बिहीबार, वैशाख १३, २०८१

एनआरएनए उच्चस्तरीय समितिको म्याद १० दिन थप, कानुनी र प्राविधिक समितिसमेत बनाउने निर्णय

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ माघ ११ गते १७:५४

गैर आवासीय नेपाली संघ (एनआरएनए) द्वारा गठित उच्चस्तरीय समितिले प्रतिनिधि विवाद सुल्झाउने म्याद १० दिन थप गरेको छ ।

गत १५ जनवरीमा बसेको संघको अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) को बैठक ले बुधवार, २६ जनवरी भित्र प्रतिनिधि छनौट समस्या सुल्झाउन समितिलाई कार्यादेश दिएको थियो।

त्यस यता संघका प्रमुख संरक्षक शेष घलेको संयोजकत्वमा गठित सात सदस्यीय समितिको तीन पटक बैठक बसिसकेको छ।

मंगलवार बसेको बैठकमा संयोजक घलेले अहिलेसम्मको प्रगतिबारे जानकारी गराउँदै प्रतिनिधि छनौट विवाद सुल्झाएर विधान सम्मत मतदाता नामावली तयार गर्न १० दिन (फेब्रुअरी ५ तारिखसम्म) कार्यावधि थप्न प्रस्ताव गरेका थिए। उक्त प्रस्ताव छलफल पछि सर्वसम्मतिले पारित गरिएको थियो ।

त्यस्तै बैठकले एक कानुनी परामर्श समिति र एमआइएस (मेम्बर्शिप इन्फरमेसन सिस्टम) का समस्या समाधान गर्न अर्को कार्यदल बनाउने निर्णय गरेको छ ।

संयोजक घलेसँग परामर्श गरी समिति र कार्यदल गठन गर्न बैठकले अध्यक्ष कुमार पन्तलाई जिम्मा दिएको छ ।

बैठकमा सहभागी एक पूर्व अध्यक्षले अहिलेसम्म तीन ओटै बैठकहरु सौहार्द्रपूर्ण वातावरणमा सम्पन्न भएको बताए ।

“हामीहरुले सकभर फेब्रुअरी २०२२ भित्रै महाधिवेशन र चुनाव गर्ने गरी काम अगाडी बढाई रहेका छौं,” उनले भने ।

घले नेतृत्वको उच्चस्तरीय समितिको सदस्यमा संस्थापक अध्यक्ष डा। उपेन्द्र महतो, संरक्षक जीवा लामिछाने, देवमान हिराचन, भवन भट्ट, रामप्रताप थापा र वर्तमान अध्यक्ष कुमार पन्त छन् ।

तपाइँको प्रतिक्रिया