शुक्रबार, वैशाख १४, २०८१

चिनिया राष्ट्रपतीले पुटिनलाई समर्थन गरेपछि अमेरिकी सेना पोल्याण्डमा अवतरण

नेपालप्लस संवाददाता२०७८ माघ २३ गते ०:४४

Image Credit-ukrinform.net

जनवरीको सुरुमा अमेरिकी राष्ट्रपति जो बाइडेनले युरोपलाई सैन्य सहयोग पठाउने वाचा गरेअनुरुप, १,७०० अमेरिकी सेनाको पहिलो टोली शनिबार दिउँसो पोल्याण्ड पुगेको छ ।

यहि समयमा रूसले आफ्नो सहयोगी बेलारुसमा गस्तीमा दुई लामो दूरीको आणविक-सक्षम बमवर्षकहरू पठाएको छ जसमा रुसले बेलारूसी वायुसेनासँग अभ्यास अन्तरक्रिया गरेको बताएको छ ।

पूर्वी युरोपमा युक्रेनसँगको सिमानामा रुसी सेना तैनाथीले खतराको रूपमा खडा गरिरहँदा पूर्वी युरोपमा युद्ध रोक्ने प्रयासमा उच्चस्तरिय कूटनितिक वार्ता, प्रयास जारि छ ।

फ्रान्सेली राष्ट्रपति र जर्मन चान्सलर आगामी हप्ताहरूमा मस्को र कीभ जानेछन् र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई आक्रमण सुरु गर्नबाट रोक्न र बढ्दो तनावबाट बाहिर निस्कने प्रयास गर्न कूटनीतिक प्रयासहरू थप्ने भएका छन् ।

युरोपेली संघको प्रधान कार्यालय ब्रसेल्समा ईयु प्रमुख उर्सुला भोन डर लेयनले ‘यदि युक्रेन विरुद्ध कुनै सैन्य आक्रमण भयो भने रसियाले गम्भीर परिणाम र ठूलो लागतको सामना गर्नुपर्ने चेतावनी दिईसकेकि छन् ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले बेइजिङ ओलम्पिकको उद्घाटन समारोहअघि दुई नेताबीच भेटवार्ता गर्दा युक्रेनलाई लिएर पश्चिमासँगको विवादमा रुसी समकक्षी भ्लादिमिर पुटिनलाई समर्थन गरेका छन् ।

अमेरिकाले रुसले युक्रेनको सिमाना नजिक एक लाखभन्दा बढी सेना जम्मा गरेको र आक्रमण गर्न सक्ने चेतावनी दिएको छ ।

रुसले युद्ध चाहेको कुरा अस्वीकार गरेको छ । रुसले आफ्नो सिमाना नजिक नाटो विस्तारले राष्ट्रिय सुरक्षामाथि खतरा खडा गरेको बताएको छ । युक्रेन पहिले सोभियत संघको हिस्सा भएकाले युक्रेन कहिल्यै ट्रान्सएट्लान्टिक सैन्य गठबन्धनमा सामेल हुने छैन भन्ने वाचा रुसले खोजिरहेको छ ।

फ्रान्स र जर्मनीका राष्ट्रप्रमुख मस्को र कीभ जाने

फ्रान्सेली राष्ट्रपति एमानुएल माख्रों वार्ताका लागि अर्को हप्ता मस्को र कीभ जाने भएका छन् । अर्को हप्ता संकट कम गर्न कूटनीतिक प्रयासहरू जारी रहने छ ।

माख्रोंले बुधवार अमेरिकी राष्ट्रपति जो बाइडेनसँग फोनमा कुराकारी गरि आफ्नो कूटनीतिक प्रयासबारे छलफल गरेका थिए ।

बिहीवार राती फ्रान्सेली राष्ट्रपतीले पुटिन र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग कुरा गरेका थिए । उनले द्वन्द निम्त्याउने तत्वहरू पहिचान गर्ने तरिकाहरू र युरोपमा रणनीतिक सन्तुलनका लागि अवस्थाहरू खोज्ने सहमति गरेका छन् । त्यसले रुसको भूमी र युरोप महाद्वीपमा सुरक्षा ग्यारेन्टी र जोखिमहरू कम गर्न अनुमति दिनुपर्छ भन्ने बारे कुरा गरेका थिए ।

फ्रान्सेली राष्ट्रपती माख्रोंको कार्यालयले यो सोमबार दुवैले एक एक गरेर बैठक गर्ने बताएको छ ।

संवन्धित- रूस-जर्मनी ग्यास पाइपलाइन र भू-राजनीतिक स्वार्थ

त्यस्तै, जर्मन चान्सलर ओलाफ स्कोल्जले फेब्रुअरीको मध्यमा युक्रेन र रसियाको भ्रमण गर्नेछन् । युक्रेनको सिमाना नजिक रहेको रुसी सेनामा केन्द्रित संकट समाधान गर्न कूटनीतिक प्रयासहरू थप्ने छन् ।

सरकारका प्रवक्ता वोल्फगाङ बुचनरले स्कोल्ज १४ फर्वरीमा कीभ र भोलिपल्ट मस्को जाने शुक्रवार सार्वजनिक गरेका छन् ।

बुचनरले जर्मन सरकारले फ्रान्स र पोल्याण्डसँग तीन देशका नेताहरू बीचको बैठकमा परामर्श गरिरहेको तर मिति अझै तय नभएको बताएका छन् ।

जर्मन विदेश मन्त्री एनालेना बेरबकले पूर्वी युक्रेनमा विद्रोही नियन्त्रित क्षेत्रहरूमा सम्पर्क रेखाको यात्रा सहित सोमबार र मंगलबार युक्रेनको भ्रमण गर्ने विदेश मन्त्रालयका प्रवक्ता एन्ड्रिया सासेले बताएकि छिन् ।

विभिन्न कूटनीतिक ढाँचाहरूमा हप्ताभरि रूस र अमेरिकाबिच भएको वार्ताले कुनै महत्त्वपूर्ण उपायहरु नदिएपछि फ्रान्स र जर्मन राष्ट्रप्रमुखको भ्रमण र वार्ताले कति प्रभाव पार्ला भन्ने स्पष्ट छैन । तर युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले शुक्रबार भनेका छन्, “शीर्ष तहको भ्रमणले सुरक्षाको क्षेत्रमा चुनौतीहरूलाई गम्भीर रूपमा कम गर्छ । रुसको योजनालाई निराश तुल्याउँछ।”

टर्किद्वारा मध्यस्थताको प्रस्ताव

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले रुस र युक्रेन बीचको वार्तामा टर्कीले मध्यस्थता गर्ने भन्दै प्रस्ताव गरेका छन् । एर्दोगानले यस हप्ता कीभको भ्रमण गरेका थिए । टर्की फर्किएपछि पश्चिमा नेताहरूले रुस र युक्रेनबीचको तनाव समाधान गर्न सकारात्मक रूपमा योगदान गर्न असफल भएको आरोप लगाएका थिए ।

“म दोहोर्याउन चाहन्छु कि हामी रुससहित युक्रेनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतालाई समर्थन गर्न जारी राख्छौं” उनले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँगको भेटपछि भने “मैले पहिले जोड दिएझैं टर्की आफ्ना छिमेकी दुई मित्र राष्ट्रहरू बीचको संकट अन्त्य गर्न आफ्नो भाग लिन तयार छ ।”

“टर्कीका जनता आगोमा इन्धन थप्नुको सट्टा हामी तनाव कम गर्ने तार्किक उद्देश्यका साथ काम गर्छौ” एर्दोगानले बताए ।

एर्दोगानले जेलेन्स्कीले दुई राष्ट्रहरू बीचको तनाव कम गर्न मध्यस्थताको लागि टर्कीको प्रस्तावलाई कडा समर्थन गरेको बताएका छन् “दुर्भाग्यवश, पश्चिमले यस मुद्दाको समाधानको लागि केही योगदान गरेको छैन । उनीहरू केवल अवरोधहरू सिर्जना गर्दैछन् ।”

युरोपेली संघको चेतावनी

यदि युक्रेन विरुद्ध कुनै सैन्य आक्रमण भएमा रुसले गम्भीर परिणाम र ठूलो लागतको सामना गर्नुपर्ने युरोपेली संघ प्रमुख उर्सुला भोन डर लेयनले चेतावनी दिएकि छन् ।

तर हामी धेरै स्पष्ट छौं, यदि युक्रेन विरुद्ध रुसको अर्को सैन्य आक्रमण भयो भने यसको गम्भीर परिणाम र रुसको लागि ठूलो लागत हुनेछ ।”

युरोन्युजसितको अन्तर्वार्तामा उनले भनिन् “ईयुले मस्कोमाथि नाकाबन्दि लगाउन मजबूत र धेरै व्यापक प्याकेज पनि तयार गरेको छ यदि सबैभन्दा खराब अवस्था आएमा ।”

संवन्धित- रुसले युक्रेनमा आक्रमण गरे ठूलो मूल्य चुकाउनुपर्ने युरोपेली संघको चेतावनी

“अहिलेसम्म [प्याकेज] आर्थिक र वित्तीय क्षेत्रसँग सम्बन्धित छ” युरोपेली आयोगका अध्यक्ष भोन डर लेयनले भनेकि छन् ।

“यसले युरोपेली संघको वित्तीय बजारहरूमा रूसको पहुँचलाई सीमित गर्नेछ । यसले रूसलाई आवश्यक पर्ने महत्त्वपूर्ण वस्तुहरू र प्रविधिहरूमा पहुँचलाई सीमित गर्नेछ जुन सजिलैसँग आपूर्ति र प्रतिस्थापन गर्न सकिँदैन” उनको भनाई छ ।

पुटिनलाई चिनिया राष्ट्रपतीको समर्थन

रुसले युक्रेन विरुद्ध सैन्य कारबाही गर्ने तयारी गरिरहेको भन्दै पश्चिमी मुलुकमा ब्यापक चर्चाकाबिच पुटिनले आफ्ना चिनियाँ समकक्षीको समर्थन पाएका छन् ।

बेइजिङमा शीतकालीन ओलम्पिकको उद्घाटन समारोह अघि पुटिनले सीसँग भेटेका थिए । नेताहरूले संयुक्त वक्तव्य जारी गर्दै उनीहरुले अन्य राज्यहरूको आन्तरिक मामिलामा हस्तक्षेप भनेका छन् । रूसले युक्रेनसँगको सीमामा सेना तैनाथ गरेको विषयमा उल्लेख गरेनन् ।

“विश्व मंचमा अल्पसंख्यकको प्रतिनिधित्व गर्ने केही शक्तिहरूले अन्तर्राष्ट्रिय समस्याहरू समाधान गर्न र सैन्य नीतिको सहारा लिन एकपक्षीय दृष्टिकोणको वकालत गर्न जारी राखेका छन्” बिज्ञप्तीमा उल्लेख छ । यसलाई अमेरिका र उसका सहयोगीहरूलाई संकेत गरिएको रूपमा हेरिएको छ ।

संवन्धित- संभावित रुसी आक्रमण बिरुद्द लड्न युक्रेनका आम नागरिक सैन्य तालिम लिंदै

विज्ञप्तिमा भनिएको छ “चिनियाँ पक्षले युरोपमा दीर्घकालीन कानुनी रूपमा बाध्यकारी सुरक्षा ग्यारेन्टीहरू सिर्जना गर्न रुसी संघले अघि सारेको प्रस्तावप्रति सहानुभूति र समर्थन गर्दछ ।”

रुसले कीभसँगको द्वन्द्व सुरु गर्ने बाटो खोजिरहेको हुनसक्ने पश्चिमा मुलुकको त्रासका बीच बैठक भएको हो । बिहीवार संयुक्त राज्यले रुसलाई युक्रेनी सेनाले आक्रमण गर्ने विस्तृत षड्यन्त्रको आरोप लगायो जुन रसियाले आफ्नो छिमेकी विरुद्ध सैन्य कारबाही गर्न बहानाको रूपमा प्रयोग गर्न सक्छ ।

थप अमेरिकी सेना पोल्याण्ड आइपुगे

पोल्याण्डको रक्षा मन्त्रालयले युक्रेनमा रुसी आक्रमणको डरका बीच राष्ट्रपति बाइडेनले त्यहाँ १,७०० सैनिकहरू तैनाथ गर्ने आदेश दिएपछि थप अमेरिकी सेना पोल्याण्ड आइपुगेको बताएको छ ।

फोर्ट ब्राग, उत्तरी क्यारोलिनाबाट ८२ औं एयरबोर्न डिभिजनका सैनिक मुख्य बलको आगमनको लागि तयारी गर्न उपकरण र रसद सेनासहितको अमेरिकी विमानहरू अवतरण भइरहेको मन्त्रालयले जनाएको छ ।

संवन्धितअमेरिकाद्वारा आफ्ना कूटनीतिज्ञका परिवार र दूतावासका कर्मचारीलाई युक्रेन छोड्न आदेश

“पहिलो सेनाहरू दक्षिण-पूर्वको जेसोन्का एयरपोर्टमा आइपुगेको छ” मेजर प्र्जेमिस्लाव लिप्जिन्स्कीले भनेका छन् “१,७०० अमेरिकी दलको मुख्य सेना चाँडै आइपुग्दै छ ।”

जासिओन्का एयरपोर्ट पोल्याण्डको युक्रेनसित जोडिएको सीमाबाट करिब ९० किलोमिटर टाढा छ ।

२०१७ देखि आलोपालो गर्दै बसेका लगभग ४,००० अमेरिकी सेनाहरू पोल्याण्डमा तैनाथ छन् ।

युक्रेनीहरू आत्मरक्षा अभ्यास गर्दै रूसी बमवर्षक बेलारुसमाथि

मस्कोले शनिबार आफ्नो सहयोगी बेलारुसमाथि गस्तीमा आणविक क्षमता भएको टियु-२२ एम ३ बमवर्षक विमान पठाएको छ ।

रुसी रक्षा मन्त्रालयले लामो दूरीको बमवर्षकहरूले चार घण्टाको मिसनमा बेलारूसी वायुसेना र वायु रक्षा निकायहरूसँग अन्तरक्रिया गरेको थियो ।

उडानले उत्तरमा युक्रेनको सिमाना रहेको बेलारुसमा धेरै समान गस्तीहरू नियालेको थियो ।

रुसले संयुक्त अभ्यासका लागि साइबेरिया र सुदूर पूर्वबाट व्यापकरुपमा बेलारुसमा सेना सारेको बेला यो मिसन आएको हो ।

यो तैनाथीले युक्रेन नजिकै रूसी सेना थपिए जसले रुसबाट हुनसक्ने सम्भावित आक्रमणको पश्चिमी डरलाई बढाईदियो ।

पस्चिमी देशहरुले रूसलाई युक्रेन नजिकका क्षेत्रहरूबाट अनुमानित एक लाख सेना फिर्ता गर्न आह्वान गरेका छन् । तर रुसले आफ्नो भूमिमा आवश्यक पर्ने ठाउँमा सेना तैनाथ गर्ने बताएको छ ।

संवन्धित- अमेरिका र रुसबीच जनवरी १० मा वार्ता हुने

युक्रेनमा तनाव बढ्दै जाँदा, रुसी सेनाले आर्कटिकदेखि ब्ल्याक सागरसम्म फैलिएको युद्ध खेलको श्रृंखला सुरु गरेको छ ।

बेलारुसमा रुसी सेनाको तैनाथीले मस्कोले उत्तरबाट युक्रेनमा आक्रमण गर्न सक्छ भन्ने पश्चिमी देशहरुमा चिन्ता बढाएको छ ।

हालैका महिनाहरूमा रूसले बेलारुससँग संयुक्त अभ्यासको एक श्रृंखला सञ्चालन गरेको छ । रुसले बारम्बार आफ्नो लामो दूरीको आणविक बमवर्षकहरू पठाएको छ जसले नाटो सदस्यहरू पोल्याण्ड, लिथुआनिया र लाटभियासँग सीमा जोडिएको छिमेकीका आकाशमा गस्ती गर्छन् ।

युद्धको त्रास बढ्दै जाँदा युक्रेनी अधिकारीहरूले सम्भावित रूसी आक्रमणको लागि तयारी गर्न नागरिकहरूलाई युद्द अभ्यासको श्रृंखला सुरु गरेका छन् ।

पोल्याण्डका राष्ट्रपतिले बेइजिङमा युक्रेनका बारेमा छलफल गर्ने

पोल्याण्डका राष्ट्रपति शुक्रबार शीतकालीन ओलम्पिकको उद्घाटनमा भाग लिने एकमात्र युरोपेली संघका नेता थिए जसमा उनको कार्यालयले चीनसँग राम्रो सम्बन्ध कायम राख्न र रसिया-युक्रेन तनाव कम गर्न लबी गरेको थियो ।

राष्ट्रपति एन्ड्रेज डुडाले आइतबार चिनियाँ नेता सीसँग भेट्ने कार्यक्रम रहेको उनको कार्यालयले जनाएको छ । तर बेइजिङमा रहेका पुटिनलाई भेट्ने अपेक्षा गरिएको छैन ।

अन्य ईयु नेताहरूले अमेरिका, बेलायत, अष्ट्रेलिया र क्यानडाको निर्णय पछ्याएर भाग लिएनन् । चीनको मानवअधिकार रेकर्डको कारण देखाएर अघोषित कूटनीतिक बहिष्कारमा सामेल भए । तर तिनले आफ्ना खेलाडीहरूलाई प्रतिस्पर्धा गर्न भने अनुमति दिएका छन् ।

“यी वार्ताहरूको लक्ष्य रूस-युक्रेन वार्ताको नेतृत्वमा सक्रिय भूमिका खेल्न वार्ताकारहरूलाई प्रोत्साहित गर्नु हो” डुडाको प्रेस कार्यालयले भन्यो ।

नक्कली आक्रमणको कथित योजनाले अर्को विवाद खडा

यसैबीच वाशिंगटनमा अमेरिकी अधिकारीहरूले हालैका दिनहरूमा युक्रेनी अधिकारीहरू र युरोपेली सहयोगीहरूसँग साझा गरिएको गुप्त सन्देशमा रूसी क्षेत्र वा रूसी भाषा बोल्ने मानिसहरूमा नक्कली आक्रमणको योजना वर्णन गरिएको बताए ।

यि गुप्तचर खोजहरू रूसी विकृति प्रयासहरूलाई रोक्न र यसलाई विफल पार्ने रणनीतिको रूपमा पुटिनको सैन्य कारबाहीको लागि आधार तयार गर्ने प्रयास स्वरुप आएको हो । यो बाइडेन प्रशासनको पछिल्लो उदाहरण थियो । यद्यपि ठोस प्रमाणहरू उपलब्ध गराउन नसक्दा केहीले अमेरिकी दावीहरूको सत्यतामाथि प्रश्न उठाएका छन् ।

रुसी अधिकारीहरूले उक्त आरोप अस्वीकार गरेका छन् । विदेश मन्त्री सेर्गेई लाभरोभले शुक्रबार दावीहरूलाई बेतुकको कुरा भनेका थिए ।

युक्रेनका विदेशमन्त्रीले शुक्रबार वाशिंगटनले कीवसँग जानकारी साझा गरेको र त्यसले युक्रेनी अधिकारीहरूलाई आश्चर्यचकित नगरेको बताए ।

“सन् २०१४ पछि हामीले रुसको धेरै कपटी कार्यहरू देखेका छौं । हामीले देखेका छौं कि उनीहरूलाई हाम्रा बिरुद्द जेपनि बनाउन र युक्रेनलाई केहि आरोप लगाउनबाट उनीहरु रोकिएका छैनन्” कुलेबाले पत्रकारहरूलाई भने ।

हालैका हप्ताहरूमा ह्वाइट हाउसले भनेको छ “अमेरिकी गुप्तचरले देखाउँछ कि रूसले युक्रेन विरुद्ध सामाजिक सञ्जालमा खराब सूचना अभियान सुरु गरेको छ । र रसियाको आफ्नै प्रोक्सी सेनाहरू विरुद्ध तोडफोड गर्ने कार्यहरू गर्न विस्फोटकहरूमा तालिम प्राप्त अपरेटिभहरू पठाएको छ ।”

युक्रेनमा रुस समर्थक कठपुतली सरकार स्थापना गर्न मस्कोले षड्यन्त्र गरेको देखाएको भन्दै बेलायतले आफ्नो खुफिया निष्कर्षहरू खुलासा गरेको छ ।

(एपी, एएफपी, युरोन्युज, फ्रंस २४ न्युजको सहयोगमा)

तपाइँको प्रतिक्रिया