शुक्रबार, वैशाख ७, २०८१

मानव इतिहासमा पहिलो लेखक को ?

प्रतीक दासगुप्ता२०७८ माघ १४ गते १७:१६

Photo by Guzz Alkala on Unsplash

यदि तपाईंले गुगलमा खोज्नुभयो भने “विश्वको पहिलो लेखक को थिए?” तपाईंले जवाफ पाउनुहुनेछ- एनहेदुआन्ना ।

तर गुगलले भनेको भन्दा सत्यता धेरै फरक छ ।

एनहेदुआन्ना को हुन् र मानव इतिहासको पहिलो लेखकको रूपमा उनको दाबीलाई किन चुनौती दिइन्छ ? हामीले उनी र पहिलो लेखक भनी दाबी गर्न सक्ने अन्य व्यक्तिहरूको बारेमा कुरा गर्नु अघि मानिसहरूले किन लेख्न थाले भन्ने बुझ्नु आवश्यक छ।

सन् १८४० मा पुरातत्वविदहरू माइसेनेन्स भनेर चिनिने पुरातन ग्रीक मानिसहरूका भग्नावशेषहरू फेला पार्दा उत्साहित भए । तिनीहरूले अवशेषहरूकाबीच लिखित कागजातहरू फेला पारे । उनीहरूले आफूले पढेका इलियड र ओडिसीबाट होमरको महिमाका महाकाव्य कथाहरू पहिलो लिखित पुस्तक हुने आशा गरेका थिए । तर तिनीहरू निराश भए । किनकि तिनीहरू करका रसिदहरू र बिभिन्न सूचीका रेकर्डहरू थिए ।

सबैभन्दा पुरानो लिखित कागजातहरू सुमेरमा फेला परेका माटोका ट्याब्लेटहरू थिए । तिनीहरू अन्न र पशुधनको अभिलेख गर्न प्रयोग गरिएका थिए । हो, मौलिक लेखकहरूले कविता वा साहित्य लेखेका थिएनन् । तर सांसारिक लेखा सामग्री लेखेका थिए जसलाई आज हामीमध्ये धेरैले झ्याउलाग्दो मान्छौं।

तर के यसले तिनीहरूलाई लेखक बनाउँछ ? यदि तिनीहरू थिएनन् भने मानव इतिहासमा पहिलो लेखक को थियो ? हामीले पुरानो साहित्यको रेकर्ड पछ्याएर यसको जवाफ पाउन सक्छौं ।

सबैभन्दा पुरानो लिखित साहित्य कुन हो ?

इतिहासमा साहित्यको सबैभन्दा पुरानो काम मध्ये एक, Shuruppak को निर्देशन। Image source: Wikimedia Commons.

हामीलाई ज्ञात साहित्यको प्रारम्भिक कार्यहरू मेसोपोटामियाई इतिहासको प्रारम्भिक राजवंश काल (२९०० ईसा पूर्वदेखि २३५० ईसापूर्व) दुई सुमेरियन ग्रन्थहरू हुन् । ती हुन्, शुरुपाक र केश मन्दिर भजनको निर्देशन । पुरातत्वविद्हरूले २६०० र २५०० ईसापूर्व दुवैको बीचमा भएको उल्लेख गरेका छन् ।

यी ग्रन्थहरूमा के कथाहरू भनिएको छ ?

तपाईं मध्ये धेरैले यी कथाहरू पहिले सुनेको हुनसक्छ । केश मन्दिर भजनले सृष्टिको सुमेरियन देवी, निन्टुडले पुरुष र नारी सिर्जना गर्ने कथा बताउँछ । आदम र हव्वाको सृष्टिको कथा जस्तो लाग्छ ।

शुरुपाकको निर्देशन उबारा तुतुलाई दिइएको नियमहरुको जोडीसेट हो । उनी बाढीको महाप्रलय अघि सुमेरका अन्तिम राजा थिए ।

पाठका नियमहरूले व्यक्तिलाई उचित व्यवहार, सही मार्ग, बुद्धि र सद्भावपूर्ण आचरण छनौट गर्न सिकाउँछ । तिनीहरू दश आज्ञाहरूसँग एकदम मिल्दोजुल्दो छन् । र हामीले हितोपदेशको बाइबलीय पुस्तकका उखानटुक्कामा धेरै निर्देशनहरू पाउँछौं ।

शुरुप्पकको निर्देशन र केश मन्दिर भजन संसारको लिखित साहित्यको प्रारम्भिक प्रमाण हो । त्यसोभए के तिनीहरूका लेखकहरू इतिहासमा पहिलो हुनु हुँदैन ?

यो लज्जाको कुरा हो, हामीलाई ति विषय कसले लेखे भनेर थाहा छैन । हामीले सबैभन्दा पुरानो कृतिहरू फेला पारेका छौं । तर ती कसले लेखेका छन् भनेर हामी पत्ता लगाउन सक्दैनौं ।

यसले हामीलाई सबैभन्दा पुरानो ज्ञात लेखक को भनेर देखाउँछ । गुगलका अनुसार, एनहेदुआन्ना ।

एनहेदुआन्ना : संसारको पहिलो लेखक ?

एनहेदुआन्ना, इतिहासका प्रारम्भिक लेखकहरू मध्ये एक हुन् ? सम्भवत । फोटो स्रोत: विकिमीडिया कमन्स ।

एनहेदुआना सुमेरियन शहर उरमा चन्द्रमा देवता नन्नाको प्रधान पुजारी थिइन् । उनका बुबा अक्कडका सार्गोन थिए । इतिहासका पहिलो सम्राट र अक्काडियन साम्राज्यका संस्थापक (२३३४–२१५४ ईसापूर्व)।

सार्गोनले मेसोपोटामियाका विभिन्न राज्यहरूलाई एकीकृत गरे । तर तिनीहरूसँग फरक भाषाहरू र संस्कृतिहरू थिए । र प्रायः तिनीहरूका नयाँ शासकहरू विरुद्ध विद्रोह गर्थे ।

यद्यपि सुमेरियनहरू र अक्कडियनहरू एकअर्काको नजिकै बस्थे । भाषाहरू चिनियाँ र अंग्रेजी जस्तै भिन्न थिए । उनीहरुको धर्म पनि फरक थियो । यसरी, सुमेरियनहरूले अर्को संस्कृतिद्वारा शासन गरेको कदर गरेनन् ।

सार्गोनले सुमेरियनहरूलाई खुसी पार्न राम्ररी पढेका र प्रतिभाशाली एन्हेडुआन्नालाई पुजारीको रूपमा नियुक्त गरे । उनले सुमेरियन भाषामा इनान्नाज एजाल्टेसन्स र सुमेरियन टेम्पल हिम्स जस्ता भजनहरू लेखिन् ।

यी भजनहरूले उनको नाम लेखकको रूपमा चिनाउँछन् । त्यसैले उनी इतिहासमा पहिलो लेखक हुन भन्नसकिन्छ, हैन ? त्यति छिटो छैन ।

पुरातत्वविद् र इतिहासकारहरू केलाई विश्वाश गर्ने भनेर निश्चित छैनन् । किनभने त्यहाँ केही विरोधाभासी प्रमाणहरू छन् । भजनहरू उनको समयका होइनन् ।

पुरानो बेबिलोनियन साम्राज्य (१८९४–१५९५ ईसापूर्व) को समयमा उनको मृत्यु भएको छ शताब्दीपछि एन्हेडुआनाका भजनहरू लेखिएका थिए । प्रयोग गरिएको भाषा उनको समयको भन्दा सुमेरियनको पछिल्लो बोलिचालीको भाषा (डिआलेक्ट) थियो ।

बेबिलोनी शास्त्रीहरूले लेखनका कामहरू तिनलाई दिएको विज्ञहरू विश्वास गर्छन् । यो सार्गोनको विरासत महिमा गाउनको लागी गरिएको थियो । यदि उनले आफ्नो समयमा लेखेनन् भने हामी उनलाई कसरी लेखक भन्न सक्छौं ?

जब वेद, महाभारत, बाइबल र इलियड लेखिएको थियो पुस्तकहरूमा वर्णन गरिएका घटनाहरू धेरै पछि भइसकेका थिए । के हामी तिनीहरूका कथाकारहरूलाई लेखक भन्न सक्छौं, वा लेख्नेहरूलाई ?

एनहेदुआन्ना इतिहासमा पहिलो लेखक थिए भन्ने दाबीलाई समर्थन गर्न गाह्रो छ । यदि त्यहाँ उनको समयका कुनै पाठहरू छैनन् भने कसरि गर्ने ? तर हामी उनलाई पाठ लेखेको भनेर शंकाको फाइदा दिन सक्छौं । यदि उनले भजन लेखे पनि यसले उनलाई इतिहासको पहिलो लेखक बनाउँदैन जुन हामी यसपछि देख्नेछौं ।

पहिलो लेखक को ?

मेटाजेनको चिहान । उनी संसारको पहिलो लेखक थिए । फोटोस्रोत: विकिमीडिया कमन्स।

त्यसोभए, एन्हेदुआन्ना होइनन् भने इतिहासको सबैभन्दा पुरानो लेखक को हो ? फेरि प्रश्न उठ्छ । उत्तर खोज्नको लागि हामीले मेसोपोटामियाबाट अर्को प्राचीन सभ्यता, इजिप्टमा जानु पर्छ।

सन् २०१३ मा फ्रान्सेली पुरातत्वविद्हरूको समूहले इजिप्टको लाल सागर तटमा रहेको वादी अल-जार्फमा मानव निर्मित गुफाहरूमा गाडिएको पापिरुस (नरकट जस्तो जल विरुवा जसबाट प्राचिन ईजिप्टमा लेख्नकोलागि कागज बनाईन्थ्यो) को भण्डार पत्ता लगाए । यो संसारको सबैभन्दा पुरानो पापिरुस थियो।

हामी इतिहासको सबैभन्दा पुरानो पुस्तक कसले लेख्यो भनेर पत्ता लगाउन अब एक कदम नजिक पुग्छौं ।

पापिरुस मेरेर नामले चिनिने सरकारी अधिकारीको डायरी थियो । उनी इजिप्टको चौथो राजवंशको फारोह कुफुको शासनकालमा बस्थे । यसले उनलाई लगभग २५०० ईसा पूर्व, एन्हेदुआना भन्दा १५० वर्ष अगाडि राख्छ ।

त्यसोभए के मेरेरको डायरी सबैभन्दा पुरानो पुस्तक हो ? के मेरर मानव इतिहासमा पहिलो लेखक हुन् ? त्यो बहसयोग्य छ ।

मेररको पुस्तक एन्हेदुआन्नाको भजन भन्दा पुरानो छ । तर शहरको प्रशासन र निर्माण दिनहुँ कसरी चल्यो भन्ने रेकर्ड थियो । यसले उनलाई साहित्यिक कार्यको सट्टा कसरी गाइड गर्ने भन्ने लेखक बनाउँछ ।

यो पापिरुस र सुमेरियन ट्याब्लेटहरू बीचको आधारभूत भिन्नता यो हो कि हामीलाई यो कसले लेख्यो भनेर थाहा छ । भाग्यवश, हामीले सबैभन्दा पुरानो लेखक खोज्न इजिप्टलाई छोड्नु पर्दैन ।

हामी एक शताब्दी पछाडि जानुपर्छ, २६०० ईसा पूर्वमा । अर्का उच्च पदीय इजिप्टका अधिकारीले उनको चिहानमा आफ्नो जीवनको विस्तृत आत्मकथा लेखेका छन् । उनको नाम मेटजेन (अर्थात् मेथेन भनेरपनि भनिन्थ्यो) थियो ।

मेटजेन चिहानको शिलालेख मानिसको जीवन वर्णन गर्ने पहिलो इजिप्टियन निजी पाठ हो । यसले उनको प्रारम्भिक जीवन कथा, विरासतमा प्राप्त शीर्षकहरू, अदालतको काम र सम्पत्ति स्वामित्वको विवरणहरू बताएको थियो ।

त्यसोभए सोच्न सकिन्छ, किन यो अरू कसैले लेख्न सकेन ? मेटजेन एक शाही लेखक थिए । उनका साथीहरू पनि उनीजस्तै प्रसिद्ध सरकारी अधिकारीहरू थिए जसले आफ्नै चिहानको शिलालेखहरू लेखेका थिए । तर मेटजेनको विपरीत, तिनीहरू सबै राजाको प्रशंसामा थिए ।

त्यतिबेला त्यो सामान्य थिएन भने किन अरू कसैले उनको नाममा लेख्ने ? यो स्पष्ट थियो कि मेटजेन भावी पुस्ताले आफ्नो जीवन कथा, आफ्नो परिवार र आफू बसेको संसारको बारेमा जान्न चाहन्थे ।

यो पहिलो रेकर्ड गरिएको आत्मकथा हो । यसरी मेटजेन इतिहासमा पहिलो निर्विवाद लेखक हुन् ।

एनहेदुआन्नाको कामपनि बिर्सनु हुँदैन । किनभने उनले कविताको सम्पूर्ण पुस्तालाई आकार दिन मद्दत गरे । उनी अझै पनि इतिहासको पहिलो लेखक मध्ये एक हुन्, तर पहिलो होइनन् ।

हामीलाई शुरुप्पकको निर्देशन र केश मन्दिर भजनका लेखकहरू थाहा छैन । तर मेटजेनको जीवन, मेरर र एन्हेदुआन्नाको भजनको डायरी बारे जान्न पाउँदा हामी भाग्यमानी छौं । तिनीहरूले आगामी शताब्दीहरूमा विश्व साहित्यलाई आकार दिनेछन् ।

एनहेदुआन्नाको भजन र अन्य मूल्यवान मेसोपोटामियन र इजिप्शियन कामहरु समयको बालुवाको गर्भमा बाँचेका छन् । यसको ठूलो श्रेय अश्शूरका राजा अशुरबानिपाललाई दिनुपर्छ । उनलाई आफ्नो साम्राज्यको हरेक कुनाबाट ज्ञानको कुनै पनि काम सङ्कलन गर्न र कहिलेकाहीँ आवश्यक भए पनि आफ्नो व्यक्तिगत पुस्तकालयमा भण्डारण गर्न मन पर्थ्यो ।

(मेडियम डेलीमा प्रकाशित आलेखलाई नेपालप्लसले नेपालीमा भावानुवाद गरेको हो-संपादक)

तपाइँको प्रतिक्रिया