बिहीबार, जेठ १२, २०७९

डढेलो निभाउने ‘कोलिब्री’

ददि सापकोटा२०७८ माघ ११ गते १२:१२

कथा अमेजोनको विशाल जङ्गलमा सुरु हुन्छ, कतै नदीको मोडमा । यस जंगली प्रकृतिमा जनावरहरू प्रशस्त छन् । कीरा, स्तनपायी, फरक फरक चराहरू आकार र रंगहरूमा प्रतिस्पर्धा गर्छन् ।

ठूलो हाँगामा आरामसँग बसेको जगुआर (चितुवा) ले हेरिरहेको हुन्छ । अनाकोन्टा, विशाल सर्प पनि त्यहिं हुन्छ । उ त्यो ठाउँको मालिक पनि हो । फोहोर पानीमा होस् वा हाँगाहरूमा, उसको सीप र साहसको लागि सबैले उसलाई आदर गर्छन्, डराउँछन् । उसको वरिपरि जंगलमा उसका साथीहरू व्यस्त छन् : आन्टइटर (कमिला खाने जीव) आफ्नो खानाको लागि कमिलाहरू खोज्दैछ । मृगहरु घाँस टिपिरहेका छन् । सबै जनावर आफ्नै ध्याउन्नमा छन् ।

दिउँसो, एक हर्षित कलाकार जंगलमा सशस्त्ररुपले गएको हुन्छ । उसले दुम्सि जस्तो एकान्तिकता रुचाउने कुनै जीव पार गर्छ । कलाकार सशस्त्र भएकाले उसमा डर छैन ।

हाँगाहरूमा साना जीव, लोखर्केहरु दगुरिरहेका छन् । पातहरूका बिचबिचमा कमिलाहरुको ताँती उस्तै छ । मकाओ चराहरू कुरा गरिरहेका छन् । क्यापुचिन बाँदरहरू पनि वरिपरि छन् । अल्छी बाँदर आफ्नो लामो निद्राबाट ब्यूँझन्छ । एउटा खोलाको छेउमा बाटोबाट अलि टाढा, त्यहाँ एउटा सानो चरा छ । जसको नाम कोलिब्री हो ।

दिनभरि उडेको छ ऊ । लामो गतिबिहिन उडानले ठप्प छ । आफ्नो लामो चुच्चोद्वारा जंगलको सबैभन्दा सुन्दर फूलहरूले स्रिजना गरेको अमृत लिन व्यस्त छ । ऊ यति सानो छ र यति बेचैन छ कि कहिलेकाहीँ अन्य जनावरहरू उसलाई देखेर हाँस्छन् ।

कोलिब्री चरा (हमिङबर्ड)

जङ्गल सबै शान्त देखिन्छ । तर आकाशमा क्षितिजबाट ठूलो कालो बादल मडारिरहेको छ । हावाले चलाएका बादलहरूले चाँडै सम्पूर्ण जंगललाई ढाक्छन् । भयानक आँधी चलिरहेको हुन्छ ।

अचानक एउटा भयानक चट्याङ सुकेको रूखमा खस्छ । रुख विस्फोट हुन्छ । चट्याङले रुखलाई दुई टुक्रा बनाइदिन्छ । रुखमा तुरुन्तै आगो सल्कियो । ज्वालाहरू बढ्दै गए । दन्किंदै गयो । ज्वाला अन्य रूखहरूमा फैलिंदै गयो । त्यसपछि जंगलभरि डढेलो फैलिंदै गयो ।

सबै डराएका, त्रसित जनावरहरू जंगल छोडेर सुरक्षित ठाउँमा शरण लिन्छन् । ति जंगलबाट पृथक भएका छन् । आफू बस्ने थलो डढेर सखाप हुन लागेकाले स्तब्ध छन् । तिनीहरूले डढेलोको तमाशा नियालिरहेका छन् । असहाय छन् । बेसहारा बनेका छन् । आफ्नो जंगल हराएको साक्षी बनेका छन् । कोलिब्री बाहेक सबैको हालत उस्तै छ ! तर कोलिब्रीले भने आफ्नो चुच्चोले खोलाको पानीको केही थोपा लिन्छ । चुचोमा ल्याएको पानी आगोमा खन्याउन थाल्छ ।

त्यसपछि ऊ खोलामा फर्कन्छ पानी लिन । चुच्चोमा ल्याएको पानी आगोमा खसाल्छ । र जति सक्दो छिट्टै खोलामा फर्किन्छ । यो काम निरन्तर गरिरहन्छ ।

केही बेरपछि व्यर्थमा हडबडाईरहेको, आत्तिएको कोलिब्री देखेर चितुवा (जगुवार) रिसाउँदै भन्छ : “कोलिब्री, तिमी पागल हौ ? के तिमीलाई लाग्छ कि यी केही थोपा पानीले आगो निभाउन सक्छौ ?”

चितुवाले रिसाउँदै त्यसो भनेको सुनेपछि कोलिब्रीले एक क्षणको लागि आफ्नो उडान स्थगित गर्छ । ती सबैलाई हेर्छ । जवाफ दिन्छ : “मलाई राम्रोसँग थाहा छ कि म एक्लैले यो वनको डढेलो निभाउन सक्दिन । एक्लै यो संभव छैन । तर म मेरो भागको काम गर्छु, म मेरो आफ्नो जिम्मेवारी पुरा गर्छु । ”

त्यति भनेर ढिला नगरि ऊ आगो भएतिर फर्कन्छ । जनावरहरू छक्क पर्छन् । कोलिब्रीको कुरा सुनेपछि धनेश चराले पहिलो पटक भन्छ “म पनि जान्छु । मसँग ठूलो चुच्चो छ । मपनि उड्न सक्छु ।”

त्यसपछि सुगाले भन्छ “पर्खनुहोस, मपनि तपाईंसँग जान्छु ।”

अन्तमा जंगलका सबै चरा आफ्ना आफ्ना चुच्चोमा पानी लिन दौडिन्छन् । कसैले आफ्नो पञ्जामा लिएर आए । हात्तीले सुँडमा बोकेर झन धेरै ल्यायो । सबैले जे जेमा सकिन्छ पानी बोकेर ल्याए र डढेलोतिर दौडिए ।

फ्रान्सेली कथाले वनको डढेलो निभाउन ति सफल भए कि भएन भनेर बताउँदैन । तर त्यस दिनदेखि केहि परिवर्तन भएको भने खुलाउँछ । जनावरहरूले नयाँ भावना, एकताको सन्देश र नयाँ शक्ति निर्माण गरेर एकजुट भएको महसुस गर्छन् । विश्वलाई सन्देश दिन्छन् । र तिनीहरूमध्ये कसैले पनि कोलिब्री सानो छ, यसले केहि गर्न सक्दैन भनेर मजाक बनाउँदैनन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक