शुक्रबार, वैशाख १४, २०८१

अमेरिकी सेनाका नेपालीको धन्दा : जर्मनी बसेरै पत्नीका नाममा करोडभन्दा बढी ठगी

नेपालप्लस संवाददाता२०७८ माघ १३ गते १८:०६

विरामी दिब्या नेपाल, उनका पती शाश्वत बम देब्रेतिर । सबैभन्दा दाहिने घटनाको पर्दाफास गर्न सहयोग गर्ने मेलिना अधिकारी

‘पहिले कठै बिचरा’ भन्दै आर्थिक सहयोग गरेका ब्यक्तिलाईनै अहिले जर्मनीमा ठग भन्दै कारवाहिको माग गरिरहेका छन् । अमेरिकी सेनामा कार्यरत शास्वत बमले अस्पतालमा उपचाररत आफ्नी पत्नीको यति हेरचाह र माया देखाएकि त्यो देखेर हजारौंको आँसु बग्यो । हजारौंले उनको स्तुति गाए । सम्मान गरे । तर जब उनले अस्पतालको बेडमा जिवन र मरणको दोसाँघमा रहेर संघर्ष गरिरहेकि पत्नीको भिडियो खिचेर ब्ल्याकमेल गर्दै एक करोड भन्दा बढी उठाएको रहस्य खुल्यो तब उनलाई सहयोग गर्नेहरुलेनै हाल कारवाहिको माग गरिरहेका छन् ।

अमेरिकी सेनामा कार्यरत टिकापुर कैलालीका २५ वर्षिय शास्वत बमले सन् २०२२ जनवरीको ११ मा एउटा भिडियो अपलोड गरेका थिए । त्यसमा एक महिला ओछ्यानमा लडिरहेको देखाईएको थियो । बोल्नै नसक्ने तर आँखा पिल्पिल गरिमात्रै रहेकि पत्नीलाई खुशि बनाउन भन्दै न्रित्य देखाईरहेका हुन्छन् उनी । पत्नी बोल्दिनन । बोल्नसक्ने अवस्थामा हुन्नन् के बोल्नु ?

बेडमा पल्टिरहेको, बोल्नै नसक्ने महिलाको अगाडि कोहि नाचिरहेको । यसले धेरैलाई उत्सुक बनाउनेनै भयो । त्यस्तो महिलाको अगाडि एक पुरुष नाचिरहेको भिडियो देखेपछि के भएको हो भनेर सबैमा उत्सुकता जाग्नेनै भयो । सयौंले जिज्ञासा राखे ‘भएको के हो ?’ ।

सयौंको चासो देखिएपछि शास्वत बमले अझ धेरै भिडियो बनाएर फेरि टिकटकमा राखे । त्यसपछि बमले जर्मनीको बर्लिन स्थित चारिते युनिभर्सिटी अस्पतालमा उनकी पत्नी उपचाररत रहेको भिडियो झन धेरै खिचेर टिकटकमा राखे । उपचारका क्रममा पत्नीलाई जताजता लगिन्छ उनले भिडियो खिच्दै राख्दै गरे । गत अप्रिल महिनामा विवाह गरेको नवजोडीलाई बज्रपात सहनुपरेको भन्दै खुब सहानुभूती बटुले ।

उनलाई टिकटकमा यति धेरैले पछ्याएकि केहि हप्तामै ५० हजार भन्दा बढी फलोवर भए । यो देखेपछि उनले गो फण्डमा खाता खोलेर सहयोगको याचना गरे । सन्जालमा आफ्नी पत्नीलाई ‘ब्रेन न्युरेजियम रुपचुर’ भएको उल्लेख गरे । यो मगज भित्र रगत बग्दा हुने रोग भनेर उल्लेख गरेका छन् । ब्रेन ह्यामरेजको उपचार त भयो । तर त्यो उपचार गर्नेक्रममा एक्युड किड्नी डाईफङ्सन देखियो । अर्थात् मृगौला बिग्रियो ।

गोफण्डमा पत्नीको अक्सिजन मास्कसहितको फोटो राखेर शास्वतले ७२ हजार भन्दा बढी डलर एक साता अघिनै उठाएका थिए

मृगौला बिग्रिएपछि जिन्दगीभरी हप्तैपिच्छे केहि पटक मृगौलाको डाईग्लेसिस गरिरहने अथवा केहि समय डाईग्लेसिस गर्दै गरेर मृगौला दानकर्ताको खोजि गर्ने । अर्को अस्पतालले उपयुक्त मृगौला भेट्टाएर प्रस्ताब गरुन्जेलसम्म डाईगलेसिस गर्दै पर्खिने ।

अर्को बिकल्प थियो, आफैंले मृगौला दान गर्ने कोहि दाता खोज्ने । शास्वत बमले मृगौला ट्रान्सप्लान्ट गर्ने निधो गरेको तर लाखौं रकम लाग्ने भएकोले सहयोग चाहिएको भनेर टिकटकमा भिडियो बनाए । गोफण्डमा त्यहि भनेर सहयोगको याचना गरे । मृगौला ट्रान्स प्लान्टकोलागि नेपालमा दानकर्ता खोजिरहेको समेत उल्लेख गरेका छन् ।

गो फण्डबाट जति जति पैसा उठ्दै गयो उनमा पैसा कमाउने झन धेरै तिर्खा र लोभ बढ्दै गयो । दाताहरु यस्तरि पग्लिए कि दिनदिनै हजारका हजार गो फण्डमा डलर बढेको बढ्यै गर्‍यो । जति पैसा जम्मा हुन्छ त्यो सबै मृगौला दाता खोज्न, म्रिगौला कसको मिल्छ कि मिल्दैन (म्याचिङ) जाँच गर्न, परिक्षण गर्न, जर्मनीदेखि नेपालसम्मको यात्रा गर्न, औषधी खर्च, दुखाइ कम गराउन, रिह्याबिलेसन् गराउन खर्च गरिने उल्लेख गरेका छन् । टिकटकको भिडियोमा अझैपनि उनकी विरामी पत्नीले बिस्तारामा लडिरहेको, अझै उपचार भैरहेको, जिवन र मरणको दोसाँधमा रहेको उनले देखाउन छोडेनन् ।

तर उनले यो रकम मागिरहँदा र असपतालमा आफ्नी पत्नी जिवन र मरणको दोसाँधमा रहेको भिडियो देखाउँदा उनकी पत्नी भने विहान उठेर पाँच किमी हिंड्ने, खाना बनाउने गर्न थालिसकेकि थिईन । अस्पतालले ब्रेन ह्यामरेजको उपचार र त्यसपछि मृगौलाको डाईगलेसिस गरेर डिस्चार्ज गरिसकेको थियो । अर्थात् उनकी पत्नी दिब्या सेप्टेम्वरमा २९ मा विरामी परेकि थिईन् । उपचारपछि उनी नोभेम्वर १९ मा डिस्चार्ज भएकि हुन् । उपचार गरेर डिस्चार्ज भएको साँढे दुई महिनापछिपनि उनी सघन उपचार कक्ष (आइसियु) मा पत्नी बोल्नै नसक्ने अवस्थामा रहेको भिडियो हालेर पैसा उठाइरहेका थिए ।

नाकमा अक्सिजन मास्क दिएको र बेडमा पल्टिरहेको भिडियो देखेपछि जसकोपनि मन पग्लिन्छ । यहि भिडियो देखेपछि धेरै नेपालीले उनलाई सहयोग गर्न थाले । गोफण्डबाटपनि हालसम्म २८ सयभन्दा बढीले आर्थिक सहयोग गरिसकेका छन् । दुई तिनदिन अघि नै ७२ हजार ४ सय ४८ अमेरिकी डलर गोफण्डमार्फत् उनले उठाईसकेका छन् । यो भनेको ९० लाख नेपाली रुपियाँ जति हो । यसबाहेक उनले आफ्ना दाजुको खातामापनि नेपालमा पैसा उठाएका छन् । उनलाई भेटेर हातैमा नगद दिनेहरुको संख्यापनि उल्लेख्य छ ।

कसरि भयो पर्दाफास ?

शुरुमा आठ, १० हजार युरो उठ्ने बेलासम्म शास्वतकै साथीहरुलेपनि उनलाई सहयोग गरे । २५ हजार युरो उठाउने बेलासम्म शास्वतकी पत्नी दिब्या नेपाल (बम) कै साथी मेलिना अधिकारीलेपनि निकै सहयोग गरिन् । त्यसपछि उनीहरुलाई लाग्यो, २०, २५ हजार युरो भन्दा त जतिसुकै खर्च गरेपनि म्रिगौला उपचारको लागि लाग्दैन । जर्मनीमा त सय प्रतिशतनै उपचार स्वास्थ्य विमाले ब्यहोर्छ ।

तरपनि शास्वतले पैस उठाएर ठग्न छोडेनन् । शास्वतले साँढे दुई महिना अघिनै सन्चो भएर अस्पतालबाट डिस्चार्ज भएकी पत्नी दिब्या नेपालको फोटो अस्पतालमै भएजसरि पोस्ट गर्दै पैसा उठाउँदै गरिरहेपछि मेलिनाले यो घटनाको पर्दाफास गरिदिईन् । ब्ल्याकमेल गरेर पैसा उठाएको कुराको बिरोध गर्न भन्दै जर्मनीका केहि नेपाली, दानकर्तासितपनि छलफल चलाईन् । टिकटकमा आएर घटनाको यथार्थता सुनाईन् ।

सैनिक पोशाकमा ड्युटी गर्दै शास्वत

“नेपाल जाने मृगौला ट्रान्सप्लान्ट गर्न भनेकोले म सहित संलग्न भएर एकदमै सहयोग गर्‍यौं । २२, २५ हजार डलर उठायौं । सबै सन्चो भैसक्यो । घर आएको दुई महिना भैसक्यो । हामी ६ किमी हिंडेर आउँछौं । हिंड्ने, बोल्ने खाने सबै छ । उहाँ घर आएरपनि हामी दुई जना मिलेर मम बनाउँथ्यौं । सन्चो भैसकेको मान्छेले तिन साँढे तिन महिना आइसियुमा बसेको अस्पतालको भिडियोहरु हालेर, टिकटकमा मान्छेलाई ब्ल्याकमेल गरेर पैसा उठाइएको छ । तर त्यो पैसा उठाउने शास्वतले मानिसलाई यो कुरा स्पष्ठ खुलाएकै छैन” मेलिनाले नेपालप्लससित भनिन् “यस्तो गलत, अन्याय गरेको, ब्ल्याकमेल गरिरहेको कसरि सहने ? मलाई त यो पटक्कै ठिक लागेन ।”

शास्वतकी पत्नीको जहाँ उपचार भएको थियो त्यहि शहर बर्लिनको एक अस्पतालमा सेवारत एक नेपाली चिकित्शक डा. सरोज चुडालले जर्मनीमा कुनैपनि रोगको उपचार निशुल्क हुने नेपालप्लसलाई जानकारि दिए । “५, ७ युरो सामान्य लागे मात्रै हो नत्र यहाँ सबै रोगको निशुल्क उपचार हुन्छ । सबै विमा कम्पनीले ब्यहोर्छ । विरामीले जस्तो रोग लागेपनि आफूले तिर्नु पर्दैन” डा. चुडालले भने ।

बरु शास्वतकी पत्नी दिब्या (नानगरिकतामा उनको नाम बिध्या नेपाल हो) बिरामी भएर घरमा बस्दापनि बिरामी भत्ता आइरहेको छ । तिन वर्षसम्म त्यो भत्ता आइरहन्छ । जर्मनीमा दिर्घ रोगीले यदि काम गर्न नसक्ने, नहुने अवस्था आए, चिकित्सकले त्यो प्रमाणित गरिदिएमा आजिवन भत्ता दिन्छ, सरकारले । त्यतिलेपनि नपुगेर पुरानो भिडियोहरु देखाउँदै उनीहरुले टिकटक मार्फत् एक करोडभन्दा बढी संकल गरिसकेका छन् ।

“मैले शास्वतलाई म्यासेज गरेर सतर्क गराएँ । तर उसले के उखाड्नसक्छ उखाड, तेरो एनआरएननै आएपनि मलाइ मतलव छैन भनेर यस्तो क्रियाकलाप गरिरहेको छ । यो गलत कुराको बिरोध गर्नुपर्छ र सबैलाई जानकारि दिनुपर्छ भनेर सल्लाह गर्‍यौं” मेलिनाको भनाई छ ।

विरामीलाई दुरुपयोग गरेर मोज गर्न यो क्रियाकलाप गरेका हुन् जुन् एकदमै गलत रहेको भनाई मेलिनाको छ । “यसरि ब्ल्याकमेल गरेको पैसा फ्रिज होस् । उपचार गर्दा लागेको खर्चको बिल देखाएर उनीहरुले पैसा पाउन्” उनले सुनाईन् ।

यो जोडी एकदमै न्युनस्तरकोपनि होइन । पेरिस, ईटाली, स्विजरल्याण्ड, स्पेन लगायत युरोपका थुप्रै शहर घुमेको, रेस्टुरेन्टमा गएर भोज, पार्टी गरेका फोटो शास्वतले फेसबूक र ईस्ताग्रममा राखेका थिए । तर अहिले शास्वत वमले ति सबै फोटोहरु फेसबूकबाट हटाएका छन् । इस्ताग्रमलाई भने प्राईभेट बनाएर अरुले हेर्न नमिल्ने बनाएका छन् ।

शास्वतले ठगि, ब्ल्याकमेल गरेको कुरा लगभग दुई सातादेखि भित्रभित्रै खासखुस भैरहेको थियो । तर ‘बिरालाको घाँटीमा घण्टी बाँध्ने’ ब्यक्ति निस्किन समय लाग्यो । मेलिनालेनै यसलाई सार्वजनिक गरिन् ।

अहिले यो घटना भुसको आगोझैं सल्किएको छ । मानिसहरुले मुख खोलेरै बिरोध गर्न थालेका छन् । जर्मनीको मुन्स्टरका नेपाली ब्यवशायी सुर्य तिवारीले यहि घटनाबारे आफ्नो फेसबूकमा लेखेका छन् “उपचार खर्च भन्दै अपील गरिएको छ । यी विरामी नानी अहिले निको भएर घरको काम गर्न सक्ने भएकी छन । यसरी अनावश्यक रकम संकलन गर्दा भोली कसैलाइ अप्ठेरो पर्दा गुहार नपाउने हुनसक्छ । समाजमा यस्ता विचलन रोक्नुपर्छ । स्मरणरहोस, जर्मनीमा उपचार खर्च स्वास्थ्य विमा कम्पनीहरूलेनै बेहोर्छन् । त्यसैले यी विरामीको नाम पारेर कसले रकम संकलन गरिरहेको छ । दूतावास र एनआरएनले चासो र पहल गर्नु जरुरि होला जस्तो लाग्छ । अहिलेसम्म करीब एक लाख यूरो संकलन गरीसकेका रहेछन ।

हाल यो घटनालाई गैर आवाशीय नेपाली संघ (एनआरएनए) जर्मनीमापनि पुर्‍याईएको छ । ब्ल्याकमेल गर्ने शास्वतलाई कारवाहि गर्नुपर्ने भन्दै जर्मनीको नेपाली दुतावास र जर्मन प्रहरीसमक्षसमेत उजुरि हाल्ने तयारि भैरहेको जर्मनीका नेपालीहरुले नेपालप्लसलाई बताए । उनीहरुले यो घटना अमेरिकी सेना समक्षपनि पुर्‍याउने भएका छन् जहाँ शास्वत वम कार्यरत छन् ।

इस्ताग्राम, फेसबूक, टिकटकमा शास्वत द्वारा सहयोगको याचना

 

युरोपका बिभिन्न शहरमा घुम्दै गर्दाका तस्विर

नेपालप्लसले शास्वत वमलाई फेसबूक र ह्वाट्सएपमा सम्पर्क गरेर प्रतिक्रियाकालागि खबर गरेको थियो । तर उनले यो समाचार लेख्दासम्म प्रतिक्रिया दिएका छैनन् ।

तपाइँको प्रतिक्रिया