बुधबार, वैशाख ५, २०८१

रुसले युक्रेनमा आक्रमण गरे ठूलो मूल्य चुकाउनुपर्ने युरोपेली संघको चेतावनी

नेपालप्लस संवाददाता२०७८ माघ २१ गते १९:४६

यदि युक्रेन विरुद्ध कुनै सैन्य आक्रमण भएमा रुसले गम्भीर परिणाम र ठूलो लागतको सामना गर्नुपर्ने युरोपेली संघ प्रमुख उर्सुला भोन डर लेयनले चेतावनी दिएकि छन् ।

अमेरिकाले रुसले युक्रेनको सिमाना नजिक एक लाखभन्दा बढी सेना जम्मा गरेको र आक्रमण गर्न सक्ने चेतावनी दिएको छ ।

रुसले युद्ध चाहेको कुरा अस्वीकार गर्दै आएको छ । यसले आफ्नो सिमाना नजिक नाटोको विस्तारले राष्ट्रिय सुरक्षामा खतरा खडा गरेको उल्लेख गरेको छ । पहिले सोभियत संघको हिस्सा रहेको युक्रेनले कहिल्यै ट्रान्सएट्लान्टिक सैन्य गठबन्धनमा सामेल नहुने वाचा रुसले चाहेको बताउँदै आएको छ ।

“हामीले कूटनीतिमा काम गर्न कहिल्यै छोड्नु हुँदैन” भोन डर लेयनले भनिन् “तर हामी धेरै स्पष्ट छौं, यदि युक्रेन विरुद्ध रुसको अर्को सैन्य आक्रमण भयो भने यसको गम्भीर परिणाम र रुसको लागि ठूलो लागत हुनेछ ।”

युरोन्युजसितको अन्तर्वार्तामा उनले भनिन् “ईयुले मस्कोमाथि नाकाबन्दि लगाउन मजबूत र धेरै व्यापक प्याकेज पनि तयार गरेको छ यदि सबैभन्दा खराब अवस्था आएमा ।”

“अहिलेसम्म [प्याकेज] आर्थिक र वित्तीय क्षेत्रसँग सम्बन्धित छ” युरोपेली आयोगका अध्यक्ष भोन डर लेयनले भनेकि छन् ।

“यसले युरोपेली संघको वित्तीय बजारहरूमा रूसको पहुँचलाई सीमित गर्नेछ । यसले रूसलाई आवश्यक पर्ने महत्त्वपूर्ण वस्तुहरू र प्रविधिहरूमा पहुँचलाई सीमित गर्नेछ जुन सजिलैसँग आपूर्ति र प्रतिस्थापन गर्न सकिँदैन” उनको भनाई छ ।

“हामीलाई थाहा छ रूसको धेरै एक-आयामी (वान डिमेन्सनल) अर्थतन्त्र छ । प्रायः जीवाश्ममा आधारित इन्धन (फोसिल बेस्ड फ्युल) निर्यातमा केन्द्रित छ । हामीलाई थाहा छ कि रूसको लागि यी वस्तुहरू र पूँजीमा पहुँच हुनु महत्त्वपूर्ण छ । त्यसैले त्यसमा समस्या नपर्न यो रूसको हितमा हुनुपर्छ ।”

भोन डर लेयनको टिप्पणी यस हप्ता रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बान बीच मस्कोमा भएको उच्च स्तरीय बैठक पछि आएको छ । संयुक्त पत्रकार सम्मेलनको क्रममा ओर्बानले ईयुले रुसमाथि लगाउने भनेको नाकाबन्दि “असफल उपकरण” को रूपमा आएको भन्दै बताए “यो असफल हुने तरिका हो ।”

“युरोपियन युनियन भित्र एकता र धेरै बलियो पङ्क्तिबद्धता छ । हामी निरन्तर सम्पर्कमा छौं” भोन डेर लेनले ओर्बनको टिप्पणीको बारेमा जिज्ञासा राख्दा भनिन् ।

“जहाँसम्म हंगेरीको चिन्ता छ, तिनीहरूले सधैं रूस विरुद्ध प्रतिबन्धहरूलाई समर्थन गरे । उनीहरूले अहिलेसम्म घोषणा गरेका छन् कि यदि आवश्यक परेमा तिनीहरूले युरोपेली संघसँग एकता कायम राख्नेछन् ।”

ऊर्जा संकटको चिन्ता

ट्रान्सएट्लान्टिक साझेदारहरूले संयुक्त मोर्चालाई प्रतिरोधको रूपमा प्रस्तुत गर्ने प्रयास गरिरहेका छन् । युरोपेली सरकारहरूले भने आफ्ना कम्पनीहरू र नागरिकहरू युरोप महाद्वीप र यसको ग्यास-सम्पन्न छिमेकी बीच नजिकको सम्बन्धको कारणले नयाँ रूसी प्रतिबन्धहरूको असर भोग्ने कुरामा सचेत छन् ।

कसैलाई रुसले उर्जा आपूर्तिहरू काटेर वा अवरुद्ध गरेर बदला लिनसक्छ भन्ने डर छ जसले ईयु ब्लकभर शटडाउन र ब्ल्याकआउट निम्त्याउँछ । ईयुमा निरन्तर पावर अवरुद्द हुँदा पहिले नै बिजुलीको बिलहरू बढ्दै गइरहेको छ ।

भोन डेर लेनले ईयूले अन्य अन्तर्राष्ट्रिय साझेदारहरूबाट तरल प्राकृतिक ग्यास (एलएनजी) को आयातमा उल्लेखनीय वृद्धि भएकोले यस्तो कट्टरपन्थी कदमको प्रतिरोध गर्न सक्षम हुने बताएकि छन् । जनवरीमा ईयूमा उर्जा समस्याको रेकर्ड उच्च पुगेको थियो ।

“वास्तवमा, यो एक गम्भीर अवस्था हुनेछ । तर हामीले हाम्रो गृहकार्य गरिसकेका छौं र हामी यस्तो अवस्थालाई रोक्न र त्यसको लागि तयार रहन गहन रूपमा काम गरिरहेका छौं । जब सन् २०१४ मा युरोपमा एउटा एलएनजी टर्मिनल मात्रै थियो । हालसम्म हामीले २० भन्दा बढी निर्माण गरिसकेका छौं । त्यसैले हामी विश्वभरका अन्य आपूर्तिकर्ताहरूबाट एलएनजी ग्यास प्राप्त गर्न सक्षम छौं” उनले भनिन् ।

हालैका दिनहरूमा ईयु अधिकारीहरूले कतार, अजरबैजान र टर्कीका आफ्ना समकक्षीहरूसँग ग्यास खरिदबारे छलफल गर्न नजिकको सम्पर्क बनाईरहेका छन् ।

सोमवार, जनवरी ६ मा ईयु र अमेरिकाबिच वाशिंगटनमा ऊर्जा परिषदको आयोजना गर्दै छन् ।

“हामीले विश्वभरका धेरै एलएनजी आपूर्तिकर्ताहरूसँग कुरा गरेका छौं जो रूससित छोडेर युरोपेली संघलाई एलएनजी आपूर्ति गर्न [भर्न] धेरै चासो राख्छन्” भोन डर लेयनले भनिन् । उनले ईयु देशहरूलाई चलिरहेको नविकरणिय उर्जा प्रवर्धन गर्न, घरेलु र स्वतन्त्र नवीकरणीय प्रणालीहरूमा लगानी बढाउनेबारे सोच्नसमेत आग्रह गरेकि छन् ।

के छ रुसको भनाई ?

रुसले नाटोले आफ्नो पूर्व तर्फको विस्तार रोक्न, युक्रेनको सदस्यता खारेज गर्ने र आफ्नो सैन्य बल फिर्ता गरोस् भन्ने चाहन्छ । यसलाई उसले अन्तर्राष्ट्रिय सन्धिमा समावेश गरेर कानूनी रूपमा बाध्यकारी बनाएको हेर्न चाहन्छ ।

अमेरिका र नाटोले पहिले नै आफ्नो प्रत्येक बुँदैपिच्छे प्रतिक्रिया दिईसकेका छन् जसलाई पुटिनले खारेज गरे । पश्चिमले रुसको सुरक्षा चिन्तालाई बेवास्ता गरिरहेको तर्क गर्दै उनले त्यसलाई खारेज गरेका हुन् । उनले आफ्ना मागलाई सम्बोधन गर्ने हो भने कूटनीतिक माध्यमबाट समस्या समाधान गर्न सकिने बताएका छन् ।

गत हप्ता लामो समयदेखि युरोपेली संघका लागि रुसी राजदूत रहेका भ्लादिमिर चिजोभले आसन्न सैन्य आक्रमणको डरलाई कम गर्न खोजेका थिए ।

“युक्रेन वा अन्य कुनै देशमा आक्रमण गर्ने रूसको कुनै योजना छैन” चिजोभले पत्रकार सम्मेलनमै भनेका थिए “यो रसियामा होइन ती देशहरूमा सिर्जना गरिएको ब्लफ हो जसले अहिले युरोप र विश्वभर यो पागल सन्देश फैलाउँदैछ ।”

तपाइँको प्रतिक्रिया

फेसबुक