बुधबार, वैशाख १२, २०८१

अमेरिका हिंडेका डेढ दर्जन नेपालीलाई जर्मनीको विमानस्थलबाट पक्राउ गरेर दुबाई फिर्ता

नेपालप्लस संवाददाता / जर्मनी२०७८ माघ १५ गते १२:३३

अमेरिका जान हिंडेका डेढ दर्जन नेपाली युवाहरुलाई जर्मनीको फ्र्यांकफोर्ट विमानस्थलबाट पक्राउ गरेर दुबाईतिरै फिर्ता पठाइएको छ । उनिहरुलाई जर्मन प्रहरीले नियन्त्रणमा लिएर अन्तिम उडान भएको देश दुबइ फिर्ता गरेको हो ।

ति सबै युवाहरु दुबइको भ्रमण भिसामा त्यहाँसम्म आएको र दुबइबाट ब्राजिल हुँदै अमेरिका जाने तयारीमा थिए । तर जर्मन प्रहरीले उनिहरु सबैलाई नियन्त्रणमा लिई शुक्रवार पुन दुबइ फिर्ता गरेको फ्र्यांकफोर्ट विमान्स्थलमा कार्यरत एक नेपालीले बताए ।

फ्र्यांकफर्टबाट अर्को देशको उडान भएपनि यस अघि केहि नेपाली फ्र्यांकफर्ट विमानस्थलबाट लुकिछिपी बाहिर निस्किएपछि जर्मन प्रहरीले आशंका र निगरानी गर्दै आएको थियो । हाल फ्र्यांकफर्ट आएका नेपालीहरुपनि त्यसैगरि फ्र्यांकफर्टबाटै बाहिर निस्किने सक्ने आशंकाले तिनलाई विमानस्थलको सुरक्षामा राखेको थियो ।

मानव तस्करहरुले ति नेपालीलाई दक्षिण अमेरिकाको कोलम्बिया स्थित बोगोटा लगेर त्यसपछि मेक्सिकोको कानकुन पुर्‍याउने र त्यहाँबाट हिँडाएर अमेरिका लैजाने योजना बनाएको फ्र्यांकफर्टस्थित विमानस्थलका ति नेपालीले बताए । दक्षिण अमेरिकाका कतिपय देशमा नेपालीलाई ‘अन एराईभल भिसा’ दिइने हुनाले नेपालीहरुले दक्षिण अमेरिकाको विमानस्थलबाट १५ दिनको भिसा लिएर बाहिर निकाल्ने र त्यसपछि मेक्सिको हुँदै लुकिछिपी अमेरिका प्रवेश गराउने प्रयास गर्दै आएका हुन् ।

मेक्सिको जान हिँडेका करिब ६० नेपाली जर्मनीमा अलपत्र, १८ जना प्रहरी नियन्त्रणमा

पछिल्लो समय मानव तस्करहरुले दुबइ-मस्को र फ्र्यांकफोर्ट हुँदै दक्षिण अमेरिकि राष्ट्रहरुमा नेपालीहरुलाई पुर्याउँदै आइरहेका छन ।

गत असोजमा दुबइ, मस्को- फ्र्यांकफोर्ट हुदै मेक्सिको जान लागेका करिव ६० जना नेपाली फ्र्यांकफोर्टमा पक्राउ परेपछी उनिहरुलाई नेपाल फिर्ता गरिएको थियो । यस पटक पनि त्यही संख्याको हाराहारिमा अमेरिका पुग्ने लोभमा नेपाली युवाहरु भिजिट भिसामा दुबइ पुगेका छन । ति मध्ये केहीलाई मानव तस्करहरुले गत सोमवार फ्र्यांकफोर्ट हुँदै ब्राजिलको रियो द जेनेरियो तर्फ उडाएका थिए । तर फ्र्यांकफोर्टमा उनिहरुले बाहिर निस्किने कोसिस गरेछी विमानस्थल प्रहरीले नियन्त्रणमा लिएको बताइको छ ।

“खासमा उनिहरुले जर्मनीमा शरणार्थी बन्नका लागि आवेदन दिएका थिए । तर त्यो स्विकार गरिएन र सबै जनालाई नियन्त्रणमा लिएको थियो” विमानस्थलमा कार्यरत ति नेपालीले बताए ।

ब्राजिलका लागि हिंडेका अधिकांश युवाहरु रुकुम र सल्यानका हुन । ति मध्ये केही माओवादीका पुर्व लडाकु समेत छन । उनिहरु मध्ये एक जनाले नेपालप्लसलाई बताएअनुसार सबैलाई ब्राजिलको टिकटमा फ्रयांक्फोर्ट ट्रान्जिट रुट हुँदै दुबइबाट उडाइएको थियो । फ्र्यांकफोर्टमा उत्रे पछी त्यहीं नै हात उठाउन भनिएको थियो । तर त्यहाँ त्यो सम्भव हुन सकेन ।

“हामी जर्मनीमै शरणार्थी बन्न पाए पनि ठिकै छ भन्नेमा थियौं । त्यहाँ त यो पनि सम्भव भएन” सल्यान घर भएको बताउने उनले भने ।

अमेरिका जान हिंडेका प्रत्येकसित १० देखी २० लाखसम्म अशुल गरिएको छ । यकिन ठेगाना र वास्तविक नाम नखोलिदिन आग्रह गर्दै ति युवाले चिन्ता ब्यक्त गरे “अमेरिका सपना सम्भव भएन । तर फसेको त्यत्रो रकम कसरी उठ्ला ?”

मानव तस्करहरुले यस अघी दुबइ-मस्को-फ्र्यांकफोर्ट हुँदै मेक्सिकोको कानकुन शहर उतार्ने गरेका थिए । त्यहाँबाट बस, मालवाहक ट्रक र पैदल हुँदै अमेरिका पस्ने गरेका थिए । तर मेक्सिकोका विमानस्थलमा नेपालीहरु पक्राउ पर्ने र फर्काइने क्रम बढ्दै गए पछी पछिल्लो समय दलालहरुले निकारागुवा, होन्डुरस र ब्राजिललाई आफ्नो गन्तब्य बनाइरहेका छन ।

संवन्धित रिपोर्ट

फ्र्यांकफोर्टमा अलपत्र परेका नेपाली अझै अमेरिका पुग्ने आशामा

मेक्सिको जान हिँडेका करिब ६० नेपाली जर्मनीमा अलपत्र, १८ जना प्रहरी नियन्त्रणमा

तपाइँको प्रतिक्रिया