू भएका थिए । प्रदर्शनले खोप जनादेश र अन्य प्रतिबन्धहरूको विरुद्धमा हजारौं मानिसहरूलाई प्रदर्शनमा आकर्षित गरेको छ ।

बेल्जियमको स्वास्थ्य पासको बिरूद्ध धेरै हप्तादेखि त्यहाँ विरोधहरू भइरहेका छन् । केही प्रदर्शन हिंसात्मकसमेत भएका छन् । बेल्जियममा लागू भएको खोप पासले विशेष गरी रेस्टुरेन्ट र सांस्कृतिक कार्यक्रमहरूमा प्रवेश गर्नको लागि खोप वा हालैको कोविड परीक्षणको प्रमाण आवश्यक बनाइएको छ । यसमा नागरिकले चर्को बिरोध गरिरहेका छन् ।

तपाइँको प्रतिक्रिया