बिहीबार, वैशाख १३, २०८१

कोरोना स्वास्थ्य पास देखाउन माग गर्दा बन्दुक देखाईयो

नेपालप्लस संवाददाता२०७८ माघ ११ गते २३:३६

Image-Carabinieri Napoli

एक वृद्ध इटालियनलाई मंगलवार आफ्नो कोविड-१९ “हरियो पास” देखाउन माग गर्दा बन्दुक निकालेर देखाएपछि पक्राउ गरिएको छ ।

नाप्लेसको बाहिरी भागमा पर्ने क्यासोरिया शहरमा रहेको म्याकडोनाल्ड्स रेस्टुरेन्टमा पुगेका ८८ वर्षीय वृद्धलाई कोरोना स्वास्थ्य पास देखाउन माग गर्दा हतियार देखाएका थिए ।

एएनएसए (आन्सा) समाचार एजेन्सीका अनुसार उक्त व्यक्तिले म्याकडोनाल्डको ढोका छेउमा रहेका सुरक्षा गार्डले हरियो पास देखाएर मात्रै भित्र पस्न आग्रह गर्दा बन्दुक देखाएका थिए ।

त्यसपछि त्यहाँ केहिबेर तनावपूर्ण अवस्था स्रिजना भएको थियो । केहिबेरमै उनी घटनास्थलबाट बाहिर गए ।

म्याकडोनाल्डको सुरक्षा गार्डले तुरुन्तै प्रहरीलाई घटनाको रिपोर्ट गरे । केहिबेरमा प्रहरीले उनलाई पक्राउ गरेको आन्सा न्युज एजेन्सीले उल्लेख गरेको छ ।

इटालीको पछिल्लो स्वास्थ्य नियम अन्तर्गत, बार र रेस्टुरेन्टहरूले ग्राहकहरूलाई “सुपर ग्रीन पास” देखाउन आवश्यक छ जसले उनीहरूलाई पूर्ण रूपमा खोप लगाइएको वा हालसालै संक्रमणबाट निको भएको प्रमाणित गर्दछ । यो नदेखाई प्रवेश गर्न दिएमा रेस्टुरेन्ट सन्चालकमाथि भारी जरिवाना सरकारले तोकेको छ ।

प्रहरीका अनुसार ती व्यक्तिलाई पक्राउ गर्न घर गएका प्रहरीलाई ढोका खोल्न र अधिकारीहरूलाई आफ्नो घरमा प्रवेश दिन अस्वीकार गरेपछि अधिकारीहरूले दमकलको सहयोगमा ढोका तोडेर प्रवेश गरी उनलाई पक्राउ गरिएको थियो ।

८८ वर्षीय वृद्धलाई चर्को धम्कीपूर्ण व्यवहार र गिरफ्तारीको प्रतिरोध गरेको आरोप लगाइएको छ । प्रहरीले उक्त व्यक्तिको बन्दुक र एघार राउण्ड गोली समेत बरामद गरेको आन्सा न्युजले उल्लेख गरेको छ ।

तपाइँको प्रतिक्रिया