शनिबार, वैशाख ८, २०८१

एमसिसी छिनोफानो : नेपाली राजनीतिमा भयंकर उथलपुथलको सम्भावना

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ माघ २७ गते १७:३९

Image Credit-Us embassy in Nepal

हुन त नेपालको आधुनिक राजनीती बिभिन्न घनचक्करमा नफसेको कुनै वर्ष छैन । राजनीतिको केन्द्रमा सधैं कुनै न कुनै लफडा रहिरहन्छ । दशकौं देखी केही न केही लफडाले नेपालको राजनीतिलाई हल्लाएको छ । कुनै लफडा सकिएको केही समयमै हामीले पुराना सबै घटना बिर्सिसकेका हुन्छौं र हाम्रो मानशिकता नयाँँ घटनामा केन्द्रित हुन्छौं । यो किन पनि भने पछील्लो राजनैतीक ईतिहासको छोटो अवधिमा हामीले धेरै उथलपुथल देखिसकेका छौं । यि यति धेरै छन कि सम्झेर साध्य हुँदैन पनि । नेताहरुमा पनि यही समस्या छ । कसैले पनि पुराना घटनालाई सम्झिंदैनन । नेताले पनि सम्झीनसक्नुका लफडा छन- राजनीतिका केन्द्रमा । लाउडा भ्रष्टाचार, महाकाली सन्धि, सुडान घोटाला, वाइड वडी काण्ड, ३३ कोली सुन काण्ड, ओम्नी काण्ड, टनकपुर सम्झौता । दर्जनौं दर्जन घोटाला र लफडा । तर खै कसले सम्झेको छ ?

कुनै पनि घोटाला र लफडा अर्को घोटाला नहुन्जेल सम्मका लागि मात्र स्मृतीमा रहने हुन । नयाँँ घोटाला भएपछी अर्को बिर्सिन्छ । जब जनताले, न्याय सम्पादन गर्ने निकायले, प्रहरी प्रशासनले सबै कुरा विर्सिन्छ दोषिले उन्मुक्ती पाउँछ । यदी हामीले खास गरेर प्रहरी प्रशासन र अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता निकायहरुले ति घोटालाहरु सम्झिइरहेको भए शेरबहादुर देउवा, केपी ओली, प्रचन्ड लगायत अहिलेका धेरै नेताहरु अहिले जेलमा हुने थिए । विडम्बना त्यस्ता कुराहरु हामी छिट्टै विर्सीन्छौं ।

हुन त सम्झेर सम्झीनसक्नु पनि हुँदा हुन । नेपाली राजनीतिको मुख्यालय यती धेरै लफडा र घोटालाले भरिएको छ कि ति सबै हाम्रो स्‍मृतिमा अटाउनै सक्दैनन । तर अबको साँढे दुई साता नेपाली जनताको स्‍मृतिमा लामो समयसम्म रहने छ । यो दुई साताले सिंहदरवारमा गतिलो उथलपुथल देख्ने छ । आपसमा जोडीएका दर्जनौं घाँटीहरु छुट्टीने छन र कुनै न कुनै रुपमा नयाँँ घाँटीहरु जोडीने छन ।

विगत चार वर्ष चर्चामा रहेको र पछील्लो वर्ष देखी नेपाली जनताको टाउकोसम्म पुगेको अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) आउँदो साढे दुई सातामा छिनोफानो हुँदैछ । यही छिनोफानोका लागी नेपाली राजनीतिले भयंकर उथलपुथल देख्ने सम्भावना छ । प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पास गराउनका लागि जे पनि गर्न तयार छन भने उनको सत्ता गठवन्धनका अन्य दलहरुले यो सम्झौताका बारेमा कुनै स्पष्ट बाटो लिएका छैनन् ।

एमसिसीकी उपाध्यक्ष फतिमा सुमारले नेपालमा एमसिसी कार्यान्वयनका लागि आगामी फर्वरी सम्मको समय सिमा तोकिदिएकी छन । यदी यो समय सिमासम्म नेपालको संसदले यसलाई पास गर्न सकेन भने अमेरिकी सरकारले अझै प्रतिक्षा गर्न नसक्ने जनाएको छ । अमेरिकी सरकारले भनेको छ ‘फर्वरी अन्तिमको समय सीमा नेपाल सरकारका प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफैं तोकेको हुनाले फेरि समय थप्न सकिंदैन । फर्वरी २८ को समय सीमा एमसिसी सम्झौता संसदमा टेबल गर्न वा छलफल गर्नलाई होइन, पास गर्नलाई हो । अब फेरि ढिला गर्न हामी अर्को बहाना स्वीकार्न सक्दैनौं ।’

यसो हेर्दा यो अमेरिकि सरकारको दवाव जस्तो देखिए पनि ढिलो चाँडो उसले यो भन्नु पर्ने नै थियो । किनभने कुनै सहयोग वा सम्झौताका लागि दाता राष्ट्रले चार वर्षसम्म प्रतिक्षा गर्नु चानचुने कुरा होइन । सम्भवत: दिने मुलुकले कुनै सहयोग दिनका लागि यती लामो प्रतिक्षा गरेको ईतिहासमै यो पहिलो घटना होला । अब उसले पनि गर्दैन । तर अमेरिकाको पछील्लो दवाव पछी नेपालका नेताहरुलाई भने गतिलोसँग घनचक्करमा पारेको छ । देउवालाई प्रचन्ड बाटरिए पनि खासै फरक पर्ने छैन भन्ने लागेको छ । यसले एमसीसी पास गराउन उनले कुनै पनि बाटो समात्न सक्छन । यसबाट अहिलेको गठवन्धनमा भात्किने सम्भावना गतिलो छ ।

केपी ओली एमसीसी पास गराउनका लागि सर्त सहित बसेका छन । धेरै नेताहरुलाई एमसीसीको सकारात्मक वा नकारात्मक कुनै पनि पाटोका बारेमा खासै मतलब छैन । यो सम्झौता लागु भयो भने देशमा के कस्तो असर पर्छ भन्ने विश्लेषण कुनै पनि पार्टीले गरेको छैन । सबै पार्टीहरु आ-आफ्ना स्वार्थमा छन ।

प्रचन्ड, माधव नेपालहरुको कुरै नगरौं । यिनिहरु नेपाली राजनीतिबाट डुब्न लागेको दियो हुन । यिनिहरुले एमसीसी पास गराउँदा आफ्नो भागमा के पर्छ भन्ने कुरा समेत आँकलन गरेका छैनन । यदी यिनिहरु यो सम्झौताको खुलेर विपक्षमा उभिए भने आगामी निर्वाचनहरुले यिनिहरुको भागमा केही न केही पक्कै दिनेछ । तर यस्तो सम्भावना निकै न्युन छ । प्रचन्डले सभामुख बचाउनु पर्ने छ । गठवन्धन बचाउनुपर्ने छ । आगामी निर्वाचनमा पार्टी बचाउनु पर्ने छ । अहिले भर्खरै आफ्नो अनुहार बचाउनुपर्ने छ । एक प्रकारले प्रचन्डका लागि अहिलेको समय भयानक छ ।

एमसीसीका विषयमा पार्टीको धारणा प्रष्ट पार्ने माओवादी केन्द्रले शुक्रबार र शनिबार बोलाइएको केन्द्रीय समिति बैठक स्थगित गरेको छ । यो बुझ्न धेरै कठिन छैन । बैठक स्थगित हुनु भनेको एक्कैछिनका लागि प्रचन्डको दोगले अनुहार छोपिएको मात्रै हो । अब कुनै जुक्ती निस्किने सम्भावना कम छ । प्रचन्डका हरेक कदमहरु देश र जनताका लागि घातक छन ।

यदी एमसीसीमा प्रचन्डको साकारात्मक जवाफ पाएनन भने प्रधानमन्त्री शेरबहादुर देउवासँग अर्को विकल्पले प्रतिक्षा गरेर बसेको छ । देउवाले ओलीलाइ पनि उत्तिकै दुरिमा राखेका छन जुन दुरिमा प्रचन्ड छन । प्रचन्ड आफ्नो ‘फेस सेभिङ’ को बाटोमा हिंडेभने सभामुख अग्नी सापकोटाको वली चढ्ने पक्का छ ।

केपी ओलीले एमसीसीको बदलामा सभामुखको वली मागेका छन । एमसीसीले सार्वभौम देशको गरिमालाई हरण गर्छ नै भने पनि केपी ओली सभामुख अग्नी प्रसाद सापकोटाको वर्खास्तीमा आफ्नो राष्ट्रियता जता पनि साट्न तयार हुने छन । त्यसपछी एमसीसी देश र जनताका लागि होइन केपी ओलीको क्षणिक बदलाका लागि पास हुनेछ । देउवा-प्रचन्डको सात महिना लामो सहकार्य अग्नी सापकोटाको वर्खास्दगी सँगै सकिने छ ।

सायद अग्नी सापकोटालाई सभामुख पदबाट हटाउन त्यति असम्भव पनि नहोला । उनी नेपाल प्रहरिको सुचिमा फरार अभियुक्त भनिएका छन् । उनी माथि मानव अधिकार उलंघन र हत्याका अभियोग छन । अदालतले उनको मिसिल अघी बढाउने बित्तिकै पक्राउ गर्न सजिलो छ । त्यसैले यो देशमा जे पनि हुन सक्दछ । त्यसैले अबका साढे दुई हप्ता बिर्सिन लायक हुने छैनन । यिनै दुईहप्ताले एक वर्ष देखी हल्लाएको नेपाली राजनीतिको केन्द्रलाई छिनोफानो गर्नेछ । नेपाली राजनीतिमा शेरबहादुर र केपी ओलीको गठवन्धन पछीसम्म स्‍मृतिमा रहिरहने छ र महशुस भइरहने छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक