बिहीबार, जेठ १२, २०७९

नेताहरुको पछाडि बन्दुक राखेर ब्यवस्था खल्बल्याइरहने को ?

तिर्थनाथ कँडेल२०७८ माघ १२ गते २२:०९

लेखक तिर्थनाथ कँडेल

एकहत्तर वर्ष ! नेपाल खुल्ला समाजमा प्रवेश गरेको समय । शेरबहादुर देउवा चार वर्षका थिए । प्रचन्ड, ओली र माधव नेपाल जन्मेकै थिएनन । २००७ सालमा सक्रिय संघर्ष गरेकाहरु सम्भवत: यो दुनियाँमा छैनन । सात सालमा जो जोले संघर्ष गरे ति मध्ये गिरिजा प्रसाद कोइराला, कृष्ण प्रसाद भट्टराई र मनमोहन अधिकारी २०४६ सालको परिवर्तन पछी प्रधानमन्त्री बने । गिरिजा प्रसाद कोइराला पटक पटक, कृष्ण प्रसाद दुई पटक र मनमोहन एक पटक । नेपालीको जीवनस्तर फेर्ने सोचको विस्तारित रुप तिनिहरुमा देखिएन ।

देश बनाउने वा जनताका सपनाका कुरा नगरौं गिरिजा प्रसाद कोइरालाले देशको संरचना हल्लाएर छोडे । शेरबहादुर देउवाको गुरुकुल आखिर गिरिजा प्रसाद कोइरालाकै घरमा बनेको पाठशाला थियो । यिनको पढाई कोइरालाकै पाठशाला भएको हो । त्यसैले देउवासँग जो जोले देश र जनताप्रति अपेक्षा गरे ति मान्छेहरु भ्रममा थिए र छन ।

देउवा यस्ता मान्छे हुन जसले प्रजातन्त्र र लोकतन्त्रको परिभाषा नै फेरिदिए । सांसद किनबेच र भ्रष्टाचार हाम्रो लोकतन्त्रको अभिन्न अंग बनेको छ । कम्युनिष्ट पार्टीका धुरन्धर माधव नेपाल र केपी ओली अनी पछील्ला सर्वहारा प्रचन्ड पनि देउवाकै पदचापमा छन । यि कुनैलाई पनि देश र जनता प्रति कुनै भरोसा छैन । न देश र जनताले यिनीहरुसँग कुनै भरोसा गरेको छ न यिनले जनताप्रति कुनै जिम्मेवारी बोध गरेका छन । मुलुक बाढीले पखालेर छोडेको बगर जस्तो भएको छ । यो देशलाई यस्तो बगर बनाउने यिनै हुन ।

नेपाल अहिले फेरि पनि ट्रान्सपरेन्सी इन्टन्याशनलद्वारा भ्रष्ट मुलुकको अग्रणी सूचीमा परेको छ । कसले गर्छ भ्रष्टाचार ? कसरी यति धेरै भ्रष्टाचार हुन्छ ? एक्कैछिन सोचौं- नेपाली कांग्रेस, एमाले, माओवादी, मधेशबादी दल, माधव नेपालको पार्टी सबैका बाहिर देखिने छुट्टाछुट्टै एजेण्डा छन । तिनिहरुको राजनीतिको बाटो पनि फरक देखिन्छ, हामीले हेर्दा । एउटा पार्टीले अर्को पार्टीका बारेमा गर्ने आलोचना पनि बेग्लै छन । र ति आलोचनाका बुँदाहरु दर्जनौं छन । तर कुनै पनि पार्टीको एउटा नेताले अर्को पार्टीको कुनै नेताद्वारा ‘यहाँँनेर भ्र्ष्टाचार गरियो’ भन्दैन । भ्रष्टाचारका विषयमा कसैले केही बोल्दैन । बाहिर खुब आलोचना गरेजस्तो देखाउँछन् । गर्छन् पनि । तर भ्रस्टाचारको मामिलामा चुइँक्क गर्दैनन् ।

एउटा गम्भिर प्रश्न के हो भने, को छ यि सबै नेताहरुको पछाडि जसले नेताहरुको काँधमा बन्दुक राखेर सबै ब्यवस्थालाई खल्बल्याइरहेको छ ?

यस्तो लाग्छ, राजनीतिमा सक्रिय सबै नेताहरु दुधले नुहाएर बसेका छन । फेरी भ्रष्टाचार कसले गरेको छ ? किन यती धेरै भ्रष्टाचारका मुद्दाहरु बाहिर आउँछन ? किन भ्रष्टाचारका विषयमा अध्ययन गर्ने ट्रान्सपरेन्सी इन्टरनेशनल जस्ता संस्थाले नेपाललाई भ्रष्ट मुलुकको सुचिमा अग्रिम राख्छन ? जनताले भ्रष्टाचारका विषयमा किन यती धेरै कुरा गर्छन ? एक्कैछिन सोच्नुस् त- तर देउवा, ओली, प्रचन्ड, माधव नेपाल, महतो, ठाकुर, यादव कसैले पनि यो विषयमा बोल्दैन । किनभने यो देश भागवण्डामा चलेको छ । देशको एक एक चिम्टी माटोमा नेताहरुले भाग लगाएका छन । धेरै खोजिरहनु पर्दैन, तीन दशक देखि देशको छाला काड्ने यिनै माकुराहरु हुन ।

२०६२-६३ को जनआन्दोलनको सफलता र ब्यवस्था परिवर्तन पछी सबै राजनीतिमा सबै भन्दा बढी सुनिएको नामहरु युवा नेताका हुन । यो बिचमा उभारमा आएका केही युवाहरु जनताको नजरमा परेका थिए । अलिकती मान्छेहरुलाई कस्तो लागेको थियो भने देश परिवर्तनका लागि यि नयाँँ अनुहारहरु उपयुक्त छन । पन्ध्र वर्षको यो अवधिमा सबै पार्टीका रुचाएका भनिएका युवाहरुले संसद, मन्त्रीमण्डल वा आ-आफ्ना पार्टीका माथिल्लो तहसम्म पनि पुगे ।

प्रश्न जनताको आशा कहाँँ पुग्यो भन्ने हो । प्रश्न यो पन्ध्र वर्षमा देशको उन्नतिका लागि युवा नेताहरुको के योगदान रह्यो भन्ने हो । जनताले रुचाएका गगन थापा, रामकुमारी झाँक्री, गोकर्ण विष्ट, योगेश भट्टराई, रविन्द्र अधिकारीहरुले जनताको जीवनस्तर उकास्न के भूमिका निर्वाह गरेका छन ? पुरानाहरुको कुरा छोडौं । तिनलाई जनताले आशा मारिसकेका छन । केपी ओली, देउवा, माधव नेपाल, प्रचन्ड सबै आफ्नो र आफन्तकै उन्नतिमा छन ।

अझ प्रचन्डको कुरा बेग्लै छ, उनी प्रजातन्त्र होस या लोकतन्त्र सबै ब्य्वस्था असफल बनाउन उद्दत छन् । उनी के चाहन्छन भन्ने कुरा कसैलाई थाहा छैन । तर जे चाहन्छन उनी यो ब्यवस्था, यो देश असफल बनाउन चाहन्छन् । देउवा, माधव नेपालहरु त्यसैका मतियारहरु भएका छन । प्रचन्डका एक दशक यताका प्रस्तावलाई हेर्ने हो भने कुनैपनि यस्ता प्रस्ताव र योजनाहरु छैनन जो देश र जनताको उन्नतिमा सहायक होस । खिलराज रेग्मीलाई प्रधानमन्त्री बनाउने देखि अहिले स्थानिय तहलाई उछिनेर संघिय संसदको चुनाव पहिले गराउने प्रस्तावले कहाँनेर देशको सफलताको रेखा कोर्दछ ? अनी सम्पूर्ण देश प्रचन्डको आत्म केन्द्रित प्रस्तावमा वहस गर्न घोप्टो पर्छ । प्रचन्ड देशलाई असफल बनाउन चाहन्छन । हरेक ब्यवस्थालाई पत्रु बनाउन खोजेका छन उनले । जबसम्म प्रचन्डलाई नेपाली राजनैतिको केन्द्रमा राखिन्छ तबसम्म नेपाली जनताका लागि केही हुनेवाला छैन ।

पिर्के सलामीको विरोधमा उत्रिने रामकुमारी झाँक्री आफैं पिर्कामा उभिएर सलामी खाइन् । मन्त्री बनेपछी जनताले उनको पनि हैशियत देखे ।

हुन त जनमतको गणितलाई हेर्ने हो भने प्रचन्ड शक्तिशाली नेता होइनन यतिबेला । तर शक्ति नभएको मान्छे कसरी यस्तो शक्तिशाली हुन सक्दछ र प्रधानमन्त्री लगायत देशका सबै दलहरुलाई आफ्ना एजेण्डाहरुमा वहस गर्न बाध्य पार्दछ । देशमा अनगिन्ती अरु विषय छन- वहसका लागि । तर पनि प्रचन्डकै प्रस्तावमा घोप्टिनु परेको छ ।

कोरोनाको गती बढ्दो छ । बजारमा सिटामोल पाइँदैन । महिनौं देखी संसद अवरुद्द छ । एमालेले त्यसैमा गणतन्त्रको उत्सव मनाएको छ । कसैले कसैलाई जवाफ दिनु परेको छैन । हामी नेपालीहरु युवा नेताको भरोसामा आशा बाँधेर बसेका छौं । तर को चाहिं सग्लो छ । गगन थापालाई छोड्ने हो भने कुनै न कुनै रुपमा बद्नाम भएको छ ।

रविन्द्र अधिकारी, जो अब यो दुनियाँमा छैनन । उनी मन्त्री छँदा कहाँँ कहाँँ के के गरे ति अहिले उजागर हुँदै छन । योगेश भट्टराईले कुन कुन ब्यापारीसँग कती कमिशन खाए त्यसको छिद्र अब विस्तारै खुल्दै छ । गोकर्ण विष्ट आफ्नो मन्त्री पदबाट निस्केर लुरुलुरु सिंहदरवारबाट बाहिर हिंडे । किन त्यसरी हिंडे जनताले जान्न पाएनन । पिर्के सलामीको विरोधमा उत्रिने रामकुमारी झाँक्री आफैं पिर्कामा उभिएर सलामी खाइन् । मन्त्री बनेपछी जनताले उनको पनि हैशियत देखे । पिर्के सलामीलाई जनताले मात्र होइन झाँक्री स्वयंले पनि वहिस्कार गरिकी थिइन । जनताले मनपराउने कुरै भएन ।

तर एउटा गम्भिर प्रश्न के हो भने, को छ यि सबै नेताहरुको पछाडि जसले नेताहरुको काँधमा बन्दुक राखेर सबै ब्यवस्थालाई खल्बल्याइरहेको छ ? देश खुला समाजमा प्रवेश गरेको एकहत्तर वर्ष पुगेको छ । यो एकहत्तर वर्ष मात्र होइन ८ सय ५२ महिना हो । अबको समयपनि त्यसरिनै दवाइ खान पाउने र दवाइ नपाउनेहरुको संघर्षमा वित्नेछ । अनी हामी सँधै भनिरहने छौं- ब्यवस्था राम्रो भएन । यसलाई फेर्नु पर्छ । प्रचन्ड यही चाहन्छन ।

तपाइँको प्रतिक्रिया

फेसबुक