शुक्रबार, वैशाख १४, २०८१

एनआरएनएका अध्यक्ष पन्तसहित पाँच वरिष्ठ पदाधिकारीलाई प्रहरी अपराध अनुसन्धानबाट पत्र

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ माघ १९ गते १:५२

 

गैर आवाशीय नेपाली संघ (एनआरएनए) को विवाद समाधान गर्न उच्च स्तरिय समितिको रिपोर्ट आउने समय हुनै लागेका बेला प्रहरी प्रधान कार्यालय साईबर ब्युरोको अपराध अनुसन्धान शाखाबाट अध्यक्ष कुमार पन्तसहित पाँच जनालाइ अपराध गरिएको भन्दै पत्र काटेको छ ।

पत्र काटिएकामा अध्यक्ष कुमार पन्त, उपाध्यक्ष डा. बद्रि केसी महासचिव डा. हेमराज शर्मा, सचिव गौरी राज जोशी र कोषाध्यक्ष महेश श्रेष्ठ छन् । माघ १७ गते काटिएको पत्रको संख्या २०७८ / ०८९ र चलानी नंवर १९९६ छ ।

पत्रमा उल्लेख छ “एनआरएनए जापानको दशैं अधिवेशनको निर्वाचनमा प्रविधिको दुरुपयोग गरी एम आइ एस सिस्टममा अनधिक्रित पहुँच गरि आइसिसी, आइसिसी आइटीले र एन सिसी एडमिन सन्चालकले फेरबदल गरि आफूखुशि मतदान गरि विद्युतिय कारोबार ऐन २०६३ अनुसार अपराध गरेको हुनाले कानुन यथाशिघ्र छानबिन गरि कारवाहि गरिपाउँ भन्ने निबेदन यस ब्युरोमा प्राप्त भएकोमा प्राप्त निबेदनउपर यस ब्युरोबाट अनुसन्धान गर्नुपर्ने भएकोले उक्त प्रविधिमा प्रयोग भैरहेको युजर ईमेल (User Email) के कति मितिबाट कुन आइपी (IP) परिवर्तन भएको हो ? निर्वाचनमा भोटिङ हुँदा कुन कुन आइ पीबाट भएको हो ? भोटिङ गर्न गएकाहरुले के कुन समयमा कसरि भोटिङ गरिसकेका हुन् ? सो लगायतको विषय पछिसम्म फरक नपर्नेगरि स्वयं तपाईहरु आफैं वा तपाईहरुको प्रतिनिधिलाई मिति २०७८ माघ २१ विहान १० बजे यस कार्यालयमा उपस्थित भई अनुसन्धान कार्यमा सहयोग गरिदिनुहुन अनुरोध गरिएको छ ।”

पत्र प्रहरी नायव उपरिक्षक ई. दिपेश जोशीको नामबाट काटिएको छ ।

कसरि र किन काटियो पत्र ?

लामो समयदेखि रोकिएको एनआरएनए विवाद समाधान गर्न प्रमुख संरक्षक शेष घले संयोजक रहेको सात सदस्यिय उच्च स्तरिय समिति गठन भएको थियो । समितिले दुई जना कानुनबिद र एक आइ टी विशेषज्ञ राखेर प्रतिनिधि छनौटको सूचि हेरिरहेको छ । र फर्वरी ४ सम्ममा उच्चस्तरिय समितिलाई रिपोर्ट बुझाउने लगभग पक्का छ । किनभने फर्वरी ५ का दिन उच्चस्तरिय समितिको बैठक बस्दै छ ।

प्रतिनिधि छनौटमा जति धेरै विवाद छ भनिएको छ खासमा त्यति धेरै विवाद नभएको भनाई बाहिरिएका छन् । अब निर्वाचन हुने आँकलन, आशा धेरैले गरिरहेका छन् । यहि बेला अध्यक्ष कुमार पन्तसहित एनआरएनएका पाँच वरिष्ठ अभियन्ताका नाममा अपराध ब्युरोबाट पत्र काटिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

एक त एनआरएनए जापान त्यहिंको स्थानिय कानुन अनुसार दर्ता भएको संस्था हो र संस्था त्यहिंकै स्थानिय कानुनको प्रावधान अनुसार चल्छ । अर्को, एनआरएनए जापानमा धाँधली भएको वा आइ पि ठेगानहरु बदलिएको वा गैर कानुनीरुपमा भए नभएको छानबिन गरेर निर्वाचन गराउने काम एनआरएनए जापानको निर्वाचन कमिटीको हो । त्यहिंको कानुन र निर्वाचन समितिले गराउनुपर्ने निर्वाचनमा कसरि अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष, महासचिव र सचिवको नाममा अपराध गरिएको आरोप लाग्यो भन्ने विषय शंकाको घेरामा परेको छ ।

पत्रमा आरोप लगाए झैं निर्वाचनमा प्रविधिको दुरुपयोग गरी एम आइ एस सिस्टममा अनधिक्रित पहुँच गरि आइसिसी, आइसिसी आइटीले र एन सिसी एडमिन सन्चालकले फेरबदल गरि आफूखुशि मतदान गरेको भए र त्यसको जिम्मेवारी एनआरएनए केन्द्रिय सचिवालयलाई दोष लगाउन खोजिएको भएपनि सचिवालय हेर्ने आर के (राजेन्द्र कुमार) शर्मा, गौरी जोशी र डा. हेमराज शर्मा हुन् । उजुरि सचिवालयको लागि यि तिन जनामा हुनुपर्ने थियो । तर त्यसमा सरोकानै नभएका थप दुई जना महेश श्रेष्ठ र डा. बद्रि केसीको नामसमेत किन मुछियो ? यसले थप शंका उब्जाएको छ ।

त्यसैगरि, यदि एम आइ एस सिस्टममा अनधिक्रित पहुँच गरेको आरोप लगाउने हो भने अध्यक्ष कुमार पन्त, हेम राज शर्मा र गौरी जोशीका नाममा हुनुपर्ने थियो ।

तर सचिवालय हेर्ने जिम्मेवारी नभएका र एम आइ एस सिस्टममापनि संलग्नता नभएका उपाध्यक्ष डा. बद्रि केसी र कोषाध्यक्ष महेश श्रेष्ठकोसमेत नाम साईबर अपराध गरेको भन्दै किन मुछियो ? यसले आगामी निर्वाचनमा उच्च पदमा उठेका ब्यक्तिहरुमाथि लान्छाना लगाउने, आरोप प्रत्यारोप गर्ने र अपराध कार्यमा नाम मुछिएको भन्दै उमेदवारी रोक्न खोजिएको त होइन भन्ने प्रश्न उब्जिएको छ ।

प्रहरीको पत्र आफैंमा पनि अपूर्ण र शंकास्पद छ । किनभने उजुरि कुन मितिमा दिईएको हो र उजुरिकर्ता अर्थात् अन्यायमा परेका को हुन् भन्ने कुनै मिति र नामसम्म खुलाईएको छैन । अर्थात् उजुरिकर्ताको नाम गुपचुप राखिएको छ ।

फर्किने दिनमा उजुरि

उजुरिमा नाम परेकाहरु सबै केहि दिन अघिसम्म काठमाडौंमानै थिए । अध्यक्ष कुमार पन्त करिब चार दिन अघि आफ्नो कार्यथलो जर्मनी फर्किए । त्यस्तै, महासचिव डा. हेमराज शर्मापनि जनवरी २६ मै बेलायत फर्किएका थिए । सचिव गौरीराज जोशी अमेरिकामै थिए । कोषाध्यक्ष महेश श्रेष्ठ मंगलवार अर्थात् माघ १७ मा जापान फर्किएका हुन् । उजुरिकर्ताहरुले जसका नाममा उजुरि दिएका हुन् ति ब्यक्तिहरु कुन दिन आफ्ना आफ्ना मुलुक फर्किन्छन् त्यसको मिति हेरेर ति फर्किएलगत्तैको मितिमा बयानको मिति तोकेर पत्र आएको छ ।

मुख्य दाबेदारमाथि छानी छानी उजुरि ?

हाल उजुरि परेका मध्ये महेश श्रेष्ठ र डा. हेमराज शर्मा उपाध्यक्षका प्रत्यासी हुन् । त्यस्तै, गौरी जोशी महासचिवका उमेदवार हुन् भने बद्रि केसी अध्यक्षका उमेदवार । उजुरि हेर्दा आगामी निर्वाचनमा प्रमुख पदका दाबेदारहरुमाथि छानि छानि उजुरि हालेको देखिन्छ ।

उजुरिकर्ताहरुले प्रहरीको साईबर अपराध ब्युरोमा उजुरि दिएकाले ति प्रमुख उमेदवारहरुमाथि ‘प्रहरीमा अपराधको आरोप लागेको हुँदा त्यसको छिनोफानो नभएसम्म उमेदवार बन्न मिल्दैन’ भन्दै अदालतमा मुद्दा दायर गर्नसक्ने बाटो खोजेको वा त्यो मनशाय राखेको एक कानुनबिदले नेपालप्लसलाई बताए ।

यस अघि परराष्ट्र मन्त्रालय, अदालत र सरकारका बिभिन्न निकायमा भएका उजुरिहरु असफल भएका थिए । केहि ब्यक्तिहरुले फेरि प्रहरीको निकाय रोजेर अर्को विवाद निकाल्न खोजेको देखिएको छ ।

प्रहरीको उक्त उजुरि नेपालप्लससित सुरक्षित छ । यसका बारेमा प्रतिक्रिया लिन खोज्दा गौरी जोशी, डा. हेमराज शर्मा र महेश श्रेष्ठसित सम्पर्क हुनसकेन ।

तपाइँको प्रतिक्रिया