शनिबार, वैशाख १५, २०८१

हाम्रो प्रधानमन्त्री ‘सटिया गयो’

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ माघ २४ गते १२:३८

नेपाली जनता यस्तो घरमा बस्छन जसलाई धमिराले बनाएको भनिएको छ । र त्यसलाई पक्की बनाउने आश्वाशन पनि धमिराले नै दिएका हुन्छन । हामी अर्थात नेपाली जनताहरु पटक पटक त्यही आश्वाशनलाई विश्वास गर्छौ र त्यही धमिराले बनाएको भनिएको घरमा बसिरहन्छौं । तर धमिराहरुले घर भत्काइरहेको हामीले पत्तो पाएका छैनौं शायद । हामी को हौं ? जनगणना गर्दा कागजमा उतारिएका तीन करोड मानिसलाई सरकारमा बस्ने केही नेताहरुले कसरी परिभाषित गरेका छन भन्ने कुरा उनिहरुका पटक पटकका झुट र हामी प्रती गरिने ब्यवहारले देखाएको छ ।

आइतवार विहान सार्वजनिक भएको प्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहालले मिलेनियम च्यालेन्ज कर्पोरेसन सञ्चालक समितिलाई गोप्य रुपमा लेखेको पत्रले सरकारमा वा देश हाँक्ने ओहदामा बस्ने मान्छेहरुले हामीहरुलाई कसरी हेर्छन भन्ने कुरा प्रष्ट भएको छ । नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले कुनै जमानामा तत्कालिन सभापति गिरिजा प्रसाद कोइरालाई खुच्चिङ ख्वाउदै अर्को पार्टी खोले- नेपाली कांग्रेस प्रजातान्त्रिक । धेरैलाई अहिलेसम्म ताज्जुब लाग्छ उनले आफ्नो पार्टीको पछाडी प्रजातान्त्रिक कसरी झुण्ड्याए ? कुन कोणबाट देउवा प्रजातान्त्रिक देखिन्छन ? पहिलो पटक गृहमन्त्री भएको समयदेखी पाँचौं पटक प्रधानमन्त्री बन्दासम्म उनका कुनै पनि राजनैतीक आचरणहरु प्रजातान्त्रिक छैनन ।

जनतासँग झुट बोलेको आरोप लागेका बेलायती प्रधानमन्त्री बोरिस जोन्सन प्रहरी केरकारमा परेको धेरै भएको छैन । बेलायती प्रधानमन्त्रीको कसुर के थियो भने दिनभरिको काम र थकानपछी उनले आफ्नो निवासमा सामान्य खालको पार्टीको आयोजना गरेका थिए । धेरैको तर्क छ- कोरोना महामारिले सम्पूर्ण देश आक्रान्त हुँदा, जनता रोगले तड्पिरहँदा पार्टी गरेर मनोरन्जन गर्ने प्रधानमन्त्री जनताको प्रधानमन्त्री कसरी हुन सक्दछ ? खरो स्वभावका प्रधानमन्त्री जोन्सनले बचाउका हरेक उपायहरु अवलम्बन गरेका छन । तर माहौल उनको पक्षमा देखिएको छैन । नेपालका नेताहरुको बिचमा झुटको त कुरै नगरौं । यदी जनता सँग झुट बोलेको आरोपमा कसैले कुनै पद छोड्नु पर्ने थियो भने सबै नेताहरु कुनै पनि पदमा बस्न लायक छैनन । आजिवन जेल बस्ने सम्मका झुट बोलेका छन नेताहरुले ।

महाकाली सन्धी कसले गरेको हो ? टनकपुर सन्धी थियो या सम्झौता कुनै पनि सरकार प्रमुखले कहिल्यै पनि जनतालाई भन्ने जरुरत ठानेन । हामीले ति सन्धी सम्झौताका बारेमा धेरै पछी मात्र थाहा पायौं । त्यो पनि अन्य कुनै श्रोतबाट । गिरिजा प्रसाद देखी शेरबहादुर देउवा र केपी ओली सबैले झुट बोले ।

अहिले प्रधानमन्त्री देउवा र पूर्व प्रधानमन्त्री रहेका पुष्पकमल दाहालले आफ्नो दुनो सोझ्याउने हेतुले सुटुक्क एमसीसीका बारेमा अमेरिकि सरकारलाई लेखेको पत्रले यिनिहरुको चरित्र र देश प्रतिको धारणा झनै प्रष्ट भएको छ । नेपाल जस्तो मुलुकमा आउने एमसीसी जस्ता सहयोग सम्झौताहरु सधैंभरी वहसमा रहिरहनु पर्दछ । देशको एक एक नागरिकले यस्ता सम्झौताहरुका बारेमा जान्न पाउनु पर्ने हो । अझ विरोध र शंकाको घेरामा रहेको यो सम्झौताका लागि थप समयको माग गर्दै संसदबाट पास गराउन प्रतिवद्द रहेको पत्र पठाउनु जनता प्रतिको बेइमानी हो । देउवा-प्रचण्डको यो पत्रले देशको शिर निहुरिएको छ । एउटा मन्त्रालयको सहसचिव स्तरले लेख्ने चिट्ठिमा ल्याप्चे ठोकेर यिनिहरुले आफ्नो औकात त देखाए नै नेपाली जनतालाई लज्जीत तुल्याएका छन । शेरबहादुर देउवाले झुण्ड्याएको प्रजातन्त्रबादी नेताको मुकुण्डो उत्रिएको छ ।

विषय एमसीसीको मुख्यालयलाई चिट्ठी लेखे भन्ने मात्र होइन । बरु नेपाली जनतालाई झुट बोले, गुमराहमा राखे, एउटा सार्वभौम राष्ट्रको सम्मानलाई पातलमा पुर्‍याए भन्ने हो । संसदमा विचाराधिन र देशभर वहसमा रहेको कुनै विषयलाई प्रधानमन्त्रीले कसरी हामीले पास गर्छौं भनेर प्रतिवद्दता ब्यक्त गर्न सक्दछ ? उफ् यो अती भयो । अब देश देउवामुक्त हुनु पर्दछ ।

हिन्दिमा दिमाग खुस्केको मान्छेलाई भन्ने गरिन्छ- ‘सटिया गयो’ । अहिले हामीकाहाँ त्यस्तै भएको छ । प्रधानमन्त्री सटिया गयो । माओवादी विचारअधाराको मुकुण्डो भिरेका पुष्पकमल दहालको के कुरा गर्नु खै ! क्षणिक फाईदाको लागि ति मान्छे जे पनि गर्न तयार हुन्छन । यिनको मुकुण्डो उत्रेको धेरै भएको छ । तै पनि यिनी अझै नेपाली राजनीतिको केन्द्रमा छन । किनभने हाम्रो प्रधानमन्त्री सटिया गएको छ ।

नेकपा माओवादी केन्द्रले आठौँ महाधिवेशनबाट ‘एमसीसी खारेज गर्ने प्रस्ताव’ नै पारित गरेको थियो । एमसीसीका नाममा नेपालमा अमेरिकी सेना ल्याएर चीनविरुद्ध रणमैदान बनाउन लागिएको भ्रम माओवादी नेताहरुमा छ अथवा उनिहरुले आफ्नो अनुकुल हुनेगरी नेपाली जनतालाई अमेरिका विरुद्द प्रयोग गर्न खोजिरहेका छन । जे भए पनि माओवादीको माहाधिवेशनको निर्णय र त्यो पार्टीका नेताहरुको सार्वजनिक भनाईमा पनि आकाश जमीनको फरक छ ।

माओवादी नेताहरु भन्छन- एमसीसी परिमार्जन गरेर मात्र पारित गर्नु पर्दछ । जनताको संघर्षबाट आएको भनिएको पार्टीले कसरी तिनै जनतालाई ढाँट्न सक्दछ । खारेज गर्ने प्रस्ताव पारित गर्नु र परिमार्जन सहित पास गर्ने कुरा कसरी समान हुन सक्दछ ? तालमेल कतै पनि मिलेको छैन । यसको मतलव के हो भने पार्टीहरुको बाहिरी आवरणमा नेताहरुले मनलाग्दी गरिरहेका छन । जनताका आँखामा छारो हाल्न अमेरिकालाई साम्राज्यबादी देख्ने माओवादीको स्खलित रुप प्रष्ट भएको छ ।

पुष्पकमल दाहालले आइतवार आफूले ल्याप्छे ठोकेको पत्र सार्वजनिक भए पछी प्रतिकृया दिदै भने- गठवन्धनलाई टिकाउनका लागि त्यसरी चिठ्ठी पठाउनु परेको हो । यसले नै प्रमाणित आफ्नो स्वार्थपूर्तीका लागि पुष्पकमल दाहाल जे गर्न पनि तयार हुन्छन । देशको स्वाभिमान, नेपालीको आत्मसम्मान सबै बेच्न तयार हुन्छन । यिनिहरुले नेपाली जनता र आफ्नै आत्मालाई मात्र ढाँटेका छैनन अमेरिकि सरकारलाई समेत झुट बोलेका छन ।

उनिहरुले अमेरिकि सरकारलाई पठाएको पत्रमा लेखेका छन- “एमसीसी कम्प्याक्टप्रति हाम्रो प्रतिवद्धता प्रदर्शन गर्दै कम्प्याक्ट अनुमोदनका लागि प्रतिनिधिसभामा आवश्यक सामान्य बहुमत पुर्‍याउन हामी आगामी चार–पाँच महिनामा विभिन्न कामहरू गर्न सहमत भएका छौं” ।

एमसीसी सम्झौता नेपालको लागि आवश्यक होला नहोला । तर यसरी बेइमानीपूर्वक कुनै प्रस्ताव अघि बढाउँन खोज्दा कसरी संसदले पास गर्ला त्यसलाई ? सार्वभौम राष्ट्रको कार्यपालिकालाई यसरी हलुका रुपमा अर्को राष्ट्रसामु प्रस्तुत गरिनु देश प्रती गरिएको गद्दारी हो । अब नेपाली जनताले विनम्रता पुर्वक भन्नु पर्दछ- शेरबहादुर देउवा र पुष्पकमल दाहाल गद्दार हुन । राजनीतिबाट यिनिहरुको अवशान अपरिहार्य छ । विड्म्बना हामीलाई डर छ । हामी सोच्छौं, हामी बसेको घर धमिराले बनाएको हो । धमिराहरुलाई सम्मान गर्नु पर्छ । सलाम ठोक्नु पर्छ । तर, त्यस्तो पटक्कै होइन । यो घर धमिराले बनाएको होइन । बरु बिस्तारै बिस्तारै यो घर धमिराहरुले भत्काउँदैछन । किनभने हाम्रो प्रधानमन्त्री सटिया गयो ।

तपाइँको प्रतिक्रिया