बुधबार, असोज १९, २०७९

हरेक पटक फेल भइरहने नेताहरुलाई कति पटक परिक्षामा सामेल गराइरहने ?

ऋषी पल्लव / काठमाडौं२०७८ माघ २२ गते १३:५९

२० जनवरी २०१५ मा काठमाडौंमा संसद बैठकमा तनाव उत्पन्न भएपछि संविधानसभा सदस्यले कुर्सी भाँच्दै गरेको द्रिष्य ।

देश कहिले बन्छ भन्ने प्रश्न दशकौं पहिलेको हो । यो पुरानो प्रश्न अहिले पनि उत्तिकै नयाँँ छ । देश कहिले बन्छ ? कसले बनाउँछ अथवा कसैले किन बनाउँछ ? तमाम कुराहरु छन, नसुल्झिएका । कति कुराहरु सुल्झिन पर्छ- स्प्ष्ट देखिनु पर्दछ । सम्भवत देखिने कुराहरु मात्र महशुस हुन सक्छ । तर हामीहरु नदेखिने कुराहरु जस्तै कि काल्पनिक लाग्ने अभेद्य कुराहरुलाई महशुस गर्न बानी परेका छौं । हामी समयले कोल्टो फेर्ने प्रतिक्षामा रम्छौं । जब समयले कोल्टो फेर्छ त्यो वस्तुगत नहुन सक्छ वा भनौं त्यो वस्तुगत हुँदै हुँदैन । जिन्दगी वस्तुगत हो, कल्पना अली परको कुरा ।

बाँच्न त एक्कैछिन सकिन्छ कल्पनामा । तर त्यो एक्कैछिनले पुरै जिन्दगीलाई डोर्‍याउन सक्दैन । जिन्दगीलाई हिँडाउनका लागि एउटा बाटो चाहिन्छ । गन्तब्य चाहिन्छ । कुनै गन्तब्यमा पुग्न नपर्ने हो भने हजारौं हजार किलोमिटरको दुरी पार गरेपनि त्यो अर्थविहिन हुन्छ । हिंड्नका लागि एउटा बाटो, गन्तब्य र सोच चाहिन्छ । काल्पनिक हिंडाइका लागि बाटो चाहिंदैन । कुनै गन्तब्य चाहिंदैन । एउटा राष्ट्रलाई ढाक्न सक्ने सोच चाहिंदैन । कल्पना गर्नुस त तपाईं मजासँग आकाशमा हिंड्न सक्नुहुन्छ ।

सगरमाथाको टुप्पोबाट आरामसँग उडेर केही मिनेटमै काठमाडौंमा उत्रिन सक्नुहुन्छ । जिन्दगीलाई आल्हादित बनाउने यस्ता कल्पनाहरु एक्कै छिनका हुन्छन, सपना जस्तै । वास्तवमा हामी सपनामा बाँच्न बानी भएका छौं । हिंड्नका लागि हामी सँग न बाटो छ, न गन्तब्य छ, न सोच । पछिल्ला कयौं दशक देखि हामी ब्यवस्था फेर्न तल्लिन छौं । गन्ने हो भने आधा दर्जन पटक फेरिएको छ ब्यवस्था । तैपनि हामीसँग कुनै ब्यवस्था छैन । ब्यवस्था भनेको आवश्यकता पूर्ति हुनु हो । दिनचर्या ठीक ठाक हुनु हो । एउटा घर, बाँच्न मिल्ने गरी आम्दानीको श्रोत, हेर्न सकिने खुला आकाश, तेल, चामल, बिजुली, पानी- एउटा घरको ब्यवस्था यिनै त हुन ।

फेरी देशको ब्यवस्था के हो त ? यो अजिवको जिज्ञासा हो । त्यसैले हामीले हरेक पटक भनीरहेका हुन्छौं, देश कहिले बन्छ ? देश बन्नका लागि सर्वप्रथम एउटा ब्यवस्था हुन जरुरी हुन्छ । हामी ब्यवस्था विहिन छौं । जबसम्म कुनै गतिलो ब्यवस्था हुँदैन तबसम्म हामी ब्यवस्थित हुँदैनौ । त्यसैले यो देश कहिल्यै पनि बन्दैन । देश बनाउनका लागि हामी पहिले ब्यवस्थित हुन जरुरी छ । यदी सबै नेपाली ब्यवस्थित हुँदै जाने हो भने त्यही नै ब्यवस्था बन्छ । अहिले हामीले जुन कुरालाई ब्यवस्था भनिरहेका छौ त्यो एक प्रकारको उल्झन हो । हामी माथि जबरजस्ती थोपरिएको उल्झन । यो ब्यवस्था हुँदै होइन- अब्यवस्था हो यो ।

देश बन्ने त ब्यवस्था फेरिएर होइन रहेछ । जती पटक ब्यवस्था फेरिए पनि यो देशमा कहिल्यै ब्यवस्था आएन । राणा फेरिए, राजा फेरिए तर शेरबहादुर देउवा, माधव नेपाल, केपी ओली, प्रचन्ड कहिल्यै फेरिएनन् ।

सानो उदाहरण- एउटा पाँच जनाको परिवार छ । घरको मुलीले त्यो परिवारका सदस्य मध्ये दुई जनालाई स्कुल पढ्न पठाएको छ । एउटाले सुकुल जाने अवशर पाएको छैन । लगाउने र खाने कुरामा पनि स्कुल पढ्नेहरु प्रथामिकतामा पर्छन । स्कुल जान नपाउने यस्ता कुराहरुबाट पनि बन्चित भइरहन्छ । यसको मतलब घर मुलीले ब्यवस्था मिलाउन सकेन । हाम्रो देश यस्तै हो- ब्यवस्था मिल्न नसकेको घर ।

आधुनिक राजनीतिको ईतिहासमा जतिबेला देशमा ब्यवस्था परिवर्तन भयो, राणा शासन मात्र सकिएन बरु राणाहरु पनि अस्ताए । अली पछी राजाहरु अस्ताए । २४० वर्ष राज गरेको त्यो ब्यवस्थाको बडेमानको संरचना लुसुक्क परेर नागार्जुन उकालीयो । शायद त्यो एउटा विन्दु थियो होला “अब देश बन्छ” भन्ने । तर उही पुरानो प्रश्न फेरी ब्यँतियो- देश कहिले बन्छ ? देश बन्दैन, ब्यवस्था फेरिएर देश बन्ने भए पचास वर्ष अघि नै कायापलट भइसक्ने थियो । राजा हटेर बन्ने भए पनि अहिलेसम्म देशको खाका देखिने थियो । देश त झन पो दरिद्र हुँदैछ । देश बन्ने त ब्यवस्था फेरिएर होइन रहेछ । जती पटक ब्यवस्था फेरिए पनि यो देशमा कहिल्यै ब्यवस्था आएन । राणा फेरिए, राजा फेरिए तर शेरबहादुर देउवा, माधव नेपाल, केपी ओली, प्रचन्ड कहिल्यै फेरिएनन् । यिनिहरु कसै सँग देशको मुली बन्न सक्ने क्षमता छैन भन्ने समयले पटक पटक प्रमाणित गरिसकेको छ ।

धेरै पछाडि फर्किन पर्दैन- जम्मा पाँच वर्ष । काठमाडौं बस्ने शेरबहादुर देउवाकी श्रीमतीले आफू चुनाव लड्ने क्षेत्रमा ३ करोडको घर किनिन् । चुनाव अवधीभरका लागि थियो त्यो घर । कसैले आफूलाई क्षेत्रवासी होइन नभनोस भन्नका लागि मात्र उनले त्यो घर किनेकी थिइन । चुनाव हारे पछी त्यो घरमा उनी वा उनका पती कती पटक पुगे होलान् ? आराजु देउवाको बढ्दै गरेको सौर्यले नै देखाउँछ, देशमा फेरिएको ब्यवस्थाको झलक । रातारात कसरी फेरिन्छ हैशियत ?

हामी किन पनि वस्तुगत हुनसकेका छैनौं भने हामीले नेताहरुलाई अलंकारीक ठान्छौं । हामीले नै तिनलाई पहिलेका राजाको कुर्सीमा राखेका छौं । तिनलाई हामीले नै महाराजा बनाएका छौं । त्यसैले जतिपल्ट ब्यवस्था फेरिए पनि नेताहरुले हामी माथि सधैंं शासन गरिरहन्छन । किनभने तिनलाई राजा बनाएको हामीले नै हो । नत्र संघिय संसदको चुनाव भएर सरकार बनेको पाँच वर्ष पुरा भएको छ । यो अवधिमा देशले के प्राप्त गर्‍यो ? कुन पार्टी वा नेताले देश र जनताका लागि काम गरे ? छैन ! कहिलेकाँही ताज्जुब लाग्न पर्ने हो हामी आँफैलाई ।

राजनीति बरु पेशा भएको भए कम से कम कोहि न कोही त आफ्नो पेशा प्रति इमान्दार निस्किन्थ्यो होला । तर यो त चोरहरु लुक्ने थलो भएको छ ।

पाँच वर्ष सकियो- अरु कुरा छोडिदिउँ, जनताले सिटामोल समेत पाएनन । सबैलाई केही न केही बन्नको लागि हतारो छ । आरुजु देउवाले कुनै अर्को क्षेत्रबाट चुनाव लडिन् भने त्यहाँ पनि घर किन्नुपर्ने छ । एउटा घर किने पछी जनताले पत्याइदिन्छन् ।

हामीहरु आवरणमा मात्र बाँचेका छौं- जिन्दगीको लेपन लगाइएको खोक्रो आवरण । यथार्थपरक छैनौं हामी आफैं । प्रश्न हरेक पटक फेल भइरहने नेताहरुलाई कती पटकसम्म परिक्षामा सामेल गराइरहने ? शेरबहादुर देउवा, ओली, प्रचन्ड, माधव नेपालहरुलाई कहिलेसम्म ब्यवस्था सम्हाल्ने ठेक्का दिने ?

ब्यवस्था फेरिए पछी त ब्यवस्थाका बोक्राहरु पनि फेरिनुपर्ने होइन र ? अब फेरिनु पर्छ । त्यसपछी सम्भवत: देशमा कुनै ब्यवस्था देखिनसक्छ । अब्यवस्थामा बाँच्न बानी हुनु भनेको आफैंले आफैंप्रति गरेको अपराध हो । लामो समय हामीले यस्तो अपराध गरिरहनु हुँदैन । राजनीति बरु पेशा भएको भए कम से कम कोहि न कोही त आफ्नो पेशा प्रति इमान्दार निस्किन्थ्यो होला । तर यो त चोरहरु लुक्ने थलो भएको छ ।

एक पटक, एक्कैछिन सम्झिनुस त सबैको अनुहार कुन चाहीं नेताले चोरेको छैन ? कोही भेटिन्छ होला साधु जस्तो देखिने ? दुनियाँलाई आशाको मनोविज्ञानले डोर्याएको हुन्छ । राजनीतिक दर्शनले पनि भन्छ, जब आशा (होप) को अन्त्य हुन्छ तव त्यहींनेर देशको दुर्दशा शुरु हुन्छ । आशाको हाम्रो मनोविज्ञानको अन्त्य भएको होइन, टुक्रिएको हो । किनभने हरेक ब्यवस्थाहरु चोर जन्माउने सहवासमा आनन्दित छन । हामी वस्तुपरक हुन सिक्नुपर्छ- चोरलाई पाल्नु अपराध हो । चोर्न दिनु पनि अपराध हो ।

तपाइँको प्रतिक्रिया

फेसबुक